त्यो क्षण अनि त्यो पात्रलाई सलाम !
असार साउनको समय थियो । झरी बादल लाग्ने बेला थियो । बालाजुको एउटा कारखाना अगाडि मजदुरहरू आफ्नो न्याय र हकहितका निम्ति एकताबद्ध भएर राति पनि पालभित्रै धर्ना कसेर बसेका थिए । त्यो २०३६ सालको कुरा हो । देशको आकाश अँध्यारो थियो, निरंकुश व्यवस्थाका कारण । परिवर्तन नितान्त जरुरी थियो । विद्यार्थीहरू पनि आँधी ल्याउने तयारीमा थिए, त्यस साल † मलगायत मेरा केही मित्रहरू भने विद्यार्थी जीवन त्यागेर, आफ्नै भविष्यको पनि ख्याल नगरी ‘देश’ र ‘जनता’ भनेर होमिएका थियौँ । उज्यालो देख्न हतार थियो मलाई । त्यसैले समयभन्दा अलि अगाडिबाट दौडिन खोज्थें । त्यसैले नै होला आफ्नै स्वविवेकले मजदुर हुन पुगें । पढाइरहेको स्कुल अनि हातमा रहेको कलम र चक चटक्क छोडेर मजदुरले बोक्ने ज्याबल बोक्न पुगें । मजदुरको क्षेत्रलाई नै म आफ्नो सुन्दर स्वप्न बगैंचा बनाउन पुगें । जब देशमा सबभन्दा थिचिएका मिचिएका जनता जुरुक्क उठ्न खोज्छन्, देशमा परिवर्तन नआई सुखै छैन भन्ने लाग्थ्यो ।
निकै समयपछि फेरि एकपल्ट ती दिनहरूलाई सम्झन पुगें । जीवनको उतार–चढाव, धेरै उथल–पुथलपछि पनि कति सम्झनाहरूले नछोड्ने रहेछन् । यसपालि सम्झनुको पछाडि केही कारण छन् ।
एक, अहिले चर्चाको शिखरमा चढ्दै गरेका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दिएका सकारात्मक सन्देश र आशा त अर्कातिर महत्त्वपूर्ण पद ओगटेर देशको निम्ति उज्यालो छेक्नेहरू । विगतमा मजदुर क्षेत्र र मेरो कर्म र उद्देश्यसँग प्रत्यक्ष–अप्रत्यक्ष सम्बन्ध दुई भिन्न पात्रहरूसँगको प्रसंगलाई सम्झिन पुगें ।
यतिबेला चर्चाको शिखरमा रहेका, असल कर्ममा अगाडि बढेका ती मन्त्रीलाई नै सलाम गर्छु । त्यतिबेला पनि एक जल्दाबल्दा एक अगुवा मजदुरहरूमध्येकै एक थिए ती । जसलाई २०३६/३७ को आन्दोलनदेखि नै एक सक्रिय मजदुरको रूपमा चिनें र अहिले एक जिम्मेवार मन्त्रीको रूपमा बेग्लै ढंगले चर्चामा छन् ।
भर्खरैको एउटा अन्तर्वार्तामा पत्रकारले विगत खोताल्दा आफूलाई एउटा पवित्र उद्देश्य लिएर अगाडि बढेको मान्छे हुँ भनेर साहस र गर्वका साथ बोले । जबसम्म मान्छेको उद्देश्य पवित्र हुन्छ, जीवनमा उसले कोहीसँग डराउनु नै पर्दैन । तर, आफू सुरुमा एक मजदुर भएर नै राजनीतिक जीवन उठाएको कुरा पनि उठाएको भए अझै राम्रो हुन्थ्यो भन्ने लागेको थियो । यो कुराले अरू पनि धेरै असल मजदुरहरूको अनि वर्गीय जनताको समेत मनोबल बढ्न सक्थ्यो भन्ने लागिरह्यो मलाई । तर जे बोले, साहसका साथ सत्य कुरा अडिग भएर बोलेका कुराले धेरै असल मान्छेको मनोबल उठ्ने गरेर बोले । टाढाबाट ती मन्त्रीप्रति गर्व र अझै शुभकामना दिई एक स्रष्टा भएर हेरिरहें । तीन दशकभन्दा बढीको समयलाई एकपल्ट आफ्नै बाटो र उद्देश्यलाई पनि समीक्षात्मक ढंगले पछाडि फर्केर हेर्न पाएँ । अवश्य नै त्यो बेलाभन्दा अहिलेको देश र राजनीतिक अवस्थामा धेरै परिवर्तन आइसकेको छ । त्यो बेला भेटिने राजनीतिकर्मीहरूको जीवनमा आकाश जमिनको फरक छ । त्यतिबेला सर्वहाराको प्रतिनिधित्व गर्ने र नेतृत्व दिने भनेर लाग्नेहरूको घर र सम्पत्तिले आकाश छुन खोजिएको छ । ती मन्त्री लालबाबु पण्डितको अवस्थामा पनि धेरै परिवर्तन छ । तर, आफ्नो उद्देश्य र कर्ममा अडिग छन् त्यो ज्यादै ठूलो उदाहरण भएको छ । साँच्चै नै एउटा पात्र मात्र इमानदार र साहसी भइदिए साँच्चै कति ठूलो राहत मिल्दो रहेछ जनतामा भन्ने कुरा पनि देखिरहेको छु ।
यतिबेला ती मन्त्रीलाई कतिले खुलेर नै गुणगान गाइरहेका छन् भने कतिले भित्र–भित्र तर्सेर छिट्टै अवकाश भइदिए हुने भनेर सरापिरहेको कुरा पनि सुनें । तर, म उनको सकारात्मक कर्मको पक्षमा, विगतको एउटा ढिस्कोमा चढेर खिचेको उनको एउटा सत्यचित्र यो सम्पूर्ण आकाशमा राख्दैछु । फेरि पनि भन्न मन लागेको छ, सत्यमा हिँड्ने र पवित्र उद्देश्यमा हिँड्ने मान्छेलाई कोही र केहीसँग डराउनुपर्दैन । हुन त यतिबेला संविधानको कुराले पनि नेताहरू अलि अगाडि बढ्न खोजेकै देखिन्छन् । आठ वर्षको समय चपाइसकेको भए पनि अब त केही गर्नैपर्यो भनी अगाडि बढेको बेला छिटो बनोस् भनी कामना गर्नु नै राम्रो हो । यतिबेला नेताहरूमा देखेका राम्रा नराम्रा सबै कुराहरूलाई बिर्सिदिनुमा नै कल्याण छ । असल कर्ममा साथ दिनुमा नै धर्म पनि हो नागरिकहरूको । संविधानको लहर पक्कै आएको छ यतिबेला । संविधानको निम्ति सुझावहरू संकलन भएरहेका बेला, महाभूकम्पपछि केही सहज स्थितिमा देश फर्किरहेका बेला यहाँ लेख्दालेख्दै विषयवस्तु उज्यालैतिर अगाडि बढोस् भनी कलमलाई पनि अगाडि बढाइरहेछु । अरू धेरै पुराना मित्रहरू पनि व्यस्त नै देखिन्छन् पूर्वमन्त्रीहरू, सभासद्हरू । अब केही हुन्छ कि देशमा आशा गरौं ।
अवश्य नै २०४७ सालपछाडि, धेरै मित्रहरू सरकारमा पुगिसके । कोही अगाडि पुग्दा आशा जाग्थ्यो नै देशमा साँच्चै परिवर्तन आउला भन्ने तर पनि देशको अनुहार फेर्न नसक्नुका धेरै कारणहरू पनि प्रस्टिँदै आएको पनि छ । मन्त्रीकै कुराबाट पनि प्रस्ट हुन्छ कतिपय उच्च ओहोदामा जिम्मेवार पदको खोलभित्र वर्तमान नेपालीको सच्चापन नभएर भूपू नेपालीको रूपमा रहेछन् भने ती विदेशी मनहरूले कसरी देशका निम्ति साँचो काम गर्न सक्लान् ? यतिबेला एउटा कालो बादल फाटेको छ । उहिलेका एक मजदुरबाट उठेका मन्त्री जब लालबाबु पण्डितले देशको निम्ति काम गरेरै देखाउने अठोट देखाउनु साधारण कुरा होइन । यो ठूलो चुनौतीको सामना गर्नु पनि हो । तर, पछाडिबाट आम नेपालीको साथ पनि देखिरहेको बेला छ, यो देखेर अझै खुसी लागेको छ । ती पानी परेको रात अनि अस्तव्यस्त संघर्षका केही दिनहरू सम्झिरहँदा, हिलो मैलोले भरिएको पोखरी जस्तो त्यो अवस्था, त्यही परिस्थितिबाट फुलेको एउटा कमल–लालबाबु पण्डितलाई सम्झन पुगें । आफैं मजदुर भएर हातमा ज्याबल बोकेको क्षणलाई पनि सम्झन पुगें आफैंलाई गर्व लाग्यो । साँच्चै नै असल उद्देश्यले मनोबल थपिन्छ नै! अझै फुलोस् फलोस् देश झक्कमक्क होस्, सुगन्धित होस् † असल मन भएका मान्छे हिलो माटोबाटै जन्मिन सक्छन् † अझै बधाई र शुभकामना मन्त्रीज्यूलाई !
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply