राज्यमन्त्रीले गर्दा तनाव
काठमाडौं । कसैलाई मन्त्री नबनाउँदा टाउको बटार्ने र कसैलाई मन्त्री बनाउँदा कचिंगल मात्रै उत्पन्न हुने राप्रपा, नेपालको भागमा परेको भूमिसुधार मन्त्रालयमा केही दिनपहिले देखिएको थियो । मन्त्री रामकुमार सुब्बाले सन्तुलनकारी भूमिका निभाउन खोजे पनि राज्यमन्त्री विक्रमबहादुर थापा र सहायक मन्त्री दिनेश श्रेष्ठबीच कचिंगल उत्पन्न हुँदा त्यसलाई मिलाउन पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापालाई नै हम्मेहम्मे परेको थियो ।
तर, परराष्ट्रसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सम्हालेका थापाले भने आफूले राज्य र सहायक मन्त्री राखेको स्थानीय विकास मन्त्रालयमा कुनै कचिंगल नआओस् भनेर कामको बाँडफाँट गरेका छन् । देश सात वटा प्रान्तमा गए पनि उनले भने पञ्चायतकालमै छुट्याइएको पाँच विकास क्षेत्रकै आधारमा कामको बाँडफाँट गरेका छन् । जसमा राज्यमन्त्री कुन्तिकुमारी शाहीलाई पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलको जिम्मा दिएका छन् । सहायक मन्त्री विराजबहादुर विष्टलाई भने मध्यमाञ्चल र पूर्वाञ्चलको जिम्मा दिएका छन्ÿ । शाहीलाई भने सो मन्त्रालयअन्तर्गतको धेरै बजेट भएको आकर्षक विभागका रूपमा चिनिने कृषि सडक विभाग (डोलिडार)को समेत जिम्मा दिइएको छ । उक्त विभागमा केही दिनअघि मात्रै मन्त्रालयकै सहसचिव रामकृष्ण सापकोटालाई प्रमुख बनाएर पठाइएको थियो । पूर्वमन्त्री प्रकाशमान सिंहका साढुभाइ जीवनकुमार श्रेष्ठले सम्हालिरहेको डोलिडारबाट उनलाई हटाएर मन्त्रालयमा तानिएको थियो । मन्त्री थापाले चाहिँ महत्त्वपूर्ण महाशाखाहरू, जिविस र नगरपालिकाहरू राखेका छन् । जिविस र नगरपालिकाहरूमा सरुवा गर्ने काम थापा स्वयम्ले हेर्दै आएका छन् । नाकाबन्दी खुल्नेबित्तिकै वर्तमान सरकारले स्थानीय निकायको निर्वाचनको घोषणा गर्ने सम्भावना रहेको हुँदा मन्त्री थापाले स्थानीय निकायभने आफैंले हेर्ने गरी राखेको सूत्रको भनाइ छ ।
कर्मचारीप्रति नरम
उपप्रधानमन्त्री थापाको एउटा स्वभाव के रहेको छ भने मन्त्रालयको कुनै डकुमेन्टहरू सिधै आफ्नो इमेलमा मगाएर हेर्छन् । मन्त्रालयसँग सम्बन्धित कार्यक्रमका भाषण पनि सम्बन्धित विषयका विज्ञ कर्मचारीलाई तयार गर्न लगाएर आफैंले हेर्ने गर्छन् । र, ती कर्मचारीहरूलाई धन्यवाद भन्न पनि उनी हिच्किचाउँदैनन् । स्थानीय विकास मन्त्रालयका सहसचिव, उपसचिव र शाखा अधिकृत स्तरका अधिकांश कर्मचारी कांग्रेस, एमाले र एमाओवादी समर्थक रहेको हुँदा उनीहरूलाई रिझाएरै काम लिनुपर्ने मान्यतामा थापा रहेको बताइन्छ । अझ, निकट समयमा स्थानीय निकायको निर्वाचन हुने सम्भावना देखेका उनले चुनावमा आफ्नो पार्टीलाई कर्मचारीहरूबाट सहयोग हुने हेतुले अहिले काम गरिरहेको बताइन्छ । केही दिनअघि, एमाओवादी अध्यक्ष प्रचण्डले स्थानीय निकायको निर्वाचन हुने र त्यसमा एमालेसँग कार्यगत एकता गरेर जाने कुरा बताए पनि अब भने थापाले पनि आफूलाई केही ठाउँमा सत्ता साझेदार दलहरूले छाड्नुपर्ने कुरा भित्रभित्रै उठाइरहेको बताइन्छ ।
राज्यमन्त्रीको कारण तनाव
ललितपुर उपमहानगरपालिकासँगै जोडिएको नयाँ नगरपालिका महालक्ष्मी नगरपालिकाको पहिलो परिषद् केही दिनअघि मात्रै भएको थियो । उक्त परिषद्को उद्घाटनका लागि सुरुमा मन्त्रीलाई अनुरोध गरिएको थियो । तर, मन्त्रीले नभ्याउने भएपछि राज्यमन्त्री शाहीलाई लैजान प्रयत्न भयो । राज्यमन्त्रीले नभ्याउने भएपछि ललितपुर क्षेत्र नं. २ का सभासद् चन्द्र महर्जनलाई प्रमुख अतिथि बनाउने टुंगो लगाएर नगरपालिकाले निम्तो पत्रसमेत छाप्ने काम गर्यो । तर, भोलिपल्ट उद्घाटन हुने कार्यक्रम तय भइसकेको र प्रमुख अतिथिसमेत टुंगो लागिसकेको अवस्थामा राज्यमन्त्री शाहीले आफू नगर परिषद् उद्घाटन गर्न इच्छुक रहेको बताइन् । राज्यमन्त्रीले इच्छा राखेपछि कार्यकारी अधिकृतको पसिना नै आयो । किनकि, सोही क्षेत्रका सभासद्लाई पहिले नै प्रमुख अतिथिको रूपमा निम्त्याइसकिएको थियो र निम्तो कार्डमा पनि महर्जनको नाम उल्लेख थियो ।
कार्यकारी अधिकृतले महर्जनलाई सबै वृत्तान्त सुनाए । महर्जनले पनि कुनै अड्को थापेनन् । उद्घाटन समारोहमा ढिलो पुगेका राज्यमन्त्रीले महर्जनले गर्ने भनिएको उद्घाटन गरेर हतारहतार फर्किएकी थिइन् । राज्यमन्त्री नआउन्जेलसम्म कार्यकारी अधिकृतले अरू विषयहरू राखेर उपस्थित भएकाहरूलाई अल्मल्याउने काम गरेका थिए ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply