कांग्रेसमा देउवा बलियो हुँदै
काठमाडौं । नेपाली कांग्रेसको तेह्रांै महाधिवेशनको मिति नजिकिँदै जाँदा वरिष्ठ नेता शेरबहादुर देउवा समूह बलियो बन्दै गएको छ । सोमबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयले त झनै देउवा बलियो भएको कुरालाई प्रस्टसँग संकेत गरेको भन्दै संस्थापन समूहकै केन्द्रीय सदस्यहरूले सभापति सुशील कोइरालासँग असन्तुष्टि पोखेका छन् ।
सोमबारको बैठकले देउवाले उठाएका एजेन्डालाई जस्ताको तस्तै पारित गरेको थियो । केन्द्रीय समितिको बैठक बोलाइए पनि पदाधिकारी मात्र बसेर गरिएको निर्णय केन्द्रीय समितिमा ल्याएर सुनाइएको थियो । पलदाधिकारीमा मात्र नभएर केन्द्रीय कार्यसमितिमा नै छलफल गराइएको भए निर्णय फरक तरिकाले आउने बताइन्छ । बैठकले क्रियाशील सदस्यताको विषयमा देखिएको विवाद अहिले जे–जे नाम आएका छन् तीनलाई नाम, थर, ठेगाना जस्ता कुरामा त्रुटि भएको भए सच्याउने नत्र हुबहु पास गर्ने र लगातार दुई पटक जिल्ला सभापति भइसकेकाले यसपटक सोही पदमा उठ्न नपाउने निर्णय गरेको थियो । यी दुवै निर्णय देउवाको अनुकूलतामा भएको बताइन्छ । क्रियाशील सदस्यताको विवाद लम्ब्याउनतिर लागे तोकिएको मितिमा महाधिवेशन नहुने र अरू संवैधानिक संकट आउने भन्दै देउवाले पदाधिकारी बैठकमा कुरा राखेपछि त्यसमा सभापति कोइरालाले मञ्जुरी जनाएका थिए । दुई कार्यकाल सभापति भएकालाई रोक्दा यसपटक १८ जना जिल्ला सभापतिले सोही पदमा उठ्न पाउँदैनन् । जिल्ला अधिवेशन माघ २५ गते हुँदैछ । ती १८ मध्ये १४ जना त संस्थापन पक्षकै छन् । यो प्रावधानले जिल्ला सभापतिमा उम्मेदवार हुनबाट वञ्चित सभापतिहरूमा इलामका केशव थापा, संखुवासभाका तारामान गुरुङ, धनकुटाका मनोहरनारायण श्रेष्ठ, मोरङका अमृत अर्याल, रामेछापका रामचन्द्र खड्का, धादिङका रामनाथ अधिकारी, काभ्रेका शिव हुमागाईं, सुर्खेतका तप्तबहादुर विष्ट, कपिलवस्तुका सुरेन्द्रराज आचार्य, दार्चुलाका महादेव बडु, खोटाङका विष्णुबहादुर राई, मुस्ताङका सुर्वणकुमार विष्ट छन्र । त्यस्तै, देउवा समूहका सिरहाकी सीतादेवी यादव, सिन्धुपाल्चोकका मोहनबहादुर बस्नेत, कञ्चनपुरका बहादुरसिंह थापा र बाजुुराका मनबहादुर रावललाई पनि यो प्रावधानले जिल्ला सभापतिमा उठ्न बन्देज लगाएको छ ।
कोइरालाभन्दा पौडेल बलियो !
संस्थापन पक्षबाट अहिले सभापति कोइराला र उपसभापति रामचन्द्र पौडेल दुवैले सभापतिमा दाबी गरेका छन् । यी दुईमा अहिले कोइराला बलियो भए पनि कोइरालाको सट्टा पौडेलले टिकट पाए उनले बढी मत पाउने विश्लेषण कांग्रेसवृत्तमा हुन थालेको छ । कार्यकर्तालाई संरक्षण गर्न नसक्ने र सानो चित्तका केही कमजोरी भए पनि अडान लिने, सैदान्तिक रूपमा व्याख्या गर्न सक्ने र १२औं महाधिवेशनपछि आफूले सम्हालेको नीति तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखका रूपमा उनले राम्रै काम गरेको भन्दै एउटा पंक्तिले प्रशंसा गर्ने गरेको छ । उक्त प्रतिष्ठानको प्रमुख भएर उनले क्षेत्रीय सभापति भेला, जिल्ला सचिव भेला गराएका थिए । तर, अहिले संस्थापन समूहमा पौडेललाई अघि सार्नुपर्छ भनेर खुला रूपमा बोल्ने केन्द्रीय सदस्य कमला पन्तबाहेक कोही पनि नभएको स्रोतले बतायो । त्यही भएका कारण पौडेल संस्थापनबाट उम्मेदवार हुनै गाह्रो रहेको बताइन्छ ।
कोइराला पीएको भरमा
आफ्नो राजनीतिक जीवनको लामो समय पीएको रूपमा बिताएका सुशील कोइरालाले सभापति हुँदा पनि आफ्ना पीएका कुरा बढी सुन्ने गरेको स्रोतको दाबी छ । अहिले उनले मृदुला कोइरालाको कुरा बढी सुन्ने गरेको भन्दै उनकै कोटरीभित्र आलोचना हुने गरेको छ । त्यसबाहेक पनि जनताबीचमा नभिजेकाहरूका कुरा उनले सुन्ने गरेका छन् । आनन्द ढुंगाना, दिलबहादुर घर्ती र दिलेन्द्र बडु कोइरालाका खास सल्लाहकार हुन् । तर, उनीहरूमध्ये ढुंगाना र घर्ती समानुपातिकबाट सांसद भएका हुन् भने बडुले चुनाव हारेका हुन् । तर, जनताका नभिजेका तीनै नेताका कुरा उनले सुुन्ने गरेकाले कोइराला कमजोर बन्दै गएको स्रोतले बतायो ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply