जेठको पहिलो साताभित्र पार्टी एकीकरण टुंग्याउने तयारी
काठमाडौं । नेकपा (एमाले) र माओवादी केन्द्रले आगामी जेठको पहिलो साताभित्र पार्टी एकता टुंग्याउने गरी आन्तरिक गृहकार्य अघि बढाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै आन्तरिक तयारी सकेर एकता घोषणाको बैठक बोलाउने दुवै पक्षको तयारी छ । सकभर जननेता स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस ३ जेठमै एकता घोषणासभा गर्ने तयारी भए पनि पार्टी एकता संयोजन समिति बैठकबाट मिति सार्वजनिक गरिएको छैन ।
एकता घोषणाअघि एकता संयोजन समितिबाट राजनीतिक र सांगठनिक प्रतिवेदनको अनुमोदन पनि बाँकी नै छ । दुवै पार्टी एकीकरण गर्दा समायोजनका लागि माओवादी केन्द्रले अस्तव्यस्त संगठनलाई तलैसम्म पुनव्र्यवस्थित गर्ने कामलाई तीव्रता दिइरहेको छ ।
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २० वैशाखमा भएको पछिल्लो छलफलमा संयुक्त बैठकमार्फत दुवै पार्टी विघटन गरी र नयाँ पार्टी घोषणा गर्ने समझदारी गरेका थिए । खासगरी एकतासँग जोडिएको सांगठनिक संरचनाको विषय दुई अध्यक्षले मोटामोटी हल गरिसकेका छन् । विधान कार्यदलद्वारा प्रस्तावित २९९ सदस्यीय एकीकृत पार्टीको केन्द्रीय संरचनालाई विस्तार गरेर ३५१ सदस्यीयसम्म्म पु¥याउने र प्रदेश, जिल्ला तथा स्थानीय कमिटीहरूमा वर्चस्वका आधारमा नेतृत्व पाउने मोडालिटीमा दुई अध्यक्षबीच सहमति भएको छ । गत २० वैशाखमा ओली र प्रचण्डबीच दुई पटक छलफल भएको थियो भने एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र प्रचण्डबीच पनि छुट्टै कुराकानी भएको थियो । तीन नेताबीचको कुराकानीबाट सबै विषय हल भइसके पनि राजनीतिक प्रतिवेदनको भाषालाई सुधार गर्ने प्राविधिक काम भने बाँकी नै रहेको छ ।
केन्द्रीय कमिटी मापदण्डबाट बन्ने
दुई अध्यक्षले विवादित भनिएको चुनाव चिह्न, विधानको प्रस्तावना र केन्द्रीय कमिटीको संख्यामा सहमति गरेका छन् । यद्यपि, त्यो सहमति संयोजन समितिमा छलफल गरेर निर्णय नभइसकेकाले दुवै अध्यक्षले ‘गोप्य’ राखेका छन् । एकीकृत नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टीको चुनाव चिह्न सूर्य रहने र विधानको प्रस्तावनामा तत्कालीन नेकपा माओवादीको जनयुद्ध शब्द राख्ने सहमति जुटिसकेको छ । केन्द्रीय कमिटीको संरचनालाई २९९ बाट बढाएर ३५१ जनासम्मको पु¥याउने सहमति भइसकेको छ । दुवै पार्टीबाट प्रतिशतका आधारमा नभएर व्यक्तिको योग्यता, अनुभव र क्षमताको मापदण्ड बनाएर दुवै अध्यक्षले केन्द्रीय कमिटीको संरचनासमेत करिबकरिब तयार पारिसकेका छन् । ‘कति सदस्यीय केन्द्रीय कमिटी भन्ने कुरा भइसकेपछि मात्र भन्न सकिने स्थिति छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘कार्यदलले २९९ सदस्यीय केन्द्रीय कमिटीको संरचना प्रस्ताव गरे पनि उहाँहरूले केही बढाउन सक्ने गरी गृहकार्य गरिरहनुभएको छ ।’ ती नेताले चुनाव चिह्न र विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने विषय टुंगिसकेको जानकारीसमेत दिए । प्रचण्डले आफ्ना तर्फबाट एकीकृत पार्टीको केन्द्रीय कमिटी सदस्य बन्ने सम्भावित नेताहरूको छुट्टै रोस्टर नै तयार पारिसकेका छन् । प्रधानमन्त्रीनिकट स्रोतले पनि केन्द्रीय कमिटीसहित दसवटै तहको कमिटीको आकार प्रतिशतमा नभएर दुवै पार्टीबाट योग्य नेताहरू छनोट गरेर टुंग्याउने गरी गृहकार्य भइरहेको जनाएको छ ।
प्रधानमन्त्री केपी ओलीसँग सबै विषयमा सहमति भइसकेका कारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफलबाट बिट मारिएको र केही दिनभित्रै दुवै पार्टी भंग गरेर नयाँ पार्टी बन्न लागेको बताउँदै आएका छन् । त्यति मात्र होइन, एकताको संघारमा पुगिएको भन्दै नेता–कार्यकर्ताहरूलाई क्रमभंग र छलाङका लागि तयार हुनसमेत निर्देशन दिइसकेका छन् । तर, भंग हुनुअघि नै एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै अन्तिम केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरिरहेका छन् । केन्द्रीय कमिटीकोे आ–आफ्नै बैठकबाट पार्टी विघटन गर्ने र एकीकरण प्रक्रियामा अघि बढ्ने औपचारिक निर्णय गर्नेछन् । त्यसपछि पार्टी एकता संयोजन समितिले तोकेको मितिमा दुवै पार्टीको संयुक्त बैठकबाट भंगको निर्णय अनुमोदन गर्दै नयाँ पार्टी गठनको संयुक्त निर्णय गर्ने तयारी भइरहेको बताइएको छ । लगत्तै नयाँ पार्टीको केन्द्रीय कमिटीको नामावलीसहित निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी दर्ता हुनेछ ।
एकतासँग जोडिएका सबै विषय टुंगिएकाले भारतीय प्रधानमन्त्री मोदी फर्किएलगत्तै एकता घोषणासभाको मिति टुंगो लगाउन तथा एकतासम्बन्धी प्रतिवेदन अनुमोदनका लागि पार्टी एकता संयोजन समितिको बैठक बोलाउने तयारी छ ।
प्रतिवेदनमा सहमति, भाषा मिलाउन बाँकी
पार्टी एकतासम्बन्धी राजनीतिक, सांगठनिक र विधानसम्बन्धी प्रतिवेदनमा प्रधानमन्त्री ओली र प्रचण्डबीच सहमति जुटिसकेको छ । प्रतिवेदनका भाषामा कसरी सामान्य परिमार्जन गर्ने कुरामा समेत सहमति जुटिसकेकाले त्यसलाई लिखित रूप दिने प्राविधिक काम मात्र बाँकी रहेको नेताहरूको भनाइ छ । भाषा मिलाउँदा जनयुद्धको योगदानबाट गणतन्त्र स्थापना भएकोलगायतका विषयलाई प्रस्टताका साथ खुलाउनुपर्ने कुरामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जोड दिँदै आएका छन् ।
सम्बन्धित समाचार
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- कान्तिपुरविरुद्ध रविको उजुरी
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- बार्दली रेष्टुरेन्टमा महानगरको डोजर
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
Leave a Reply