24th September 2017, Sunday

E-budhabar

सबै विवादलाई नेपालगन्जमै छाडेर आयौं



सबै विवादलाई नेपालगन्जमै छाडेर आयौं

० केही दिनअघि नेपालगन्जमा सम्पन्न नेपाल निजामती कर्मचारी संगठनको अधिवेशनबाट तपाई अध्यक्षमा निर्वाचित हुनुभएको छ । कस्तो महसुस भइरहेको छ ?

– संगठनको १०औं राष्ट्रिय अधिवेशन अत्यन्त सौहार्दपूर्ण ढंगबाट सम्पन्न भयो । यसले नयाँ नीति र नयाँ नेतृत्वसमेत निर्माण गरेको छ । अध्यक्षमा निर्वाचित भएपछि ममा नयाँ जिम्मेवारीबोध महसुस भएको छ । हुन त म यसभन्दा अगाडि पनि संगठनको विभिन्न तह र जिम्मेवारीमा रहेर काम गरिसकेको व्यक्ति हुँ । मैले केन्द्रीय कमिटीमा पाँच कार्यकालसम्म बसेर काम गरें । योभन्दा अघि विभिन्न जिम्मेवारीमा रहँदा आफूलाई जुन खालको जिम्मेवारीबोध महसुस हुन्थ्यो, त्योभन्दा गहन जिम्मेवारी प्राप्त भएको रूपमा लिएको छु मैले । अध्यक्षमा निर्वाचित भएसँगै मैले आफ्नो काँध बढी गहँ्रुगो भएको ठानेको छु । सबै साथीहरूलाई सँगै कसरी लिएर अगाडि बढ्ने र आगामी तीन वर्षसम्म राम्रोसँग काम गरेर सार्वजनिक प्रशासनलाई व्यवस्थित र भरलाग्दो कसरी बनाउने हो भन्ने सवालमा म चिन्तित छु ।
सरकारसँग कुन ढंगले सौदाबाजी गर्ने र के–के उपलब्धि लिन सकिन्छ, देखिने कामहरू कति गर्न सकिन्छ भन्ने पनि मेरो चिन्ताको विषय हो । यसलाई मैले चुनौती र अवसरका रूपमा लिएको छु । चुनौतीलाई पार लगाउन एकै मनका साथ हामी अघि बढ्नेछौं ।

० दसौं महाधिवेशनले तय गरेका नीतिगत कुराहरूचाँहि के–के हुन् ?

– अब संघीयतामा निजामती कर्मचारीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने नै अहिलेको हाम्रो महŒवपूर्ण सवाल हो । नयाँ संविधान जारी भइसकेपछि निजामती प्रशासनलाई तीन तहमा विभाजन गरेको छ । संघीय सरकारको प्रशासन, प्रदेश सरकारको प्रशासन र स्थानीय सरकारको प्रशासन छ । अहिले स्वास्थ्य सेवा र निजामती सेवाका गरी झन्डै ८२ हजार कर्मचारीको दरबन्दी रहेको छ । त्यसमध्ये बढीमा १५ हजार केन्द्रीय सरकारको कर्मचारीका रूपमा रहन्छन् भने बाँकी सबै कर्मचारीहरू प्रदेश र स्थानीय सरकारको मातहत रहन्छन् । यसमा कर्मचारीहरूलाई कसरी त्यो ठाउँमा पदस्थापन गर्ने, कार्यान्वयन गर्ने भन्ने विषय अहिलेको छलफलको विषय छ । यसबाहेक कर्मचारीका सामाजिक सुरक्षा, तलब–भत्ता, सरुवा–बढुवा, यसको निष्पक्षता र सहजताका कुराहरू पनि यसपालि हाम्रो संगठनले उठाएका विषयवस्तु हुन् ।
सँगसँगै हामी जनताका बीचमा कसरी लोकप्रिय बन्ने भन्ने सवाल छ । नागरिक समाज, राजनीतिक दल र आम मान्छेमा कर्मचारीहरू काम गर्दैनन्, गरिहाले अतिरिक्त सुविधा खोज्छन् भन्ने आरोप जुन ढंगले रहेको छ, त्यसलाई चिर्ने काम कसरी गर्ने भन्ने पनि यो अधिवेशनमा छलफल भएको छ । जनतासँग अत्यन्त नजिक भएर एकाकार हुने र जनताको सेवकका रूपमा काम गर्नुपर्छ र इमानदारी नै कर्मचारी संगठनको पहिचान हो, भ्रष्टाचार न्यूनीकरणमा हाम्रो संगठनका तलदेखि माथिसम्मका साथीहरू जुट्नुपर्छ र यसलाई अन्त्य गर्नुपर्छ, यो प्रशासनभित्रको क्यान्सर हो, यसलाई हामीले समाप्त पारेरै जानुपर्छ, होइन भने राष्ट्र निर्माण हुन सक्दैन भन्ने कुराहरू पनि उठेका छन् ।

० तपाईंहरूको पार्टीले समूहगत आधारमा महाधिवेशनमा प्रतिस्पर्धा नगर्ने भन्ने नीति लिए पनि तपार्इंहरूको महाधिवेशनमा त छरपस्ट रूपमै गुटगत खेलभयो नि ?

१ सय १५ जनाको केन्द्रीय कमिटी र १९ जनाको विभिन्न आयोग गरेर निर्वाचन भएको हो । आकांक्षीहरू झन्डै साढे ३ सयको हाराहारीमा खडा भएका थिए । एकले अर्कालाई कसरी चिन्ने भन्ने समस्याले सामान्य चिट बाँडिएको हो । तर, समूहगत भने होइन ।

० पार्टीका जिम्मेवार नेताहरू नै लागेर एक पक्षलाई जिताउन ठूलो मेहनत गरेको भन्ने कुरा आएको छ नि ?

– कसैलाई स्वाभाविक रूपमा त्यस्तो लागेको होला । आफूलाई मन पर्ने मान्छे जितिदिए हुन्थ्यो भन्ने सबै नेताको चाहना थियो होला । उहाँहरूको अन्तरमनमा भएको कुरा हामीले जान्ने भएनौं । निर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले भएको छ । मतदाताहरूले निर्भयतापूर्वक मत प्रयोग गर्न पाउनुभएको छ ।

० प्रतिनिधि मनोनयन गर्न माइन्युट गरेर पनि तपाईंहरूले अराजक गतिविधि प्रदर्शन गरी त्यसलाई रोक्न लगाउनुभएको र जसले गर्दा संस्थागत निर्णयनमान्ने चलन बसाउनुभएको भन्ने आरोप छ नि ?

– मनोनीत हुन चाहनेहरूको संख्या धेरै थियो । तर, थोरै मात्र मनोनीत भए । मनोनीत गर्ने पद्धति नै विवादास्पद कुरा हो । मनोनीतका लागि थोरै सिट छुट्ट्याइन्छन् तर आकांक्षी धेरै हुन्छन् । केन्द्रीय कमिटीमा पनि सबैका आ–आफ्ना मान्छे हुन सक्छन् । सबैलाई पार्न सकिँदैन । पार्न नसकेपछि चाहना राख्ने धेरै मान्छेहरू बाहिर हुनु स्वाभाविक हो । मनोनीतमा एकखालको सहमति गरेर जानुपर्छ भन्ने मेरो भनाइ थियो । खासगरी तत्कालीन अध्यक्ष मोहन घिमिरे र वरिष्ठ उपाध्यक्ष रहेको मबीच अध्यक्षका लागि उम्मेदवारी दिने भनेपछि सहमति गरौं, सहमतिमै आधाआधा गरौं भनिएको हो । तर, मसामु आएका नामहरू पर्न सकेनन्, उहाँको डायरीमा टिपिएका नामहरू मात्र पर्न सके । त्यस्तो भइसकेपछि मसँग आएका तर पर्न नसकेका मान्छेहरूले स्वतःस्फुर्त रूपमा विरोध जनाएका हुन् । त्यही विरोधस्वरूप त्यो स्थगित हुन पुगेको हो ।

० सबै पक्षलाई मिलाएर लैजान कस्तो योजना बनाउनुभएको छ ?

– आफ्नो तीनवर्षे कार्यकालमा सबैलाई मिलाएर लैजानु नै मेरो पहिलो योजना हुनेछ । सबैलाई सम्मान गरेर लैजाने, कसैलाई पनि नजिक र टाढा नगर्ने, कोही मान्छे आफैं टाढा सम्झिएर टाढाको महसुस गर्छ भने बेग्लै कुरा हो, अन्यथा सबैलाई आफ्नो नजिकमा राखेर सबैलाई समान व्यवहार गरेर लैजाने मेरो सोचाइ छ । कामको बाँडफाँड र जिम्मेवारीमा पनि उहाँहरूको योग्यता र क्षमताका साथै अनुभव र लगनशीलतालाई हेरेर कार्यविभाजन हुन्छ । केन्द्रीय सदस्यहरूलाई त्यहीअनुसारको इन्चार्जसिप तोक्ने, पायक पर्ने स्थानमा जिम्मेवारी दिन्छौं । साथै, सचिवालयमा पनि विभागहरू बाँडफाँड गर्दा क्षमता, योग्यता, चाहना सबै कुरालाई विचार गरेर निर्णय गर्छौं । त्यो ठूलो विवादको विषय हुँदैन ।

० अधिवेशनमा अस्वस्थ प्रतिस्पर्धाका साथै पैसाको पनि त्यत्तिकै चलखेल भयो, डरलाग्दो ढंगले बिलहरू तिरियो भन्ने कुरा उठेको छ नि ?

– बिलअनुसार करिब–करिब हाम्रो ७० लाख खर्च भयो ।

० यो त संगठनकै खर्च भयो, गुट चलाएको खर्च पनि त्यस्तै रह्यो भन्ने छ नि ?

– व्यक्तिगत बिलहरू त साथीहरूले कहाँ–कहाँ गर्नुभयो, त्यसको हिसाबकिताब मसँग हुने कुरा भएन । साथीहरू कोेही प्लेनमा जानुभयो, कोही गाडीमा जानुभयो । कोही बस रिजर्भ गरेर जानुभयो । आ–आफ्नो ढंगले खानपिन गर्नुभयो होला । खर्च गर्नु पनि भयो होला । गएका सदस्यहरूले आ–आफ्नो ढंगले गरेका खर्चहरूको कसले लेखाजोखा गर्ने ? सामूहिक रूपमा त्यस्तो कुनै खर्च भएको थाहा छैन । सामान्य प्रचारबाजीहरू गर्ने क्रममा साथीहरूले फोटोकपी गरेर नामहरू राखी पेपरहरू बाँड्नुभयो । निर्वाचनको बेला बाहिर भने नभएको पनि हल्लाहरू चल्छ । निर्वाचन भएपछि जतिसुकै राम्रो गर्छु भने पनि एकले अर्कोलाई आरोप–प्रत्यारोप लगाउने कार्य विगतदेखि नै यो संगठनमा मात्र होइन, अरू जनसंगठनहरूमा पनि चल्ने गर्दछ । कसैले सामूहिक पैसा उठाएको र सामूहिक खर्च गरेको मेरो जानकारीमा छैन । मलाई त्यस्तो सूचना आएको पनि छैन ।

० त्यसो भए विगतमा जे–जति विवादहरू थिए, ती सबैलाई नेपालगन्जमै छाडेर आउनुभयो ?

– हो । अधिवेशन हार्दिक रूपमा सम्पन्न भयो । यति ठूलो संगठनमा सामान्य वादविवाद हुनुलाई सामान्य रूपमा लिनुपर्छ । विवादहरूलाई हामीले नेपालगन्जमै छाडेर आयौं । मलाई कसैले निकट र विकटका रूपमा हेर्नुपर्दैन । म सबैको साझा मान्छे हुँ । संगठनको मान्छे हुँ । अब संगठनमा एकताबद्ध भएर आधिकारिक ट्रेड युनियनलाई आम कर्मचारीहरूको व्यापक हकहितमा परिचालित गरौं भन्ने मेरो मान्यता छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

प्रशासकको सहयोगविना मन्त्रीले भ्रष्टाचार गर्न सक्दैन

रणोद्वीप सिंह वा वीर शमशेरको पालाको कुरा श्री ३ लाई मन परेकी एउटी सुसारे थिइन । राणा परम्परामा सुसारे, नानी, मैयाँ साहेब, रानी, महारानीसमेत भनेर विभिन्न श्रेणीमा भित्रिनीहरूलाई- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जना चोरी लाजको पराकाष्ठा

सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न- ...
पूरा पढ्नुहोस्

छोटकरीमा