तस्वीरमा उहिलेको पोखरा
७ माघ, पोखरा । कुनै तस्वीर यस्ता हुन्छन् जसले मानिसलाई पुरानो समयतिर लैजान्छ । जारी पोखरा महोत्सव छिर्ने बित्तिकै दायाँपट्टि त्यस्तै तस्वीरको प्रदर्शनी कक्ष भेटिन्छ । भित्तामा लहरै झुण्डाइएका तस्वीरले उहिलेको पोखरासँग साक्षात्कार गराउँछ ।
शुक्रबार प्रर्दशनी कक्षमा पुगेकी अस्मि गुरुङका आँखा एउटा तस्वीरमा टक्क अडिए । किशोरावस्थाकी उनी केहीबेर त्यसमै रोकिइन् । जाङ्गे र कमिजमा खाली खुट्टा चौरमा उभिएका बालबालिकाको तस्वीरले गुरुङको ध्यान तान्यो ।
उबेलाको विद्यालय र बालबालिकाको अवस्था झल्काउने त्यो तस्वीरले मन छोएको उनले सुनाइन् । तस्वीर विसं २०१९ तिरको हो । खरको झुपडीबाट चलेको पोखराको अमरसिँह स्कुलको दृश्यलाई अमेरिकी नागरिक डगलस बिङ्गमले खिचेकी थिइन् ।
प्रदर्शनीमा ७० वर्षअघिको तालबाराही मन्दिरदेखि पोखरामा पहिलो पटक बस आउँदासम्मका तस्वीर राखिएका छन् । उहिलेको पोखरा कस्तो थियो ? संस्कृति, रहनसहन के थिए ? मानिसहरु के गर्थे ? समाज कस्तो थियो ? तस्वीर आफै बोल्छन् ।
तस्वीरमा उबेलाको फेवा, बेगनास र रुपातालको स्वरुप हेर्दा जोकोहीलाई अनौठो प्रतित हुन्छ । विसं २०२६ मा पोखरा विमानस्थल बन्दा काममा खट्ने श्रमजीवी, विसं २०१९ तिर बाँसको पुलबाट सेती नदी तरिरहेका महिलाहरु, त्यसबेला पोखरामा चल्ने गोरुगाडा आदिका दृश्यले मनलाई उद्धेलित पार्छ ।
तस्वीरले आजको उन्नत, विकसित र झकिझकाउ पोखराभन्दा दशकौँअघिको पोखरातिर मानिसलाई पुर्याउँछ । पोखराकै सुनील उलकले सङ्कलन गरेका तस्वीरलाई प्रदर्शनीमा राखिएको महोत्सव आयोजक यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले बताए । उनका अनुसार विदेशी र नेपालीले खिचेका तस्वीर प्रदर्शनीमा छन् । ‘महोत्सवमा आउने दर्शकले तस्वीर प्रर्दशनीलाई पनि चाखपूर्वक अवलोकन गर्छन्, ऐतिहासिक तस्वीर राखिएकाले प्रदर्शनीले महत्व पाएको हो’, उनले भने । अवलोकनकर्ताले प्रदर्शनीमा राखिएका तस्वीरलाई क्यामेरा, मोबाइलमा कैद गर्न भने पाउँदैनन् ।
तस्वीर सङ्कलक उलकले विदेशीसहित आफ्नो बुबा जगन्नाथले खिचेका तस्वीर प्रर्दशनीमा राखिएको बताए । जगन्नाथलाई पोखराको पहिलो फोटोग्राफरका रुपमा समेत चिनिन्छ । सन् १९६५ मा पहिलो पटक नेपाल आएका अमेरिकी नागरिक डग हलबाट उनले तस्वीर खिच्न सिकेका थिए ।
‘अमेरिकी पिस कोर भोलिन्टियर’ का रुमा हल नेपाल आएका थिए । त्योबेला नेपालका धेरै ठाउँ पुगेर उनले तस्वीर खिचेका थिए । प्रदर्शनीमा राखिएकामध्ये विदेशीले खिचेका तस्वीर रङ्गीन छन् भने नेपालीका श्यामश्वेत । आजभन्दा ६०-७० वर्षअघिको पोखराको समाज, भूगोल, संस्कृति र रीतिरिवाजको झल्को तस्वीरहरुमा छ’ उलकले भने, ‘यी तस्बिर हाम्रा अमूल्य पूँजी हुन्, इतिहासका साक्षी हुन्, यिनले भावी पुस्तालाई पुरानो नेपाल चिनाउँछन् ।
प्रदर्शनीमा विख्यात भूभर्गविद् टोनी हेगनले खिचेको तस्वीर समेत राखिएको छ । ‘उहिलेको पोखरा झल्काउने ३८ फोटो मात्र प्रदर्शनीमा छन्, धेरै तस्वीर अमेरिकी पिस कोर भोलिन्टियरले खिचेका छन्, केही तस्वीर मेरो बुबाका पनि छन्’, उलकले भने । उलकसँग पोखरासँग सम्बन्धित १० हजार तस्बिर सङ्ग्रहित छन् । शुक्रबारदेखि काठमाडौँस्थित सैनिक मुख्यालयमा चलिरहेको तस्बिर प्रदर्शनीमा पनि आफूले सङ्कलन गरेका सैनिकसँग सम्बन्धित तस्वीर राखिएको उनको भनाइ छ ।
गत पुस २७ गतेदेखि सुरु भएको एघारौँ संस्करणको पोखरा महोत्सव आउँदो सोमबार सकिँदैछ । महोत्सवमा कृषि, औद्यागिक उत्पादन, सूचना प्रविधिका सामग्रीको प्रदर्शन र बिक्रीकक्ष पनि राखिएको छ । रमाइलो बाल उद्यान, कलाकारको साङ्गीतिक प्रस्तुति, लोकनृत्य, हाँस्यव्यङ्ग्य प्रहसन, घोडा सवारलगायतले मेलामा आकर्षण बढाएको छ ।
महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, पर्यटन प्रवर्द्धन र न्यून आय भएका परिवारका बालबालिकालाई लक्ष्य गरी आवासीय छात्राबास निर्माणमा लगाइने आयोजकले जनाएको छ । महोत्वमा बिक्री हुने प्रत्येक टिकटबाट रु एक सेती नदी संरक्षणका नाममा छुट्याइने क्लबका अध्यक्ष श्रेष्ठले बताए । महोत्सवमा दुई सय ५८ व्यावसायिक कक्ष छन् । १३ दिनसम्म चल्ने महोत्सवलाई दुई लाख बढी दर्शकले अवलोकन गर्ने आंकलन गरिएको छ । रासस
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply