बिमा समितिका चापागाईंलाई पद जोगाउन चटारो
काठमाडौं । राष्ट्रिय बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंको योग्यताको प्रश्न उठेर उक्त मुद्दा सर्वोच्च अदालतसम्म पुगेपछि उनलाई निकै चटारो परेको छ । अघिल्लो सरकारले नियुक्ति गरेको र अर्थमन्त्री युवराज खतिवडाले समेत नरुचाइरहेकै बेला एक्कासि उनको नियुक्ति र योग्यताको बारे विवाद भएपछि उनी चटारोमा परेका हुन् ।
अध्यक्ष चापागाईंका विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अध्यक्षका रूपमा उनको नियुक्ति अवैधानिक भएको भन्दै अधिवक्ता डिल्लीप्रसाद न्यौपानेले सर्वोच्चमा रीट निवेदन दायर गरेका थिए । न्यौपानेले उनीसँग बिमाको अनुभव नभएको उल्लेख गरेका छन् । अध्यक्ष चापागाईं यसअघि बैंकिङ क्षेत्रमा कार्यरत थिए । तत्कालीन मन्त्रिपरिषद्ले चापागाईंलाई २०७३ पुस १८ मा बिमा समितिको अध्यक्षमा नियुक्त गरेको थियो । समितिको अध्यक्ष बन्न बिमा क्षेत्रको विज्ञ हुनुपर्ने र कम्तीमा राष्ट्र बैंकको फस्ट क्लास अफिसर भएको सात वर्ष हुनुपर्ने प्रावधान छ । तर चापागाईं बिमा क्षेत्रको विज्ञ पनि नभएको र राष्ट्र बैंकको फुट क्लासमा बढुवा भई पोखरा शाखाको म्यानेजर पद सम्हालेको चार वर्ष मात्र पुगेको थियो ।
पछिल्लोपटक चापागाईंले आफ्नो योग्यता र पदीय हैसियतबारे अदालतमा मुद्दा परेको भन्दै पछिल्लोपटकका केही सार्वजनिक कार्यक्रमहरूमा सहभागितासमेत जनााउन छोडेका थिए । केही दिनअघि नेपाल जनरल इन्स्योरेन्स कम्पनीको एक कार्यक्रममा उनी सहभागी भएनन् । गत जेठ १५ गते सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश दीपकराज जोशीले उक्त मुद्दाउपर सरकारको नाममा कारण देखाऊ आदेश दिएका थिए । इजलासले १५ दिनभित्र सरकार र बिमा समितिलाई लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतले बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंलाई अध्यक्ष पदमा नियुक्ति गर्दा पेस भएका कागजपत्र सरकारसँग माग गरेको छ । संयुक्त इजलासले योग्यतासम्बन्धी उठेको प्रश्नको निरुपण हुनुपर्ने भन्दै १५ दिनभित्र कागजपत्र पेस गर्न भनेको हो । सरकारका नाममा दिइएको आदेशमा भनिएको छ, ‘कुनै पनि सार्वजनिक पदमा नियुक्तिका लागि सम्बन्धित उम्मेदवारमा सो पदको निम्ति आवश्यक न्यूनतम योग्यता भएको हुनैपर्छ । यो सार्वजनिक सरोकारको विषय हो । तसर्थ, यसलाई सामान्य भन्न मिल्दैन । तर, विपक्षी चिरञ्जीवी चापागाईं बिमा समितिको अध्यक्ष पदमा नियुक्ति भएको एक वर्ष पाँच महिना अवधि व्यतीत भइसकेपछि प्रस्तुत रिट निवेदन दर्ता हुन आएको र हाल विपक्षीको लिखित जवाफ प्राप्त हुन बाँकी देखियो ।’
यता आफ्नो पद धरापमा पर्दै गएको महसुस भएपछि अध्यक्ष चापागाईंले राजनीतिक भेटघाटलाई तीव्रता पारेका छन् । त्यति मात्र होइन, मिडियासमेत आफ्नो विरुद्धमा लागेको भन्दै उनले केही दिनअघि समितिको पैसामा बल्थली भिलेज रिसोर्टमा पत्रकारहरूको एक कार्यक्रमसमेत गर्न लगाए । नेपाल आर्थिक पत्रकार समाज सेजनको नाममा आयोजना गरिएको सो कार्यक्रम आफू संकटमा पर्दै गएपछि मिडियालाई प्रभावित पार्ने उद्देश्यले आयोजना गरिएको सहभागी एक पत्रकारले नाम नबताउने सर्तमा दाबी गरे । २५ जना आर्थिक पत्रकारहरूलाई दह्रो खानपिनसहितको आवासीय कार्यक्रम आयोजना गरे अध्यक्ष चापागाईंले मिडियामार्फत दबाब सिर्जना गरेर न्याय प्रभावित गर्न खोजेको अर्थमा समेत लिइएको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply