माक्र्सवादका मूलभूत मान्यता र आजको एमाले
आज एमाले कुन नीति लागू गर्न सरकारमा जाने वा सरकारमा गएर कुन–कुन नीति कार्यक्रम लागू गर्ने भन्नेमा होइन कि कुन–कुन मन्त्रालय लिने र तिनमा कुन–कुन नेतालाई पठाउने भन्नेमा केन्द्रित छ । एमालेले आफ्ना नीतिअनुकूलको मन्त्रालय खोज्दैन, नेताअनुकूलको मन्त्रालय खोज्दछ । यी व्यवहारहरूले एमाले जनतामुखी होइन, सत्तामुखी भइरहेको छ भन्ने टिप्पणीलाई खण्डन होइन पुष्टि नै गर्दछन् ।
बेदुराम भुसाल
सामान्य राजनीतिक दृष्टिकोणबाट हेर्ने हो भने माक्र्सवादलाई श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त अथवा समाजवादी क्रान्तिको सिद्धान्त भन्न सकिन्छ र धेरैले यसै भन्दछन् पनि । यसका अन्तर्वस्तु या संघटक अंगहरूलाई समेटेर परिभाषित गर्ने हो भने माक्र्सवाद एक वैज्ञानिक दर्शन, क्रान्तिकारी समाज विज्ञान र श्रमजीवी वर्ग पक्षधर राजनीतिक अर्थशास्त्र हो, जसले श्रमजीवी वर्गको मुक्ति र सिंगै समाजको परिवर्तनका निम्ति मार्गदर्शन गर्दछ ।
माक्र्सवाद मजदुर वर्गीय आन्दोलनबाट प्राप्त शिक्षाहरूका आधारमा निर्माण भएको दर्शन एवम् सिद्धान्त हो । यो मजदुर वर्गीय आन्दोनभित्रका दुईखाले गलत प्रवृत्तिका विरुद्धको संघर्षका दौरान विकसित भएको हो । उन्नाइसौं शताब्दीको पूर्वाद्र्धमा युरोपमा चलिरहेको मजदुर वर्गीय आन्दोलनभित्र एकातर्फ उग्रवामपन्थी अराकजकतावादी प्रवृत्ति र अर्कोतर्फ काल्पनिक समाजवादी अर्थात् दक्षिणपन्थी सुधारवादी प्रवृत्ति देखिएका थिए । कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले ती दुवैखाले गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्दै माक्र्सवादी दर्शन र सिद्धान्तको प्रतिपादन एवम् विकास गरेका हुन् । त्यसैले माक्र्सवाद परम्परागत चिन्तन र व्यवहारभन्दा भिन्न प्रकृतिको चिन्तन एवम् व्यवहार पद्धति हो । यसले मुख्य गरी त्यस प्रकारको भिन्न प्रकृतिका चार वटा मूलभूत मान्यता अगाडि सारेको छ ।
पहिलो– माक्र्सवादले हरेक वस्तु र घटनाको अध्ययन तथा विश्लेषण सम्बन्धित वस्तु या घटनामै अन्तर्निहित द्वन्द्वात्मक गतिका आधारमा गर्नुपर्दछ भन्ने मान्यता राख्दछ । यही मान्यता राख्ने हुनाले माक्र्सवादी पद्धतिलाई द्वन्द्ववादी पद्धति भनिन्छ । त्यसैले भौतिक पदार्थमा रहेको द्वन्द्वात्मक गतिलाई संसारका सबै वस्तु र घटनाको उत्पत्ति, विकास र परिवर्तनको मूल कारण वा आधार मान्ने मान्यता माक्र्सवादको सर्व प्रमुख दार्शनिक मान्यता हो ।
दोस्रो– यसले संसारको कुनै पनि वस्तु, घटना, व्यतिm, संस्था आदि सबैलाई निरन्तर विकास र परिवर्तनको प्रक्रियामा हेर्ने गर्दछ । कार्ल माक्र्सले ‘फायरबाखबारे’ भन्ने निबन्धमा लेखेको ‘आजसम्मका दार्शनिकहरूले संसारको व्याख्या मात्रै गरे तर मूल सवाल त यसलाई बदल्नु हो’ भन्ने वाक्य सबैभन्दा बढी उद्धरण गरिने वाक्य हो । यस वाक्यले कार्ल माक्र्सको एउटा भिन्न दार्शनिक दृष्टिकोण बोकेको छ । यस प्रकारको दृष्टिकोण अगाडि सारेको हुनाले उनले दर्शनमै अर्थात् चिन्तन पद्धतिमै क्रान्ति ल्याइदिए भनेर मानिन्छ । त्यसैले माक्र्सवादले अगाडि सारेको दोस्रो मूल मान्यता संसार परिवर्तन गर्ने मान्यता हो ।
तेस्रो– माक्र्सवादले वर्गमा विभाजित समाजको मूल समस्या वर्गीय समस्या भएकाले यस्तो समाज बदल्न चाहनेहरूले श्रमजीवी वर्गको पक्षमा उभिनुपर्नेमा जोड दिन्छ र वर्गीय शोषण एवम् शासनको अन्त्य गर्ने अर्थात् वर्गीय समाज परिवर्तन गर्ने मूल माध्यम वर्ग संघर्ष हो भनेर विश्लेषण गर्दछ । त्यसैले माक्र्सवादले अगाडि सारेको तेस्रो मूल मान्यता श्रमजीवी वर्गको पक्षपोषण गर्ने र वर्ग संघर्षको बाटो हिँड्ने मान्यता हो ।
चौथो– माक्र्सवादले दर्शन र सिद्धान्तहरू केवल चिन्तन पद्धति मात्र नभएर कार्य पद्धतिसमेत हुन्, यिनीहरू गतिशील हुन्छन् र यिनीहरू केवल अध्ययन–मनन गर्नका निम्ति मात्र नभएर व्यवहारमा उतार्नका निम्ति समेत हुन्, व्यवहारमा लागू गर्नका निम्ति समेत हुन् भन्ने मान्दछ । यसै मान्यताका आधारमा माक्र्सवादीहरूले कुनै पनि सिद्धान्त जीवनका निम्ति हो, जीवन सिद्धान्तका निम्ति होइन भन्ने विश्लेषण गर्दछन् । त्यसैले माक्र्सवादले अगाडि सारेको चौथो मूल मान्यता दर्शन र सिद्धान्तहरू चिन्तन पद्धति मात्र नभएर कार्य पद्धतिसमेत हुन् भन्ने मान्यता हो ।
आजको नेकपा (एमाले) माक्र्सवादका उपर्युक्त मूल मान्यताअनुरूप चलिरहेको छ कि छैन ? श्रमजीवी वर्गको पक्ष एवम् हितमा समाजको आमूल परिवर्तन गर्ने अभियानलाई यसले आमजनतामा आभास हुने गरी अगाडि बढाउन सकेको छ कि छैन ? आफूले अँगालेका सिद्धान्त र कार्यक्रमहरूको कार्यान्वयनमा यो आफ्ना सम्पूर्ण बुद्धि र वर्कतका साथ लागिपरेको छ कि छैन ? यी अत्यन्त गम्भीर सवालहरू हुन् ।
पार्टी भनेको निश्चित सिद्धान्त र विचार अँगालेका मानिसहरूको समूह या संगठन हो । त्यसैले पार्टीको जीवन त्यस पार्टीका नेता तथा कार्यकर्ताहरूको जीवनमार्फत् प्रकट हुन्छ, व्यक्त हुन्छ । आजको नेकपा (एमाले)का नेता–कार्यकर्ताहरूको जीवन कस्तो छ ? उनीहरू कसरी चलिरहेका छन् ? उनीहरूले संसारका सम्पूर्ण वस्तु र घटनाहरूको उत्पत्ति, विकास र परिवर्तनको मूल कारण या आधार भौतिक पदार्थमा रहेका द्वन्द्वात्मक गति हो, अरू केही होइन भन्ने विश्व दृष्टिकोण अवलम्बन गरी तदनुरूप आफ्नो जीवन सञ्चालन गरिरहेका छन् कि छैनन् ? श्रमजीवी वर्गको पक्षमा नेपाली समाजको आमूल परिवर्तन गर्ने अभियानलाई उनीहरूले आमजनतामा आभास हुने गरी सञ्चालन गरिरहेका छन् कि छैनन् ? उनीहरूले जुन सिद्धान्त अँगालेका छन् त्यसलाई व्यवहारमा उतार्ने काम गरिरहेका छन् कि छैनन् ? यी प्रश्नहरूको जवाफ आजको नेकपा (एमाले)का नेता–कार्यकर्ताहरूको व्यावहारिक जीवनमा खोजियो भने थाहा हुनेछ कि आजको एमाले कहाँ छ र कस्तो छ ?
अहिले एमालेका नेता–कार्यकर्ताहरू जे जसरी चलिरहेका छन् र उनीहरूले जे जस्ता काम गरिरहेका छन्, त्यसका आधारमा आमजनताले टिप्पणी गरिरहेका छन् कि अहिलेको एमाले वास्तवमा जनतामुखी नभएर सत्तामुखी भइरहेको छ । आज एमाले आफ्ना नीति, विचार र सिद्धान्तको कार्यान्वयनका निम्ति भन्दा बढी नेताहरूका लागि पद, प्रतिष्ठा र पोजिसनको प्राप्तिमा केन्द्रित भएको छ । आज एमाले कुन नीति लागू गर्न सरकारमा जाने वा सरकारमा गएर कुन–कुन नीति कार्यक्रम लागू गर्ने भन्नेमा होइन कि कुन–कुन मन्त्रालय लिने र तिनमा कुन–कुन नेतालाई पठाउने भन्नेमा केन्द्रित छ । एमालेले आफ्ना नीतिअनुकूलको मन्त्रालय खोज्दैन, नेताअनुकूलको मन्त्रालय खोज्छ । यी व्यवहारहरूले एमाले जनतामुखी होइन, सत्तामुखी भइरहेको छ भन्ने टिप्पणीलाई खण्डन होइन पुष्टि नै गर्दछन् ।
आजको एमालेका नेता–कार्यकर्ताहरूको व्यवहार र काम–कारबाहीले आम श्रमजीवी नेपाली जनतालाई के कति लाभ भएको छ भनेर हेर्दा पनि धेरै सकारात्मक जवाफ पाउन गाह्रो छ । अहिले भइरहेका कामहरू सामूहिक हितमा र आमजनताको हितमा भन्दा बढी व्यक्तिगत हित र व्यक्तिगत लाभमा केन्द्रित छन् । एमाले पंक्ति जनसेवाका कामबाट टाढिँदै छ । लाभको लेन–देनका आधारमा काम गर्ने प्रवृत्ति हुर्किंदै गएको छ । यस्तो घृणित कार्य एउटा क्रान्तिकारी पार्टीका निम्ति जिन्दगी समाप्त पार्ने क्यान्सर रोगबाहेक अरू केही होइन । यस रोगलाई अझै हुर्कन दिने कि उखेलेर फ्याँक्ने ? सोच्नुपर्ने बेला भएको छ ।
आजको एमाले श्रमजीवी वर्गको पक्षमा छ कि छैन ? उसको चरित्र श्रमजीवी वर्ग पक्षीय छ कि छैन ? यसका नेता र कार्यकर्ताहरू श्रमजीवी वर्ग चरित्रका छन् कि छैनन् ? आम मानिसहरू भन्ने गर्छन् सिद्धान्तमा एमाले श्रमजीवी वर्गको पार्टी, व्यवहारमा एमाले श्रम नगर्नेहरूको पार्टी, सिद्धान्तमा एमाले सबैखाले अतिरिक्त लाभ र अनुचित लाभको विरोध गर्ने पार्टी व्यवहारमा एमाले अदृश्य लाभमा बाँच्नेहरूको पार्टी, सिद्धान्तमा एमाले पारदर्शिताको वकालत गर्ने पार्टी व्यवहारमा एमाले आफंै पारदर्शी हुन नसक्नेहरूको पार्टी, सिद्धान्तमा एमाले असमानता र विभेदको विरोध गर्ने पार्टी व्यवहारमा एमाले आफैंभित्र असमानता र विभेदका पर्खालहरू चुलिँदै गएको पार्टी, यस्तै–यस्तै । एमाले पंक्तिको ठूलो हिस्साका व्यवहारले उपर्युक्त कटु आलोचनालाई खण्डन गर्ने आधार प्रदान गर्दैनन्, बरु पुष्टिका आधारहरू नै दिन्छन् । सामन्ती र पुँजीवादी समाजका विकृति र विसंगतिलाई हटाएर एउटा सुन्दर समाज, न्यायिक समाज र समतामूलक समाज निर्माण गर्छु भनेर सपना बाँड्ने पार्टीमा उपर्युक्त विकृतिहरू हुर्किंदै जानु विडम्बनापूर्ण हो र ठूलो चिन्ताको विषय हो । यी विकृतिलाई हटाउने कि एमालेलाई समाप्त हुनेतर्फ जान दिने ? एमाले पंक्ति र एमालेका शुभचिन्तकहरूले निधार खुम्चाएर सोच्ने बेला भइसकेको छ ।
नेपालको कम्युनिस्ट आन्दोलन राष्ट्रवादको आन्दोलन पनि हो । नेकपा (एमाले) त्यस राष्ट्रवादको झन्डालाई माथि–माथि उठाउँदै आएको शक्ति हो । तर, आजको एमालेले त्यस राष्ट्रवादको झन्डालाई पनि दह्रोसँग पक्रन सकिरहेको छैन । गएको संविधानसभा निर्वाचनका सन्दर्भमा जारी गरिने घोषणापत्रमा ‘लोकतन्त्रको रक्षा र राष्ट्रियताको पहरेदारी, नेकपा (एमाले)को खबरदारी’ भन्ने नारा एउटा मुख्य नाराको रूपमा राखिनुपर्छ भनेर केन्द्रीय कमिटीबाट गरिएको निर्णय घोषणापत्रमा राख्न नसक्ने एमालेलाई राष्ट्रियताको पहरेदारी गर्ने शक्तिका रूपमा कसरी हेर्ने ? आज एमालेद्वारा समर्थित प्रधानमन्त्रीले टनकपुर भारतमै पर्छ भनेर बोल्दा सभामुखको रुलिङलाई आधार बनाएर औपचारिक प्रतिक्रिया दिन नचाहने एमालेलाई राष्ट्रियताको सवालमा दह्रो गरी अडिन्छ भनेर कसरी भन्ने ? त्यसैले राष्ट्रियताको सवालमा आजको एमाले कमजोर छ भन्ने आलोचनात्मक टिप्पणीमा सत्यता छैन भनेर दाबी गर्न गाह्रो छ ।
माथि उल्लिखित तमाम कमी–कमजोरीका बाबजुद पनि अहिले हाम्रो मुलुकमा रहेका तमाम राजनीतिक दलहरूमध्ये तुलनात्मक रूपमा एमाले नै सबैभन्दा सही छ, ठीक छ । तर, नयाँ नेपाल निर्माणको महाअभियानमा सही र प्रभावकारी नेतृत्व प्रदान गर्न अहिलेको जस्तो एमालेबाट सम्भव हुँदैन । त्यसैले नयाँ नेपाल निर्माणको अभियानमा सही नेतृत्व प्रदान गर्न नयाँ प्रकारको एमाले चाहिएको छ । त्यो नयाँ प्रकारको एमाले राष्ट्रियता, जनवाद र जनजीविकाको झन्डालाई इमानका साथ बोक्नेहरूको एमाले हुनुपर्दछ । त्यो एमाले श्रमिकहरूको एमाले, न्यायिकहरूको एमाले, समानताको व्यवहार गर्नेहरूको एमाले, सामाजिक परिवर्तनका बाहकहरूको एमाले र सिद्धान्त र व्यवहारबीच भिन्नता नराख्नेहरूको एमाले हुनुपर्दछ । यस प्रकारको नयाँ एमाले निर्माणका निम्ति नयाँ अभियानको खाँचो छ र त्यस अभियानमा दिलोज्यानले लाग्नेहरूको खाँचो छ । परिवर्तनका हिमायती साथीहरू ! आउनुहोस्, यस अभियानमा हातेमालो गरौं ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
- ‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
- अडानबाट पछि हटे हर्क साम्पाङ
- मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply