लोकतन्त्रको अगुवा शक्ति कम्युनिस्ट नै हो
नेपालको कम्युनिस्ट आन्दोलन समाजसापेक्ष हिसाबले अघि बढ्नुपर्छ । समाज जस्तो छ, त्यसलाई त्यही रूपमा हेर्न सकियो भने मात्र मानिसहरूबीचको उत्पादन सम्बन्ध, सामाजिक सम्बन्ध, मानिसहरूबीचको अनेक सम्बन्ध र अन्तर्विरोधहरू पर्गेल्न सकिन्छ । र, त्यसले समाजलाई एक ढंगले अग्रगति प्रदान गर्छ ।
नेपाली समाज एउटा वस्तुगत सत्य हो । समाजमा विभिन्न वर्गहरू छन् । विभिन्न जातिगत समुदायहरू पनि छन् । विभिन्न वर्ग र पेसाका मानिसहरू पनि छन् । ती सबैबीचको आपसी सम्बन्धको एउटा पक्ष पनि छ । कम्युनिस्ट पार्टीको मूल दायित्व समाजमा व्याप्त शोषण, उत्पीडन, दमन र भेदभावलाई समाप्त गर्नु हो । र, समाजलाई उन्नति, प्रगति र समृद्धिको दिशामा अघि बढाउने हो । समाजको पीडित तप्काको अगुवाइ गर्ने हो । र, समाज विकासको गतिलाई तीव्र बनाउनका लागि त्यसको अगुवाइ गर्ने हो । समाजको समृद्धि र उत्पादक शक्तिको विकासको निम्ति कम्युनिस्ट पार्टीले अगुवाइ गर्ने हो ।
रुसी समाज धेरै नै पिछडिएको थियो । कम्युनिस्ट नेता स्टालिनले पिछडिएको रुसी समाजलाई ठूला–ठूला औद्योगिकीकरणका कदमहरू चालेर अगाडि बढाउनुभयो । रुसको आर्थिक विकासलाई नयाँ उचाइमा पुर्याउनुभयो । एउटा शक्तिशाली राष्ट्रको रूपमा रुसलाई उभ्याउनुभयो । तर, कम्युनिस्ट पार्टी सञ्चालन, समाजमा रहेका आम मानिसहरूको कम्युनिस्ट पार्टीसँगको सम्बन्ध र राज्यसत्ताको सम्बन्धको सन्दर्भमा भने कतिपय कुरा उपयुक्त भएनन् ।
अन्तरपार्टी जनवाद भएन भन्ने कुरा जसरी उठेको छ, त्यो सही कुरा हो । किनभने, कम्युनिस्ट पार्टीलाई सर्वहारा वर्गको अग्रदल भनिन्छ । कम्युनिस्ट पार्टी दुई वटा विशेषताले गर्दा त्यो आफैंमा विशिष्ट हुन्छ । एउटा, वर्गीय दृष्टिकोणका कारणले हो । वर्गीय दृष्टिकोणलाई निर्देश गर्ने भनेको माक्र्सवाद र द्वन्द्वात्मक भौतिकवादका कारणले हो । दोस्रो, समाजलाई बुझ्ने र रूपान्तरण गर्ने कुरामा अगुवाइ गर्ने कारणले हो । कम्युनिस्ट पार्टी र माक्र्सवादको उपादेयता यो दुई वटा कुरामा छ । आफू बसिरहेको समाज विकासको कुन चरणमा छ, कस्तो अवस्थामा छ, त्यसलाई बुझ्ने र बुझिसकेपछि त्यस समाजमा रहेको विकृति, विसंगति र अनुचित कुराहरूलाई समाप्त पारेर मानवले बाँच्नलायक समाज निर्माण गरी न्यायपूर्ण समाज बनाउनका लागि उसले तद्अनुरुपको नीति तथा कार्यनीतिहरू तर्जुमा गर्दछ ।
नेपालका कम्युनिस्टहरूले नेपाली समाजलाई अरू देशका पार्टीहरूको तुलनामा बढी बुझ्ने काम गरे । र, नेपाली जनताको समस्यासँग उनीहरूले आफूलाई आत्मसात् पनि गरे । नेपाली जनताका पीडालाई उनीहरूले आफ्नो पीडा ठाने । तर, अहिले सामाजिक आन्दोलनबाट कम्युनिस्ट पार्टी कता–कता टाढा भएको छ । जतिबेला कम्युनिस्ट पार्टी जनताको आन्दोलनसँग, सामाजिक आन्दोलनसँग एकाकार भयो, त्यसको अगुवाइ गर्यो त्यसमा जनताले साथ दिए । त्यसो त, समाजमा उत्पन्न विषयवस्तुहरूप्रति कम्युनिस्ट पार्टीले एउटा धारणा बनाउँछ । प्रत्येक पार्टीले धारणा बनाउनुपर्छ । कम्युनिस्ट पार्टीले त्यो धारणा बनाउने र विषयवस्तुलाई सम्बोधन गर्दै विषयवस्तुको सही समाधान गर्ने र प्रस्तुत गरिसकेपछि त्यो विषयवस्तु सही रहेछ भनेर जनतामा त्यो बोध गराउने हो । अहिले पनि हाम्रासामु ठूलो अवसर छ, विशाल सम्भावना छ । समकालीन नेपाली राजनीतिमा नेपाली कम्युनिस्ट पार्टीको हाराहारीमा अरू कुनै पनि पार्टीहरू, अरू कुनै पनि सामाजिक राजनीतिक शक्तिहरू विद्यमान छैनन् । तर, नेपालको वाम आन्दोलनभित्र नै अनेक खालका भड्काव प्रवृत्तिहरू छन् । एउटा त जडसूत्रवादी चिन्तन छ, त्यो जडसूत्रवाद कहाँ–कहाँ अभिव्यक्त भएको छ, त्यसलाई हेर्नुपर्यो । २००६ सालकै कुरालाई मात्र कम्युनिस्ट पार्टीहरूले मानिरहने अथवा ०४९ सालमा नेकपा (एमाले)ले कार्यक्रमिक रूपमा अघि सारेको जनताको बहुदलीय जनवादलाई मात्र मानिरहने हो ? यसमा विचार गर्नुपर्ने भएको छ । परिस्थिति बदलिसकेको छ । व्यवहार फेरिएको छ । सिद्धान्त जहाँको त्यहीँ छ । सिद्धान्तले व्यवहारलाई निर्देश गर्नुपर्छ । व्यवहार अगाडि बढिसकेको छ र सिद्धान्त पछाडि छ भने त्यो सिद्धान्त काम लाग्दैन । सिद्धान्तलाई मालाको रूपमा जप्दा मात्र त्यसले व्यवहारमा परिणाम दिँदैन । सिद्धान्त भनेको व्यवहारलाई निर्देश गर्ने माध्यम हो । त्यसैले अहिले नेपाली समाजको विकास र परिवर्तन सँगसँगै जनताको बहुदलीय जनवादलाई हामीले समृद्ध बनाउनुपर्ने आवश्यकता छ । जबजको उपादेयता सकियो भन्ने मत राख्दै त्यो ठाउँमा पनि पुग्न सक्लान् । त्यो उचित होइन । तर, जबजमा जे–जे कुरा राखियो, त्यही नै पर्याप्त छ, त्यसमा कमा र फुलस्टप पनि चलाउनु हुँदैन र समृद्ध गर्नुपर्ने आवश्यकता छैन भन्ने अर्को किसिमको विचार हुनसक्ला । त्यसैले जडसूत्रवादी विचार होस् या विसर्जनवादी, यी दुवैखाले विचारसँग जुध्नुपर्ने आवश्यकता अहिले पनि छ । हामीले ०४९ सालमा जडसूत्रवादको विरोध गर्यौं, दक्षिणपन्थी अवसरवाद र विर्सजनवादको भण्डाफोर गरौं भन्ने वैचारिक नारा अघि सार्यौं ।
नयाँ जनवादले अहिले पनि परिवर्तनको निम्ति हिंसाको वकालत गर्छ । अहिलेको युग र समयमा नेपाली समाजमा हिंसाको भूमिका के ? १४ हजारभन्दा बढी नेपाली जनताका छोराछोरीले रगत बगाए । के त्यसको आवश्यकता पुष्टि भयो ? रगत नबगाई र सशस्त्र जनयुद्ध सञ्चालन नगरेर पनि जनतामा चेतना जगाउने काम गर्न सकिन्थ्यो । तत्कालीन शासन सत्ताका विरुद्ध जनतालाई शान्तिपूर्ण रूपले अगुवाइ गरेको भए कम रगत बगाएर हामीले ठूला–ठूला परिवर्तन गर्न सक्थ्यौं ।
०६२/६३ को ऐतिहासिक जनआन्दोलन, जनक्रान्ति थियो । त्यसले नै राजतन्त्र उन्मूलन गर्यो । राजतन्त्र उन्मूलन गरिसकेपछि स्वाभाविक रूपमा सामन्तवादको एउटा अगुवा संस्था, प्रतिनिधिको अन्त्य भइसकेको छ । तसर्थ, हामीले पुन: अर्को राजनीतिक क्रान्ति गरिरहनुपर्ने आवश्यकता छैन । हामीले जुन उपलब्धि हासिल गरेका छौं, त्यसलाई अब संस्थागत गर्न मात्र बाँकी छ । हामीले गणतन्त्रलाई संस्थागत गर्ने हो । त्यसलाई हामीले हाम्रो जीवनमा, राजनीतिक पार्टीको जीवनमा, समाजमा, राज्य सञ्चालनका तरिकाहरूमा रूपान्तरण गर्नुपर्छ । तसर्थ, राज्य, समाज र पार्टीहरूको पनि लोकतान्त्रिकीकरण हुनुपर्छ ।
एक जमाना थियो कांग्रेस भयो भने प्रजातन्त्र जोगियो, कांग्रेस कमजोर भयो भने प्रजातन्त्र सिद्धियो । कम्युनिस्टहरू आए भने प्रजातन्त्र मासिन्छ, कम्युनिस्टहरूले अधिनायकवाद लाद्छ भन्थे । यो नेपालको र संसारभरि फैलिएको कम्युनिस्टहरूप्रतिको जुन पूर्वाग्रही दृष्टिकोण थियो, त्यो दृष्टिकोणलाई चिर्ने काममा एमालेले महत्त्वपूर्ण भूमिका खेल्यो । कमरेड मदन भण्डारीको अगुवाइमा जबजको नयाँ विचार ल्याएर हामीले दृढताका साथ भन्यौं कि लोकतन्त्रको अगुवा शक्ति कम्युनिस्ट हुनसक्छ । समाजको लोकतान्त्रिकीकरण गर्ने काममा कम्युनिस्टले अगुवाइ गर्नेछ । प्रतिस्पर्धाहरूलाई बुर्जुवाहरूको एकलौटी खेल ठान्ने प्रवृत्ति रह्यो । हामी सर्वहारा वर्गको अगुवा दस्ता बनिदियौं । अरूलाई प्रतिक्रियावादी वर्ग भन्ने र उसँग प्रतिस्पर्धा गर्न डराउने अवस्था बन्यो । प्रतिस्पर्धा केमा हुन्छ, विचारमा हुन्छ, दृष्टिकोण र विश्लेषण गर्ने क्षमतामा हुन्छ । योजना निर्माण र कुनै पनि चुनौतीको सामना गर्ने क्षमतामा हुन्छ । जनतालाई आफूतर्फ आकर्षित गर्ने खुबी र क्षमतामा हुन्छ । समाज परिवर्तन गर्ने कुरामा हुन्छ । प्रतिस्पर्धा गर्नका लागि हामी डराउनुपर्ने पनि कुनै आवश्यकता छैन । प्रतिस्पर्धाबाट हामीले के सिक्यौं कि, कम्युनिस्ट पार्टी एउटा लोकतान्त्रिक मूल्य र मान्यता बोकेको पार्टी हो ।
मानव समाज विकासको अनेक चरणबाट गुज्रिँदै अहिलेको अवस्थासम्म आइपुगेको हो । आदिम साम्यवाद, दास युग, सामन्तवादी युग हुँदै पुँजीवादी युग स्थापना भयो । यी युगहरू पार हुँदै समाजवादी युगमा जाने हो । अहिले पनि हामी अर्धसामन्ती युगमा छौं । अहिलेको चरणमा हामीले पुँजीवादको व्यापक विस्तार गर्ने हो । सामन्तवाद तीव्र विघटनको अवस्थामा पुगेको छ । राजनीतिक रूपमा सामन्तवाद धराशायी अवस्थामा पुगेको छ ।
तात्विक रूपमा यसका अवशेषहरू विद्यमान छन् । त्यसलाई पनि उन्मूलन गर्नुपर्छ । त्यो सांस्कृतिक रूपमा देखा परिरहेको छ, संस्कारको रूपमा देखा परिरहेको छ । त्यसका विरुद्ध जुध्नुपर्ने आवश्यकता छ । तर, आर्थिक विकासका निम्ति हामीले पुँजीवादको विस्तार गर्नुपर्छ । जबजमा पनि नेपाली समाज तीन वटा चरणबाट गुज्रिएर अघि बढ्ने उल्लेख छ । पहिलो, सामन्तवादको अन्त्यको चरण । दोस्रो, पुँजीवादी विकासको चरण । र तेस्रो, समाजवादी विकासको चरण हो ।
अहिले हामी सामन्तवादको अन्त्यको चरणमा छौं । र, पुँजीवादको तीव्र विकासको संक्रमणकालीन चरणबाट गुज्रिरहेका छौं । संक्रमणकालीन चरणबाट गुज्रिरहेकाले पार्टी, पार्टीका कार्यकर्ताहरू र नेपाली जनतालाई तदनुरूप नै प्रशिक्षित गर्नुपर्ने आवश्यता छ । र, त्यहीअनुरूपका नीतिहरू अपनाउनुपर्ने आवश्यकता पर्छ । पुँजीको व्यापक परिचालनका लागि औद्योगिक पुँजीले मात्र पनि हुँदैन । नेपाली समाजको तीव्र आर्थिक विकासका निम्ति कुन–कुन क्षेत्रमा पुँजी लगानीलाई प्राथमिकता दिने हो र पुँजी लगानी गर्ने हो भन्ने निक्र्यौल गर्नुपर्छ । पुँजी र श्रमबीच कस्तो सम्बन्ध स्थापित गर्ने, श्रमिक हितको रक्षा कसरी गर्ने, पुँजी लगानीकर्ताको हितको रक्षा कसरी गर्ने हो भन्ने सवालमा चिन्तनशील हुनुपर्छ ।
परम्परागत सोच त्याग्नु आवश्यक छ । पराम्परागत ढंगले काम हुँदा रुसमा साम्यवाद निर्माणको चरणमा पुग्दै गर्दा त्यो धराशायी भयो । उनीहरूले निजी पुँजीलाई पूर्णतया अस्वीकार गरे । जसले गर्दा सेवा क्षेत्र लगभग राजकीय क्षेत्र थियो । सेवा क्षेत्र त छँदै थिएन । अहिले नेपाली समाजमा सेवालगायत सबै क्षेत्र एकदमै राम्रो ढंगले विस्तार भइरहेको छ । सेवा क्षेत्रको लगानीलाई हामीले अनुत्पादक लगानी मात्र मान्न हुँदैन । सेवा क्षेत्रले धेरै रोजगारी सिर्जना गरेको छ ।
हामीमा औद्योगिक लगानीको कम सम्भावना छ । जलविद्युत् लगानीको व्यापक सम्भावना छ । पूर्वाधारको क्षेत्रमा विशाल लगानीको सम्भावना छ । पर्यटन, कृषिको आधुनिकीकरण र व्यवसायीकरणको विशाल सम्भावना छ । यी सबै सम्भावनाहरूलाई प्रयोग गर्दै सामाजिक न्यायको प्रत्याभूतिका साथै उत्पादकत्व क्षमतामा वृद्धि गर्नुपर्छ । साथै, सामाजिक न्यायको पाटोलाई पनि उचित महत्त्व दिएर अगाडि बढ्न आवश्यक छ । हामी कहिलेकाहीँ एकपक्षीय हुन पुग्छौं । कहिले आर्थिक विकास त कहिले सामाजिक न्यायको पाटो मात्र हेर्न पुग्छौं । आर्थिक उन्नति र प्रगति गर्दागर्दै जसरी उत्पादनमा वुद्धि हुन्छ, त्यसैगरी लाग भनेर पुँजीवादी प्रवृत्तिले भन्छ । समाजवादको मान्यता बोक्दा समान वितरणको प्रश्न आउँछ । अझ चीनमा त जति वितरण हुन्छ, काम गरे पनि नगरे पनि उसले खान पाउने व्यवस्था छ । हाम्रो समाजवादमा जसले काम गर्ने छैन, उसले खान पाउने छैन भनिएको थियो । तर, हामी साम्यवादको यस्तो किसिमको परिकल्पनामा पुग्यौं, काम गरे पनि नगरे पनि उसको खानाको ग्यारेन्टी राज्यले गर्नेछ । राज्य त्यस्तो हुन सक्दैन । राज्यले अपाङ्गता भएका र अशक्तहरूलाई मात्र हेर्नुपर्छ । यो मान्यतामा गइसकेपछि हामी आर्थिक विकासमा पनि अघि बढ्छौं भने आर्थीक प्रगति गरिसकेपछि राज्यको राजश्वबाट एउटा हिस्सा हामी सामाजीक न्यायका निम्ति पनि खर्च गर्न सक्छौं । जसले गर्दा प्रत्येक नागरिक सुखी होऊन्, सम्पन्न होऊन् । यी विभिन्न मान्यताहरूका बारेमा बहस गर्न जरुरी छ ।
संविधान निर्माणपछि पुँजीको व्यापक निर्माणका लागि हामी लाग्नेछौं । सामन्तवादका सबै अवशेष अत्त्यका लागि पनि जुट्नुपर्ने आवश्यकता छ । पार्टीको नवौं महाधिवेशनमा पनि यसबारे व्यापक बहस हुनेछ ।
(नेपाल अध्ययन केन्द्रद्वारा आयोजित अन्तरसंवादमा व्यक्त विचारमा आधारित)
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
- ‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
- अडानबाट पछि हटे हर्क साम्पाङ
- मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply