लोकप्रिय प्रतिनिधि
लमजुङको १ नम्बर क्षेत्र नेपाली कांग्रेसको प्रमुख आधार क्षेत्र मानिथ्यो । हुन पनि २०६४ सालको अपवादलाई छाडेर हेर्ने हो भने अहिलेसम्मका हरेक चुनावमा कांग्रेसका उम्मेदवार पराजित हुनुपरेको थिएन यस क्षेत्रबाट । तर, १२ वर्षमा खोलो पनि फर्कन्छ भन्ने उखान झैं खोलो फर्कियो र दोस्रो संविधानसभाको निर्वाचनमा सो क्षेत्रबाट एमाले उम्मेदवार जमिन्द्रमान घलेले विजय प्राप्त गरे । पार्टीले अहिलेसम्म खाता खोल्न नसकेको स्थानबाट उनले बाजी मार्दा सबैतिर खुसियाली छायो । घलेले ११ हजार ३ सय ९८ मत पाए कांग्रेसका डा. टकराज गुरुङले उनको भन्दा ८ सय ९८ मत कम आयो । ०४८ र ०५१ सालमा नेपाली कांग्रेसका रामचन्द्र अधिकारीले सहजै शानदार मतका साथ जितेको यो ठाउँमा ०५६ मा भने कांग्रेसकै रामबहादुर गुरुङले जिते । अधिकारीलाई गिरिजाप्रसाद कोइरालाले स्वास्थ्य सहायक मन्त्री पनि बनाइदिएपछि त झन् एमालेले जित्ने आशा हरायो । जिल्लाबाटै पहिलो पटक मन्त्री बनाइएको भन्दै मन्त्री हुनेले मात्र योजना दिन सक्छ भनेर कांग्रेसजनले मन्त्रीको पार्टीलाई मत दिनुपर्छ भन्ने अभियान नै चलाए ।
त्यसो त ०६४ मा भने उनले टिकट पाउनु नै विजय हुनु हो भनेर पनि प्रचार–प्रसार भइसकेको थियो । त्यसका दुई कारण थिए । पहिलो, उनी क्रियाशीलताले स्थापित जनप्रिय व्यक्तित्व थिए । ०४९ सालमा भुलभुले गाविस अध्यक्ष निर्वाचित भएका जमिन्द्रमानले दोस्रो स्थानीय चुनावमा सहजै जिल्ला विकास समितिको सभापति जिते । जनतासँग स्थानीय तहमा मसिनो गरी सानिध्यता भएका उनी सभापति भएकै बेलामा सबैका प्रिय थिए । उनलाई पार्टी कार्यकर्ता र आम जनताबाहेक अन्य दलका नेता कार्यकर्ताले समेत ‘आँखामा हाले पनि नबिझाउने मान्छे’ भन्थे । लमजुङको मुहार फेर्न उनले अनवरत ढंगले पसिना बगाएका थिए । दोस्रो कारण भनेको, एमालेभित्र एकल जातीय पहिचानको मुद्दा उठाएर विग्रह ल्याउने कोसिस भइरहँदा बहुपहिचानको मुद्दा र पार्टीको निर्णीत धारणामा तलवितल नगरी उभिने र सामाजिक सद्भाव थप सुदृढ पार्नुपर्छ भन्ने केही व्यक्तित्वमध्ये उनी अगुवा नै थिए ।
उनको जन्म उत्तरी लमजुङको भुलभुले गाविस–७, उस्ता भन्ने गाँउमा २०१९ साल साउन २८ गते भएको हो । बुबा स्वर्गीय कर्णबहादुर घले पञ्चायतकालमा गाउँको प्रधानपञ्च थिए । त्यसका साथै उनीहरूको राम्रै चल्तीको कपडा पसल पनि थियो । बुबाको शानशौकत राम्रै भएकाले उनलाई खान, लाउन र पढ्न दु:ख थिएन । घलेले गाउँकै नरेन्द्र प्राविबाट प्राथमिक शिक्षा लिए भने निमावि र मावि तहको अध्ययनका लागि हालको अमर उच्च मावि पुगे । छिमेकी गाविस खुदीमा रहेको सो विद्यालयमा घरैबाट आउजाउ गर्न सम्भव थिएन । डेरा लिएर बस्नुपथ्र्यो । डेरामै बसेर पढेका घलेले ०३४ सालमा एसएलसी पास गरे । एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि उनी काठमाडौं आए । सानोठिमी क्याम्पसबाट आईएड र कीर्तिपुरबाट बीएड गरेपििछ केही वर्षको विश्राम लिए अनि केही समयपछि एमएड पढ्न थाले । पढाइ अधुरै छोडेर उनी ०४९ सालमा गाविस अध्यक्ष लड्न लमजुङ जानुपर्ने अवस्था आयो । जनसम्पर्क राम्रै थियो । बुबासँगै रहेर व्यापारमा लामो समय उनले पनि सहयोग गरेका थिए । जेठो छोरा भएकाले बुबा जस्तै जनताको काममा लागौं भन्ने भावना उनलाई भित्रैदेखि जागेछ । त्यसैले पढाइ बीचमै छाडेर ०४९ को स्थानीय चुनावमा अध्यक्षका उम्मेदवार बनेर गाउँ फर्के ।
त्यसपछि भने उनी सक्रिय राजनीतिमै जोडिए । चाहेर पनि वा नचाहेर पनि उनी जनताको कामबाट टाढिन मिलेन । अनेरास्ववियुको सम्पर्कमा रहेर उनले विद्यार्थी संगठनको काम त ०३६ सालबाटै गर्न थालेका थिए । सानोठिमी पढ्दा अनेरास्ववियुको प्रारम्भिक कमिटीमा रहेर काम गरे पनि त्यति सक्रिय भएर लागेका थिएनन् । त्यसैले त पार्टी सदस्यता पनि ०४८ सालमा मात्र लिए उनले ।
तर, त्यसयता भने उनी लगातार पार्टीको जिम्मेवार पदमा छन् । उनले ०४९ सालमा इलाका कमिटी सचिवको जिम्मेवारी पाए भने ०५० मा जिल्ला कमिटीमा मनोनीत हुने मौका पाए । ०५१ मा जिल्लाको दोस्रो पार्टी अधिवेशन भयो । उनी सदस्यमा निर्वाचित भए । ०५५ को तेस्रो अधिवेशनबाट उपसचिवमा निर्वाचित भए । जतिबेला जिल्ला विकास समितिको पनि सभापति भइसकेका थिए । ०५८ सालमा चौथो अधिवेशन भयो । त्यसबेला फेरि सचिवालय सदस्यको जिम्मेवारी पाए । ०६२ सालमा पाँचांै अधिवेशन भयो । उनी उपसचिव भए । ०६६ मा छैटौं अधिवेशन भयो, त्यसमा निर्वाचनद्वारा नै अध्यक्षमा विजय प्राप्त गरे । ०६९ मा भएको सातांै अधिवेशनबाट अध्यक्षमा पराजित भएपछि भने उनी गण्डकी अञ्चल समन्वय कमिटीको सदस्य भएर बसेका थिए । भर्खरै सम्पन्न नवांै राष्ट्रिय महाधिवेशनमा १२ जना जनजाति केन्द्रीय सदस्यमा उनको उम्मेदवारी परेको थियो तर उनले १३ हैसियत पाए । निर्वाचित हुन सकेनन् ।
जित र हार उनका लागि त्यति महत्त्वपूर्ण कुरा होइन रे । भन्छन्–‘मुख्य कुरा जनताको कामप्रति लगाव हो । म बाँचुन्जेल त्यसैमा केन्द्रित हुन्छु ।’ उनको जिल्लाको विकासप्रति चासो र रुचि अलि बेग्लै छ । ‘ग्रास रुट’बाटै उनले विकास अभियानमा योगदान दिएका छन् । उनलाई धेरैले पक्षपात नगर्ने र सबैलाई समान व्यवहार गर्ने नेताको रूपमा चिन्छन् । त्यसैले संगठन दरिलो नहुँदा नहँुदै पनि उनले सबै पक्षको मत पाएर जितेको बताइन्छ । अझै उनको क्षेत्रको २९ गाविसमध्ये सबै गाविसको केन्द्रमा गाडी पुग्दैन । सात गाविसमा अझै बिजुली बत्ती छैन । अबको २–३ वर्षभित्र सबै गाविसमा विद्युतीकरण हुने उनको आशा छ । उनको क्षेत्रको ४ वटा जति बाटो आधा दर्जन गाविसलाई समेट्ने खालको छ । त्यसलाई पूरा गर्न पाए विकास निर्माणमा नयाँ आयाम थपिने उनको विचार छ । त्यसैले योजना आयोग र विकासे मन्त्रालय धाउँदैमा उनको आधी समय बितिरहेको छ । ‘विकास सँगसँगै माघ ८ भित्र नयाँ संविधान जारी गर्ने मूल काममा चुक्नुहुन्न’– उनको ठहर छ– ‘हामी त्यही काममा लागेका छौं र विश्वस्त पनि छौं । ’
त्यसो त उनी जिल्ला विकास समितिमा पुग्ने बेलासम्म दीर्घकालीन सोचको योजना बनाउने चलन थिएन । उनकै पहलमा आवधिक जिल्ला विकास योजना बनाएर सबै क्षेत्रमा सन्तुलित विकासको अवधारणा सुरु गरे । जिल्लाका हरेक क्षेत्रमा मोटरबाटो पुर्याउने लक्ष्य लिएका थिए उनले । ०५४ सालसम्म जिल्लामा कतै बिजुली बत्ती थिएन । आफू सभापति भएकै साल पहिलो पटक सदरमुकाम बेंशीसहरमा बत्ती आयो । जसका लागि उनले विभिन्न एनजीओ–आईएनजीओदेखि आमा समूह र स्थानीय निकायको बजेट छुट्याएर अभियान नै चलाए । उनले विकासमा हात हाल्दा ताका मस्र्याङ्दी नदीमा पुल थिएन । उनकै पहलमा अहिलेसम्म मस्र्याङ्दीमा चार वटा पक्की पुल तयार भइसकेका छन् भने दुई वटा निर्माणाधीन छन् । यसले जिल्लामा उत्पादित बस्तु बजारमा ल्याउने काम धेरै सहज भएको छ ।
उनको बिहे ०४५ सालमा भयो । जतिबेला उनी बीएड पढ्दै थिए । अहिले छोरी गीताको बिहे भइसकेको छ भने ठूलो छोरा बीबीए दोस्रो वर्ष तथा कान्छो छोरा ११ कक्षामा पढ्दैछन् । आफूले परम्परागत ढंगले नै बिहे गरे पनि उनले छोरी गीता घलेको भने कन्यादान गरेरै अन्तरजातीय बिहे गरिदिए । गुरुङकी छोरीलाई उनैले छानेकी अधिकारी ब्राह्मणका छोराले पारिवारिक सहमतिमै भित्र्याए, जुन जनवादी बिहेमा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल पनि सहभागी हुनुभएको थियो । घलेलाई राजनीतिमा लागेर ‘न केही पाएँ, न केही गुमाएँ’ भन्ने लागेको छ । पार्टीलाई अप्ठेरो पर्दा केही सघाउन सकेकोमा भने खुसी लागेको उनी बताउँछन् । उनी भन्छन्– अघिल्लो संविधानसभाको अवशानपछि एकल जातीय पहिचानको हुँडलो मच्चाएर पार्टीको घोषित नीतिविरुद्ध ककस बनाएर केही साथीहरू लागे । पहिचान र सामथ्र्य सँगसँगै लैजानुपर्छ, यसले सामाजिक सद्भाव बिथोल्छ भनेर हामी २४ जिल्लाका अध्यक्षहरू लाग्यौं । अन्तत: जनमत पार्टीको निर्णीत विचारतिर ढल्कियो । यसले शीर्ष नेताहरू नै अलग्गिएर गए पनि खासै असर पुर्याएन । ‘सदियौंदेखि मिलेर बसेको बहुजातीय समाजमा बिखण्डन ल्याउन दुष्प्रयास रोक्न सकेकामा गर्व लाग्छ’– घलेले खुसी व्यक्त गरे ।
उनी संविधानसभाको क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समिति तथा व्यवस्थापिकाको कृषि र जलस्रोत समितिको सदस्य छन् । वनस्थलीमा नै सानो घर बनाएकाले डेरा लिने झन्झटबाट उनी मुक्त छन् । माइलो भाइको परिवार अमेरिका र कान्छो भाइको परिवार हङकङमा बस्छन् । गुरुङ जातिको अधिकांश परिवार कि विदेशी सेनामा भर्ती हुने कि त बेलायत, हङकङ र अमेरिका जस्ता आकर्षक देशमा रोजगारीका लागि जाने गर्छ । घरकै सहोदर भाइहरू त्यता लाग्दा पनि उनी भने जनताको सेवामै लाग्ने अठोटका साथ राजनीतिमै हामफाले ।
पार्टीको महाधिवेशनमा भर्खरै पराजित भएकाले केन्द्रीय सदस्य बन्ने उनको सपना अब पाँच वर्षलाई हरायो । अब पार्टीमा के भूमिकामा रहनुहुन्छ त ? भन्ने प्रश्नमा उनले भने– ‘पाँच वर्षलाई हारिहालियो, मनोनयन गरिदेऊ भन्दै जाने पनि नैतिक अधिकार भएन, तैपनि यसबारेमा पार्टीले एउटा मापदण्ड बनाउला नै, हेरौं जे जिम्मेवारी दिन्छ, त्यसैमा रमाउने हो ।’
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
-
अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
-
मोफसलका ‘आँखा बा’
-
भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
-
तस्वीरमा उहिलेको पोखरा
-
एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
-
एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
-
देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
-
एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
-
चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
-
नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply