मोदीले बनाएको छवि किन बिगार्दैछन् रञ्जितले
काठमाडौं । साउन तेस्रो साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरेयता नेपालको आन्तरिक मामिलामा भारतीय पक्षबाट हस्तक्षेप बन्द हुनुका साथै दुई देशबीच लामो समयदेखि थाती रहेका विषयले गति लिएपछि नेपालमा भारतीय छविमा निकै सुधार आएको थियो । तर, प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपति बाराक ओबामाको स्वागत सत्कारमा व्यस्त रहेका बेला नेपालस्थित दूत रञ्जित रायले प्रदर्शन गरेको व्यवहारले फेरि उसको आलोचना बढेको छ ।
दलहरूका बीचमा सहमतिका लागि भन्दै राजदूत रायले सुरु गरेको पहल नै गैरकूटनीतिक र आपत्तिजनक भएको महसुस राजनीतिक दलका नेताहरूले गरेका छन् । दुई साताअघि एमाले अध्यक्ष केपी ओलीसँग बालकोट पुगेर १ घन्टा ४५ मिनेट कुरा गरेका राजदूत रायले शनिबार बेलुकी त्यहीँ पुगेर आधा घन्टा बिताए । एक त राजनीतिक संक्रमण निर्णायक मोडमा पुगेका बेला उनी यसरी कुदेको देख्दा–सुन्दा नै नेपाली जनमत स्वत: भारतप्रति नकारात्मक भइहाल्छ । त्यसमा पनि, एकातिर सहमति पनि हुन नदिने र अर्कातिर संविधानले नै निर्दिष्ट गरेको प्रक्रिया अनुसार अघि पनि बढ्न नदिने एमाओवादी र मधेसी दलहरूकै एजेन्डाको वकालत गरेपछि झन् कसैको चित्त बुझ्ने कुरै भएन । शनिबार ओलीलाई एमाओवादी र मधेसी दलकै एजेन्डा सुनाउँदा ओलीले ठट्यौलो पारामा भने– ‘मैले त महामहिमले केही नयाँ कुरा भन्नुहुन्छ कि भनेको, यो कुरा त मलाई पुष्पकमल दाहालजीले हिजोअस्ति नै भनिसक्नुभएको थियो ।’
अरूमाथि कडाइ, रञ्जितलाई छुट
केही समयअघि बेलायती राजदूत ….स्पार्कले नेपालमा धर्म परिवर्तन गर्न पाउने व्यक्तिगत स्वतन्त्रता पनि हुनुपर्छ भनेर लेख लेखेका कारण सरकारले आपत्ति प्रकट गर्यो । पत्र लेखेरै उनलाई परराष्ट्र मन्त्रालयमा ‘समन’ गरिएकोमा उनी विवादबाट बच्न हतार–हतार आफ्नो देशतिर गए भने कार्यबाहक राजदूतले मन्त्रालय पुगेर आफ्नो मुलुकको नियत त्यस्तो नभएको स्पष्टीकरण दिए । उता, दूतावासले वक्तव्य निकालेरै राजदूत स्पार्कको आशय त्यस्तो नभएको प्रस्टीकरण पनि दियो । साथै, केही दिनअघि युरोपेली संघ आबद्ध केही राजदूतले राष्ट्रद्रोहको वकालत गर्ने सीके रावतलाई भेटेकोमा सरकारले बोलाएरै
चेतावनी पनि दियो । स्रोतका अनुसार, सहमतिका नाममा संविधानसभाको प्रक्रिया रोक्नका लागि राजदूत रायले सबभन्दा बढी कोसिस राष्ट्रपति रामवरण यादवसमक्ष गरेका थिए । संविधान जारी हुनासाथ आफ्नो पद जाने भएका कारण यादव प्रक्रिया अलि लम्बिए हुन्थ्यो भन्ने पक्षमा रहेको कुरा भारतीयहरूले बुझेका छन् । त्यही कमजोरीको फाइदा उठाउनका लागि राजदूत रायले राष्ट्रपतिलाई प्रयोग गर्न खोजेको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ ।
शनिबार राजदूत रायले प्रधानमन्त्री सुशील कोइरालालाई पनि भेटेका थिए । ओलीलाई भेट्नुभन्दा पहिला उनले कोइरालासँग सहमतिका साथ गएमा तपाईंको उचाइ बढ्छ भन्दै उकासेका थिए । तर, राष्ट्रियताका मामिलामा विगतका कोइरालाहरूभन्दा भिन्न रहेका प्रधानमन्त्री कोइरालाले प्रक्रिया सुरु भएपछि पनि संवाद नरोकिने जानकारी दिँदै तर अहिले प्रक्रिया नरोकिने बताएका थिए । अघिल्लो दिन सभाध्यक्ष नेम्वाङले आइतबारसम्म प्रक्रिया सारौं भन्दा आजै हुनुपर्छ भन्दै झोक्किएर हिँडेका प्रधानमन्त्री कोइरालाले निराश पारेपछि भावी सरकार निर्माणमा सहयोगको आशा गरेको अनुमानसहित एमाओवादी र मोर्चाका प्रस्ताव बोकेर राजदूत राय अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए । तर, त्यहाँ उनले अहिलेसम्मकै सबैभन्दा चिसो व्यवहार महसुस गरेर फर्किनुपरेको स्रोतको दाबी छ ।
गणतन्त्र दिवसमा नमीठो सन्देश
केही समयअघिसम्म नेपालका स–साना मामिलामा पनि हात हालेर भारतले धेरै आलोचना बेहोरेको थियो । यतिसम्म कि सरकारका मुख्यसचिव, सचिव र विभागका डीजी बनाउनमा समेत भारतीय दूतावासले फोन गर्ने गरेका अनेक उदाहरण नेताहरूसँग छन् । अझ भारतीय गुप्तचर संस्था ‘रअ’ ले नेपाल मामिला ‘ह्यान्डिल’ गरेका कारण त्यसले भित्रभित्रै वितण्डा नै मच्चाउँदै आएको थियो । साउनको दोस्रो साता भारतीय विदेशमन्त्री सुष्मा स्वराज र तेस्रो साता प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरेपछि भने एकाएक ‘रअ’को भूमिका सीमित भएको बुझाइ नेपालमा बढेको थियो । ‘रअ’को इशारामा चल्ने भनेर चिनिएका बिचौलियाहरूको भूमिका पनि त्यसयता सबैले देख्ने गरी न्यून भएको थियो । तर, यतिबेला प्रधानमन्त्री मोदीसहित भारतीय विदेश मन्त्रालयको नेतृत्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको भ्रमणमा व्यस्त रहेको बेला नेपालमा पुरानै संयन्त्र सक्रिय भएको विश्लेषण राजनीतिक वृत्तमा चलेको छ । शीर्ष बैठकमा सहभागी हुने एक नेताले भने– ‘त्यहाँको राजनीतिक र प्रशासनिक नेतृत्वलाई फेरि दिग्भ्रमित गरिए जस्तो छ । पहिला जस्तै व्यवहार देखाइयो ।’
ती बूढालाई पनि छोडेनन्
नेपालको राजनीतिमा जस्तोसुकै आँधीहुरी आउँदा पनि भारतले पत्याउने नेताका रूपमा सूर्यबहादुर थापाको नाम लिइन्छ । भारतबाट उच्च भ्रमण हुँदा सानो दलको संसदीय दलको नेता पनि हुन नसकेका थापालाई छुटाइँदैन । र, आफूलाई आवश्यक पर्दा ती वृद्धलाई पनि प्रयोग गर्न भारतीय संयन्त्रले बाँकी राखेन । त्यसको एउटा प्रमाणका रूपमा लिन सकिन्छ, शनिबार बिहानै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनी लाजिम्पाट पुग्नु । एक सभासद् गत आइतबार संविधानसभामा भन्दै थिए– ‘भारतले बिचरा बूढामाथि गरेको लगानीको पाइपाइ हिसाब ननिकाली छोड्ने भएन । नभए ९० वर्ष पुग्न लागेका बूढालाई किन दु:ख दिनुपरेको होला ?’
अमरेश कांग्रेसमा असुरक्षित ?
भारतीय एजेन्सीसँग नजिकको सम्बन्ध रहेको भनेर गर्व गर्ने कांग्रेस सभासद् अमरेश सिंहले यतिबेला खुलेआम एमाओवादी र मधेसी दलहरूले भनेका एजेन्डाहरूको वकालत गरिरहेका छन् । कांग्रेसमा उनी कसका मानिस हुन् भनेर सभासद्हरूले चर्को विरोध गरेपछि उनी कांग्रेस संसदीय दलको कार्यालयमा पनि त्यति देखिँदैनन् । शनिबार सभाध्यक्षको कार्यकक्षमा उनी भन्दै थिए– ‘मलाई त आफ्नैले कुट्लान् भन्ने डर छ ।’
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply