राजनीतिक समाचारमा पुरुष प्रधानता
नेपाली मिडियामा प्रकाशित प्रसारित राजनीतिक समाचारहरूमा ५१.५ प्रतिशत समाचार पुरुष पत्रकारले तयार गर्दछन् भने केवल २.६ प्रतिशत मात्र महिला पत्रकारले बनाउँछन् । राजनीतिक समाचारभित्र चर्चा गरिने, विचार लिइने वा अन्तर्वार्ता गरिने पात्रहरूमध्ये पनि ९०.४ प्रतिशत पुरुष छन् र केवल ७.७ प्रतिशत मात्र महिला छन् । अध्ययन गरिएका कुल ४२१९ राजनीतिक समाचार र अन्य सामग्रीमा पात्रको रूपमा उल्लिखित कुल १७,७२३ जनाको विश्लेषणबाट यस्तो तथ्यांक देखिएको हो । कुल राजनीतिक सामग्रीहरूमध्ये केवल १.४ (६१ वटा) मात्र महिलाकेन्द्रित छन् ।
यी तथ्यांकहरूको सार निष्कर्ष एउटै हो, नेपाली मिडियाका राजनीतिक समाचारमा पुरुष प्रधानता छ । निश्चय नै तर्क गर्न सकिन्छ राजनीति पुरुष प्रधान छ भने राजनीतिक समाचारमा पुरुष आधिक्य हुनु के अस्वाभाविक भयो र ? यथार्थ जस्तो छ, मिडियामा त्यहीँ त देखिन्छ । यस तर्कलाई गलत नै भनिहाल्न त मिल्दैन तर मिडियाको कर्तव्य यथार्थलाई झल्काउने मात्र नभई समाज र मुलुकलाई पथप्रदर्शन गर्ने पनि हो । यस अर्थमा राजनीतिमा महिला र पुरुष साझेदारी हुनुपर्दछ र राजनीतिक मामिलामा दुवैका विचार, अनुभव र दृष्टिकोणले उत्तिकै महत्त्व राख्दछन् भन्ने तथ्य झल्काउनमा नेपाली मिडिया नराम्रोसँग चुकेको छ ।
अस्मिता महिला प्रकाशन गृहले अध्ययन गरेर भर्खरै सार्वजनिक भएको ‘नेपाली मिडियाका राजनीतिक समाचारमा लैंगिकता’ विषयक मिडिया मनिटरिङ प्रतिवेदनले उपरोक्त तथ्य उजागर गरेको छ । नेपाली मिडियामा राजनीतिक समाचार कसले बनाउँछन् भन्ने प्रश्नको अन्तरमा चियाएर केलाउँदा समाचार तयार गर्ने, समाचारभित्र समेटिने, समाचारको अन्तर्वस्तुमा विचार र अनुभव लिइने सबै पक्षहरूमा पुरुषहरूको उपस्थिति अत्यधिक छ । साथै, महिला नेता वा महिला सरोकारका विषय वा लैंगिक समानताका सवाललाई केन्द्रमा राखेर तयार गरिएका सामग्री पनि अत्यन्त कम छन् भन्ने यस अध्ययनले प्रस्ट्याएको छ ।
मिडिया आम जनताका इच्छा र आकांक्षालाई वाणी दिने माध्यम हो । यसलाई आवाजविहीनहरूको आवाज भनेर पनि सबैले मानेकै छन् । यसर्थ, यसले राज्यको चौथो अंगको मर्यादा पाएको छ भने मिडियाबाट सबै जनताप्रति समान व्यवहारको अपेक्षा अस्वाभाविक होइन । मिडिया समाजको पथप्रदर्शक हुनाले र यससँग भोलिको समाज पुनर्निर्माण गर्न सक्ने तागत पनि हुनाले सबै तह र तप्काका जनताले यसलाई विश्वास गर्दछन् र आफनो हितैषी ठान्दछन् ।
महिला अधिकार आन्दोलनका लागि पनि मिडिया प्रमुख मित्रशक्ति हो । मिडियाले साथ दिएका कारण नै विश्व महिला आन्दोलन र विशेषत: नेपाली महिला आन्दोलनले पनि महत्त्वपूर्ण उपलब्धि प्राप्त गर्न सकेको छ । महिला आन्दोलनका धेरै सवालहरूमा बेलाबेलामा मिडियाको द्वैध चरित्र देखिए पनि निर्णायक समयमा मिडियाले साथ दिएकै कारण धेरै कानुनी समानता प्राप्त गर्न र नीतिहरू बन्न सकेका छन् भनेर उदारतासाथ भन्न सकिन्छ ।
तर पनि कतिपय मामिलामा मिडियाको आम चरित्र महिलाको पक्षमा छैन भन्नुपर्ने अवस्था विद्यमान नै छ । मिडियाका अन्तर्वस्तुहरूमा महिलालाई अधुरो र गलत रूपमा चित्रण तथा प्रतिनिधित्व गराउने प्रवृत्ति, आम राष्ट्रिय सरोकारका विषयहरूमा महिलाको दृष्टिकोणको अघोषित बहिष्कार, उपभोक्ताहरूलाई आकर्षित गर्न महिला–यौन र हिंसाका सन्दर्भहरूको सनसनीखेज प्रस्तुति, मुख्य समाचार पृष्ठ र समयहरूमा महिलालाई प्रत्यक्ष प्रभाव पार्ने विषयहरूको उपेक्षा गर्ने चलन, समाचार–कक्षमा महिलाहरूलाई कम महत्त्वपूर्ण पदहरूमा राखिने प्रचलन, सञ्चार संस्थाहरूभित्र महिलामैत्री वातावरणको अभाव जस्ता पक्षहरू विश्वभरिका महिलाहरूका लागि गम्भीर सरोकारका विषय बनेका छन् ।
समाचार र अन्य सामग्रीको माध्यमबाट मिडियाले सूचना प्रवाह गर्नुका साथै शिक्षा र मनोरञ्जन पनि प्रदान गर्दछ । सिद्धान्तत: समाचार छनोट र संकलन प्रक्रिया तटस्थ एवम् वस्तुगत हुनुपर्छ भनिए पनि यथार्थमा यो प्रक्रिया सधंै पूर्ण तटस्थ हुन सकेको पाइँदैन । समाचार बन्नलायक धेरै घटना वा प्रक्रियाको बीचबाट पत्रकारहरूलाई बढी महत्त्वपूर्ण लागेका केही विषय समाचार बनाइन्छ र अरू छाडिन्छ । यसरी समाचार छनोट, संकलन, सम्पादन र सम्प्रेषणमा पत्रकारहरूको बुझाइ र दृष्टिकोण (माइन्ड सेट)को ठूलो भूमिका रहन्छ ।
सैद्धान्तिक रूपमा व्यवस्थित नीतिहरूको अभाव र व्यवहारिक रूपमा पत्रकारहरूको यही मनस्थितिका कारणले गर्दा नेपाली मिडियाका राजनीतिक समाचारमा महिलाहरूको न्यून प्रतिनिधित्व मात्र हुन सकेको हो । महिला र पुरुषका बीचको आर्थिक एवम् सामाजिक भेदभाव र तिनले सिर्जना गर्ने लैंगिक सम्बन्धले समाचारमा पनि महिलालाई उपेक्षा गर्ने, तिनका विषयमा बहस गर्न नचाहने, तिनको दृष्टिकोणबाट विषयलाई नहेर्ने आदि प्रवृत्ति हावी हुने अवस्था सिर्जना भएको हो ।
सामान्यतया मिडियाका अन्तर्वस्तु (कन्टेन्ट) मा सुविचारित रूपमा लैंगिक असमानतालाई कम गर्नु भनेको आफ्नो पेसागत तटस्थतालाई तिलाञ्जली दिनु हो र यसले मिडियाको स्वतन्त्रतालाई खुम्च्याउँछ भन्ने बुझाइ पत्रकारहरूमाझ पाइन्छ । तर, यथार्थमा बरु विद्यमान संरचनागत, आर्थिक र सांस्कृतिक अवरोधहरूले नै महिलाको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई साँघुर्याएको स्थिति छ । अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकार आफैंमा लैंगिक रूपमा संवेदनशील र तटस्थ नभएको वर्तमान अवस्थामा मिडियाद्वारा लैंगिक असमानता र महिलामाथिको भेदभावको सांस्कृतिक आधारलाई नै पुनर्शक्तिशाली बनाउने काम भइरहेको छ ।
अस्मिताले नेपालका १४ वटा राष्ट्रिय दैनिक, ४ वटा टेलिभिजन र ४ वटा रेडियो स्टेसनका प्राइम टाइम बुलेटिनका सन् २०१४ मे २२ देखि जुन ११ सम्म तीन हप्ताका राजनीतिक समाचारहरूको लैंगिक विश्लेषण गरेको थियो । पत्रिकामा समाचारका साथै फिचर, विचारमूलक लेख, सम्पादकीय र सम्पादकलाई चिठीसमेतको अध्ययन गरिएको थियो । टिभी, रेडियो र पत्रिकाका गरी कुल ४२१९ वटा मिडिया सामग्रीको अनुगमन गर्दा यस्ता केही गम्भीर निष्कर्षहरू प्राप्त भएका हुन् ।
नेपाली मिडियामा राजनीतिक समाचारले उच्च प्राथमिकतामा पाउने गरेका छन् । राजनीतिक समाचारमध्ये पनि सबैभन्दा बढी घरेलु राजनीति र सरकारसँग सम्बन्धित छन् र ७० प्रतिशतभन्दा बढी समाचार राष्ट्रिय महत्त्वका छन् ।
नेपाली मिडियामा अपवादबाहेक राजनीतिक समाचार लैंगिक समानतासँग जोडिएर नआउने र लैंगिक समानताका समाचारहरू राजनीतिक महत्त्वका साथ तयार नगरिने गरेको पाइन्छ । राजनीतिक क्षेत्र तथा नेतृत्वमा रहेका महिला व्यक्तित्वहरूले अझै पनि समाचारमा राजनीतिक महत्त्व एवम् दृष्टिकोण पाउन नसकिरहेको अवस्था छ । निकै थोरै (०.६ प्रतिशत) सामग्री मात्र लैंगिक असमानताका विषयमा केन्द्रित रहने गरेका छन् । बाइलाइन लेख्ने पत्रकार, एंकर र रिपोर्टरका रूपमा महिला अत्यन्त न्यून छन् । राजनीतिक सामग्री तयार गर्ने पत्रकारका रूपमा महिलाको सहभागिता अत्यन्त कमजोर छ । राजनीतिक विषयमा महिलाले आफ्नो अनुभव, विचार र दृष्टिकोण दिने अवसर पाउँदैनन् । समाचार वा समाचार विश्लेषणमा महिला प्रवक्ता वा विज्ञको भूमिकामा अति नै कम छन् । राजनीतिक समाचारले अझै पनि महिलालाई समाचारमा चित्रण गरिने पात्र, विचार वा अनुभव व्यक्त गर्ने व्यक्ति तथा सम्बन्धित विषयका विज्ञका रूपमा स्वीकार्न नसकिरहेको र महिला अधिकार तथा लैंगिक समानताका सवालहरूलाई राजनीतिक महत्त्व प्रदान गर्न हिच्किचाइरहेको अवस्था छ ।
राजनीतिक समाचारमा निकै कम मात्र हिंसा–पीडित र प्रभावितहरूको सरोकार, विचार वा अनुभव समेटिन्छ । राजनीतिक सामग्रीेले नगण्य संख्यामा मात्र महिला–केन्द्रित, महिला–पुरुषबीचको असमानता उजागर गर्ने र परम्परागत भूमिका वा चित्रणलाई चुनौती दिने गरेका छन् । यसबाट राजनीति महिलाको पनि उत्तिकै सरोकारको क्षेत्र हो भन्ने मान्यतालाई स्थापित गर्न र राजनीतिक अभ्यासहरूले महिलाको जीवनमा महत्त्वपूर्ण प्रभाव पार्दछन् भन्ने बहसलाई अगाडि बढाउन बाधा पुर्याउँछ भन्ने तथ्यलाई पत्रकारहरूले आत्मसात् गर्न नसकेको पाइन्छ ।
राजनीतिक समाचार र अन्य सामग्रीमा महिलाको स्वच्छ चित्रण, विचार, अनुभव, भूमिका, महिला आन्दोलनका एजेन्डाहरूको बहिष्करण सिंगो महिला अधिकार आन्दोलन र लैंगिक समानताको आन्दोलनलाई प्रभावित गर्ने पाटो हो । त्यसैले राजनीतिक समाचार र अन्य सामग्रीमा लैंगिक प्रतिनिधित्व उल्लेखनीय रूपमा बढाउन पत्रकारहरू व्यक्तिगत रूपमा सचेत र संवेदनशील हुनुपर्दछ । साथै मिडियासँग सम्बन्धित राज्यका निकाय र नियमनकारी बोर्ड, प्रकाशन प्रसारण संस्था, पत्रकारको हकहितका लागि बनेका संघ–संगठन–महासंघ, मिडियासम्बन्धी अध्ययन अध्यापन हुने शिक्षण संस्था, महिला र मिडियाको क्षेत्रमा काम गर्ने सामाजिक संस्था सबैको महत्त्वपूर्ण भूमिका हुन्छ ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply