संसद्का ‘बिन्दास’ महासचिव
काठमाडौं । भनिन्छ,‘ बाह्र वर्षमा त खोला पनि फर्कन्छ ।’ तर, जहाँ पनि यो भनाइ मेल खाँदैन । सिंहदरबारस्थित संसद् सचिवालय परिसरको काठ घर नं १ को एउटा ढोकामा १२ वर्षसम्म एउटै नाम प्लेट झुन्डिरहने भएको छ । सात वर्षसम्म भुन्डिइसककेको ‘मनोहरप्रसाद भट्टराई’ को नाम अरू पाँच वर्षसम्म पनि महासचिवका रूपमा त्यही झन्डिरहनेछ ।झन्डै तीन सय कर्मचारी रहेका संसद्का सबैजसोले उनलाई महासचिव मात्र भनेर चिन्दैनन् । त्यसका अगाडि ‘बिन्दास’ को ट्याग पनि भुन्ड्याउन मन पराउँछन् । काठमाडौको खातापिता परिवारका उनी साँच्चिकै बिन्दास छन् ।बहुदल आएयता चार जनाले संसद्को महासचिवको भूमिका पूरा गरिसकेका छन् । जीवनलाल सत्याल, ईश्वरीप्रसाद उपाध्याय, सूर्यकिरण गुरुङ र मनोहरप्रसाद । तर, दुई कार्यकाल नै महासचिव हुने सौभाग्य पाउने भट्टराई नै हुन् । पाँच वर्षको कार्यकाल रहने मुख्यसचिव सरहको यो पदमा भट्टराईले दुई वर्ष कार्यबाहक महासचिव चलाए भने पाँच वर्ष महासचिव ।यही चैत ३ गते उनले पाँच वर्षको दोस्रो कार्यकालका लागि फेरि नियुक्ति पाएका छन् । त्यसो त संसद्को महासचिव भनेको राजनीतिक नियुक्तिको पद हो । संसद् सेवाभन्दा बाहिरका जो सुकै विज्ञलाई सभामुखको सिफारिसमा यो पदमा नियुक्त गर्न सकिने प्रावधान छ । तर, भट्टराई संसद सेवाकै कर्मचारी हुन् । राष्टिय पञ्चायतदेखि नै निरन्तर संसद् सेवामा कार्यरत उनी संसद् सचिवालयका पुराना कर्मचारी हुन् ।
संसद्को महासचिवको १० वटा परिभाषित कामको नियमावलीमै उल्लेख छ । उसले, सचिवालयको प्रशासकीय प्रमुखका रूपमा काम गर्ने, व्यवस्थापिका संसद् सेवाका कर्मचारीको नियुक्ति, अवकाश र सजायसम्बन्धी कार्य गर्ने, सचिवालय सञ्चालन र व्यवस्थापनसम्बन्धी कार्य गर्ने, बजेट, कार्यक्रम र योजना तयार गर्ने, सचिवालयको भौतिक निर्माण र सुधारसम्बन्धी काम गर्ने, मित्रराष्ट, विदेशी कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय निकाय, राष्ट्रिय तथा अन्तर्रा्रष्टिय संघसंस्थासँग समन्वय कायम गरी सहयोग आदनप्रदान गर्नेलगायतका छन् । तर, यी सबै कुरामा स्वभावले पनि भट्टराई त्यति धेरै रुचि राख्दैनन् । एक कर्मचारीले भने, ‘ती काममा पनि सचिव, सहसचिव बढी प्रभावकारी देखिन्छन् ।’
सभामुखसँगको संयोग
संसद्का सभामुख सुवास नेम्वाङ र महासचिव भट्टराईबीच अनौठो संयोग छ । भट्टराईलाई पाँच वर्षअगाडि पहिलोचोटी महासचिवका रूपमा भट्टराईलाई नेम्वाङले नै शपथ खुवाएका थिए । दोस्रोचोटि चैत ३ गते पनि नेम्वाङले नै शपथ खुवाए । शपथ खाने र खुवाउने एउटै भएकै कारण दोस्रोचोटिको शपथमा मन्तव्यको कुनै कार्यक्रमसमेत राखिएको थिएन । नेम्वाङ र भट्टराईको स्वभाव पनि धेरै हदसम्म मेल खाने खालको भएको बताइन्छ । दुवै नरम स्वभावका छन् । कुनै पनि कुरामा रिस्क नलिने सभामुख नेम्वाङ र महासचिव भट्टराईको स्वभाव ठ्याक्कै उस्तै छ, एक कर्मचारीले भने, ‘दुवैको स्वभाव त्यस्तो हँुदैनथ्यो भने अघिल्लो संविधानसभाका बेला अर्थमन्त्रीमाथि हातपात हुँदा र यस पटक त्यत्रा कुर्सी तोडफोड हुँदा दाषीहरू यति सजिलै उम्कन पाउने थिएनन्।’
किन दोहोरिए भट्टराई ?
संसद् सचिवालयका सचिव ठाकुरप्रसाद बराल, सहसचिव टेकप्रसाद ढुंगानादेखि लिएर पूर्वप्रशासक विमलप्रसाद कोइरालालगायतका धेरैको नाम संसद्को महासचिवको आकांक्षीका रूपमा बाहिर आएको थियो । तर, बाजी भट्टराईले नै मार्नुका पछाडि कुनै पनि कुरामा ‘रिस्क’ लिन नचाहने सभामुख नेम्वाङको स्वभावले काम गरेको बताइन्छ । भट्टराई कार्यशैलीप्रति न त अहिलेसम्म कसैले कुनै ठूलो टिप्पणी गरेका छन् न त उनीमाथि कुनै आरोप नै छ । तर, नयाँ मान्छे ल्याउँदा त्यसको विरोध हुनसक्ने र औचित्य पुष्टि गनुपर्ने हुनसक्ने भयका कारण नेम्वाङले भट्टराईलाई नै दोहोर्याएको बताइन्छ । सबैसँग राम्रो सम्बन्ध राख्न रुचाउने उनी अंग्रेजी र जापनीज भाषामा राम्रो दख्खल राख्छन् । त्यो भएर पनि कूटनीतिकवृत्तमा पनि उनको राम्रो सम्बन्ध भएको बताइन्छ । कुनै पनि ‘बोल्ड’ निर्णय गर्ने क्षमता भने नराख्ने उनको अबको पाँचबर्से अवधि पनि अघिल्लो अवधि जस्तै ‘ढुक्क’ ले बित्ने सचिवालयका कर्मचारी बताउँछन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply