आँखीझ्यालबाट देश र महिला
देश फेरि एकपल्ट ठूलै संक्रमणकालको चुनौतीपूर्ण अवस्थामा छ । तर, आशा पनि छ, अब देशले झन्डै एक दशकदेखि पर्खिरहेको संविधानको नयाँ आकार आउनेछ छिट्टै नै!देशमा निकै लामो बन्द, द्वन्द्व, कर्फ्यु, हिंसा आदिले गर्दा जनजीवनमा ठूलै असर पारिसकेको छ । अझै पनि जारी नै छन्, अझै बढ्ने सम्भावना पनि नभएको होइन । तर, अब त अग्रगामी बाटोमा नहिँडी हुुुुँदैन भन्ने सोचले जितेको बेला छ । अन्योल र अवरोधहरूलाई चिरेर पनि एउटा आकार ग्रहण गर्ने नै छ ।
यहाँ देशसँगै आधा आकाश या सम्पूर्ण आकाश मानिएका महिलाको पनि विकास अवस्था र संक्रमणको कुरालाई अलग राख्न मिल्दैन । समग्र देशको तस्बिर खिच्न खोज्दा महिलाको अवस्थालाई बिर्सेर कसरी देशको तस्बिर बन्न सक्छ र † हिजोआजकै कुरा गर्दा राजधानीको सडकमा दुई खालका महिलाहरू देखिन्छन् । एकथरि समावेशी, लोकतान्त्रिक, समानतामुखी संविधानको निम्ति आफ्नो आवाज बुझियोस्, सुनियोस् भनेर अभियानमा छन् । अर्काथरि संविधानको कुरामा भन्दा बढी तीजको रमझममा व्यस्त छन् (हरेक दिन झिलिमिली सारीहरूमा सजिएर कहीँ न कहीँ तीजको दर पार्टीमा व्यस्त यी दुवैथरिका चहलपहल एकाध महिना अगाडिदेखि नै सुरु भइसकेका हुन् ।
महिलाको अवस्था र यात्रालाई हेर्दा आज महिला कहाँ पुगे त ? वस्तुनिष्ठ भएर हेर्ने हो भने अवश्य नै हिजोभन्दा बर्सेनि अगाडि नै पुगिरहेको महसुस हुन्छ । दुई–तीन दशकको समयलाई हेर्दा महिलाको अवस्थामा ठूलै फड्को आएको देख्छु म । पच्चीस वर्षअगाडि मलाई रहर लाग्थ्यो– स्कुटर चढ्ने र श्रीमान्लाई पछाडि सिटमा राखेर कुदाउने । मैले त यो इच्छा पूरा गर्न सकिनँ, पछि त्यो जमर्को नै गरिनँ । केही समय मेरो गति फेरि उल्टोबाट घुमेको जस्तो लाग्न थाल्यो । एउटा ब्राह्मण परिवारको परम्परागत परिवारकी बुहारी भएँ र फेरि एकपल्ट आमा बनुन्जेलसम्ममा मेरो उमेरले पनि युवा जोसलाई घटाइदिइसकेको थियो । त्यतिबेलासम्म बुहारीहरूको अवस्थामा अझै केही पछौटेपन बाँकी नै थियो । सडकमा मोटरसाइकल चलाउने महिलाहरूको संख्या सानै थियो ।
मलाई याद छ, बाटोमा हिँड्दा सबभन्दा पहिले ट्याम्पो चलाउने महिलालाई देख्दा हत्त न पत्त अन्तर्वार्ता लिन पुगेकी थिएँ (गुडिरहेकै ट्याम्पोमा बस्दाबस्दै) । सम्भवत: यही ‘सम्पूर्ण आकाश’को स्तम्भमा पहिलो अन्तर्वार्ता आएको थियो । पछि धेरै पत्रपत्रिकामा आउन थाले महिला चालक सुमित्रा दंगालका कुरा ।
देश र महिलाको यात्रामा म पनि सधैं सामेल छु । कहिले बुहारी, कहिले आमा, कहिले अध्यापक–प्राध्यापक कहिले सामाजिक कार्यकर्ता त कहिले लेखक, स्तम्भकार भएर । कहिले भान्छाको कुनामा कहिले राजनीतिक मैदानमा हुन्थें, कहिले साहित्यक कार्यक्रममा कविता या कथा वाचनमा सामेल भइरहेकी हुन्थें । एकै दिनमा पनि धेरैथरिका कामहरू सँगसँगै नै गरिरहेकी हुन्थें । त्यसमाथि आफ्नै औपचारिक अध्ययनलाई पनि उठाउने कोसिस पनि जारी थियो । एकपल्ट एक जना विदेशी महिला सामाजिक कार्यकर्ताले मसँग सोधेकी थिइन्– ‘तिमी आफ्नो साँच्चैको परिचय दिनुपर्यो भने के भन्न रुचाउँछ्यौ ?’ त्यतिबेला पो मलाई लाग्यो म एउटी सिंगो मान्छे (महिला) भनेको त कति टुक्रामा विभाजित हुनुपर्ने रहेछ भन्ने । महिलाको यात्रामा यो पनि संक्रमणकै कुरा हो । घर पूरै बिर्सेर कसरी राम्रो समाज निर्माण हुन सक्छ र † आजका सचेत महिलाले एक हातले पूरा घर अनि अर्को हातले सामाजिक राजनीतिक दायित्व पनि पूरा गर्नुपर्ने भएको छ ।
जीवनयात्रालाई आफ्नै सपनाले डोर्याउँदै लगेपछि इच्छा, आवश्यकता, अवस्था आदिले बेरेको अवस्थामा एउटै मान्छेका धेरै रूप देखिने रहेछन् । मेरा समकालीन महिला मित्रहरूमा पनि म त्यही देख्छु । यसलाई समयले दिएको वरदान भनौं या आवश्यकता ।
एउटा कालखण्ड थियो मेरो जीवनमा– बेतोडले कुद्नुपर्ने समय थियो त्यो मेरो निम्ति । म धेरै कुदेको देखेर नै होला मेरी सासुआमाले एक दिन भन्नुभयो– ‘तिमीले त मोटरसाइकल चढ्नु पर्ने ।’ तर, मैले किन हो कहिल्यै कोसिसै गरिनँ मोटरसाइकलमा कुद्ने । पछि गाडी चढ्ने दिन पनि आयो । तर, त्यो सिकाइ पनि पूरा गर्न सकिनँ ।
अहिले मेरी छोरीको स्कुटरमा लिफ्ट लिएको बेला कहिले गर्व गर्छु कहिले समय नाप्छु । कति फरक भएछ समय † आज मेरै छोरीले पनि पछाडि कुनै–कुनै बेला पुरुष यात्रुलाई पनि लिफ्ट दिइरहेकी हुन्छे । कहिले छिमेकीबाट त कहिले बाटैमा भेटेका आपत् परेका मान्छेलाई पनि । पाँच वर्षको विदेश बसाइँबाट फर्केपछि जन्मेकी मेरी छोरी अहिले मेरो सल्लाहकार भइसकेकी छ । समयअनुसार हिँड्नका लागि उसको सल्लाह लिने गर्छु ।
हाम्रो समय परिस्थिति पक्कै पनि फेरिएको छ । धेरै महिलाहरूले, गृहिणीहरूले पनि, कम्प्युटर बोक्ने गर्छन् । हो, कतिलाई फेसबुकको लतका कारण ल्यापटप, आइप्याड वा स्मार्ट फोन जस्ता डिभाइस चाहिएको होला । तरकारी डढेकोमा चिन्ता छैन बरु फेसबुुकमा आफ्नो फोटोमा लाइक आएको छ कि छैन भनी चिन्तित पनि प्रशस्त होलान् । तर, प्रविधिमाथिको रुचि र पहुँच दुवै बढेको छ । कुराकानी गर्दै आफ्नो शोधको काम गरिरहने युवतीहरू पनि देख्छु म मेरा छोरीहरू जस्तै ।
सहरिया मध्यम वर्ग र निम्नमध्यम वर्गका महिला–पुरुषबीचको सम्बन्धमा पनि पहिले जस्तो मालिक र नोकर्नीको अवस्थाभन्दा धेरै फरक अवस्था छ अहिले । अधिकांश परिवारमा समान साथीको सम्बन्धमा नै धेरै परिवारलाई भेटिन्छ । चेतनाको अवस्थाले गर्दा, समान अवसर थपिँदै नै गएको छ । सुरु–सुरुमा, राजनीति भनेको क्रान्तिको पर्याय भएको अत्यन्त कठिन समयमा राजनीतिक मिटिङहरूमा रातै बस्नुपर्ने बेलामा पनि कति ठाउँमा म एक्लै परेको हुन्थें । अब त के महिला के पुरुष अवसर खुस्केला भनेर कुद्नेहरू जताततै देखिन्छन् । यो कम्तीमा हिजोभन्दा फरक र अघि बढेको अवस्था त पक्कै हो नि † यद्यपि हिजो देखेको देशको सपनालाई अझै विपना बनाउन सकेको छैन ।
हो, महिलाहरूले गाउँहरूमा, काँठहरूमा र सहरभित्रै पनि अझै ताडना, असमानता, अत्याचार र हिंसा भोगिरहेका छन् । यी सबैलाई निर्मूल पार्नैपर्छ । छिटोभन्दा छिटो निर्मूल पार्नुपर्छ । तर, अहिले संविधान निर्माणकै क्रममा पनि जसरी महिलाका सरोकारका कुराले प्रवेश पाएका छन्, तीप्रति सकारात्मक हुनैपर्छ । अझै बढी दूरदर्शी महिला नेतृत्व देखिनुपर्छ । आज नेपाली महिलाहरू जहाँ पुगेका छन्, जुन जस्ता भूमिका निभाउन थालेका छन् त्यो हेर्दा आशा गर्ने ठाउँ प्रशस्त छ है †
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply