समय, समुद्र र देश
भर्खरै महाभूकम्पले छोडेको समय अझै पराकम्पनले पूरै छोडिसकेको छैन देशलाई । महाभूकम्पले भत्काएका घरहरू अझै पुनर्निर्माण गर्न सकेका छैनन् । देशलाई नयाँ संविधानभन्दा पहिले जताततै भत्केका घरहरूको पुनर्निर्माण चाहिएको छ जस्तो लागेको थियो । राज्यले जिम्मा लिनुपर्ने सबै कुराहरूमा ध्यान दिँदै पुनर्निर्माण र नवनिर्माणलाई प्राथमिकता दिनुपर्छ भन्ने लागिरहेको थियो । संविधान बनाउनकै निम्ति सक्रिय भई लागिरहेका एक सभासद् मित्रसँग पनि यो कुरा भने (‘संविधान त यसैउसै ढिलो भइनै सक्यो त्योभन्दा जरुरी त महाभूकम्पले भताभुंग बनाएको देश नै पहिलो बनोस् न †’ हुन पनि सबै शक्ति खर्चेर देश बनाउन सके, पुनर्निर्माणमा लाग्न सके देशको अनुहार राम्रो होला, अझै अलपत्र परेका नागरिकहरूको बन्दोबस्त हुन सके अरू बाँकी काम बिस्तारै अगाडि बढ्दैजाला..† मेरो सोचको जवाफमा साथीले भनिन्– ‘होइन पहिले त संविधानै बन्नु पर्छ ।’ यो दरो जवाफ सुन्दा मलाई राम्रै लाग्यो । मनमा आशा पलायो, अब भने ढिलै भए पनि पक्कै संविधान पाउने भयो देशले ।
अन्तत: आयो नयाँ संविधान † तर, संविधानसँगै के–के आयो आयो । फेरि पनि दु:ख नै साथ लागेर आयो । एक हप्ता नबित्दै ‘तेल छैन’, ‘ग्यास छैन’, ‘नाकाबन्दी’….। भूकम्पभन्दा अझ डरलाग्दो कम्प भएर नाकाबन्दी आयो । भूकम्पले जति क्षति पुर्यायो, भूकम्पले बाँकी राखिदिएको जीवनलाई पनि यो असन्तुष्टि र द्वन्द्वको कम्पनले कतिको ज्यानै लिएर गयो । फेरि एउटा हाहाकार थपिएको छ देशमा । हाम्रो देशले साँच्चै कहिले मात्र सुखको सास फेर्ने होला ? संविधान बनेपछि त अब केही सञ्चो होला भन्ने आशा थियो । देशले अब त विकासको फड्को लिन्छ भनेर आशा जागेको थियो । तर, फेरि एकपल्ट यस्तो संकट सामना गर्नु पर्यो!
हुन त यस किसिमको संकट भोग्नु भनेको देशको निम्ति नौलो होइन । बरोबर भोग्दै आएको समस्या नै हो । कुनै पनि कारणले छिमेकीलाई रिस उठ्यो कि विभिन्न निहुँमा यस्ता अनेक संकट भोग्न बाध्य छौं ।
आफ्नो देशले समुद्र नछुनुको भौगोलिक कारण पनि होला । आजभन्दा २५ वर्ष अगाडि चीनको दक्षिण भागतिर यात्रामा थिएँ । समुद्रमा थिएँ, जहाजको यात्रामा मैले एउटा समाचार सुन्न पुगें, जहाजमै ‘निपोअर.. निपोअर..’ बोलेकोले मेरो देशमा फेरि के भयो भनी कान थाप्न थालें । देशमा मट्टीतेल र नुनको समेत संकट आइसकेको रहेछ । दक्षिण छिमेकीलाई के–के कुराले चित्त बुझेन रोकिदिएछन् सबै कुरा..† त्यो बेला धेरै देशका साथीहरूसँग रमाउँदै यात्रामा थिएँ, जब देशमा आएको संकटबारे सुन्न थालें, सबै रमाइलो हरायो र मनमा एकाएक देश दुख्न थाल्यो । यात्रा खल्लो लाग्न थाल्यो । देशमा रहेका आफन्त र साथीहरूको माया लाग्न थाल्यो ।
कस्तो त्यो संयोग † म समुद्रसँग रमाइरहेकी थिएँ । तर, समुद्रबिनाको मेरो देशले भने संकट भोगिरहेको थियो । छिमेकी देशले बेला–बेला दिने गरेको धम्की र हामीलाई हुने गरेको दु:खका चित्रहरू मेरो अगाडि आए । समुद्र नभएको पीडाले म बेस्सरी निचोरिएकी थिएँ । जीवनको महत्त्वपूर्ण अंश सबै देशका निम्ति भनेर लागेको थियो त्यो पुस्ताको हाम्रो जमात । देशलाई यस्तो आपद्–विपद् आउँदा मनमा देश दुख्नु स्वाभाविक नै थियो ।
त्यसपछि देशमा ठूलै आन्दोलन भयो र त्यसले पञ्चायती व्यवस्थालाई बिदा गर्यो । फेरि अलिकति आशा पलायो । देश त अझै पनि दुखी नै रहन्थ्यो । तर, बाहिरै बसेर पनि त्यो आन्दोलनमा कुनै न कुनै किसिमले सहभागी भयौं । त्यतिबेला पनि देशमा आइरहेका विभिन्न संकटहरूको विरुद्धमा संयुक्त हस्ताक्षर गरी विज्ञप्ति बुझाएका थियौं– कहिले भारतीय दूतावासमा त कहिले आफ्नो नेपालकै दूतावासमा ।
खोजेर पाइने हैन समुद्र, तर छिमेकीको व्यवहारले गर्दा फेरि पनि समुद्रको अभाव महसुस भइरहेको छ । देश स्वतन्त्र भइकन पनि अझै स्वतन्त्र हुन नसकेको लाग्दै छ । एउटा ढोका बन्द भए अरू सबै सम्भावनाका ढोकाहरू पनि बन्द नै हुन्छन् भन्ने होइन । यसले नयाँ सम्भावनाका ढोकाहरू खोल्न मद्दत पनि भइरहेको पो छ कि † उत्तरतिर ढोकाहरू खोल्नुपर्ने कुरा जताततै सुनिन थालेको छ । साँचै नै यो अवसर पनि हुनसक्छ ।
यो संकटको बेला देशका विभिन्न पार्टीका नेताहरूबीच एकता पनि देखिएको छ । एकजुट भएर सामना गर्ने साहस पनि देखिएको छ । यो कालो बादलमा देखा परेको चाँदीको घेरा हो । यो संकट पार भएको खण्डमा देशले अरू सानातिना समस्यासँग जुझ्नका निम्ति ठूलो पाठ र साथ हुनेछ ।
आन्तरिक समस्या नभएका होइनन् । हतारमा निकालिएको संविधानका आफ्नै सीमा र कमजोरीहरू छन् । जनताका विभिन्न तप्कामा रहेका असन्तुष्टि बुझ्न सकिन्छ । तर, समस्यालाई झन्–झन् चर्काउने खेल भने बाहिरबाट भइरहेको पो हो कि भन्ने आधारहरू पनि छन् । घरको समस्या अब घरैमा समाधान गर्ने र कसैप्रति द्वेष नराखी आफ्ना अन्य मित्रसँग पनि मित्रता सुदृढ बनाउनु आजको आवश्यकता होला । अब राज्यको लगाम समात्नेहरूको बुद्धि पुग्नेछ भन्ने आशा गरौं †
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply