बीस वर्षको यात्रा
जीवन आफैं एउटा यात्रा हो । जीवनलाई विभिन्न कर्मले रंगाइदिएका हुन्छन् । लेखन पनि तिनै कर्मभित्र पर्ने कुरा हो । केही कर्महरू अरूका निम्ति जस्तो देखिन्छन् । केही स्वान्तसुखाय जस्ता । तर, अन्ततोगत्वा सबै कर्महरू आफ्नै सन्तोषका निम्ति हुँदारहेछन् ।
२० वर्षको यात्रा पूरा गरेको यो ‘बुधबार’ साप्ताहिकमा मैले ‘सम्पूर्ण आकाश’ स्तम्भमा लेखेकै पनि त्यति नै भएछ । बेला–बेलामा केही समय विभिन्न कारणले लेख्न नसकेको बाहेक यति लामो समयसम्म लगातार लेखिरहेकी रहेछु । अहिले फर्केर हेर्दा खुसी लागिरहेको छ । दुई दशक भनेको मानिसको जीवनमा सानो समय अवश्य होइन ।
यतिबेला ‘बुधबार’ साप्ताहिकसँंग जोडिएका विभिन्न घटनाहरूलाई सम्झिरहेकी छु ।
घरमा मेरो देवर तारकको विवाहको भोज थियो– बीस वर्षअघिको मंसिरको पहिलो बुधबारको साँझ । त्यही बेला ‘बुधबार’को पहिलो अंकमा लेख्ने केही लेखकहरूसँग अप्रत्याशित रूपमा भेट भएको थियो । आफ्ना देवरका मित्र रहेछन् ती सबै सर्जकहरू । रचनाहरूमार्फत परिचित तर प्रत्यक्ष भेटघाट भने भइनसकेका ती मनपर्ने सर्जकहरूसँग यसरी भेट हुनु अप्रत्याशित र सुखद त थियो नै, हामी सबै यही ‘बुधबार’नामको डुंगामा यात्रारत सहयात्री पनि भएछौं भन्ने थाहा पाएर अझ रमाइलो भयो । नारायण ढकाल, राजव, शार्दूल आदिसँगै ‘सम्पूर्ण आकाश’ को न्वारान गर्ने कवि श्यामल पनि थिए । समय बित्न के बेर † त्यसपछि जन्मेकी तारककी छोरी ठूली भएर अहिले बाहिर पढ्न गइसकी । छिट्टै नै एउटी युवा विज्ञानकर्मी भएर देश फर्किन्छे । अठार वर्ष पुगिसकेकी त्यो छोरीलाई सम्झँदा पनि समयको प्रवाह अनुभूत हुन्छ । त्यसैमा बगेर हामी कहाँबाट कहाँ पुगिरहेका हुँदा रहेछौं ।
कुनै बेला लाग्छ– समय नै हो जीवन तर जीवन समय भएरै मात्र पनि पुग्दैन । जीवन हुनलाई त कर्म पनि चाहियो । कर्मले नै हो जीवनलाई आकार दिने, जीवनमा रंग भर्ने । सुकर्मले सुन्दर बनाउँछ जीवनलाई, कुकर्मले असुन्दर । समय त आफंै पनि बिना कुनै रंग, बिना कुनै स्वाद बितेरै जान्छ ।
कर्मका निम्ति जाँगर भएर मात्र पनि पुग्दैन रहेछ (यदि गन्तव्य स्पष्ट छैन भने) । लेखन यात्रा सुरु गर्दा मेरो गन्तव्य कति स्पष्ट थियो, अहिले भन्न सक्तिनँ । आफंैले कोरेको आफ्नै लक्ष्यको चित्र धूमिल नै भए पनि, देशको निम्ति, समाजको निम्ति, जनताको निम्ति लेख्नुपर्छ र अन्यायबाट न्याय, दु:खबाट सुख, गरिबीबाट समृद्धितर्फ देश उन्मुख होस् भन्ने कामना र उद्देश्य हुनुपर्छ भन्ने चेत भने थियो जस्तो लाग्छ । मेरो त्यो उद्देश्य उमेर अनुसार केही आदर्शवादी थियो होला, तर अस्वाभाविक थिएन । व्यावहारिक हुने नाउँमा अति आत्मकेन्द्रित र व्यक्तिवादी हुनुभन्दा आदर्शले डोर्याइँदा भौतिक रूपमा केही अभाव भए पनि भित्री सन्तोष हुने रहेछ ।
अहिले यतिबेला फर्केर हेर्दा कति उद्देश्य पूरा भएकै पनि रहेछ । आफ्नै व्यक्तिगत तहमा होस् वा सामाजिक तहमा । विदेशमा लगातार पाँच वर्ष बस्दा पनि लेखेरै अगाडि बढें । लेखेका कुरा अनुदित भएर अन्य केही देशहरूमा पनि पुगे । देश भनेर फक्र्यांै हामी तर फर्किसकेपछि केही समय अन्यौलमा परेकी थिएँ । व्यक्तिगत जीवनका विभिन्न कठिनाइहरूका कारण पनि अब फेरि कहाँबाट सुरु गरौं भन्ने भएको थियो । पारिवारिक जिम्मा पनि थपिइसकेको थियो । दोस्रो सन्तानकी आमा भएपछि त झन् अझै सानी बच्ची हुर्काउने कामलाई पनि साथसाथ लाग्नुपर्ने नै भयो । बच्ची सानै थिई, ऊ एक डेढ वर्ष मात्र पुग्दा नपुग्दै पनि बाहिर पढाउने काम थालेकी थिएँ । साथै लेख्ने काम नगरी बस्नै नसक्ने मेरो बानी भइसकेको थियो । त्यहीबेला ‘प्रकाश’ साप्ताहिकका मित्र मात्रिका तिमिल्सिनाले ‘देशमा महिला लेखकको अभाव छ, तपाई लेख्नुस् न’ भन्नुभयो । महिलासँग सम्बन्धित एउटा लेखबाट मैले सुरु गरें साप्ताहिक पत्रिकामा लेख्न ।
त्यसपछि ‘दृष्टि’ साप्ताहिकका रघु पन्तले भन्नुभयो दृष्टिमा स्तम्भ लेख्नका निम्ति । त्यतिबेला बिन्दिया प्रधानले पनि एक हप्ता बिराएर सम्पूर्ण आकाशमा स्तम्भ लेखिरहनुभएको थियो । मैले पनि लेख्ने भएपछि पालैपालो एक हप्ता बिराएर लेख्न थाल्यौं । यसरी कति समय अगाडि बढियो, अहिले सम्झन्न । जब यो ‘बुधबार’ साप्ताहिक निस्किन थाल्यो, २०५२ सालको मंसिरमा, त्यसपछि भने लगातार लेख्दै आएँ । अब यो ०७२ को मंसिरको पहिलो हप्तामा पुगेको छ बुधबारको यात्रा । अन्य साथीहरूले पनि लेख्नुभयो यही स्तम्भमा । बीचमा नलेखेको बेलालाई हेर्दा पनि यो स्तम्भमा धेरै अक्षरहरू बगाइसकेको रहेछु ।
‘बुधबार’मा सँगसँगै लेख्न थालेका लेखकहरूमा धेरैको स्थितिमा धेरै परिवर्तन आइसकेको छ । लगातार लेखिरहेका अझै कति छन् मलाई थाहा छैन । विवश बस्तीलाई अझै देख्छु । सम्पादकहरूमा रघुजीदेखि अहिलेसम्मका चार जनासँग नै मैले काम गरें । अगाडिका तीन जनाको त कर्मक्षेत्र नै फरक भइसकेको छ यहाँसम्म आइपुग्दा । त्यतिबेलाका लेखक स्तम्भकारहरू पनि अहिले कहाँ छन्, थाहा छैन । मैले अझै यो स्तम्भलाई आफ्नै मानेकी छु । ‘सम्पूर्ण आकाश’लाई असीम ठानेकै कारणले पनि होला यसमा अझै रमाउन सकेको ।
आफ्नो यात्राको निम्ति एउटा महत्त्वपूर्ण डुंगा बनिदिएको र धेरै सम्झनाहरूसँग जोडिएको यो साप्ताहिक पत्रिका ‘बुधबार’ फलोस्, फुलोस् † जनता, समाज, राष्ट्र र मानवताका निम्ति अझै योगदान दिन सकोस् † हार्दिक शुभकामना †† यो यात्राको क्रममा मलाई सघाउनुहुने सबै सहयात्रीहरू, शुभचिन्तकहरू, पाठकवृन्द र प्रेरणाका स्रोतहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply