मनमोहनको नामसँगै आपत्ति
काठमाडौं । इतिहास–पुरुष मनमोहन अधिकारीको नाममा राज्यले नै लगानी गरेर कुनै शैक्षिक वा सामाजिक प्रतिष्ठान स्थापना गर्नुपर्ने बेला अधिकारीका केही शुभचिन्तक र उनको राजनीतिक आस्थालाई पछ्याउने व्यक्तिहरूको पहलमा स्थापना गर्न लागिएको एक मेडिकल कलेजलाई जसरी भए पनि रोक्ने दाउ अझै सेलाएको छैन । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष दिवंगत अधिकारीको स्मृतिलाई चीरस्थायी तुल्याउन खोल्न लागिएको प्रस्तावित मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्वाग्रहबाट प्रेरित केही चिकित्सकहरूले नै रोक्न चाहेको देखिएको छ ।
विगतमा सरकारले अर्बौं रकम खर्च गरेर धरानमा नेपाली कांग्रेसका नेता बीपी कोइरालाको नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुरमा बीपीकै नाममा क्यान्सर अस्पताल स्थापना गरिएको थियो । ती दुवै अस्पताल हजारौं बिघामा स्थापना गरिएको छ । तर, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री र बीपीकै जत्तिकै राजनीतिक उचाइँ प्राप्त गरेका र त्याग र समर्पणका दृष्टिले पनि अग्रपंक्तिमा रहेका दिवंगत नेता अधिकारीको नाममा हजारौं व्यक्तिहरूले पैसा जुटाई सहकारीको माध्यमद्वारा खोल्न लागिएको उक्त प्रतिष्ठानको भने राजनीतिक पूर्वाग्रहकै आधारमा विरोध सुरु गरिएको थियो र त्यो क्रम अहिलेसम्म जारी रहेको छ । प्रतिष्ठानका सचिव डा.रामकुमार अधिकारीले बुधबारलाई बताए– ‘त्रिवि शिक्षण अस्पतालका केही चिकित्सकहरूलाई रिस उठेको र उनीहरूले धम्की दिएकै भरमा अधिकारीको नाममा खोल्न लागिएको मेडिकल कलेजलाई रोक्नु उपयुक्त देखिँदैन ।’
अहिले व्यवस्थापिका–संसद्मा अधिकारीको नाममा खोल्न लागिएको मेडिकल कलेजको विधेयक पेस भएको छ । विधेयक पेस हुनेबित्तिकै सात पटकसम्म अनशन बसेका शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सक गोविन्द केसीले पुन: अनशन बस्ने धम्की दिएका छन् । तर, प्रधानमन्त्री केपी ओलीले भने मनमोहनको नाममा खोल्न लागिएको मेडिकल कलेजको कार्य नरोकिने बताइसकेका छन् । प्रतिष्ठानले पनि उक्त मेडिकल कलेज सहकारीको अवधारणा अनुरूप खोलिएको हुँदा त्यसमा सीमित व्यक्तिहरूले व्यापार गर्ने
प्रयोजनका लागि नखोलिएको जनाएको छ । साथै, उक्त कलेज मापदण्डविपरीत खोलिएको भन्नेबारे प्रतिष्ठानले आफ्नो धारणा बाहिर ल्याएको छ– ‘यस संस्थाले नेपाल सरकार, शिक्षा मन्त्रालयबाट प्रचलित कानुनअनुसार २०६४ सालमा मनसाय पत्र प्राप्त गरी अर्बौं लगानी गरी सम्पूर्ण पूर्वाधार पूरा भइसकेपश्चात् नेपाल सरकार, शिक्षा मन्त्रालयको अनुगमन निरीक्षणपछि प्राप्त प्रतिवेदन, नेपाल मेडिकल काउन्सिलको निरीक्षण प्रतिवेदन र त्रिभुवन विश्वविद्यालयले निर्माण गरेको विशेषज्ञ टोलीको निरीक्षण प्रतिवेदन अनुसार सम्पूर्ण मापदण्ड र पूर्वाधार पूरा भइसकेको यस प्रतिष्ठानलाई अनुमान र पूर्वाग्रहको भरमा मापदण्ड पूरा नभएको भन्नु उचित होइन ।’
दुई हजार चार सय व्यक्तिहरूको सेयर रहेको उक्त मेडिकल कलेज स्थापना र पूर्वाधार निर्माणका लागि अहिलेसम्म २ अर्ब रुपियाँ विभिन्न बैंकहरूबाट ऋण लिएको पनि प्रतिष्ठानले जनाएको छ । विगतमा २० वटाजति मेडिकल कलेजहरू खोल्दा कुनै पनि व्यक्ति अनशनमा नबस्ने तर मनमोहन अधिकारीको नाममा एउटा कलेज खोल्न लाग्दा केही व्यक्तिहरूले बबन्डर मच्चाउने कार्य गरिएकोमा त्यसबारे छानबिन हुनुपर्ने माग पनि प्रतिष्ठानले गरेको छ ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply