मधेसमा संविधान भन्दा बढी मन संशोधनको खाँचो छ
संविधानका अन्तर्वस्तुले मधेसका उत्पीडित जनतामाथि धेरै विभेद गरेको थिएन तर, थोरै गल्ती त भएकै हो । राजावादीदेखि संघीयता विरोधीसमेतको बलियो उपस्थिति रहेको संविधानसभाबाट सम्झौतामार्फत जारी संविधानमा अन्तरिम संविधानले सुनिश्चित गरेका केही विषय अटाउन सकेनन् । जसलाई सच्याउन मधेसी, जनजाति, महिला, पिछडिएका वर्गलगायत एमाले कार्यकर्ता तहबाट नेतृत्वलाई बेलैमा आग्रह गरिएकै हो । तर, नेतृत्वले बेलामा ध्यान दिन सकेनन् ।
जुन विषयलाई टपक्क टिपेर मधेसका जमिनदारहरूले भावनाको उग्र राजनीति गर्न थाल्यो । सदियौंदेखिको भावनात्मक पीडालाई संविधानसँग जोडेर भित्रभित्रै मधेसमा आगो बल्यो । यो भावनाको डुंगामाथि सफर आन्दोलनको राप र तापमा मधेसी मोर्चाका नेताहरू भने सुरक्षा घेराभित्र राज्यकै सुविधामा ‘भोटब्याङ्क’को विस्तारमा लागिरहे । नाकाबन्दी हुने अवस्था समेतको पाँच महिना लामो आन्दोलनले पहाडका भन्दा ज्यादा पीडा त्यहीँका उत्पीडित मधेसी समुदायले नै भोगे । मधेसका उत्पीडित जनता र सरकार नभई दिल्ली दाहिना बनाएका मोर्चाका नेताहरू अन्तत: दिल्लीकै इसारामा आन्दोलनको सहज विसर्जनतिर लागे ।
त्रुटिपूर्ण विगत
मधेसमा मुसहर बस्छन्, उनीहरू मालिकको घरबाट ल्याएको पराल रातभरमा पोलेरै सिध्याउँछन् र फेरि मालिककै सेवामा पुग्छन्, परालकै खातिर । यो अविच्छिन्न कुसंस्कृतिले मालिक मोटाउँदै जान्छन्, मुसहरहरू झन्–झन् चिसिँदै जान्छन् । जबकि उनीहरूले पोलेको पराल बेच्दा मात्रै पनि न्यानो कपडा किन्न कठिन पर्दैन । तर, मुसहरहरू त्यसो गर्दैनन् । उनीहरूमा त्यो चेतना जाग्रत हुनै सकेको छैन । आमनिर्वाचनमा मत दिन्छन्, राज्यलाई कर तिर्छन् र अपराध गरे इमानदारितापूर्वक सजायको भागिदार बन्छन् । अब भन्नुहोस्, उनीहरूप्रति राज्यको भूमिका के हो ? चेतना जगाउने दायित्व सरकार र राजनीतिक पार्टीहरूको होइन ? मधेसको वास्तविकता लगभग यही हो । मुसहरहरूभन्दा थोरै मात्रै तलमाथि होला ।
अहिले आन्दोलनको आगो बाल्न मोर्चालाई साथ दिनेहरू पनि लगभग यही वर्गका धेरै छन् । काठमाडौंले भनेजस्तो मोर्चाका कार्यकर्ता मात्रै आन्दोलनमा छैनन्, बरु एमाले, कांग्रेसलगायत मुख्य दलका समर्थक बढी छन् । त्यहाँका रैथाने भएकाले यो दृश्य लुकाउन हुँदैन, लुकाउन मिल्दैन । बरु, समीक्षा गर्न जरुरी हुन्छ, किन उनीहरू आन्दोलनमा लागे ? अव पनि हिजोजस्तो हलुका ढंगले विश्लेषण गर्ने हो भने घरीघरी बलिरहने मधेसले दीर्घकालीन निकासको बाटो समात्न सक्दैन । एउटै दशकमा तीन–तीन पटक मधेसमा त्यसै आगो बलेको होइन, यसको सामाजिक कारण खोज्नै पर्नेछ ।
परिणाम भविष्यान्तरमा प्रस्ट हुँदै जान्छन्, तर कारण पहिल्याउन विलम्ब गर्नुहुँदैन । किन मधेसमा आगो बल्छ ? मधेस बुझ्ने धेरैलाई कारण प्रस्ट छ । र, सहमतिमा हुने संविधान संशोधनले मात्रै मधेसको दीर्घकालीन समाधान हुनेवाला छैन भन्ने पनि उनीहरूलाई उत्तिकै जानकारी छ । मधेसको समस्या मुसहरहरूजस्ता उत्पीडित समुदायको मुक्ति नै हो । अहिले राजेन्द्र महतोजस्ता भूमिपति र उनको घरमा राखिएका दासलाई एउटै डालो (मधेशी)मा राखेर आन्दोलन चर्काउने र काठमाडौंले हेर्ने गरिएको छ । यसमा दुवैतिर आंशिक सत्यता मात्रै हो, पूर्णता होइन । पीडा दासको बढी नै छ, तर पनि मालिकले चर्काएको आन्दोलनमा सहभागी हुनुको पछाडि ‘अपेन सेक्रेट’ कारण नै हुन् ।
यसको मुख्य कारक फेरि पनि पहाडे मनोविज्ञान र व्यवहार नै हो, जसका कारण अनुचित स्वार्थ लिएर मोर्चाले चर्काएको आन्दोलनमा मधेसी समुदाय सहभागी बन्ने अवस्था बन्दै आएको छ । यस्ता थुप्रै उदाहरण छन् । यी पराम्परागत समस्याहरू हुन् र परिवर्तनदर कछुवा गतिमा छन् । जसले प्रतिगामी खेल्न मैदान खाली राखिदिएको छ । विगतदेखिका नीति र कार्यक्रमहरू हेर्दा अरूभन्दा बढी प्रगतिशील पार्टी एमाले नै हो । अब एमालेभित्रैको उदाहरण हेरौं, जसले मधेसमा आन्दोलन चर्कनुको कारण प्रस्ट्याउन सहयोग गर्छ ।
एमालेले जनताको बहुदलीय जनवाद अंगीकार गर्दै बहुपदीय प्रणालीअन्तर्गत आन्तरिक प्रधिस्पर्धामार्फत आफूलाई श्रेष्ठता हासिल गर्ने कुरा स्वीकार गरेका छौं । यो प्रणालीमा एउटा व्यक्ति हार्छन्, एउटा गुट हार्छ र फेरि श्रेष्ठताका लागि मेहनत गर्छन् । प्रजातान्त्रिक अभ्यासमा यो ठूलो विषय होइन । पार्टीभित्र गुट र उपगुट छन् । त्यसरी नै नवौं महाधिवेशन सकियो । त्यो महाधिवेशनमा माधव नेपाल समूहका लालबाबु पण्डित पराजित भए र सँगै केपी ओली समूहका रघुवीर महासेठ र धर्मनाथप्रसाद साह पनि पराजित भए । खुला प्रतिस्पर्धामा कमै मधेसी अनुहारले जित्छन् । लगभग सबैतिर यस्तै परिणाम आइरहेको छ, जुन नतिजा लुकाउन सकिँदैन । विश्लेषण बदलिएला तर तथ्य लुक्दैन ।
पराजित हुँदा एउटा गुट पो हुन्छ त । छानी–छानी एउटा समुदायको मानिस कसरी बाहिरिने अवस्था आयो ? लालबाबु पण्डित हार्दा रघुवीर महासेठले जित्नुपर्ने होइन ? या महासेठले हार्दा लालबाबु पण्डितले जित्नुपर्ने होइन र ? त्यस्तो त भएन । अब भन्नुहोस्, प्रश्न मधेसीतिर मात्रै उठाउने कि आफ्नै पनि समीक्षा गर्ने ? हिम्मतका साथ भन्नैपर्छ, गम्भीरतापूर्वक दृष्टिकोणको समीक्षा गरौं । पूरै मधेसी समुदायको हृदयमा चोट पुग्ने शब्दहरू प्रमुख नेतृत्वबाटै बारम्बार निस्कनुको ऐतिहासिकता र मनोवैज्ञानिक आधार कुन हो ? पहिचान गरौं । यदि, नेतृत्वको बोली बिगारेर प्रचार गरिएको र त्यसैको लहलहैमा लागेको हो भने पनि कारण खोजौं । आखिर किन यस्तो भइरहेको छ ?
तर, धेरै नजिरहरूले मधेशको मन दुख्नुमा हाम्रो कारण देखाउँछ । मधेस र भारतबीच ‘रोटी र बेटी’को सम्बन्ध छ । यसमा मधेसी समुदायको मात्रै गल्ती छैन । पहाडे मूलका हामी मधेसी समुदायसँग बिहेवारी गर्न तयार हुँदैनौं र बुहारी–ज्वाइँ खोज्दै सीमापारि पुग्नुपर्ने चलन मधेसमा तोडिन सकेको छैन । यसैलाई आधार बनाएर उनीहरूलाई अराष्ट्रवादी भन्नु सतही हुन्छ । सीमा क्षेत्रमा बस्ने मधेसी समुदाय सधैं राष्ट्रवादी थिए, जो–जुन अनुहारहरूसँग जीवनको यो उत्तर्रार्धसम्म मसँगै छु । ०५१ मा सर्लाही जिल्ला खेलकुद समितिको अध्यक्ष थिएँ, प्रधानमन्त्री मनमोहन अधिकारी हुनुहुन्थ्यो । मलङ्गवा र सुनवर्षाबीच क्रिकेट प्रतियोगिता राखियो । दुई बजारबीचको प्रतियोगितामा हाम्रातिरबाट सयौं नेपाली झन्डाहरू खेल मैदानमा प्रदर्शन भयो । भोलिपल्ट सुनवर्षाका समर्थकहरूले ४०/५० वटा भारतीय झन्डा ल्याए । आज तिनै मलङ्गवा सीमामा बस्नेहरूलाई अराष्ट्रवादी त कतै भनिरहेका छैनौं ? जो बर्सेनि भारतका विभिन्न तीर्थधाममा नेपाली झन्डा बोकेर जान्छन् । कतै हामीले उनीहरूको मनलाई भुलेर माटोलाई राष्ट्रवाद त भनिरहेका छैनौं ? सार्वजनिक स्थान र सामाजिक व्यवहारमा मधेसी समुदायको मन दुखाउने काम त गरेका छैनौं ? गम्भीर समीक्षा गर्नैपर्छ र हाम्रा त्रुत्रिपूर्ण इतिहास सच्याउँदा नै राष्ट्रियता मजबुत बन्नेछ ।
दीर्घकालीन निकास
राणाकाल, पञ्चायत, कांग्रेस, एमाले, एमाओवादी हुँदै छुट्टै पार्टी खोलेका केही सामन्तवादी जमिनदारहरूको भावनात्मक आन्दोलनले मधेसलाई वर्षाै पछाडि धकेल्ने काम गरेको छ । माथि चर्चा गरिएको पीडा यो आन्दोलनले पूर्ति गराउनुको साटो झनै बढाउने काम गरेको छ । जसको मूल्य आन्दोलनको नेतृत्व गर्नेहरूलाई पनि निकै चर्काे पर्नेवाला छ । किसान, मजदुर, व्यापारी, विद्यार्थी सबै क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । आक्रोशमा बलेका सडकहरू विस्तारै सेलाउँदै जालान् तर, मधेसको मन शान्त हुन अझै केही समय लाग्नेछ । त्यो शान्ति मोर्चाले ल्याउनेवाला छैन भन्ने तथ्य उनीहरूको निकट इतिहासले प्रस्ट पार्छ ।
मोर्चाले फुकेको बेलुन भरिएकाले एमालेलगायतका शक्तिहरू मधेसमा अहिले सशक्त भूमिकामा छैनन् । तर पनि, मूलधारका यी पार्टीको विकल्प मधेसमा मात्र नभई देशमा पनि हुनेछैन, विगतले त्यसै भन्छ । सीमांकनले मधेसलाई केही फरक पार्नेवाला छैन, समावेशी समानुपातिक र निर्वाचन क्षेत्रले पनि उत्पीडित वर्गमा ठूलो परिवर्तन तत्काल सम्भव नहुने तथ्य गएको दुई निर्वाचनबाट बुझ्न गाह्रो पर्दैन । त्यसैले यो आन्दोलन फेरि पनि मधेसी समुदायमाथि मोर्चाले गरेको धोका हो । यसलाई सच्याउने जिम्मेवारी हाम्रो हो । त्यसका लागि संविधान संशोधनले मात्रै पुग्नेवाला छैन । मूख्य विषय भनेको विभिन्न किसिमका उत्पीडनबाट मधेसी समुदायको मुक्ति हो र परम्परागत मन (सोंच)को संशोधन हो । जसले सबै मनहरू खुसी बनाउने र राष्ट्रियताको डोरी बलियो गरी कसिनेछ । राष्ट्रिय र प्रगतिशील पार्टीहरूलाई नेतृत्वमा राख्नेछ अवसरवादी र जमिनदारहरूको चलखेललाई सधैंका लागि बिदाइ गर्नेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply