आन्दोलनकारीका गतिविधि अमर्यादित छन्
० तराई आन्दोलन र मोरङ घटनासम्म आइपुग्दा प्रहरीले चाहिँदो भन्दा बढी बल प्रयोग गरेको टिप्पणी सुनिन थालेको छ नि ?
– पत्रपत्रिकामा यी कुरा उठेका छन् । यसलाई हामीले नकार्न सकिँदैन । आन्दोलन सुरु भएको पाँचौ महिना पुगिरहेको छ तर आन्दोलनकारीहरूका अहिले देखिएका गतिविधिहरू अमर्यादित छन् । उनीहरूले घरेलु हतियार, लाठी, भाला लिएर उत्तेजित तरिकाले प्रदर्शन गरिरहेको अवस्थामा हामी सकभर संयमित भएर प्रस्तुत हुँदै त्यसलाई नियन्त्रणको प्रयास गरिरहेका छौं । तर पनि, कुनै–कुनै ठाउँमा प्रदर्शनकारीहरूले स्थितिलाई उग्र पार्ने, सवारी यातायातमा तोडफोड गर्ने आगजनी गर्ने, उनीहरूको विचारसँग असहमति राख्ने व्यक्ति तथा संगठनको कार्यक्रम असहिष्णु किसिमले भाँड्ने, व्यक्तिगत सम्पत्तिमा पनि तोडफोड गर्ने, मञ्च भत्काइदिने खालका उच्छृङ्खल गतिविधि पनि भएका छन् । त्यस्तो अवस्थामा त्यसलाई नियन्त्रण गर्नका लागि कानुनले पनि हामीलाई बल प्रयोग गर्नका लागि अधिकार दिएको छ । सिद्धान्तत: बढी क्षति हुन नदिनका लागि जहाँ पनि न्यूनतम बल प्रयोग गर्ने हो । त्यो हिसाबले हामीले संयमता अपनाएर नै बल प्रयोग गरिरहेका छौं ।
यति हुँदाहुदै पनि यदाकदा बढी बल प्रयोग भएको भनेर पनि प्रश्न उठ्ने गरेको छ । यो संगठनका लागि पनि राम्रो कुरा होइन । कर्मचारीहरूले कहीँकतै जान–अन्जानमा केही गल्ती पनि गरेका हुन सक्छन् । यसको लागि विभागले भविष्यमा त्यस्ता काम नहोस् भन्नका लागि संगठनभित्रबाट पनि हामीले आन्तरिक छानबिन गरिरहेका छौं । जहाँ–जहाँ यस्तो बल प्रयोग भएर मान्छे मरेका छन् त्यहाँ गएर अध्ययन गर्ने, कमी–कमजोरी पत्ता लगाउने र औचित्य पुष्टि हुने ढंगले बल प्रयोग भएको छ कि छैन, छैन भने त्यहाँ कसले बदमासी गरेको छ, पत्ता लगाएर यसलाई हामीले भविष्यका लागि पनि सुधार गर्ने र दोषीमाथि आवश्यकता अनुसार कारबाही पनि गर्ने हिसाबबाट हरेक घटनास्थलमा गएर अध्ययन विश्लेषण गर्ने काम गरिरहेका छौं ।
० त्यस्तोमा प्रहरीहरूलाई कारबाही पनि भएको छ त ?
– हुन्छ । अवश्य हुन्छ । त्यस्तो दोषी भेटिएका खण्डमा कारबाही नहुने प्रश्नै आउँदैन । प्रहरी प्रधान कार्यालयमै मानवअधिकार शाखा पनि रहेको छ । त्यो शाखाले स्थलगत रूपमा गएर स्वायत्त ढंगले पनि छानबिन गरिरहेको छ ।
० नाकाबन्दीको चपेटामा बढ्दो कालोबजारीलाई प्रहरीले नियन्त्रण गर्न नसकेको आरोप छ नि ?
– हुन त यसको नियन्त्रण गर्ने पक्ष नेपाल प्रहरी मात्र होइन । यसको कानुनी कारबाही र नियन्त्रण गर्ने जिम्मेवारी अरू सरकारी निकायलाई पनि छ । यस्तो अभाव भएको अवस्थामा स्वाभाविक रूपमा कालोबजारी बढेर जान्छ । त्यसैले सम्बन्धित मन्त्रालयबाट, नेपाल सरकारबाट यसलाई नियन्त्रण गर्नका लागि पहल भएको छ । आपूर्ति तथा वाणिज्य मन्त्रालयबाट पनि अनुगमनका लागि विभिन्न समितिहरू बनाएर अनुगमन गर्ने र कानुन कार्यान्वयन गर्ने निकायलाई निर्देशन गर्ने काम भइरहेको छ । र, हामीले पनि यो कार्यमा एकदमै गम्भीरतापूर्वक लिएका छौं । जनताको अत्यावश्यक र दैनिक जीवनसँग जोडिएका कुराहरू भएकाले यो कुरामा अभाव हुन नदिने र प्राप्त इन्धनदेखि लिएर खाद्यान्न व्यवस्थित तरिकाले वितरण गर्नेमा ध्यान दिएका छौं । थोरै नै भए पनि समान ढंगले सबैको पहुँच हुनेगरी वितरण होस् भन्ने हिसाबले यो वितरण प्रक्रियामा प्रहरीले पूर्ण रूपमा सहयोग गर्ने भनेर हामीले सबैतिर हाम्रा प्रहरीलाई परिचालन गरेका छौं । कालोबजारी गर्ने, भण्डारण गरी अभाव सिर्जना गरेर बढी मूल्यमा बेच्ने काम निकै हदसम्म नियन्त्रण भएको छ । पेट्रोल पम्पमा सहज ढंगले इन्धन वितरण कार्यमा सहयोग गर्न पनि प्रहरी लागिरहेको छ । कालोबजारीका मामलामा हामी धेरै व्यक्तिहरूलाई पक्राउ गरे, बरामद गरेर देशैभरि गरी १ सय ९३ जनालाई कारबाही पनि चलाएका छौं । पेट्रोल पम्पहरूबाट मिटर नै बिगारेर कर्मचारी समेतको मिलेमतोमा ठगी हुने गरेको पाइएकाले हामीले धेरै पेट्रोल पम्पहरूलाई कारबाही गरेका छौं । उपत्यकामा खाने तेल स्टक गरेर नक्कली मूल्य टाँसेर कालोबजारी गरेको सम्बन्धमा पनि हामीले कारबाही चलाएका छौं । देशैभरि नेपाल सरकारको नीति, प्रचलित कानुन र प्रहरीको जिम्मेवारी अनुरूप कालोबजारी नियन्त्रणका लागि काम गरी नै रहेका छौं ।
० प्रहरी कल्याण कोषको इन्चार्ज भएर पनि काम गर्नुभयो, त्यसमा हुने अनियमितता अहिले रोक्न पहल भएको छ ?
– कल्याण कोषमा विगतमा केही अनियमितता भए । कारबाही पनि भएका छन् । मुद्दा अदालत पनि पुगेको छ । प्रहरी नियमावलीले यसलाई पहिले जस्तो एउटा एनजीओमा सीमित नराखेर यसको रेखदेख, नियन्त्रण र परिचालन गर्ने सम्पूर्ण संयन्त्र नेपाल सरकारको अधिनमा रहेको छ । यसको प्रशासन विभागको एआईजीसा’पको अध्यक्षतामा सञ्चालक समिति छ । विभिन्न मन्त्रालयका प्रतिनिधि, भूतपूर्व प्रहरी संगठनको अधिकृत र जवान तहको प्रतिनिधिसमेतको संयुक्त समितिले त्यसलाई परिचालन गर्छ । विगतमा जस्तो प्रहरी प्रधान कार्यालयले चाहेर मात्र केही गर्न सक्दैन । अब एकदमै पारदर्शी तरिकाले व्यवस्थापन भइरहेको छ ।
० संगठनका उच्च तहका अधिकृतबीच वैमनश्यता भएको र यसले संगठनको कार्यसञ्चालनमा असर पुगेको जस्ता कुरा सार्वजनिक भएका छन्, के यो साँचो हो ?
– बाहिर आएका कुराहरू अलि बढी अनुमानमा आधारित हुन्छन् । संगठनभित्र खास त्यस्तो देखिएको पनि छैन । हाम्रो प्रहरी संगठन लामो इतिहास बोकेको गौरवमय संगठन हो । यस्तो संगठनमा वैमनश्यता सैह्य हुँदैनन् । प्रहरी ऐन र नियमावलीमा संगठनभित्रका अनुशासनहीन क्रियाकलापहरू दण्डनीय हिसाबबाट व्यवस्था गरिएको छ । कारबाहीको प्रावधान छ । कसैले पनि संगठनको मूल्य, मान्यता र मर्यादाभन्दा बाहिर गयो भने त्यसको गुञ्जायस रहँदैन । कसैले त्यस्तो गर्यो भने कारबाही हुन्छ । भई पनि रहेको छ । सानो कुरालाई बढाएर गर्ने परिपाटीले त्यस्तो आशंका जन्मिएको हुनसक्छ ।
० प्रहरीमा लामो समयदेखि रिक्त रहेका केही माथिल्ला पदहरूसमेत किन पदपूर्ति हुन सकेको छैन ?
– सरुवा र बढुवा भन्ने कुरा अवधि पुगेपछि हाम्रो मानवस्रोत विभागले गर्ने नियमित काम हो । सरुवाका हकमा समयमै भइरहेको छ । तर, बढुवाका सन्दर्भमा परिवर्तित नियमावलीमा बढुवाका प्रक्रियाहरूमा आफैं पनि केही समय लिने खालको छ । विगतको बढुवा प्रक्रियाभन्दा २०७१ सालमा आएको नियमावली अनुसार प्रक्रिया पारदर्शी छ । यसमा गुनासाहरू पनि पर्याप्त सुनुवाइ हुने व्यवस्था छ । प्रक्रिया नै केही लामो भएकाले यसमा केही समय पनि लाग्छ ।
कतिपय तल्लो दर्जाका बढुवा र सरुवाहरू हामीले क्षेत्रीय प्रहरी प्रमुखलाई नै अधिकार दिएका छौं । कतिपय अवस्थामा एउटा क्षेत्रबाट अर्को क्षेत्रमा सरुवा गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा कर्मचारीहरूका पनि कुनै समस्या हुनसक्छ । चाहना हुनसक्छ । त्यसलाई सम्बोधन गर्नका लागि प्रधान कार्यालयमार्फत वर्षमा दुई पटक समयतालिका राखेर गर्ने गरेका छौं । क्षेत्रले आफ्नो अधिकारक्षेत्रभन्दा बाहिर गएर सरुवा गर्नुपर्ने अवस्थामा हेडक्वार्टरमा लेखेर पठाउँछन् । त्यसपछि हेडक्वार्टरले त्यसको सम्बोधन गर्ने गरेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply