कांग्रेसभित्र नयाँ समीकरणको कसरत
काठमाडौं । सत्तारूढ पहिलो दल नेपाली कांग्रेसभित्र पदाधिकारी मनोनयन लम्बिँदै जाँदा गुट–उपुगटको झुण्डहरूमा विभाजित संरचना नै खलबलिने गरी नयाँखाले समीकरणको सम्भावना देखिँदै गएको छ । प्रधानमन्त्री नबनेसम्म कुनै हालतमा पदाधिकारी मनोनयन नगर्ने सभापति शेरबहादुर देउवाको ‘भीष्म प्रतिज्ञा’ का कारण झन्डै दर्जन उपगुटहरूमा विभक्त कांग्रेसमा नयाँ खाले समीकरणको विकास हुने सम्भावना रहेको जानकारहरू बताउँछन् ।
सरकारमा पार्टीका तर्फबाट नेतृत्वका लागि पठाइएका उपप्रधानमन्त्री विमलेन्द्र निधिमाथि नै भर परिरहेका कारण देउवाप्रति कांग्रेसमा निकै प्रभावशाली नेताहरू असन्तुष्ट बन्दै गएका छन् । प्रकाशमान सिंहलगायत रामचन्द्र पौडेल गुटका नेताहरू पदीय जिम्मेवारी नपाउँदा देउवासँग असन्तुष्ट हुनु त नौलो कुरा होइन । तर, ढिलाइका कारण देउवालाई सभापति बनाउन हिजो ज्यान फालेर लागेका नेताहरू खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका दर्जनभन्दा बढी नेता उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको पद सुरक्षित नदेखेर रुष्ट बन्दै गएका छन् । यद्यपि, देउवा भने जतिसुकै तीव्र दबाब झेलेरै भए पनि प्रधानमन्त्री नबनेसम्म पदाधिकारी मनोनयनमा हातै नहाल्ने मनस्थितिमा पुगेको सूत्रहरूको भनाइ छ । देउवाको यस्तो कार्यशैलीका कारण उनले बोलेका र राखेका अडानमा उभिने नेताहरूको अनुहार हिजोआज बत्ती बालेरै खोज्नुपर्ने स्थिति कांग्रेसमा देखा परेको छ । किनभने, रातारात देउवालाई सभापति बनाउन गुटमा लागेका चन्द्र भण्डारीजस्ता युवा नेता ५ नम्बर प्रदेशमा देउवाले लिएको लाइनका कारण रुष्ट छन् भने अर्का युवा नेता विश्वप्रकाश शर्मा पनि भूमिकाविहीन जस्तै छन् । त्यसैले, यतिबेला देउवाको विश्वासिलो पात्र को भनेर पहिचान गर्नसमेत धेरै केन्द्रीय सदस्यलाई हम्मेहम्मे परेको छ ।
देउवा जसरी पनि भावी नेतृत्वका रूपमा भारतीय सल्लाहअनुसार निधिलाई नै उपसभापति बनाउने ‘मुड’ मा छन् । यस्तो सिग्नल पाएपछि पूर्णबहादुरलाई महामन्त्रीको अड्डी लिएर हिन्दु राष्ट्र पुनःस्थापनाको योजनामा सक्रिय बन्न थालेका खुमबहादुर देउवाका लागि मुख्य अवरोधकका रूपमा खडा भएका छन् । त्यसैले, अहिले नै पदाधिकारी मनोनयन गर्ने हो भने पार्टीभित्रको समीकरण नै खलबलिँदा प्रधानमन्त्रीको आकांक्षा नै धुलिसात हुने निश्चितजस्तो देखिएपछि देउवा पछाडि हटेका छन् । देउवा र पौडेलको समीकरणमा निर्णायक मानिएका खुमबहादुरले खुट्टा छाड्नेबित्तिकै देउवा अल्पमतमा पर्ने सम्भावना रहेको बताइन्छ । त्यसैले पनि भारत, अमेरिका मात्रै होइन, पार्टीभित्र अहिलेलाई कसैलाई नचिढ्याउने गरी देउवाले फुकीफुकी कदम चालिरहेको बताइन्छ । यतिसम्म कि नेविसंघ र महिला संघको चुनावमा पौडेल पक्षसँग कुनै सम्झौता नगर्ने देउवा डेढ महिनाअघि पोखरामा सम्पन्न तरुण दलको महाधिवेशनमा भने सबैलाई चित्त बुझ्ने गरी भागबन्डा मिलाउन सहमत हुनुका पछाडिको एउटा कारण पनि त्यही रहेको स्रोतको भनाइ छ । तर, देउवाले सोचेजस्तै आगामी चैत–वैशाखभित्रै प्रधानमन्त्री बन्ने त्यसपछि कतिपयलाई मन्त्रीमा थुमथुम्याएर आफूअनुकूल पदाधिकारी मनोनयन गर्ने आकांक्षा पूरा हुने स्थिति पनि देखिएको छैन । अहिलेकै राजनीतिक गतिरोध कायम रहेमा देउवा चैत–वैशाखमा होइन, प्रधानमन्त्री प्रचण्डले कुर्ची नछाड्दा आगामी मंसिरसम्म पनि प्रधानमन्त्री भइहाल्ने सुनिश्चितता देखिँदैन ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply