उता खान पाइनँ भनेर एमालेमा आएको होइन
० नौ वर्षपछि फेरि मूलघर एमालेमै फर्किंदा कस्तो अनुभूति भइरहेको छ ?
– मलाई गौरवको अनुभुती भइरहेको छ । किनभने, यो पार्टी भनेको हामीहरू आफैंले बनाएको पार्टी हो । यसमा हामी बूढाबूढी मैया भट्टराई र मेरो खुन पसिना धेरै परेको छ । चराले गुँड बनाउँछ । अनि बाहिर कावा खाँदै आकाशमा आँधीहुरीसँग पांैठेजोरी खेल्दै साँझपख फेरि आफ्नो गुँडमा फर्किएजस्तै हो हाम्रो यो पार्टी प्रवेश । जीवनको सन्ध्याकालमा फेरि आफैंले बनाएको गुँडमा फर्किइयो । कुरा यही हो ।
० बीचमा के कारणले पार्टीबाट बाहिरिनुभएको थियो ?
– म कुनै पार्टीमा खाउँला, पाउँला र कुम्ल्याउँला भनेर गएको होइन । अनि यहाँ जसरी फर्किएँ, उता खान पाइनँ र अब यता आएर बेस्सरी खान पाइन्छ भनेर फर्किएको पनि होइन । म सिद्धान्तनिष्ठ मान्छे । त्यत्रो जनयुद्ध हाँकेर आएको अनि राजतन्त्रलाई उन्मूलन गर्नका निम्ति १०औं हजारसहित भएको र बलिदान गरेको पार्टी भएकाले त्यसले नै यो मुलुकको आर्थिक उन्नति र समृद्धि गर्ला भन्ने लागेको थियो । कवि मान्छे अलि अलि भावनामा पनि बगियो ।
० एमालेले तपाईंलाई सांसद बनायो, सम्मान पनि गरेकै थियो, तर…
– हो, एमालेले मलाई सांसद बनाएको थियो । महŒवपूर्ण स्थानमा राखेको थियो । त्यो पार्टीभित्र म आँखाको नानी थिएँ । तर, विचारधारात्मक रूपमा यसको भन्दा माओवादीको विचार र व्यवहार त्रान्तिकारी रुझानलगायतका पक्षले मलाई त्यो बेला आकर्षित गरेका थिए । त्यसैले, त्यो बेला पनि ‘यस पार्टीले मलाई अहिलेसम्म जुन सम्मान प्रदान गरेको थियो, त्यसप्रति हार्दिक आभार प्रकट गर्दै आजका मितिदेखि म यो पार्टी छोडेर माओवादी पार्टीमा प्रवेश गरें’ भनेर यही बुटवलमा भनेको थिएँ ।
त्यसपछि पनि मैले लगातार वामपन्थीहरूको बीचमा ध्रुवीकरण हुनुपर्छ, सबै वाम एक ठाम हुनुपर्छ भनेर अभियान नै चलाएँ । तर, त्यसमा म सफल हुन सकिनँ । त्यो पार्टी झन् भन्दा झन् बिग्रँदै टुक्रिँदै गयो । र, यो हालतामा पुग्यो । त्यसकारण, अब त्यहाँबाट पार लाग्दैन, बरु घुमीफिरी रुम्जाटार भनेझैं आफ्नै घर फर्कें । ‘घुमीफिरी हृदयमा आऊ मेरा हरिजी’ भनेर भजन गाउँछन् नि, त्यस्तै भयो । फेरि आइयो । यसमा आएकोमा मैले गौरव अनुभव गरेको हँु । धेरैले दुःख मान्नुभएको थियो । अहिले सबै साथीहरूले खुसी मान्नुभएको छ । झलनाथ खनालजीले ‘जाँदा मलाई जति दुःख लागेको थियो, आज फर्कंदाखेरि मलाई त्यत्तिकै खुसी लागेको छ’ भन्नुभयो र अंकमाल गर्नुभयो ।
० पछि फेरि बाबुराम भट्टराईको नयाँ शक्तिमा जानचाहिँ केले आकर्षण ग¥यो नि ?
– सिद्धान्त एकातिर र मान्छेको व्यवहार अर्कोतिर हुने रहेछ । प्रचण्डको व्यवहार बेठीक लागेर मैले एक वर्षपहिले त्यो पार्टी छोडेको हुँ । नयाँ शक्तिमा आएपछि त्यसले पनि मलाई केन्द्रीय कमिटीभन्दा पनि माथि संरक्षक बनाएर राखेको थियो । बाबुराम अर्थमन्त्री हुँदा जुन काम गरे, प्रधानमन्त्री हुँदा जुन काम गरे, त्यस आधारमा हेर्दा ‘यो मान्छे निट एन्ड क्लिन’ मान्छे हो । त्यसकारण, उनले पार लगाउँछन् कि भनेर म त्यता आएको तर यता आएपछि यिनले माक्र्सवाद र कम्युनिस्ट विचारधारा नै छोड्ने, पुरै मधेसी, प्रोइन्डियन के–के भयो के–के ? झन् गन्जागोल भयो । त्यसो भएको हुनाले आखिरीमा राष्ट्रियता, देशको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र स्वाधीनताको पक्षमा एमालेले केपी ओलीको नेतृृत्वमा जुन अडान लियो, यसले एमाले मात्र सच्चा देशभक्त शक्ति हो भन्ने प्रमाणित भएको छ । त्यही ठह¥याएर म यता आएको हो ।
० एमाओवादीमा गएर त्यहाँको सबै अनुभव पनि लिनुभएको छ, त्यो पार्टीकोे भविष्य कस्तोे देख्नुभएको छ ?
– एमाओवादीको भविष्य अब त चुनावले बताउला । घमण्ड कसैले गर्नुहुन्न । हिजो एमालेले घमण्ड ग¥यो । माओवादीले एकदुई सिटभन्दा ल्याउन सक्दैन भन्दै साथीहरूले हुंकार गर्दै हिँडे । मैले ए बाबा यसो नगर भनें, कसैले मानेन । आखिर ३३ सिटमा थचारिए । माओवादीले पनि केही बढी सिट ल्यायौं भन्दैमा अहंकार गरेर भुइँ छोडेर आकाशतिर उड्न थाले । ०७० को चुनावमा २६ सिटमा थचारिनुप¥यो । त्यसकारण, कसैले पनि अहंकार गर्नुहुँदैन । प्रत्येक पार्टीभित्र राम्रा मान्छे पनि छन् । प्रत्येक पार्टीभित्र नराम्रा मान्छे पनि छन् । एमाले पनि कुनै पखालेको मुला होइन । यहाँ पनि विकृति–विसंगति छन् । फेरि पनि प्रत्येक पार्टीभित्र राम्रा मान्छे पनि छन् । ती राम्रा मान्छेहरूको बीचमा ध्रुवीकरण हुनुपर्छ, एकीकरण हुनुपर्छ । हिजो बुद्धि पु¥याएको भए त्यसको नेतृत्व हिजो एमाओवादीले गथ्र्यो । त्यो चरण गयो । अबको ध्रुवीकरण तथा एकीकरणको नेतृत्व एमालेले गर्छ र गर्नुपर्छ । म वाम ध्रुवीकरणको पक्षमा निरन्तर कलम चलाउनेछु ।
० नयाँ शक्तिको नि ?
– नयाँ शक्तिको भविष्य मैले राम्रो देखेको छैन । भूगोलमा उसको कुनै हैसियत छैन । मधेसीहरू अलि–अलि आएका छन् । तिनीहरू पनि सिद्धान्तनिष्ठ होइनन् । जति आए तिनीहरूमध्ये धेरै फर्किसकेका छन् । खास गरेर उपेन्द्र यादवसँग बाबुरामजीले जुन संयुक्त, विज्ञप्ति जारी गर्नुभयो, मधेसीहरूसँग जुन लगाव बढाएर अगाडि लिएर जानुभयो, उहाँले जतिसुकै आदर्शका कुराहरू गरे पनि त्यसको सार गतिलो छैन । त्यसले उहाँलाई पार लगाउँदैन ।
० एमालेको मेची–काली अभियानकै दौरानमा तपाईं एमालेमा फर्किनुभयो, मेची–महाकाली अभियानले कस्तो सन्देश दिएको अनुभूति भयो ?
– यो अभियानले धेरै राम्रो सन्देश दियो । झापाबाट सप्तरी नआउँदासम्म धेरै राम्रो थियो । सप्तरीमा आइसकेपछि अलिकता अवरोध भयो । त्यसले पाँचजना मान्छे मरे । निहत्था जनता मरे । पुलिसले गोली हान्यो । तर, त्यहाँ पेट्रोल बम पड्काउनेदेखि लिएर अनेकौं खाले षड्यन्त्र थियो । त्यसका पछाडि जोसुकै होस्, तर फ्रन्टमा त मधेसी मोर्चा नै थियो । त्यसले हाम्रा नेताहरूलाई नै समाप्त पार्ने खालको षड्यन्त्र थियो भन्ने बुझियो । त्यसले गर्दा अभियानलाई केही दिन स्थगित गर्नुपरे पनि पश्चिम लागेपछि भने त्यो लहर व्यापक बढ्यो ।
० संविधान संशोधनको पनि कुरा उठेको छ, पाँच नम्बर प्रदेश टुक्र्याउने कुरा कत्तिको जायज हो भन्ने लाग्छ ?
– सिमान उत्तर–दक्षिण नै हुनुपर्छ । २ नम्बर प्रदेशमा पनि पहाड मधेस मिलाउनुपर्छ । किनकि, पहाडलाई मधेस चाहिन्छ । मधेसलाई पहाड चाहिन्छ । हिजोदेखि उत्तर–दक्षिण जोडिएकै हो । त्यसलाई महेन्द्रीयवाद भनून् कि जेसुकै भनून् । त्यसलाई खल्बल्याउने काम गरेर यहाँ भद्रगोल भयो । यिनीहरूले पाँच नम्बरबाट सुरु गरे । कारण के हो भने लुम्बिनीलाई लक्षित गरिएको छ । लुम्बिनीलाई भारतमा गाभ्ने उनीहरूको पहिलेदेखिकै योजना रहेछ । मेची–महाकाली सबैतिरबाट मधेसलाई टुक्र्याएर पछि एक मधेस एक प्रदेश बनाएर त्यसलाई अलग राज्य बनाउने यो षड्यन्त्र ठूलो ग्राइन्ड डिजाइनअन्तर्गत ५ नम्बर प्रदेशबाट सुरु भएको छ ।
वास्तवमा हिमाल नेपालको मुकुट हो । पहाड नेपालको शिर हो । हिमाल, पहाड, तराई–मधेस सिंगो नेपालको शरीर हो । त्यसका नसाहरू नेपालका नदीनाला हुन् । तनमा बग्ने पानी नेपालीको आँसु, पसिना र रगत हो । त्यसैको सिञ्चनले धर्ती हराभरा भएको छ । मधेस, पहाड तराई सबै बाँचेका छन् । त्यसलाई टुक्र्याएर मुर्कट्टा बनाउने काम षड्यन्त्रपूर्ण ढंगले अरू कसैको इसारामा गरिएको हुनाले यसमा हाम्रो सख्त विरोध छ ।
० अब नेकपा (एमाले) प्रति चाहिँ तपाईंको अपेक्षा के छ ?
– विष्णु पौडेल कमरेड मेरो घरमा आउनुभएको थियो । कुराकानी भयो । उहाँले दाजु पुरानो घरमै फर्कनुप¥यो भन्नुभयो । तपाईंको केही इच्छा छ भन्नुभयो । यो पार्टी फलोस् फुलोस्, मेरो जीवनको बाँकी ऊर्जा यसमा लगाउँदा पार्टीलाई फाइदा हुन्छ भने होस्, मेरो कुनै माग छैन । पार्टीले जे जिम्मेवारी दिन्छ, त्यही स्विकार्न तयार छु । सेल कमिटीमा बसेर काम गर्न भन्यो भने पनि ओके, माथि केन्द्रीय सल्लाहकारमा बसेर सल्लाह दिन अह्राउँछ भने पनि ओके । कहीँ नबसेर पार्टी सदस्य मात्र भएर बस् भने पनि ओके । किनभने म छोडेर हिँडेको मान्छे हुँ । बीचमा धोका दिएको हो नि मैले । चुनावको पूर्वसन्ध्यामा यो पार्टी छोडेर हिँडेको फेरि चुनावको पूर्वसन्ध्यामा आएको छु । त्यो बेला पार्टीलाई ठूलो धोका दिएको हो मैले । त्यसको सजायँ त मैले पाउनुपर्छ नि । विगतमा चुनावकै सन्दर्भमा हिँडेको थिए, अहिले चुनावकै मुखमा आएको छु, अब यो चुनावमा पार्टीलाई जिताउन भरमग्दुर प्रयास गर्नेछु ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply