दूरसञ्चार प्राधिकरणमा १५ भाइको भिडन्त
कसले मार्ला बाजी ?
काठमाडौं । दूरसञ्चार र सुचना प्रविधि क्षेत्रको एक मात्र अधिकारसम्पन्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष पदका लागि १५ भाइको रोचक भिडन्त सुरु भएको छ । केही दिनअघि सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरेकामा दूरसञ्चार क्षेत्रमा काम गरिसकेका विभिन्न १५ जनाले दर्खास्त दिएका हुन् ।
१५ जनाको आवेदन परेकामध्येबाट तीन जनाको नाम सूचना सञ्चार तथा प्रविधि मन्त्रालयले छनोट गरेर मन्त्रिपरिषद्मा सिफारस गर्ने र तिनीहरूमध्येबाटै मन्त्रिपरिषद् बैठकले एक जनालाई निर्णय गर्ने बताइएको छ । मन्त्रालय स्रोतका अनुसार तीन जनाको नाम मन्त्रिपरिषद्मा पेस गरेपछि मात्र सार्वजनिक गरिनेछ ।
कसकसले हाले निवेदन ?
नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त रहेको अध्यक्ष पदका लागि १५ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये दुई जना दूरसञ्चार प्राधिकरणमै कार्यरत निर्देशक हुन् भने एक जना निवर्तमान अध्यक्ष हुन् । अध्यक्ष पदका आकांक्षीमध्येका दूरसञ्चार प्राधिकरणमै कार्यरत वरिष्ठ निर्देशक आनन्दराज खनाल र पुरुषोत्तम खनाल हुन् भने दिगम्बर झा अर्का बलिया दाबेदार हुन् । त्यसबाहेक चन्द्रमणि चौलागार्इं नेपाल दूरसञ्चार प्राधिकरणका सञ्चालक समितिका सदस्य हुन् ।
यसैगरी, नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य पनि प्रतिस्पर्धामा उत्रिएका छन् । उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । यस्तै, टेलिकमकै पूर्वप्रबन्ध निर्देशक देवनारायण यादवले पनि आवेदन दिएका छन् । टेलिकममै काम गरिसकेका रवीन्द्र झा, शिवभूषण लाल, मधुसूधन कर्मचार्य र खड्ग बस्नेत पनि प्रतिस्पर्धामा आएका छन् । त्यस्तै, नेपाल सरकारका पूर्वसचिव सुशील घिमिरे पनि प्रतिस्पर्धामा उत्रिएका छन् । उनी सञ्चारसहित केही मन्त्रालयका सचिव भइसकेका व्यक्ति हुन् । यसैगरी, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका पूर्वमहाप्रबन्धक अनिल झाले पनि दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । यसबाहेक युनिसेफको सूचना, सञ्चार तथा प्रविधि विज्ञ उज्वल प्रधानांगले पनि आवेदन दिएका छन् । स्मार्ट मोबाइलमा कार्यरत भूपेन्द्र भण्डारी पनि प्रतिस्पर्धामा उत्रिएका छन् । सन् २००९ देखि एनसेलमा बिक्री निर्देशक पदमा कार्यरत रोहित रौनियारले पनि अध्यक्ष पदका लागि आवेदन दिएका छन् । विभिन्न १५ जना आवेदकले कागजपत्र बुझाएकोमा उनीहरूको कार्यानुभव, शैक्षिक योग्यतालगायत कुरा अध्ययन गरी मन्त्रालयले तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने बताइएको छ । समितिले एक साताभित्र आवेदकको मूल्यांकन गरी सिफारिस गर्ने मन्त्रालय स्रोतले बतायो । अध्यक्ष पदमा धेरै चासोको विषय भएकाले पहिला नै नाम सार्वजनिक गर्दा चलखेल हुने भएकाले मन्त्रिपरिषद्मा पेस गरिसकेपछि मात्र नाम सार्वजनिक गर्ने भनी अति गोप्य गरिएको स्रोतले बतायो ।
कसले कसलाई च्याप्दै
प्राधिकरणको कार्यकारी अध्यक्ष बन्न धेरैले मुख मिठ्याएका छन् । जसमा प्राधिकरणमा लामो समय कायममुकायम भई काम गरेका इन्जिनियर आनन्दराज खनालले प्रयास गरेका छन् । त्यस्तै, अर्का आकांक्षी पुरुषोत्तम खनाल प्राधिकरणकै प्रशासनतर्फका वरिष्ठ निर्देशक हुन् । तर, यी दुवै कांग्रेसतर्फ आस्थावान् व्यक्ति भएको प्राधिकरणमा चर्चा छ । त्यस्तै, प्राधिकरणमा अध्यक्ष भएर केही राम्रा योजना ल्याएका काम गरेर देखाएका दिगम्बर झाले पुनः सोही पदको दाबी गर्दै आवेदन दिएका छन् । दूरसञ्चार प्राधिकरणमा कार्यकारी अध्यक्ष बनाउन ठूलै शक्ति केन्द्र लागि परेको चर्चासमेत चलेको छ । प्राधिकरणको अध्यक्षमा आफ्नो मान्छे नियुक्त गराउन दूरसञ्चार सेवा प्रदायकदेखि विदेशी शक्ति केन्द्रसम्म लागि परेको स्रोतले बताएको छ । नेपालको दूरसञ्चार क्षेत्रका डन भनेर चिनिने गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले त बुरुन्डीमा काम गरिहेका भूपेन्द्र भण्डारीलाई प्राधिकरणको अध्यक्ष बनाउन आवेदन दिन लगाएको स्रोतको दाबी छ । यता, सञ्चारविज्ञका रूपमा रहेका उज्ज्वल प्रधानांगले पनि ठूलै शक्ति केन्द्र गुहारेको चर्चा दूरसञ्चार क्षेत्रमा चलेको छ । पूर्वसचिव सुशील घिमिरे पनि पुरानो साइनो सोझ्याउँदै विभिन्न नेताको घरदैलो चहार्दै हिँडेको चर्चा छ ।
कस्तो छ अध्यक्षको मापदण्ड ?
अध्यक्षका आवेदकले कम्तीमा स्नातक उपाधि हासिल गरी दूरसञ्चार क्षेत्रमा १० वर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ । कुनै सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीका हकमा राजपत्रांकित प्रथम श्रेणी, दसौं तह वा त्यसभन्दा माथिल्लो पदमा अनुभव प्राप्तले मात्र आवेदन दिन पाउने छन् । अध्यक्ष पदका लागि न्यूनतम स्नातक पास र दूरसञ्चार क्षेत्रको प्राविधिक तथा प्रशासनिक मामिलामा, बजार व्यवस्थापनको मामिलामा, कानुनको मामिलामा वा लेखा तथा लेखापरीक्षणको मामिलामा १० वर्षभन्दा बढीको कार्यानुभव हुनुपर्ने प्रावधान छ ।
दुई खनाल स्थापनाकालदेखिकै कर्मचारी
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष रहेका दिगम्बर झालाई सरकारले २०७५ भदौ १४ पछि गरिएका सबै राजनीतिक नियुक्ति बदरको निर्णयबाट हटाएसँगै सो निकायको निमित्त अध्यक्ष अहिले आनन्दराज खनालले चलाइरहेका छन् । प्राधिकरणमा कार्यरत वरिष्ठ निर्देशक खनालले यसअघि दिगम्बर झाको मुद्दा विचाराधीन हुँदा पनि निमित्तका रूपमा काम गरी प्राधिकरणलाई दोहन गरेका थिए । त्यस्तै, अर्का वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले सो पदमा आँखा दौडाएको बताइएको छ । उनीहरू दुवै जना प्राधिकरणका स्थापनाकालदेखिका कर्मचारी हुन् । अहिले वरिष्ठ निर्देशक आनन्दराज खनालले नै झाको कायममुकायम जिम्मेवारी सम्हालेका छन् । खनालले झाको पहिलोपटकको नियुक्तिको मुद्दा विचाराधीन रहेका बेला पनि निमित्तको जिम्मेवारी सम्हालेका थिए । यसअघि प्राधिकरणको निर्देशक मात्र रहेका दुवै खनालको झाको पालामा नै बढुवा गरिएको थियो । वरिष्ठ निर्देशक भएपछि सो पदमा चार वर्ष मात्र रहन पाउने र स्वतः अवकाश हुने प्रावधान छ । त्यही भएर उनीहरू अध्यक्षको प्रतिस्पर्धामा लागेको बताएको छ । आनन्दराज खनाल इन्जिनियरिङ पृष्ठभूमिका हुन् भने पुरुषोत्तम खनाल प्रशासनिक पृष्ठभूमिका । अहिले आनन्दले नियमन तथा प्रविधि महाशाखा र पुरुषोत्तमले प्रशासन तथा अनुमतिपत्र महाशाखा सम्हालिरहेका छन् ।
झाकै चर्चा बढी
मन्त्रिपरिषद्को बैठकको निर्णयपछि एउटै तरबारको सिकार भएका झा असंवैधानिक ढंगले आफूलाई हटाइएको भन्दै अदालतमा गएका थिए । अदालतले तत्कालका लागि काम गर्न नरोक्नु भन्ने अन्तरकालीन आदेश जारी गरेपछि झाले सो मुद्दा फिर्ता लिई सरकारलाई नयाँ नियुक्तिका लागि बाटो फराकिलो पारिदिएका थिए । त्यसैले, सञ्चारमन्त्री गोकुल बाँस्कोटासमेत झाको कदमदेखि प्रभावित भएको बताइएको छ । दूरसञ्चार क्षेत्रमा धेरै काम गरेर देखाएका उनलाई पुनः निवेदन दिन एमालेकै नेताहरूले संकेत गरेको बुझिएको छ । अन्तरकालीन आदेशपछि खुरुक्क मुद्दा फिर्ता लिई सरकारलाई सजिलो पारेकोमा सबै क्षेत्रले उनको प्रशंसा गरेका छन् । झाले मुद्दा फिर्ता लिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले झालाई नै पुनः नियुक्त गर्न मन्त्रिपरिषद्मा प्रस्तावसमेत लगिएको थियो । तर, खुला प्रतिश्पर्धाबाट लैजाने भनिएपछि उक्त प्रस्ताव स्थगित गरिएको बुझिएको छ ।
झाले नै एक तह बढाइदिएका थिए खनालद्वयलाई
त्यसो त अहिले झासँग प्रतिस्पर्धामा आउने मात्र होइन, उनको विरुद्ध मिडियाबाजीमा उत्रने खनालद्वयलाई झाले नै एक तह बढुवा गरिदिएका थिए । प्राधिकरणमा खनालद्वय वरिष्ठ निर्देशकमा सिफारिस र अन्य पाँच कर्मचारी निर्देशकमा बढुवा भएको २०७४ असारमा मात्र हो । प्राधिकरणले कर्मचारी पदपूर्ति प्रक्रियाअन्तर्गत विभिन्न पदहरूमा कर्मचारी सिफारिस गरेको थियो । त्यहीअन्तर्गत प्राधिकरण पदपूर्ति समितिले विभिन्न पदमा कर्मचारीहरूलाई बढुवा गरेसँगै निर्देशक खनालद्वयलाई पनि वरिष्ठ निर्देशक बनाएको थियो । दुवैजनालाई समूह नखुलाई पदपूर्ति समितिले बढुवा सिफारिस गरेको थियो । त्यसैगरी पदपूर्ति समितिले निर्देशक पदमा पनि पाँच जनाको बढुवा सिफारिस गरेको छ । अध्यक्ष झाकै पालामा निर्देशक पदमा बढुवा सिफारिस हुनेमा प्रशासन समूहका तर्फबाट अर्जुन घिमिरे तथा दीपेश आचार्य थिए भने प्राविधिक समूहबाट मीनप्रसाद अर्याल तथा अमर स्थापित रहेका थिए । त्यसैगरी, विविध समूहतर्फबाट सुरेन्द्रलाल हाडालाई सिफारिस गरिएको थियो । कर्मचारी बढुवा तथा पदपूर्तिका लागि प्राधिकरणका अध्यक्ष दिगम्बर झाकै संयोजकत्वमा लोकसेवा आयोगसहितको पदपूर्ति समितिले कार्य गरेको थियो तर प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल र वरिष्ठ प्रशासन निर्देशक पुरुषोत्तम खनालले सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध मिडियाबाजीसमेत गराएको चर्चा चलेको थियो । इन्टरनेट प्रदायक कम्पनीहरूले चर्को शुल्क लिँदा पनि सञ्चारमन्त्री बाँस्कोटाले छुट दिएकोलगायत प्राधिकरणसँग सम्बन्धित समाचार दिने काम खनालद्वयले गरेका थिए । खनालद्वयको पद नै कानुनसम्मत नभएको प्रश्न बारम्बार उठ्ने गरेको छ । प्राधिकरणको संगठनात्कम संरचनामा वरिष्ठ निर्देशक पद नै छैन । तर, उनीहरू वरिष्ठ निर्देशक पद सिर्जना गरी तलब सुविधा खाँदै आएका छन् । प्राधिकरणमा अध्यक्ष नियुक्ति हुनै नदिने र निमित्त भएर ब्रह्मलुट गर्ने दाउमा खनालद्वय रहेकोमा सरकारको अर्को तयारीपछि उनीहरू झस्किएको बताइन्छ ।
भरपर्दो दीर्घकालीन योजना छैन
दूरसञ्चार क्षेत्रको नियामक निकायका रूपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरण स्थापनाकालदेखि नै रणनीतिक कार्ययोजनाविहीन रहेको विज्ञहरू बताउँछन् । सन् २०११ बाट कार्यान्वयनमा ल्याउने भनेर २०१० मै तयार भएको १० वर्षे रणनीतिक कार्ययोजना पनि अझै अलपत्र छ । प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कँडेलले पनि रणनीतिक कार्ययोजनाको चर्चा गरे तर योजना ल्याउन सकेनन् । आफ्नो कार्यकालमा रणनीतिक कार्ययोजनाको मस्यौदा तयार भएको भए पनि मन्त्रालयले भाँजो हालेका कारण जारी गर्न नसकिएको पूर्वअध्यक्ष भेषराज कँडेल बताउँछन् । तर, झाको पालामा आएपछि भने निकै काम भएको विज्ञहरू बताउँछन् । ग्रामीण दूरसञ्चार कोष परिचालन गरी देशभर अप्टिकल फाइबर बिछ्याउने र इन्टरनेट सेवालाई सस्तो र गुणस्तरीय बनाउने काम झाले अगाडि बढाउनुका साथै आफ्नै भूउपग्रह निर्माणका सवालमा पनि झाले पहल गरेका थिए । प्राधिकरणले गत आर्थिक वर्ष १० वर्षीय रणनीतिक कार्ययोजना सम्भव नभएको भन्दै पाँचवर्षे रणनीतिक कार्ययोजना निर्माण गर्ने अर्को लक्ष्य लिएको थियो । सुरुमा परामर्शदाता नियुक्त गरी कार्ययोजना तयार पार्ने भनिए पनि पछि गएर प्राधिकरणकै उच्च तहका कर्मचारीबाट यससम्बन्धी प्रतिवेदन एक वर्षभित्र तयार गर्ने निष्कर्षमा प्राधिकरण सञ्चालक समिति पुगेको थियो । त्यसपछि प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालको संयोजकत्वमा निर्देशकहरू पुरुषोत्तम खनाल, कुमार शर्मा र उपनिर्देशक दीपेश आचार्य रहेको एक समिति बनाइए पनि सो समितिले समयमा कार्ययोजना निर्माण गर्न सकेन । समितिका संयोजक खनाल भने आफ्नो अझ क्षमता ढाकछोप गर्दै रणनीतिक कार्ययोजना तयार गर्ने काम अगाडि बढिसकेको बताए तर वैशाखमा गएको भूकम्पका कारण समितिको काममा केही ढिलाइ हुन गएको बताउँछन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply