आजाद–स्मृति दिवसमा प्रधानमन्त्रीले भने, ‘अब हामी द्रुत गतिमा जान्छौं’
काठमाडौं । गणतन्त्रका ल्याउन लडेका सिन्धुलीका ऋषिराज देवकोटा ‘आजाद’लाई भिमानको जंगलमा पञ्चायत सरकारले क्रूरतापूर्वक हत्या गरेको खबर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेलमै सुनेका थिए ।
उमेरले देवकोटाभन्दा आठ वर्ष कान्छा ओलीले सहिदलाई सम्झँदै आन्दोलनमा गोली लाग्न र मारिनबाट जोगिएको एक पात्रका रूपमा आफूलाई प्रस्तुत गर्दै भने, ‘हामी फो (उब्रिएको) को जिन्दगी बाँचेर आएकाहरू । मार्न लगिँदै गरेका ठाउँबाट बचेर आएका मान्छेहरू । यस्तो जिन्दगी बाँचेका हामीलाई जनताले यति महŒवपूर्ण ठाउँमा पु¥याउँदा पनि सहिदका सपना साकार पार्न सकिएन भने त्योभन्दा दुःखको कुरा अर्काे हुन सक्दैन ।’
सहिद देवकोटाले शहादत प्राप्त गरेको पनि ३८ वर्ष व्यतीत भइसकेको छ भने सहिदहरूकै सपनाको जग र जनताको संघर्षबाट मुलुकले लोकतान्त्रिक गणतन्त्र प्राप्त गरी आजादहरूले नै हुर्काएको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार छ ।
जनताको मतसहित सहिदको सपना पूरा गर्न समृद्धिको अठोट लिएर सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली सहिद ‘आजाद’को ३८औं स्मृति दिवसका अवसरमा सोमबार सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा भावुक हुन पुगे । मञ्चमा सहिद देवकोटाकी धर्मपत्नी गोमा देवकोटा, पार्टीका अन्य नेताहरू, कार्यक्रम सञ्चालक सहिदपुत्र सुवास र सहभागीलाई साक्षी राखेर उनले थपे, ‘सहिदका सपना पूरा गर्न हाम्रा अगाडिका चुनौतीहरू छन् । भ्रष्ट आचारण र क्रियाकलाप रोकेर सुशासन प्राप्तिको दिशामा सरकार अघि बढेको छ । शान्ति र स्थायित्व निर्माण गरिनेछ ।’
प्रधानमन्त्री ओलीले साझा लक्ष्य र आदर्शबाट परिचित भए पनि देवकोटासँग प्रत्यक्ष भेटघाट हुन नपाएको उल्लेख गर्दै भने, ‘जनताका घरमा ताला लगाउनु नपरोस् । कसैले असुरक्षा महसुस नगरोस् । आफ्नो लाभ लिन खोज्दा अरूको नोक्सान नगरोस् । त्यस प्रकारको सम्मान र थितियुक्त समाजको परिकल्पनासहित हामी अघि बढेका छौं ।’ कानुन कार्यान्वयनका संयन्त्रलाई प्रभावकारी र साधनस्रोत सम्पन्न बनाई कानुनको उल्लंघन भए नियन्त्रण गरी मुलुकमा सुशासन कायम गरिने बताउँदै प्रधानमन्त्री ओलीले राजनीतिक अधिकार प्राप्तिको लडाइँ सकिएकाले अब शिक्षा र सचेततना वृद्धि गर्दै कानुन तोड्नेलाई अपराधबमोजिम दण्डित गर्न साधनस्रोत र दक्षता विकास गरिने जनाए ।
‘हामी चल्तेचलाते सरकार हुन तयार छैनौं । समाजलाई खास दृष्टिकोण र योजनाका लागि विकास र समृद्ध हासिल गर्ने अभियानमा अग्रसर छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो अडानलाई देखेर तर्सिनेहरू तर्सन्छन् । सरकारलाई धारे हात लगाउँछन् । यो सरकार भ्रष्ट छैन र अरूलाई भ्रष्टाचार गर्न दिँदैन । जनतामा फिजाइएको भ्रम चिरिनेछ ।’
उनले भने, ‘लोकतन्त्र यत्तिकै फुत्त आएको होइन । राजतन्त्र संघर्षको मैदानबाट ढलेको हो । लामो समय संघर्षको मैदानमा बिताऔं । बल्ल संविधान बनाएर विकासको मार्ग पहिल्याएका छौं । अब हामी द्रुत गतिमा जान सक्छौँ ।’ सार्वभौमसत्ता सम्पन्न, स्वाधीन र स्वतन्त्र देशका रूपमा विश्वसामु नेपाललाई स्थापित गरी कसैका सामु शिर नझुकाई राष्ट्रिय एकतालाई थप सुदृढ गराउने प्रक्रियामा मुलुक अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले राजनीतिक अधिकार प्राप्तिलाई मात्र लोकतन्त्रको परिभाषालाई सीमित नराखी यसलाई जनताको गरिबीबिनाको शासनका रूपमा रूपान्तरित गर्न सरकार अग्रसर भएको उल्लेख गरे ।
आजादजस्ता योद्धाको बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको र अब परिवर्तनको आवाज उठाएबापत गिरफ्तार गरिने र मारिने अवस्था नभएको बताउँदै उनले भने, ‘सहिदको बलिदान खेर गएको छैन । राजनीतिक मुद्दाको बाटो सकाएर अब आर्थिक रूपान्तरणको बाटोमा मुलुक अघि बढेको छ । धेरैको बलिदान र अंगभंगपश्चात् यो परिवर्तन भएको हामीले बिर्सन हुँदैन ।’ उनले मान्छेले घर, परिवार छाडेर निरंकुश राजतन्त्रको विरोधमा परिवर्तनका लागि होमिएकाले प्राप्त उपलब्धिको रक्षा र सहिदको सपना साकार पार्न सबै लाग्नुपर्नेमा जोड दिए ।
‘आजादले अभावबीच पनि संघर्षमयी जीवन बिताउनुभयो । यस्तो जिन्दगी फेरि आउने पुस्ताले झेल्नु नपरोस् भनेर उहाँले संघर्ष गर्नुभयो । आजाद आदर्शवान् र बहुआयामित बाटो नबिराउने पथप्रदर्शक हुनुहुन्थ्यो ।’ ‘सहिद ऋषिराज देवकोटा ‘आजाद’ ः नेपाली क्रान्तिका अभिमन्यु’ नामक स्मृतिग्रन्थको लोकार्पणपछि प्रधानमन्त्री ओलीले त्यस्तो आदर्श अहिलेका कतिपय क्रान्तिकारीहरूमा नपाउने संकेत गर्दै भने, ‘जनता भड्काउन वा चन्दा असुल्न बम पड्काउने नामको क्रान्तिकारी होइन उहाँ । उहाँ कामको क्रान्तिकारी हो ।’
आजादका सहयोद्धा उपप्रधानमन्त्री एवं रक्षामन्त्री र्ईश्वर पोखरेलले पनि आजाद विशिष्ट क्षमता, निष्ठा, दृढता र योग्यतायुक्त नेता भएको स्मरण गर्दै आधारभूत जनताको सम्बन्धमा अद्वितीय देखिने उनलाई अहिले पनि सिन्धुलीका पाका जनताले ‘ऋषि माड्साब’ भनेर सम्मानका साथ सम्झिने बताए । देवकोटाको हत्या हुँदा सिन्धुलीमै रहनुभएका नेकपाका सचिवालय सदस्य पोखरेलले भने, ‘पार्टी र जनताका कुरालाई सर्वाेपरि राखेर पारिवारिक कुरालाई गौण राख्ने देवकोटाका आदर्शलाई हामीले भुल्नुहुँदैन ।’
नेकपाका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आदर्शको कुरा गरेर त्यसको विपरीत व्यवहार गरिए जनताले नरुचाउने जनाउँदै नेकपा र वर्तमान सरकारविरुद्ध घेराबन्दी गर्नेलाई जवाफ दिन देखिएका कमजोरी सुधारेर सहिदको सपना पूरा गर्न लाग्नुपर्ने बताए । सहिद देवकोटाका धर्मपत्नी गोमा देवकाटाले अहिले पनि सहिदका सपना पूर्ण रूपमा पूरा हुन नसकेको दुःखेसो गरिन् ।
कुल २५४ पृष्ठको स्मृतिग्रन्थमा विभिन्न व्यक्तिका ४२ वटा संस्मरण, आजादका पाँच रचना र दस्तावेज, आठवटा गीत र चारवटा उहाँका नाममा लेखिएका सिर्जना समावेश छन् । ग्रन्थको सम्पादन गोविन्द गजुरेल र विवश वस्तीले गर्नुभएको हो । ग्रन्थमा प्रधानमन्त्री ओली, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री पोखरेल, कम्युनिस्ट नेताहरू मोहनविक्रम सिंह, निर्मल लामालगायतका स्मरण छन् । २००० सालमा जन्मनुभएका आजादलाई २०३७ साल फागुन १० गते तत्कालीन प्रहरी प्रशासनले गिरफ्तार गरी भिमानको जंगलमा लगेर हत्या गरेको थियो ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply