नेकपाभित्रको विवाद र बाक्लो दालको रहर
निर्मल भट्टराई
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र निरन्तर रस्साकस्सी भईरहेको छ । सर्वत्र अनेक आशंका छन् । कतै पार्टीको पार्टीको कलिलो एकता नै धरापमा पर्ने त होईन भन्ने चिन्ता नेकपाका सबै नेता, कार्यकर्ता र मतदातामा छाएको छ । पार्टी एकताका नायकद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालविचको समझदारीमा यहाँसम्म आईपुगेको पार्टीको एकता उहाँहरूबीच हाल देखिएको तिक्तताले संकटमा पर्ने हो कि चिन्ता नितान्त स्वाभाविक हो ।
विगतमा नेकपाको स्थायी समितिका शृंखलाबद्ध अनिर्णित बैठक र तानातानले यसरी नै सबैलाई हैरान बनाएको थियो । अहिलेको शीर्ष नेतृत्वमा देखिएको तिक्तता र फासला हेर्दा लाग्छ, पार्टी विवादको समाधान त्यति सहज छैन । विवाद समाधानको नयाँ सूत्र पत्ता नलगाई सुख छैन ।
एकताको महाधिवेशनअघि दुई अध्यक्षको सहमतिबेगर कुनै निर्णय हुन नसक्ने पार्टी नेकपामा बहुमत र अल्पमतको टाउको गर्नाले यस पार्टीका समस्त नेताकार्यकर्ता र मतदातालाई हैरान मात्र बनाएको छैन, पार्टी नेतृत्वको सरकारले हासिल गरेका ऐतिहासिक उपलब्धिलाई समेत नराम्ररी ओझेलमा पारिदिएको छ ।
भनिन्छ, युद्ध हतियारसहितको राजनीति हो र राजनीति हतियारबेगरको युद्ध हो । दोश्रो विश्वयुद्धताका चर्चित वेलायती प्रधानमन्त्री विस्टर्न चर्चिल भन्थे– युद्धमा त एकपटक मर्ने हो तर राजनीतिमा सयौंपटक मर्नुपर्छ । थाहा छैन, नेकपाभित्रको यो भीषण राजनीतिक लडाइँमा नेताहरूको अन्तिम हिसाबकिताब कस्तो निस्कने हो ।
नेकपाको अघिल्लो विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राष्ट्रवादी अडान र कामका कारण देशभित्र र बाहिरबाट आफूलाई सत्ताच्यूत गर्ने खेल भइरहेको बताउनुभएपछि नेकपा स्थायी समितिको बैठक एकाएक तात्यो र प्रधानमन्त्रीतर्फ पार्टी एकताका अर्का सूत्रधार अध्यक्ष प्रचण्डलगायत नेताहरूले आक्रोश ओकल्नुभयो । गुमेको नेपाली भूभाग समेटेर प्रचलनमा आएको नक्साको विषय र नागरिकता विधेयकमा पार्टीको अडानको राजनीतिक लाभ लिनु त कता हो कता आआफैं ‘युद्ध’ गर्न तम्सनुबाट नेकपावरिपरि गोलबन्द लाखौंलाख श्रमजीवी जनताको मन अमिलिएको थियो । र, विवाद समाधान हुँदा सिंगो पार्टीपंक्ति उत्साहित भएको थियो ।
राजनीतिका हरेक मोडलाई कम्युनिस्टहरूको अन्तर्राट्रिय गीतमा भनिएझैं ‘अन्तिम युद्ध’ ठान्ने कम्युनिस्टहरूको पुरानै बानी हो । प्रधानमन्त्रीविरुद्ध केही नेताहरू फेरि अन्तिम युद्धमा सामेल भएसरी प्रस्तुत हुनुलाई विगतको भन्दा निकै अस्वभाविक ढंगले हेरिएको छ । यसले पुष्टि गरेको छ, राजनीतिमा राम्रो काम गरेर आलोचनामुक्त भइन्छ, कमजोरीको मात्र आलोचना हुन्छ भन्ने हुँदोरहेनछ । राम्रो काम गर्दा पनि घेराबन्दी र विरोधको तारो बनिनेरहेछ !
पार्टी एकताको काम राम्ररी अगाडि बढ्न नसकेर पार्टी लकडाउनमा बसेको अढाइ वर्ष भइसक्यो । तृणमूल तहमा पार्टीका घनीभूत काम हुन छाडेको पनि दुई वर्ष नाघिसक्यो । पार्टीको शीर्ष नेतृत्वले त्यता ध्यान दिनुपर्ने हो । तर, ध्यान प्रधानमन्त्रीको कुर्सी तानातानमा मात्र सीमित होलाजस्तो देखिँदैछ । यो दुःखद अवस्था हो ।
पार्टी अध्यक्ष प्रचण्डले आफ्नो विगत बताउने क्रममा सार्वजनिक रूपमा भन्दै आउनुभएको छ, म जुन पार्टीमा गएँ, त्यही पार्टी भत्काएँ । विगतमा कुनकुन पार्टी भत्किए, त्यसको हिसाब राखेर साध्य छैन तर उहाँ आउनुभएको पछिल्लो पार्टी नेकपाचाहिँ भत्काउन त्यति सजिलो छैन । किनभने, यो पार्टी केही नेताले मात्र बनाएको पार्टी होइन । मोहनविक्रमको पार्टी वा माओवादी पार्टी भत्काउनजति सजिलो छैन नेकपा भत्काउन । इतिहासले प्रमाणित गरेको छ, नेकपा चोइटिन सक्छ, फुट्दैन, अध्यक्षले भन्नुभएको शैलीमा भत्कदैन । ‘चिल आएको हल्ला गरेर चल्ला टिप्ने’ शैली पनि नेकपामा लामो समय टिक्दैन । देशका लागि विगतमा आफूले गरेका कामको जतिसुकै दुहाइ दिए पनि नेपाली जनताको नजरमा केपी शर्मा ओलीको राजनीतिक उचाइमा कमरेड प्रचण्ड कहिल्यै पुग्नुभएन । अहिले उहाँको नेतृत्वमा बनेको भनिएको गुट पनि झिलीमिली बिजुली चम्केकोजत्तिकै क्षणभंगुर छ भनेर उहाँलाई सम्झाइरहनुपर्ला र ? शान्तिप्रक्रियामा आएपछि तत्कालीन माओवादीमा निरन्तर विग्रह भोगेर कम्युनिस्ट एकतामा सामेल हुनुभएका नेकपाका अध्यक्ष प्रचण्ड फेरि बाक्लो दाल खान रुचाउनुहुन्न भन्ने घामजस्तै छर्लङ्ग छ ।
ंनेकपाका अधिकांश शीर्ष नेताहरू आफू युवा छंदा युद्धमा होमिनु भएको हो । उहाँहरूकै योगदानको फलस्वरूप नेपालमा तुमुलकारी परिवर्तन भएको सुनौलो ईतिहास छ हामीसंग । तर यसको अर्थ यो होइन, उहाँहरूले चालेका हरेक कदम ठीक हुन्छन्, हरेक वाणी सत्य हुन्छन् ।
नेपालीहरूको सौभाग्य हो, उहाँहरू सशस्त्र संघर्ष वा युद्धमा बच्नुभो । सकारात्मक एवं आमूल परिवर्तनको गौरवमयी नेतृत्व गर्नुभो । तर, चर्चिलले भनेझै अझै राजनीतिमा कयौंपटक ‘मर्न’ बाँकी छ । त्यो कुरा बुझेरै ‘हतियारविहीन युद्ध’मा प्रचण्ड फर्किएको पनि आज डेढ दशक भएको छ ।
वरिष्ठ नेता माधव नेपाल आजसम्म पार्टी एकताको पक्षमा चट्टानी अडानका साथ यहाँसम्म आउनुभएको हो । डेढ दशक तत्कालीन नेकपा (एमाले) को नेतृत्व गर्दा गुटबन्दीलाई अपराध करार गर्न घन्टौं भाषण गर्ने नवौं महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि स्वाभाविक रूपमा उहाँको नेतृत्वमा पार्टीभित्र एउटा टिम खडा भएको छ । तर, नेपालको परिवर्तनमा सुनौलो इतिहास बनाएका जबजको प्रवक्ताको भूमिका लामो समय निर्वाह गर्नुभएका नेता नेपाल जीवनको उत्तराद्र्धमा प्रचण्ड वा अरू कसैलाई धुरी बनाएर नेकपालाई विभाजनको दिशातर्फ डो¥याउनुहुन्छ भन्ने कसले पत्याउँछ ?
अर्का वरिष्ठ नेता झलनाथ खनालले चाहेर पनि तत्कालीन एमालेमा र अहिलेको नेकपामा गुट बनाउन सक्नुभएन । पार्टीको विचार निर्माणमा राम्रो भूमिका निभाए पनि, संकटमा पार्टीको नेतृत्व गर्ने अवसर पाए पनि नेता कार्यकर्ता चिन्न नसक्ने, उनीहरूसँग न्यानो सम्बन्ध राख्न नसक्ने कारणले उहाँ पार्टीमा सधैं प्रायः एक्लै रहने अवस्था बन्यो । अहिले पनि त्यही अवस्था कायम छ । केही हाताहाती आश्वासनले कमरेड झलनाथ खनालजस्तो शालीन, शान्त नेतालाई एकाएक उद्वेलित बनायो, बनाउँदैछ । तर, लामो समयदेखि वहाँलाई चिन्ने सबैलाई थाहा छ, उहाँ आफ्नै वा अरू कसैको नेतृत्वमा पार्टी विभाजनको दिशामा अघि बढ्नै सक्नुहुन्न । यो उहाँको कल्पनाभन्दा बाहिरको कुरा हो ।
विगतमा तत्कालिन एमाले विभाजनको नेतृत्व गर्नुभएका नेकपा सचिवालय सदस्य कमरेड वामदेव गौतम विभाजनको पीडाको भुक्तभोगी हुनुहुन्छ । निःसन्देह, उहाँ नेकपाको कुनै किसिमको विखण्डनलाई मलजल गर्नुहुन्न ।
त्यसकारण कम्तीमा पाँचबर्ष शासन गर्न नेपाली जनताले दिएको जिम्मेवारी पूरा गर्ने, पार्टीलाई सांगठानिक र वैचारिक हिसाबले मजबुत र चलायमान बनाउने, पार्टी र सरकारविरुद्ध चालिएका र चालिनसक्ने सबै प्रकारका प्रतिक्रियावादी षणयन्त्रलाई सबै एकताबद्ध भएर निस्तेज गर्ने गुरुतर अभिभारा बोकेको पार्टीका नेताहरू सहमति, सहकार्य र कमरेडली एकतामा फर्कनुको विकल्प छैन ।
हेक्का भएकै विषय हो, जुनसुकै राजनीतिक ‘युद्ध’मा सत्य र इमान्दारीको विजय हुन्छ । र, स्वार्थका लागि हुने षड्यन्त्रको पराजय ।
देशको हितमा युगीन महत्वका काम गर्दा पनि चौतर्फी आक्रमणबाट गुज्रदै यहाँसम्म आउनुभएका पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्याक्रमण गर्नु पर्ने बाध्यता आउनु अगावै पार्टीभित्रको समस्या समाधान भए सबैको साख जोगिने थियो । नेताकोसाख जोगिएमात्र पार्टीको सुन्दर भविष्य सुनिस्चित गर्न सकिन्छ ।
पार्टी राजनीति विवाद र विवाद समाधानको शृंखलाबाटनैअघि बढ्ने हो । विवादविहीन सन्नाटाको अपेक्षा गर्नु र पार्टीमा केही विवाद आउने वित्तिकै विभाजनको शंका र हुइंया गर्नु किमार्थ उचित हुदैन ।
आज पार्टीका अनगिन्ति कामहरू असरल्ल अवस्थामा छन् । पार्टी केन्द्रका निकाय र विभागहरूले पूर्णता पाएका छैनन् । प्रवास कमिटिलगायत कमिटीहरू पूर्ण भएका छैनन् । स्थानीय तहको अवधि करिब डेढ वर्ष बाँकी रहदा धेरै जिल्लामा पार्टीका आधारभूत कमिटी बन्न सकेका छैनन् । जनतालाई निरन्तर संगठित गर्ने नेपाली कम्युनिस्ट आन्दोलनको सबभन्दा प्रमुख विशेषता मेटिने डर बढ्दै गएको छ ।
मिति समेत तोकिसकिएको एकता महाधिवेशनको तयारीमा खास कुनै प्रगति भएको छैन । पार्टी सदस्यता नवीकृत र एकीकृत भएको छैन । यस्तो अवस्थामा पार्टीको शीर्ष तहमै सानातिना विषयमा दुई कित्तामा उभिएर कि तँ छैनस् कि म छैन भन्ने तहमा विवादमा उत्रनुचाँहि किमार्थ सही मान्न सकिन्न ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- पक्राउ परे रिगल
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
Leave a Reply