विद्यालय सञ्चालनमा अन्योल कायमै
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा’ ल्याएको करिब एक महिना पुग्न लाग्यो । तर, कार्यढाँचा ल्याएको यति लामो अवधि बिते पनि अधिकांश पालिका र विद्यालयहरू विद्यालय सञ्चालनबारे अझै अन्योलमा देखिएका छन् । मन्त्रालयले जति उत्साहपूर्ण ढंगले कार्यढाँचा ल्याएको थियो तर त्यति उत्साहजनक ढंगले विद्यालयहरू सञ्चालनमा आउन सकेका छैनन् ।
कोरोना महामारीका कारण गएको चैत ११ गतेदेखि देशभरिका विद्यालयहरू बन्द छन् । विद्यालयहरू बन्द रहेको करिब आठ महिनापछि मन्त्रालयले भने विद्यालयहरूलाई सञ्चालनमा ल्याउने हेतुले कार्यढाँचा जारी गरेको थियो । सो कार्यढाँचामा गाउँ, नगर, उप र महानगरपालिकाहरूले स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न चाहने विद्यालयहरूलाई स्वीकृति दिने व्यवस्था उल्लेख छ । उपत्यकाबाहिरका केही पालिकाले भने आफ्नो मातहतका विद्यालयहरूलाई ‘कार्यढाँचामा उल्लेख भएबमोजिमका मापदण्ड बनाएर ल्याउनुस्, हामी स्वीकृति दिन्छौं’ भन्ने आशयको परिपत्र विद्यालयहरूमा पठाइसकेका छन् । तर, पालिकाहरूले त्यस्तो आशयको पत्र पठाए पनि विद्यालयहरू भने अझै अलमलमा छन् । यस्तो अवस्थामा पालिकाहरूले विद्यालयको व्यवस्थापनसँग बैठक बसेर सहजीकरण गर्नुपर्नेमा त्यसो नगर्दा पनि अलमल देखा परेको बताइन्छ ।
कार्यढाँचामा कोरोनाको जोखिमलाई मध्यनजर गरेर विद्यालयहरू दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ । तर, अधिकांश विद्यालयहरूमा शिक्षकको अभाव रहेका हुँदा दुई सिफ्टमा सञ्चालन गर्न कठिनाइ उत्पन्न हुने देखिएको छ । एउटै शिक्षकले बिहान र दिउँसो पढाउन जान असमर्थ रहेको र त्यसरी पढाउँदा ती शिक्षकहरूलाई दोब्बर भत्ता दिनुपर्ने अवस्था रहेको हुँदा पनि समस्या देखिएको बताइन्छ । साथै, पढाइ सञ्चालन गर्दा कक्षाकोठाहरूमा भौतिक दूरी कायम गर्नुपर्ने कुरा पनि कार्यढाँचामा उल्लेख छ । तर, कतिपय विद्यालयहरूमा कक्षाकोठा पर्याप्त नभएको हुँदा भौतिक दूरी कायम गरेर पठनपाठन गर्न नसकिने अवस्था रहेको बताइन्छ ।
यद्यपि, कतिपय निजी विद्यालयहरूले भने पठनपाठन सुचारु गर्न चासो लिइरहेका छन् । पठनपाठन सुरु गर्दा अभिभावकहरूबाट शुल्क असुल्न पाइने कारण पनि निजी विद्यालयहरू भने कार्यढाँचाअनुरूपका मापदण्डलाई पालना गरेरै भए पनि विद्यालय सञ्चालनको मुडमा छन् । तर, सरकारी विद्यालयहरूले भने यस्तो तत्परता देखाउन चाहिरहेका छैनन् । सरकारी विद्यालयका शिक्षकहरूले पढाए पनि, नपढाए पनि तलब पाइरहेका हुँदा पठनपाठन सुचारु गर्नेतिर चासो र तत्परता नदेखाइरहेका बुझिएको छ ।
तर, देशका अरु भूभागमा विद्यालय सञ्चालन गर्न थालिए पनि काठमाडौं उपत्यकामा भने तत्काल विद्यालय खुल्ने संकेत देखिएको छैन । मन्त्रालयले कार्यढाँचा जारी गरेपछि उपत्यकाका मेयरहरूले त्यस्तो अभिव्यक्ति दिइसकेका छन् । उपत्यकामा कोरोनाको संक्रमण दर नघटेको हुँदा अझै भीडभाड गर्न नहुने मनस्थितिमा मेयरहरू रहेका छन् । उनीहरूले प्रस्ट शब्दमा ‘मन्त्रालयले कार्यढाँचा जारी गरे पनि उपत्यकामा भने तत्काल विद्यालयहरू खुल्दैनन्’ भनिसकेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply