नेकपाभित्र बेमौसमी अन्तरविरोध
गणेश बिके
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २००६ सालदेखिको गौरवपूर्ण विरासत बोकेको दक्षिण एसियाकै सबैभन्दा ठूलो राजनीतिक दल हो । यसले भिन्नभिन्न परिचयबाट ठूलाठूला कीर्तिमानी कायम गरेको छ । २००७ सालदेखिको थाती रहेको संविधानसभाको एजेन्डालाई व्यवहारमा रूपान्तरण गर्न र २ सय ५० वर्ष पुरानो केन्द्रीकृत निरंकुश राजतन्त्रको लोकतान्त्रिक विधिबाट शान्तिपूर्ण ढंगले अन्त्य गर्ने आन्दोलनको नेतृत्व पनि नेकपाले नै ग¥यो । नेपालको संविधान जारी भई सोको सफल कार्यान्वयन गर्ने ऐतिहासिक अभिभारासमेत इतिहासले यही पार्टीलाई दियो । दुई भिन्न पृष्ठभूमि राजनीतिक कार्यदिशा अवलम्बन गरेका दुइटा कम्युनिस्ट पार्टीको ऐतिहासिक एकताका कारण निर्वाचनको माध्यमबाट वैधानिक रूपले सत्ताको नेतृत्व गर्न सफल भएको हो । करिब दुई तिहाइ बहुमतसहितको तीनवटै तहको सरकारमार्फत स्थापनाकालदेखिका नेपाली जनतासामु गरेका प्रतिबद्धतालाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणसहित मुलुकलाई अग्रगमनतर्फ लैजानु नेकपाको आजको कार्यभार रहेको छ ।
नेपाली राजनीतिले १ सय ४ वर्षे राणाशासन, ३० वर्षे पञ्चायती व्यवस्था, १० वर्षे जनयुद्ध, २०७२ को महाभूकम्पलगायत प्राकृतिक प्रकोपहरू, भारतीय नाकाबन्दी र करिब १५ वर्षको राजनीतिक संक्रमणको अन्त्यसँगै समाजवादका आधार निर्माण गर्ने स्थायी र एकमना सरकारका अगाडि कल्पनाभन्दा बाहिरको चुनौतीका रूपमा कोभिड–१९ आइलाग्यो । विश्वव्यापी महामारीको रूपधारण गरेको हुनाले नेकपा र उसको नेतृत्वमा रहेको सरकारको प्रमुख कार्यभार कोरोना कहरविरुद्धको लडाइँ हुनुपर्नेमा पार्टी नेतृत्वका बीच बेमौसमी अन्तरविरोध सिर्जना भएको छ । यो अन्तरविरोध जेसुकै र जोसुकैका कारण भए पनि समाजवाद उन्मुख यात्रामा अग्रसर मुलुकका लागि ठीक हो भन्न सकिन्न । सरकार र पार्टीको काँधमा लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशितालाई संस्थागत गर्नुपर्ने बेलामा आम पार्टीपंक्तिलाई नै निराश पार्ने गालीगलौज, निन्दा भत्र्सना, आरोप–प्रत्यारोप र पार्टी विभाजनसम्मका कटुतापूर्ण मात्र होइन, शत्रुतापूर्ण स्थिति सार्वजनिक सञ्चारमाध्यमबाट सुन्दा आम पार्टी कार्यकर्ता मात्र होइन, कम्युनिस्ट पार्टीको सुविधायुक्त सरकारबाट आफ्ना पुस्तौंदेखिका अपेक्षालाई बिस्कुनझैं छरेर बसेका करोडौं नेपाली जनतामा निराशाको बादल मडारिएको छ । यसको मूल कारण सर्वस्वीकार्य राजनीतिक कार्यदिशा, रणनीतिक लक्ष्य र पार्टी सञ्चालनका नीति र विधि अनि अनुशासनका अनिवार्य मापदण्डभन्दा माथि दुई अध्यक्षमा गरिएको शक्तिको अत्यधिक केन्द्रीकरण हो भने सहायक कारण भनेको नेताहरूबीचको असमझदारी, अनेकता र विवाद मात्र नभई आपसी संयोजनकारी भूमिकाको अभावसमेत हो ।
नेकपाको एकतापश्चात् पार्टी केन्द्रीय कमिटीले भनेअनुसार ६ महिना, स्थायी कमिटीले भनेअनुसार १५ दिन, सचिवालयले भने अनुसार १० दिनभित्र एकताका सम्पूर्ण कामहरू पूरा गर्ने संकल्प पूरा हुन नसक्दा सरकार सञ्चालन गरिरहेको पार्टी जनतासँग जोडिन सकेको छैन । भने झन्डै दुई दर्जन बढी जनवर्गीय संगठन वर्गीय आन्दोलनबाट टाढा हुन पुगेका छन् । यति मात्र होइन, कार्यकर्ताबीच पार्टीको क्रान्ति र आर्थिक, सामाजिक र सांस्कृतिक, प्रगतिशील रूपान्तरणसम्बन्धी दृष्टिकोणहरू, कार्यदिशा, नीति, सिद्धान्त र पार्टीको संगठनात्मक सिद्धान्त, कम्युनिस्ट नैतिकता, आचरण, व्यवहार, सरकार सञ्चालन तथा जनप्रतिनीधिहरूको भूमिका तथा पार्टी अनुशासनलगायत सम्बन्धमा संघन र व्यवस्थित प्रशिक्षणको अभाव खड्किएको छ । गतिशील कम्युनिस्ट पार्टीमा बहस अनिवार्य हुन्छ तर सो बहसलाई माक्र्सवादी साँचोमा ढाल्न सकिएन भने अराजकता उत्पन्न हुन्छ । सिद्धान्तबिनाको व्यवहार र व्यवहारबिनाको सिद्धान्तका मीठा कुराले उत्पीडित गरिब जनताको पेट भरिँदैन । अतः परिवर्तित सन्दर्भमा आधारभूत वर्ग र तहबाट आएका कार्यकर्ता पंक्तिलाई आफ्नै खुट्टामा उभिएर पार्टी काम गर्ने वातावरण सिर्जना नगर्ने हो भने उनीहरूलाई पार्टीमा टिकाउन निकैै कठिनाइ हुने निश्चित छ भने जहाँबाट जसरी भए पनि आवश्यकता पूरा गर्ने उपभोक्तावादी प्रवृत्तिले प्रोत्साहन पाउनेछ । त्यति मात्र होइन, यो प्रवृत्तिलार्ई रोक्न सकिएन भने पार्टी बिस्तारै हुनेखाने वर्गको पार्टीमा बदलिने गम्भीर खतरा सिर्जना हुन सक्छ ।
आज पनि नेकपामा लाखौंलाख वर्गीय तथा उत्पीडित समुदायका कार्यकर्ताहरूको ठूलो हिस्सा रहेको छ । यो वर्ग समुदायको पार्टीमाथि आफ्नो विश्वास टुटेको छैन । यदि यो विश्वास टुट्न गयो भने यो वर्गसमुदाय विभिन्न बहानामा पार्टीबाट क्रमशः टाढिदै जाने खतरा हुनेछ । अझ फरकफरक विचार समूहका नाममा अवसरवाद, पदलोलुपता, अस्वस्थ प्रतिस्पर्धा, चाकडी, चाप्लुसी र गुटबन्दीजस्ता गलत प्रवृत्तिहरू हाबी भएका छन् । आफू रहेको समूह वा गुटमा नभएको जतिसुकै त्यागी र योग्य नेता वा कार्यकर्ता भए पनि त्यसको सम्मान नगर्ने, आफ्नो मनपर्ने नेताहरूलाई अनावश्यक चुलीमा पु¥याउने र मन नपरेका नेताहरूलाई अनावश्यक रूपमा खुइल्याउने प्रवत्तिको सीमा छैन । नेकपा र अन्य पार्टीका कार्यकर्ता तथा पार्टी सञ्चालन प्रक्रियामा ताŒिवक भिन्नता नदेखेपछि स्थानीय तहमा पर्सा र चितवनको जस्ता अकल्पनीय घटनाहरूको जन्म हुन थाल्छ । पार्टी एकता घोषणाका बखत पार्टी नेतृत्वबाट दुईवटा खोला मिसिँदा अलिक तलसम्म केही समयका लागि पानी धमिलो नै रहन्छ भन्नुभएको थियो तर त्यो कति तलसम्म र कति समयसम्म धमिलो रहिरहने हो, निक्र्योल गर्ने बेला भइसकेको छ । आफ्ना महाधिवेशनबाट निर्वाचित जनवर्गीय संगठनको नेतृत्वको घोषणा सामाजिक न्यायका आधारमा नभई मत्स्यन्यायका आधारमा गरियो । एकता सम्पन्न गरिएका भनिएका जनवर्गीय संगठनहरूको एकता प्रक्रियामा चित्तबुझ्दो मापदण्ड अवलम्बन नगरिँदा एकताको घोषणा गर्न बाँकी छ ।
माक्र्सवाद–लेनिनवादलाई मार्ग निर्देशक सिद्धान्त मान्दै साबिक नेकपा (एमाले) र एनेकपा (माओवादी केन्द्र) ले विगतमा लिएका कार्यदिशाको वस्तुनिस्ट मूल्यांकनका आधारमा दुवै कार्यदिशाको सारतŒवलाई ग्रहण गर्दै समाजवादी रणनीतिलाई समेत ध्यान दिएर समाजवाद उन्मुख जनताको जनवादलाई संस्थागत रूपमा स्वीकार गरिसकेको र गत भदौमा सम्पन्न स्थायी कमिटीको बैठकले पुनर्पुष्टि गरिसकेको सन्दर्भमा जडसूत्रवादको शैलीमा स्वयं पार्टी नेतृत्वले स्वामित्व लिएको देखिन्न । २०७५ माघमा सम्पन्न केन्द्रीय कमिटीको दोस्रो बैठकमा आत्मालोचित हुँदै विधानबमोजिम कमिटीका बैठकहरू गर्ने, सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको पद्धतिलाई आत्मसात् गर्दै सबै समस्याको समाधान ग र्ने, आचारसंहिता परिमार्जन गर्ने भन्ने निर्णय इमानदारीपूर्वक कार्यान्वयन नगरी पुनः पार्टी नेतृत्वमा उही पुरानै प्रवृत्ति दाहोरियो । नेपालको संविधानको मार्गदर्शनअनुरूप दलित, महिला, जनजाति, मधेसी, मुस्लिम, किसान, मजदुर, युवा विद्यार्थीहरूको समस्याको समाधानका विषयमा डेलिभरी दिने त परै जाओस् पार्टीभित्र सोको उपायका विषयमा छलफलसमेत नभएकाले सरकारका कतिपय लोकप्रिय कदमहरूको समेत स्वामित्व लिनेहरूको संख्यामा कमी आउँदै गएको देखिन्छ ।
आज पार्टी नेताहरूमा पार्टी कमजोर भए पनि आफू र आफ्नो विचार समूह बलियो भएपछि कुनै चिन्ता छैन भन्ने भ्रम पालेको देखिन्छ । सिद्धान्ततः कम्युनिस्ट पार्टीमा नेता होइन, नीति प्रधान हुने भएको हुनाले वर्तमान अन्तरविरोध अर्थात् द्वन्द्वको समाधानको उपाय भनेको फेरि पनि विचार, आचरण र आदर्शलाई जीवन्त राख्दै पार्टी एकतालाई जोगाउनु नै हो । यसका लागि पहिलो, पार्टीका अध्यक्ष कमरेडहरूका शत्रुतापूर्ण सवालजवाफ बोकेका प्रतिवेदनहरूलाई एकताको महाधिवेशनका लागि सैद्धान्तिक वैचारिक आधार निर्माण गर्नेगरी पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई वैचारिक र संगठनात्मक रूपमा एकताबद्ध गर्नुपर्छ । दोस्रो, नेकपाको कार्यकर्ता पंक्तिमा पार्टी र विचारभन्दा पनि एउटै तहका नेतामध्ये कसैलाई देवत्व ग्रहण गर्ने अनि कसैलाई अश्लील शब्द प्रहार गरेर रातदिन दुत्कार्ने प्रवृत्ति विकास भएको छ । कम्युनिस्ट पार्टीभित्रका यस्ता प्रवृत्ति समयमै सुधार्न सकिएन भने पार्टी विभाजन मात्रै होइन, नेपालको कम्युनिस्ट आन्दोलन नै धाराशायी हुने खतराबाट पार्टीलाई जोगाउनुपर्छ । तेस्रो, पार्टी विधान र पार्टीका बैठकहरूबाट सर्वसम्मत पारित भएका निर्णयहरूलाई प्रभावित गर्ने खालका गतिविधिहरूलाई सहमतिमा सच्याउँदै पार्टीमा देखापरेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिस्ट आचरणमा विचलनजस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्वारा परास्त गर्नुपर्छ । चौथो, नेकपाका स्वयं पार्टी अध्यक्षको नेतृत्वमा नै सरकार भएको हुनाले पार्टीले सरकार सञ्चालन गर्ने कि सरकारले पार्टी सञ्चालन गर्ने भन्ने कम्युनिस्टविरोधी अनावश्यक विवादलाई तत्काल अन्त्य गरिनुपर्दछ । पाचौं, आलोचना–आत्मालोचनाको पद्धतिलाई पुनर्जीवित गर्दै संस्थागत परिपाटी र सामूहिक नेतृत्वको पद्धतिलाई दृढतापूर्वक कार्यान्वयन गर्ने र थातिरहेका कामहरू आगामी एकताको महाधिवेशनबाट सम्पूर्ण रूपमा हल गर्ने गर्ने दिशामा पार्टी हिम्मतपूर्वक अगाडि जानुपर्छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- पक्राउ परे रिगल
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
Leave a Reply