पार्टी विभाजन ः अक्षम्य गल्ती र आगामी चुनौती
प्रेमराज सिलवाल
२०७४ मंसिर १० र २१ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा इतिहासमा पहिलोपटक नेपाली जनताले वामपन्थी पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्रको संयुक्त वाम गठबन्धनलाई अपार समर्थन गरेका थिए । त्यसबेला एकजना म्यादी प्रहरीबाहेक कसैले पनि ज्यान गुमाउनुपरेन । निर्वाचन बडो शान्तिपूर्ण तथा उत्साहपूर्ण तरिकाले भएको थियो । वाम गठबन्धन बनेलगत्तै दुवै पार्टीको साझा घोषणापत्र आउनु, सामूहिक प्रचारमा जानु, झन्डामा सूर्य र गोलाकारभित्रको हँसिया–हथौडा संयुक्त रूपले सँगै प्रदर्शन गर्नु र नेतृत्वले सम्पूर्ण हिसाबले जनतालाई विश्वास दिलाउनु आदि कारणले मतदाताहरूले पत्याएका थिए । नेपालमा विभिन्न कारणले जनताले वामपन्थी पार्टीलाई पत्याइआएका छन् । यद्यपि, आगामी दिनमा चुनौती तथा राजनीतिक संकटसमेत थपिएको छ ।
सिद्धान्त र विचार
एमाले र माओवादी केन्द्रबीचको वामपन्थी गठबन्धन विचार, सिद्धान्त मिल्ने, दर्शन तथा आदर्श मिल्ने जनवादी विचार राख्नेहरूको स्वाभाविक र सान्दर्भिक एकता थियो र हो । यस्तो एकता र गठबन्धनलाई नेपाली जनताले लामो समयदेखि प्रतीक्षारत रहेर हेरिरहेका थिए । प्रगतिशील र सामाजिक सुधार चाहने श्रमजीवी नेपाली कम्युनिस्ट विभाजनबाट लामो समयदेखि आजित र दिक्क थिए । यसैले नेपाली जनताले वामपन्थी गठबन्धन रुचाए । तर, वर्तमान प्रधानमन्त्री केपी शर्माबाट संसद् विघटन गरी नयाँ निर्वाचिनको मिति घोषणा गर्दै पार्टी नै विभाजित गर्ने कामले जनता र नागरिकमा फेरि एक प्रकारको चिन्ता, भ्रम र अन्योल देखिएको छ ।
विगतमा आम जनताको चाहना, देशको आवश्यकता, विचार सिद्धान्तसँग नजिक भएको कम्युनिस्ट एकताले सारा जनता खुसीका साथ पार्टीको एकताको पक्षमा तत्काल होमिएका थिए । सशस्त्र संघर्षबाट शक्तिमा आएको तत्कालीन नेकपा माओवादी र नेकपा एमालेको वैचारिक धरातल र आधार सारमा एउटै भएकाले पनि जनताले यति धेरै विश्वास गरे । जनाधारका दृष्टिले, राजनीतिक विचार सिद्धान्तका दृष्टिले, संगठनिक शैली र तरिकाको दृष्टिले, जनपरिचालनको तरिका, पार्टी सञ्चालनको पद्धत्ति, राजनीतिक दर्शन सिद्धान्त आदिका दृष्टिकोणले यी उल्लिखित गठबन्धनमा रहेका दुवै पार्टी सारमा एउटै हुन् । यस हिसाबले नेपाली जनमत बनेको अवस्था थियो । वर्तमान राजनीतिक घटनाक्रमले वामपन्थी एकताबाट हर्षित नेपाली नागरिक केही दुखित भए पनि निरास हुनुपर्ने अवस्था भने छैन ।
राजनीतिक अस्थिरताको चिन्ता
संविधानसभाको निर्वाचनदेखि नै नेपालमा समानुपातिकसहितको निर्वाचन प्रणाली अपनाइयो । तर, त्यसमा थ्रेसहोल्ड नराखेका कारण समानुपातिकको भावना र मर्मविपरीत ‘पसलरूपी दल’ खोलेर बसेका अवसरवादीहरूले त्यो समानुपातिक प्रणालीबाट एक दुई सिट जित्दा विगतमा कहिल्यै कसैको बहुमत नपुग्ने र सरकार सधैं आज कि भोलिको अवस्थामा पुग्यो । सरकारले कहिल्यै स्थिरता पाउनै सकेन । एक सिटे दललाई ‘फुल मन्त्री’ दिनुपर्ने अवस्था निरन्तर जारी रहेका कारण नेपाली राजनीति जहिले पनि अस्थिर र विश्वासहीन अवस्थामा पुगेको थियो । यसबाट नेपाली श्रमजीवी, परिवर्तनप्रेमी तथा लोकतन्त्रप्रेमी जनता निरास र वाक्क बनेका थिए । सोही कारण कम्तीमा पाँच वर्ष बहुमत ल्याएर शक्तिशाली दलले सरकार सञ्चालन गर्न पाए हुन्थ्यो भन्ने चाहना सारा नेपालीको मनमा पलाएको थियो । त्यसैले गत निर्वाचनमा जनताको उक्त स्थिरताको चाहनाले वाम गठबन्धन रोजे । ३ प्रतिशतको थ्रेसहोल्ड राखेका कारण ससाना समूहलाई ‘मर्जर’ हुनै पर्ने वा आफ्नो अस्तित्वको लागि आफ्नै खुट्टामा उभिनुपर्ने अवस्था बनिदियो । त्यस्तो राजनीतिक अवस्था र वातावरणबीच दुई तिहाइ निकट भएको नेकपाको सरकार अकारण, गैरसंवैधानिक तरिका तथा राजनीतिक मूल्यसमेतको धज्जी उठाएर विघटन गर्ने कामले उदाउँदो र बलशाली बन्दै गएको वाम जनमतमाथि धोका भयो । यो नेपाली राजनीतिमा आएको एक प्रकारको चुनौती हो ।
परिवर्तन र समृद्धि
नेपालको राजनीतिक इतिहासमा शासन प्रणाली कहिल्यै स्थिर र बलियो बन्न सकेन । राजनीतिक स्थिरता नभएकाले देशमा प्रशासनिक प्रणाली उत्तरदायी बन्न र काम गर्नै सकेन । पञ्चायत गएको लामो समय भए पनि प्रशासन, शासनबाट त्यो मानसिकता पखालिन सकेन । राजनीतिक परिवर्तनपछि देशमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता आएको भए पनि दलीय मूल्य र प्रणाली स्थापित गराउन नसक्नु र नेकपाको पार्टी एकतासमेतले गति लिन नसकिरहेको अवस्थामा पार्टी नै चोइट्याउने काम गरियो । जनताले बनाएको जनताको राजनीतिक पार्टीमा अकूत पैसा कमाएका ठेकेदार र दलालले खर्लप्पै खाएकाले तिनकै चाहना र हालीमुहालीमा सत्ताले प्रशासन सञ्चालन गर्दै आयो । प्रधानमन्त्री तथा तत्कालीन नेकपा अध्यक्षको एकलकाँटे राजनीतिक शैलीले वामपन्थी जनमत खिन्न बनेका छन् । नेपालको राजनीतिमा यो एउटा अर्काे चुनौती हो ।
राष्ट्रियता र राष्ट्रिय भावना
संविधान जारी हुँदा जनताले भारतीय पक्षबाट अप्ठेरो र कठिनाइ भोग्नुपरेको भए पनि जनतामा अभूतपूर्व एकता, ऊर्जा र राष्ट्रियताको भावनामा वृद्धि भएको थियो र छ । भारत हाम्रा लागि महŒवपूर्ण छिमेकी हो । सामाजिक, सांस्कृतिक, राजनीतिक, भौगोलिक तथा जनस्तरमै ऊसँग हाम्रा सम्बन्ध रहेका छन् । त्यसैले नेपालमा उसको भूमिका हुन्छ, छ । तर, त्यसको अर्थ हामीले आफ्नो आन्तरिक राजनीति, संविधान, प्रशासन उसैलाई सोधेर गर्नुपर्ने कुरै थिएन । भारतले नेपालको शासन र प्रणालीमाथि गरेको दादागिरीका कारण राष्ट्रियताको भावना, जनताको अपनत्वको सम्मान, नेपाली जनताको स्वाभिमानमाथि विगतदेखि चोट पुग्दै आयो र आइरहेको छ । विगतमा वामपन्थी गठबन्धन र पार्टीको छवि भनेको राष्ट्रियता र राष्ट्रिय भावनाको वृद्धि पनि हो । संसद्मा सुविधाजनक बहुमत हुँदाहुँदै पनि हठात् संसदको विघटन गरिएपछि राष्ट्रियता र राष्ट्रिय भावना कमजोर हुन पुग्ने आशंका गरिएको छ । विभाजित भएका नेकपाका दुवै समूहले एकले अर्काेलाई विदेशीले उचालेको वा भारतपरस्त भनी आरोप लगाउने अवस्थामा नेपाली वाम आन्दोलन कमजोर भई राष्ट्र, राष्ट्रियता र राष्ट्रिय भावना क्षीण बन्न सक्ने चिन्ता र चुनौती थपिएका छन् ।
प्रणाली र चिन्ता
२०५१ सालको तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारले पहिलोपल्ट वृद्धभत्ता बाँडेर जनताको स्याबासी पाइरहकै अवस्थामा कनिका छरेको भन्दै कांग्रेसले विरोध गरेको थियो । तापनि त्यसपछिका सबै सरकार उल्लिखित भत्तालाई निरन्तरता दिन बाध्य भएका थिए र छन् । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको पालामा प्रतिमहिना २ हजार गरिएको भत्ता ५ हजार बनाउने घोषणा गएको निर्वाचनका क्रममा गरिएको थियो । राज्य सञ्चालन लोकतान्त्रिक र जनता केन्द्रित (पिपुल सेन्ट्रिक) भई सामाजिक सुधार र सुशासनका मुद्दामा बढी सचेत हुन्छन् भन्ने अभिलाषाले पनि जनताले वामपन्थी रूचाएका थिए ।
२०७५ जेठ ३ गते दुई वाम पार्टीका बीचमा औपचारिक एकता भएको भए पनि माथिदेखि तलसम्म सांगठनिक, राजनीतिक, भावनात्मक र वैचारिक एकता हुने अवस्था बन्न सकेन । बैठकैबैठकको गोलचक्कर र सहमति र अर्काे बैठक भन्दै पार्टी नै विघटनको सिकार बनाइयो । चिरा पार्ने काम गरियो । जनताको अपार सहयोग, समर्थन र साथ भएर पनि वामपन्थी गठनबन्धलाई खास टुंगोमा पु¥याउन सकिएन । नेपालको इतिहासमा यो एउटा चिन्ता र चुनौती हो । यसले प्रणालीलाई असर पर्छ कि भन्ने चासो बढेको छ । तर, त्यो अवस्था छैन । गणतन्त्रको विकल्प अझ समृद्ध गणतन्त्र मात्र हो ।
निष्कर्ष
वामपन्थी एकता ऐतिहासिक थियो । जसले नेपाली जनतामा व्यापक ऊर्जा, उत्साह र राजनीतिक हौसला दियो । तर त्यो अब इतिहास भइदियो । जनभावनाको कदर र सम्मान गरिएन । आफू र आफ्नो समूह स्वार्थ हेरियो । त्यसैले, अकल्पनीय राजनीतिक घटना घटाइयो । अब त्यो भनेर रोएर र चिन्ता गरेर बस्ने समय भएन । फेरि पनि नेपाली जनताले वामपन्थी पार्टी र शक्तिलाई समर्थन, सहयोग र साथ दिने नै छन् । पार्टीमा वैचारिक, राजनीतिक र सांगठनिक विवाद र द्वन्द्व हुन्न र हुँदैन भन्ने हुँदैन । तर, जसरी जनताको रगत पसिनाबाट सिर्जित पार्टीलाई फोर्ने गर्ने काम गरियो त्यो इतिहासको अक्षम्य गल्ती भइदियो । इतिहास र समयले त्यसको यथोचित मूल्यांकन गरी दोषी पात्र र प्रवृत्तिलाई सजाय गर्ने नै छ । जसरी वनमा कन्तमूल र फलफूल खोज्दा दुःख गरी जोडेको वस्तु कुनै ढुुंगोमा ठोकिएर खस्न पुग्छ र नाश हुन्छ । अनि फेरि पर्केर गई नयाँ जोडजाम गरि फेरि टिपनटापन गर्नुपर्ने हुन्छ । त्यसरी नै छिरालिएको र छरिएको वामपन्थी जनमत र संगठनलाई फेरि सम्हाल्नु र संगठित गर्नुको विकल्प छैन । केही समय, साधन र ऊर्जाको खर्च भए पनि पुनः राजनीतिक, वैचारिक र सांगठनिक एकताको दियो बालेर नवीन भविष्यको मार्गचित्र कोर्न सकिने अवस्था बन्दछ । अबको विकल्प त्यही हो ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- पक्राउ परे रिगल
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
Leave a Reply