राजनीतिक जनपरिचालनका बहुआयामिक अर्थ
अधिवक्ता प्रेमराज सिलवाल
राजनीतिक पार्टीको जग र आधार भनेका तिनका संगठन र जनसमर्थन हो । संगठन विचार र सिद्धान्तबाट निर्देशित हुन्छ र हुनुपर्छ भन्ने मान्यता रही आएको छ । एउटा जीवन्त, जनअनुमोदित र क्रियाशील राजनीतिक पार्टी हुन संगठनको निरन्तर परिचालन र सञ्चालन हुनुपर्छ । संगठनको परिचालन भएर नै त्यसको सकारात्मक प्रभाव जनता र नागरिकमा पर्ने हुन्छ । संगठनको बल तथा आधारमा नै जनतालाई राजनीतिक, सांगठनिक तथा सार्वजनिक सरोकारका मुद्दामा सरिक गराउन र परिचालन गर्न सकिने हुन्छ । राजनीतिक परिचालनका लागि आफ्नै आन्तरिक संगठन क्रियाशील हुनु अनिवार्य कुरा हो । संगठन सक्रिय भएन, बैठक, भेला र अन्तक्र्रियाहरू भएनन् भने त्यो भुत्ते बन्न पुग्छ । जसरी खिया लागेको हतियारले कुनै मार हान्न सक्दैन, त्यसरी नै निष्क्रिय र अपरिचालित संगठनबाट जनपरिचालनको अपेक्षा गर्न सकिन्न । राजनीतिक पार्टी संचालन हुने भनेकै मूलत ः संगठित र उद्देश्यमूलक जनपरिचालन गरेरै हो । लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रमा जनपरिचालनका बहुअर्थ र महŒव रहेका हुन्छन् । जनपरिचालन गरेर मात्र गणतन्त्र, संविधान र जनताको लोकतन्त्र बलियो बन्न सक्छ । जनपरिचालनले प्रणालीमाथिको अपनत्व बृद्धि गराउन सहयोग गर्दछ । नागरिक अपनत्प गणतन्त्रको आत्मा हो । सोही कारण पनि संविधानसभामार्फत संविधान निर्माण गर्नुपरेको हो ।
गणतन्त्र र संविधानको अपनत्व
गणतन्त्र जनताले जनताकै ल्याएको राजनीतिक तथा संवैधानिक प्रणाली हो । वर्तमान आधुनिक प्रजातान्त्रिक विश्वमा गणतन्त्रलाई उत्तम शासन प्रणाली मानिन्छ । यसैले गणतन्त्र तथा गणतान्त्रिक संविधानलाई जनताको आफ्नो प्रणाली बनाएर समृद्ध बनाउनको लागि पनि नागरिक परिचालन अनिवार्य कुरा हो । राजनीतिक परिचालनको अर्थ केवल सडकमा आएर ढुंगामुढा गर्ने र विरोध गर्ने भन्ने मात्र होइन र हुन्न । राजनीतिक परिचालनको अर्थ जनतालाई गोलबन्द गर्ने हो । नागरिक र जनतालाई राजनीतिक प्रक्रिया र प्रणालीमा सहभागिता गराउनु हो । राजनीतिक कार्यक्रम र सार्वजनिक सरोकारका विषयमा नागरिक मत र सुझाव लिने हो । गणतन्त्र र संविधानको बारेमा छलफल, बहस र विमर्श गर्ने हो । सारमा गणतन्त्र र नयाँ संविधानको विकास र सुधारको प्रक्रियामा जनतालाई उद्देश्यमूलक तथा सार्थक सहभागिता हुने गरी अपनत्व बृद्धि गर्ने हो । गणतन्त्रमा यो काम जहिल्यै आवश्यक छ । राजनीतिक परिचालन र क्रिया भएनन् भने जनताको प्रणालीप्रतिको अपनत्व कमजोर बन्न पुग्छ ।
राजनीतिक दल र नागरिक सम्बन्ध
राजनीतिक दल भनेका जनताका संगठन हुन र हुनुपर्छ । जनताबाट निर्मित संगठन जनताको आफ्नो बन्न सकेन भने त्यहाँ नागरिक र जनताबीचमा सम्बन्ध निकै कमजोर बन्न पुग्छ । यस्तो अवस्थामा राजनीतिक संगठन परिचालन पनि हुन सक्दैन । राजनीतिक शक्ति परिचालन भएनन् र संगठन सक्रिय भएनन् भने त्यस्तो अवस्थामा नागरिकसँगको सम्बन्ध टुटन पुग्छ । नागरिक, जनता र राजनीतिक पार्टीको सम्बन्ध भनेको नङ र मासुको जस्तो हो र हुनुपर्छ । काटेर फालेको नङको जस्तो सम्बन्ध भइदियो भने राजनीतिक पार्टीको सार्थकता र अर्थ हुन्न । सार्थकता नभएको वस्तु प्राकृतिक र सामाजिक नियमअनुसार अस्तित्वमा रहनै सकैनन्, रहेपनि छिट्टै विलीन हुन पुग्छन् । यसैले नागरिक सम्बन्ध विकास गर्न र लोकतन्त्र सुदृढ बनाउनको लागि राजनीतिक दलले जनतालाई अनेकौं प्रकारले राजनीतिक प्रक्रियामा सरिक गराउनुपर्छ । यो गरेर मात्र नागरिक राजनीतिक दलको सम्बन्धको सार्थकता हुन्छ ।
राजनीतिक जागरण
जनताबाट निर्वाचित र पटकपटक राजनीतिक तथा सामाजिक क्रिया गरेर संगठित भएको जनअनुमोदित दलको एउटा प्रमुख कार्य भनेको जनता जगाउने र राजनीतिक प्रक्रियामा सक्रियता बढाउने हो । राजनीतिक संगठनको अगुवाइमा नागरिक परिचालन हुनु पर्छ । नागरिक परिचालनले मात्र राजनीतिक संगठनको औचित्य र सार्थकता झल्कन्छ । जनता, नागरिक र राजनीतिक संगठनको संयुक्त संघर्षबाट ल्याइएको लोकतन्त्र र गणतन्त्रको सुरक्षा, विकास र रक्षाको लागि पनि नागरिक परिचालन अनिवार्य सर्त हो । नागरिकमा जागरण ल्याउन सक्ने भनेको जनताबाट संगठित भएका, राजनीतिक क्रान्तिको इतिहास भएका र जनताकै सहभागिता भएका राजनीतिक दलहरूले नै हो । एउटा स्वस्थ्य शरीरका लागि रक्तसञ्चारको जति महŒव हुन्छ राजनीतिक प्रणालीका लागि राजनीतिक जागरणको त्यस्तै महŒव र भूमिका हुन्छ । यसर्थ राजनीतिक जागरण आज पनि उत्तिकै महŒवपूर्ण रहेको छ । अर्काे कुरा राजनीतिक संघर्ष र आन्दोलनका लागि मात्र जनपरिचालन गर्ने भन्ने सोच र तरिका भने गलत छ । राजनीतिक परिचालन जहिल्यै आवश्यक हुन्छ । केवल मुद्दा, सन्दर्भ, विषय, प्रक्रिया, विधि, नारा, उद्देश्य, स्वरूप र तरिकामा भने भिन्नताहरू हुन्छन् ।
संगठन परिचालन र सूचना
राजनीतिक संगठनको परिचालन र सूचनाको आद्रानप्रदानको लागि संगठन अपरिहार्य कुरा हो । संगठनबिना राजनीतिक परिचालन गर्न सकिन्न । विना संगठन, उद्देश्य र कार्यदिशा उठेको जनपरिचालन एउटा अराजक भिड मात्र हुन सक्छ । जसको कुनै सार्थक र निर्दिश्ट उद्देश्य हुन्न । राजनीतिक प्रक्रियाको स्वच्छताको लागि पनि जनपरिचालन आवश्यक कुरा हो । राजनीतिक पार्टीका संगठन, स्थानीय नेतृत्व र नेताहरू मार्फत नै नागरिकका लागि आवश्यक सूचनाहरू आउने–जाने हुन्छन् । जसरी जमिनको पानी वाफको माध्यमबाट आकाशमा पुगेर बादल बन्छ । बादल जमिनमा पानी पार्छ । पछि सोही पानी बाफको माध्यमबाट पुन ः आकाशको बादलमा पुग्छ । यसरी जीवन प्राकृतिक जीवन चलेको हुन्छ । त्यस्तै राजनीतिक पार्टीको नेतृत्व र संगठन मार्फत जनतामा राजनीतिक हित, अधिकार र जनपक्षका विषयमा सूचनाको सम्बन्ध एवम् परिचालन हुन्छ । फेरि जनताबाट आफ्ना माग, गुनासा, भनाइ, आवश्यकता, हित र बृहत् राजनीतिक अधिकारका विषयमा राजनीतिक पार्टी र संगठनमा आफ्ना आवाजहरू पुग्छन् । त्यसरी नै त्यो प्रक्रिया निरन्तर चलेको हुन्छ र चल्नुपर्छ । त्यसको जग र आधारमा राजनीतिक क्रान्ति, परिवर्तन र संघर्ष हुन्छ र हुनुपर्छ ।
राजनीतिक–सामाजिक आन्दोलन
समाजमा मानिस रहेसम्म उनीहरूका राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक आवश्यकता हुन्छन् र छन् । ती आवश्यकता कहिल्यै पूरा र पूर्ण हुन्नन् । जहिल्यै नयाँ–नयाँ आवश्यकता आइरहन्छन् र हुन्छन् । आवश्यकता, खोज, अनुसन्धान र मानवीय चाहनाका कारण नै मानिसले सामूहिक तरिकाले अघि बढ्न राजनीतिक दल र संगठन खोल्ने गरेका हुन्छन् । राजनीतिक संगठनमार्फत राजनीतिक–सामाजिक मुद्दाहरू उठाइन्छन् र उठाउन नागरिकहरूलाई संगठित गरिन्छन् । यसैले राजनीतिक संगठनमार्फत राजनीतिक–सामाजिक आन्दोलन गरिन्छन् र गर्नुपर्छ । आन्दोलन भन्नाले त्यसका अनेकौं रूप, स्वरूप र विधिहरू हुन्छन् । एकपटक गरेको संघर्ष र क्रान्तिले जहिल्यैको सामाजिक आवश्यकता पूर्ति हुन सक्दैन । यसो भएकाले राजनीतिक तथा सामाजिक संघर्षमा संगठित गर्न पनि राजनीतिक परिचालनको बहुअर्थ र महŒव छ ।
बदलिँदो विश्व र दलीय लोकतन्त्र
आजको बदलिँदो विश्वमा प्रजातन्त्र, संविधानवाद, विधिको शासन, स्वतन्त्र प्रेस, नागरिक समाज, स्वतन्त्र र सक्षम अदालत, संगठित र क्रियाशील राजनीतिक दल, राजनीतिक परिचालन र दल, राजनीतिक तथा सामाजिक मुद्दाहरूको उठान तथा सम्बोधन एवं राजनीतिक प्रणालीप्रतिको नागरिक अपनत्वजस्ता मुद्दालाई प्रधानता दिने गरिन्छ । नागरिक शासन र प्रणाली आजको आवश्यकता र यथार्थ हो । यसैले बदलिँदो विश्वका मूल्य र मान्यताहरूको सम्मान गर्दै राजनीतिक प्रणालीलाई बलियो बनाउन पनि नागरिक परिचालन र संगठित गर्नु पर्छ । संगठित र परिचालित नागरिक शक्तिको बलमा नै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र बलियो बन्न सक्छ । बलियो गणतन्त्र भएन भने गणतान्त्रिक संविधान पनि सार्थक हिसाबले लागू हुन सक्दैन । यसैले बदलिँदो विश्व र प्रजातान्त्रिक समाजमा नागरिक संगठन र परिचालनको लागि राजनीतिक पार्टीको अग्रणी भूमिका रहन्छ ।
निष्कर्ष
राजनीतिक परिचालन भन्ने कुरा आन्दोलन र संघर्षका बेला मात्र गरिने र चाहिने कुरा हो भन्ने बुझ्नुहुन्न । राजनीतिक र संगठित संघर्ष समाज रहेसम्म चाहिन्छ र चलिरहन्छ । त्यसका नारा, उद्देश्य, स्वरूप र विधिहरू भने फरक हुन्छन् । लोकतन्त्रको सार्थक विकल्प र उत्तम विकल्प भनेको उन्नत, सार्थक र जनतामा बढी आधारित लोकतन्त्र नै हो । यस अर्थमा लोकतन्त्रमा नागरिक परिचालनको चौचर्फी अर्थ, भूमिका र महŒव हुन्छ र छ । स्वस्थ्य शरीर सञ्चालनका लागि दिमाग, मुटु, रगत तथा सम्पूर्ण शरीर संचालन हुनु परेजस्तै राजनीतिक प्रणालीको संचालनका लागि राजनीतिक पार्टीहरू तथा तिनका संगठनहरू निरन्तर क्रियाशील बन्नुपर्छ । निरन्तर सक्रिय र क्रियाशील संगठनले मात्र जनतासँगको सम्बन्ध नवीकरण गर्न सक्दछ । जनतासँगको सम्बन्ध सुमधुर र समृद्ध बन्न सकेको खण्डमा मात्र राजनीति पार्टीको पनि भूमिका र अर्थ हुन्छ । यसर्थ राजनीतिक पार्टीको संगठन जहिल्यै क्रियाशील बन्नैपर्छ । क्रियाशील संगठनले मात्र जनपरिचालन गर्न सक्छ । जनपरिचालन लोकतन्त्र र प्रणालीको आत्मा समान हुने भएकाले यसको बहुआयामिक अर्थमा बुझ्नुपर्ने हुन्छ । राजनीतिक परिचालनलाई केवल राजनीतिक उद्देश्यले गरिने आन्दोलनमा मात्र सीमित गरियो र बुझियो भने प्रणालीचाहिँ कमजोर बन्न पुग्छ । प्रणाली कमजोर भएपछि राजनीतिक पार्टी बलिया बन्न सक्दैनन् । यसैले लोकतान्त्रिक गणतन्त्र र गणतान्त्रिक संविधानलाई बलियो बनाएर राजनीतिक प्रणाली समृद्ध बनाउन निरन्तर राजनीतिक क्रिया, संगठन तथा जनपरिचालनको व्यापक भूमिका र अर्थ रहेको छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- पक्राउ परे रिगल
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
Leave a Reply