विशेषाधिकार कायम भए केको लोकतन्त्र ?
विशेषाधिकारको समाप्ति नै लोकतन्त्र हो । विशेष कुर्सी विशेष मानिसहरूको मात्र हुन्छ । लोकतंन्त्रमा विशेष जिम्मेवारी हुन्छ तर विशेष मानिस हुँदैन । इतिहासमा कथित दैवी सिद्धान्तको वकालत गर्नेहरूको विशेष शासनको अन्त्यबाट लोकतन्त्रको स्थापना भएको हो । जब विशेषाधिकार र विशेष मानिसको कुरा आउँछ, तब लोकतन्त्र निषेधित हुँदै जान्छ । विशेषाधिकार र त्यसको वकालत गर्नेहरू अन्ततः निरंकुश शासनका अभियन्ता हुन ।
राजतन्त्र मा राजाको विशेषाधिकार छँदै थियो । राजपरिवार र राजकुमारहरूको समेत विशेषाधिकार थियो । उनका आसपास रहनेहरूसमेत आफूलाई विशेष ठान्थे । राज्यलाई यस्ता विशेषहरूको सेवा गरेर फुर्सद नहुने हालत थियो । राजा र राजपरिवार मात्र होइन, तिनका आसेपासे र चाटुकारहरू पनि आफ्नो विशेषाधिकार रहेको फुर्ती लाउने गर्दथे । जनप्रतिनिधि केवल जनतालाई देखाउने दाँत मात्र थिए । ती जनता झुक्याउन राखिएका बुख्याचा थिए ।
तिनको शासकीय निर्णय प्रक्रियामा कौडीको मूल्य थिएन । राजा र राजाको परिवारको रक्षा तिनको सेवा अनि तिनीहरूको हुकुमको तामेली उनीहरूको जिम्मेवारी हुन्थ्यो । त्यसैले देशमा लोकतन्त्रको वकालत भयो । लोकतान्त्रिक दलहरू खुले । जनताको पार्टीका रूपमा कम्युनिस्ट पार्टीले जन्म लियो ।
सत्रौं शताव्दीमा बेलायतमा राजाको नाममा कुलीनहरूले शासन गर्थे । उनीहरूको शासन शोषणमा आधारित थियो । उनीहरू दैवी शक्तीमा विश्वास गर्थे । दैवीशक्तिका विश्वास पात्र भएकाले उनीहरूको शासन अति क्रुर तथा दमनकारी हुने गर्दथ्यो । जनताको त्यहाँ कुनै मूल्य थिएन । जनताले न्यायको याचना गर्नु मृत्यु दण्डको माग गर्नुसरह हुन्थ्यो । समानताको कुरा गर्नेहरूले फाँसीमा चढ्नुबाहेक अर्को बाटो पाउँदैन थिए । कुलीनहरूको यस्तो खालको अत्याचार र त्यसको संरक्षक निरंकुश राजाविरुद्धको लडाइँबाट लोकतन्त्रले जन्म लिएको हो । अर्थात् विशेषाधिकारविरुद्धको आन्दोलनबाट नै बेलायतमा लोकतन्त्रले जन्म लिएको हो । म्याग्नाकार्टा, चार्टिस्ट आन्दोलन यसेका नमुना हुन । अहिले वेलायतमा राजारानीसमेत सामान्य शासकीय जीवन जिउन कुनै असजिलो मानिरहेका छैनन् ।
सत्रौं शताव्दीको अन्तसम्म पनि फ्रान्स, इटली र जर्मनजस्ता युरोपका देशहरूमा राजतन्त्रको छत्रछायामा पादरी र पास्चरहरूको विशेषाधिकारसहितको शासन फस्टाएको थियो । तिनीहरूसमेत दैवी शक्तिका आधारित शासनमा विश्वास गर्थे । उनीहरूको शासनतन्त्र लुट र दमनमै आधारित थियो । चरम शोसण र दमन सहन नसकेरै युरोपमा पनी ‘पुनर्जागरण’ तथा लोकतन्त्रका ठूल्ठूला अभियान र आन्दोलन चले र आधुनिक युगको बीजारोपण भयो । अहिले सारा युरोपसहित विश्वका अधिकांश भूभागमा विशेषाधिकारयुक्त शासकीय युगको समाप्ति भएको छ । कुनै शासनमा पद तथा जात या धर्ममा आधारित विशेषाधिकार रहन्छ भने त्यों लोकतन्त्रका लागि खतरा हुन्छ ।
रुसी इतिहासमा जारशाहीको ठूलो बयान छ । रुसलाई परिचय गराउनमा उनीहरूको योगदान पनि छ । तर जारशाही रुसमा निरंकुश तथा जहानीया शासनका पर्यायवाची थिए । रुसमा जारहरूले आफ्नो पूर्ण विशेषाधिकार स्थापित गरेका थिए । जारहरूको हातमा यतिसम्म अधिकार केन्द्रित थियो कि त्यहाँ अरूको अधिकारको कुरासम्म गर्न प्रतिबन्ध थियो । राज्यको सम्पूर्ण सत्ता र शक्ति मात्र होइन सम्पूर्ण सम्पत्ति पनि जारहरूको थियो । उनीहरूको अनुमति र सहमति बेगर रुसमा अरूले चुँसम्म गर्न पाउँदैनथे । त्यहाँ डरलाग्दो तथा निरंकुश जारशाहीविरुद्ध लड्न र विशेषाधिकारको समाप्तिसहितको समानतामा आधारित समाजको निर्माण गर्न महान् लेनिनको नेतृत्वमा स्थापित पार्टी थियो, रुसी सामाजिक जनवादी बोल्सेभिक पार्टी । अर्थात् रुसी कम्युनिस्ट पार्टी । त्यही समाजवादी आन्दोलन थियो रुसी अक्टोबर क्रान्ति । रुसी मजदुरहरूलाई संगठित गरेर गरिएको क्रान्ति थियो महान रुसी समाजवादी क्रान्ति जसले इतिहासमा पहिलोपटक शासनमा जनताको अधिकार स्थापना ग¥यो ।
भारतमा पनि ब्रिटिस इन्डिया कम्पनीको प्रवेशभन्दा पहिले ससाना सामन्ती राज्यहरू थिए । तिनीहरू सबै दैवी सिद्धान्तकै आधारमा क्रूर सामन्ती राज्य चलाउँथे । केन्द्रीकृत र व्यवस्थित राज्य थिएन । ब्रिटिस इन्डिया कम्पनीको प्रवेशपछि उसले बिस्तारै भारतको सत्ता आफ्नो हातमा लियो । उसको शासन पनि व्यक्तिगत सनक र ब्रिटेनको व्यापारिक हितमा आधारित थियो । उनीहरूले भारतको शासन र सम्पत्तिमा आफ्नो विशेषाधिकार सुरक्षित गरेका थिए । यहि ब्रिटिस इन्डिया कम्पनीको विशेषाधिकार र साम्राज्यवादविरुद्धको आन्दोलन नै भारतीय स्वतन्त्रता संग्राम थियो । स्वतन्त्र भारतको निर्माणको आन्दोलन थियो, जसले लक्ष्य हासिल गरिछाड्यो ।
भारतीय स्वतन्त्रता संग्रामको सफलतासँगै त्यहाँ लोकतन्त्रको स्थापना भयो र सबै प्रकारका शासकीय विशेषाधिकारमाथि जनताले विजय प्राप्त गरे ।
नेपालको एकीकरणपछि हाम्रो देशमा पनि १ सय ४ वर्ष राणा शासन चल्यो । जो राजा हँुदाहँुदै राजतन्त्रलाई छायामा राखेर चलाइएको राणाहरूको एकलौटी पारिवारिक शासन थियो । सम्पूर्ण शासकीय अधिकार राणा परिवारमा सुरक्षित रहेको विशेषाधिकार युक्त जहानियाँ शासन थियो । त्यसविरुद्ध क्रान्ति गरेर प्रजातान्त्रिक अधिकारसहितको परिवर्तन गरे पनि शासन राणाको हातबाट राजाको हातमा सरुवा मात्र भयो । २०१७ सालपछि त राजाले पुनः आफूलाई विशेष शासकका रूपमा उभ्याए र सबै अधिकार आफूमा केन्द्रित गरे । त्यसका विरुद्ध २०३५÷३६ सालको विद्यार्थी आन्दोलन, २०४५÷४६ सालको जनआन्दोलन अनि २०६२÷६३ महान् जनक्रान्तिसमेत पटकपटक भएका आन्दोलन र क्रान्तिद्वारा हामीले वर्तमान लोकतान्त्रिक व्यवस्था स्थापना गरेका हौं ।
नेपालमा सामन्ती शासकहरूद्वारा संरक्षण प्राप्त शासक र शोषकहरूको विशेषाधिकारविरुद्धको आन्दोलन र विजय नै लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलन हो । अथवा, नेपालको सन्दर्भमा कम्युनिस्ट आन्दोलन भनेको मानवअधिकार आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादी आन्दोलन पनि हो । यसै आन्दोलनको प्रतिफलका रूपमा स्थापित वर्तमान कम्युनिस्ट सरकार र यसको नेतृत्वमा बसेर शासन गर्नेहरूले पनि विशेषाधिकार प्राप्त शासकको व्यवहार देखाउन थाले भने के हुन्छ ? जनताले आफूजस्ता जनमुखी शासक खोज्न कता जाने ? यो भने गम्भीर विषय हो । हाम्रा शासनमा स्थापित गरेका अगुवाहरूको कतिपय अभिनय र शैलीले जनतालाई अलिकति झस्काएको छ । यो नेपाली कम्युनिस्टहरूका लागि त्यति सुन्दर प्रसंग होइन । फेरि पनि लेनिनले भनेजस्तो कम्युनिस्टहरू जनतामाथि शासन गर्ने शासक होइनन्, बरु उनीहरू जनताका सहयोगी हुन् । जनताका निम्ति काम गर्न जनक्रान्तिमार्फत अख्तियारी प्राप्त कारिन्दा हुन् । अर्थात् जनताका समस्या समाधान गरिदिने सहजकर्ता हुन् । आजका शासकहरूले राम्ररी बुझ्नु आवश्यक छ ।
क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रो राति १२ बजेसम्म पनि जनताका बीचमा बस्ने गर्नुहुन्थ्यो । भियतनामी राष्ट्रपति होची मिन्ह जनताकै बीचमा रमाउँदै हिँड्ने गर्नुहुन्थ्यो । महान् रुसी क्रान्तिका महानायक लेनिन महोदयको जीवनशैली नमुना थियो । उहाँ आफ्ना समकालीन र समवयी जनताको स्तरमा बाँच्न रुचाउनुहुन्थ्यो । अमेरिकाका राष्ट्रपिता अब्राहम लिंकन, बाराक ओबामाबाट पनि हामीले धेरै कुरा सिक्न सक्छौं । हाम्रै देशका महानायकहरू कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीबाट पनि हामीले धेरै कुरा सिक्नु उचित हुन्छ । अझ द्वापर युगीन राजा राम चरित्रको बयान गर्ने र रामराज्यको उदाहरण दिने हाम्रा निम्ति विशेषाधिकार आवश्यक नै किन पर्दछ र । अनि आफ्नो राज्यका प्रजाका लागि आफंैलाई अलप बनाउन सक्ने विदेह राजा जनकको आदर्श चरित्रले सिञ्चित संस्कारमा हुर्किएका हामी नेपालीका निम्ति शासकीय विशेषाधिकार निश्चित पनि सुहाउने कुरा होइन । यतातिर शासकहरूको ध्यान जाँदा देशको भलाइ नै हुने थियो । जय होस !
One response to “विशेषाधिकार कायम भए केको लोकतन्त्र ?”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Fact story