किष्टको आधा दशक
एउटा संयोग नै मान्नुपर्छ । तेइस वर्षअघि उनले जुन स्थानबाट एउटा सामान्य कर्मचारीका रूपमा बैंकिङ क्यारियर प्रारम्भ गरेका थिए, अहिले त्यही स्थानबाट केही दूरी वर एउटा प्रतिष्ठित बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् । किष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल नै त्यस्तो सौभाग्यशाली व्यक्ति हुन्, जसले करिब एक जुग नेपाली बैंकिङ क्षेत्रलाई सुम्पिसकेका छन् । र, अहिले किष्ट बैंकको केन्द्रीय कार्यालय रहेको बिजुलीबजारभन्दा केही मिनेटको दूरीमा तेइस वर्षअघि नेपाल ग्रिन्डलेज बैंक थियो र त्यही बैंकमा उनी सहायकको रूपमा प्रवेश गरी बैंकिङ क्षेत्रमा प्रथम पाइलाहरू चालेका थिए ।
एक जना बैंकर बन्छु भन्ने सोच उमारेर उनले बैंकिङ क्षेत्रमा कदम चालेका थिएनन् । लम्साल भन्छन्– ‘बैंकर बन्छु भनेर मैले बैंकमा जागिर खाएको होइन । त्यो बेला मलाई जागिर चाहिएको थियो र बैंकमा जागिर खान थालें ।’ तर, समयान्तरमा उनी बैंकको उच्च पदमा पुगे । भन्छन्– ‘म एकै पटक अहिलेको स्थानमा आइपुगेको होइन । विस्तारै–विस्तारै खुट्किलाहरू चढ्दै अहिलेको स्थानमा आइपुगेको हुँदा मलाई अहिले खुसीको अनुभूति भएको छ ।’ अहिले मानिसहरूले बैंकहरूका बारेमा राम्ररी बुझेको र बैंकमा जागिर खाने लालसा राख्न थालेको उनको अनुभव छ । हुन पनि, उनले वाणिज्यशास्त्रमा स्नातक गरेपछि केही समय डिल्लीबजारमा अवस्थित त्यो बेलाको चलेको बोर्डिङ स्कुल क्षितिज बोर्डिङ स्कुलमा पढाए तर बैंकको जागिरतिर आफ्नो ध्यान मोडिनुको कारण खुलाउँदै उनी भन्छन्– ‘एकदिन मैले राइजिङ नेपालमा ग्रिन्डलेज बैंकमा सहायक पदमा जागिर खुलेको सूचना पढ्न पुगें र दरखास्त दिएँ । पहिलो पटकमै उत्तीर्ण भएपछि मैले बैंकमा सेवा प्रारम्भ गरें ।’ त्यतिबेला बैंकहरू सीमित थिए । सरकारीबाहेक निजी क्षेत्रमा नबिल, ग्रिन्डलेज र इन्डोस्वेज मात्रै थिए ।
वि.सं.२०२३ मा खोटाङ जिल्लाको बडकादियाले गाविसमा जन्मिएका लम्सालको परिवार उनी ६ वर्षका छँदा झापाको चन्द्रगढीमा बसाइँ सर्यो । कहाँको पहाड र कहाँको तराई † अन्तर त थियो नै । उनले चन्द्रगढीमै आफ्नो प्रारम्भिक शिक्षा थालनी गरे । अध्ययनमा सानैदेखि तिख्खर उनले ०३८ सालमा चन्द्रगढीस्थित वीरेन्द्र माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरे । त्यसपछि विज्ञान विषय अध्ययन गर्ने सोच आयो र काठमाडौं आएर अमृत साइन्स क्याम्पसमा भर्ना भए । तर, अस्कलबाट आईएस्सी उत्तीर्ण गरेपछि उनी पुन: झापा नै फर्किए र मेची बहुमुखी क्याम्पसमा वाणिज्यशास्त्र लिई अध्ययन गर्न थाले । विज्ञान विषयको अध्ययन छाडेर वाणिज्यतिर होमिएका उनी भन्छन्– ‘इन्जिनियर बन्ने इच्छा थियो तर बन्न सकिएन ।’ त्यतिबेला इन्जिनियरिङसम्बन्धी अध्ययन पुल्चोक क्याम्पसमा मात्र हुन्थ्यो । तथापि, इन्जिनियर बनेर घरको नापनक्सा निकाल्नेतिर भन्दा पनि देशको वित्तीय दशा र दिशा सुधार्नेतिर उनको मन मोडियो । उनले एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा एमबीए उत्तीर्णसमेत गरेका छन् ।
समयक्रममा उनको बैंकिङ क्यारियरले एकपछि अर्को शृंखला पार गर्दै गयो । ग्रिन्डलेज बैंकमा साढे चार वर्षसम्म कार्यरत रहेपछि बैंक अफ काठमाडौंमा वरिष्ठ अधिकृतका रूपमा प्रवेश गरे । उक्त बैंकमा साढे नौ वर्षसम्म कार्यरत रहेका उनले सानिमा विकास बैंकमा भने उपमहाप्रबन्धकमा सेवा गर्न थाले । सानिमामा पनि उनी साढे नौ वर्ष नै कार्यरत रहे । सानिमापछि उनी किष्टको सीईओ भएर आए र अहिले तीन महिना मात्रै पुगेको छ ।
लामो समयदेखि बैंकिङ क्षेत्रमै क्रियारत लम्साल नेपालको बैंकिङ क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको बताउन चुक्दैनन् । उनी भन्छन्– ‘नेपालको बैंकिङ क्षेत्रमा सात/आठ वर्षको अवधिमा धेरै नै वृद्धि भयो । त्यसबाट नाफामा वृद्धि त भएको छ नै, मानिसहरूले सुविधा पनि पाएका छन् । तर, बैंकहरूको एकै पटक वृद्धि बढेको हुँदा दक्ष जनशक्तिको अभाव देखिएको छ ।’ त्यसबाहेक, बैंकिङ क्षेत्रमा विकृतिहरू बढ्न पुगेको पनि उनी स्वीकार्छन् । भन्छन्– ‘केही वर्षसम्म बैंकलाई आफ्नो व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने प्रवृत्ति देखियो । तर, केही वर्षयता भने क्रमश: सुधार आउन थालेको छ । र, विकृति भित्र्याउनेहरूमा पनि गल्ती महसुस हुन थालेको छ ।’ बैंकिङ क्षेत्रका केही व्यक्तिहरूले बैंक भनेको उच्च व्यवसाय हो भन्ने नबुझेका कारण पनि समस्या भित्रिएको उनको बुझाइ छ ।
११ वर्षअघि फाइनान्सको रूपमा आफ्नो सेवा प्रारम्भ गरेको किष्ट पाँच वर्षअघि कमर्सियल बैंकको रूपमा स्थापित भएको हो । तर, केही समयपछि नै किष्ट, प्रभु विकास बैंक, जेनिथ फाइनान्स र गौरीशंकर विकास बैंकबीच मर्ज हुँदैछ । यी बैंकहरूबीच मर्ज हुने सवालमा एमओयू भइसके पनि निर्णय हुन भने बाँकी नै रहेको छ । नेपाल राष्ट्र बैंकले ल्याएको मर्जको नीतिप्रति सकारात्मक दृष्टिकोण राख्ने लम्साल भन्छन्– ‘सानातिना बैंकहरू जोखिमपूर्ण हुन्छन् । सानातिना बैंकहरूलाई मानिसले अविश्वास गरे भने धराशायी हुन पुग्छ । तर, मर्ज भएपछि भने जोगिन सक्छन् । मर्जले बैंकलाई हरेक हिसाबले फाइदा हुन्छ ।’
किष्ट बैंक कुनै बेला धेरै शाखा भएको बैंकको रूपमा परिचित थियो । तर, अहिले अरू बैंकले जितिसकेका छन् । तर पनि, अहिले देशभरि ५१ वटा शाखा छन् । र, मर्जपछि पुन: धेरै शाखा हुने बैंकको रूपमा स्थापित हुने सम्भावना रहेको पनि लम्साल बताउँछन् । साढे तीन लाखभन्दा बढी ग्राहक रहेको उक्त बैंकको चुक्ता पुँजी २ अर्ब रुपियाँ रहेको छ भने निक्षेप साढे १९ अर्ब रहेको छ । र, बैंकले साढे चौध अर्ब रुपियाँ कर्जा प्रवाह गरेको छ । सबै क्षेत्रमा लगानी गरेको उक्त बैंकले जलविद्युत् क्षेत्रलाई छुटाएको छैन । १० मेघावाटको युनाइटेड मोदी र ८ मेघावाटको आँखुखोला जलविद्युत् आयोजनामा बैंकको लगानी रहेको छ भने केही होटल, उद्योग र व्यापारिक क्षेत्रमा पनि बैंकको लगानी रहेको छ ।
यद्यपि, लामो समयदेखि बैंकिङ क्षेत्रमै जमे पनि सीईओ लम्सालको रुचि भने अध्ययनतिर धेरै नै रहेको छ । अहिले उनी रामेश कोइरालाको नयाँ उपन्यास ‘कोपिला आश्रम’ पढ्न व्यस्त छन् । केही दिनअघि मात्रै विमोचित उक्त कृतिले उनलाई अहिले तानिरहेको छ । भन्छन्– ‘रामेशको लेखनमा पहिलाभन्दा धेरै नै परिस्कार आएको पाएँ ।’ आफूभन्दा एक ब्याच जुनियर रामेश र उनले एउटै विद्यालयबाट अध्ययन पूरा गरेका हुन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply