वित्तीय क्षेत्रमै पैंतालीस वर्ष
करिब डेढ दशकअघिको कुरा हो । त्यतिबेला नेपालबाट दिनहुँ सयौंको हाराहारीमा मानिसहरू मलेसिया जान्थे । रोजगारीका लागि आकर्षक गन्तव्यको रूपमा रहेको मलेसियामा पुगेपछि तत्कालीन समयमा नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागमा कार्यरत राजगोपाल राजभण्डारीलाई एउटा कुरा नराम्ररी खट्कियो । विदेशमा कमाएको रकम नेपाल पठाउने कुनै भरपर्दो माध्यम थिएन । र, निजी क्षेत्रले त्यस व्यवसायमा हात हाले हुन्थ्यो भन्ने चाहना उनले राखे । उनी भन्छन्– ‘नेपालमा रकम पठाउने कुनै भरपर्दो माध्यम थिएन । मैले एउटा रेस्टुराँबाट एक जना मानिसमार्फत नेपालमा रकम पठाइरहेको पाएँ । त्यस्तो देखेपछि निजी क्षेत्रको यो व्यवसायमा सम्भावना रहेको बुझेँ ।’
आफू राष्ट्र बैंकको विदेशी विनिमय विभागमा रहेको हुँदा उनले निजी क्षेत्रका विभिन्न कम्पनीहरूलाई रेमिट्यान्स व्यवसायमा हात हाल्न सुझाव दिएका थिए । र, भरपूर सहयोग पनि गरेका थिए । किनभने, त्यतिबेला वाणिज्य बैंकबाहेक निजी क्षेत्रले रेमिट्यान्स व्यवसायमा पाइला राखिसकेको थिएन । राजभण्डारीकै सुझाव ग्रहण गर्दै केही निजी क्षेत्रले रेमिट्यान्स कम्पनी खोले । त्यो थियो– इन्टरनेसनल मनी एक्सचेन्ज । सन् २००१ मा स्थापित त्यही कम्पनी नै नेपालको पहिलो रेमिट्यान्स कम्पनी हो र अहिले नेपालमा दर्जनौं रेमिट्यान्स कम्पनीहरूले आफ्नो सेवा र व्यवसाय चलाइरहेका छन् । राष्ट्र बैंकमै सेवारत रहँदा उनले वेस्टर्न युनियनले गरिरहेको व्यवसाय बुझिसकेका थिए । उनी भन्छन्–‘वेस्टर्न युनियन, विदेशबाट नेपाल घुम्न आएका पर्यटकहरूलाई नेपालमा अप्ठेरो परेको अवस्थामा उनीहरूका आफन्तहरूले पैसा पठाउने उद्देश्यले स्थापना गरिएको थियो ।’
अहिले प्रभु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी–अधिकृतका रूपमा कार्यरत राजभण्डारी २००८ सालमा काठमाडौंको गैरीधारामा जन्मिएका हुन् । सानैदेखि आफ्नो जिम्मेवारीमा दत्तचित्तपूर्वक लाग्ने र कसैलाई चाकडी र चाप्लुसी नगरी आफ्नो काम सल्टाउने स्वभावका राजभण्डारीले राष्ट्र बैंकबाट आफ्नो बैंकिङ यात्रा सुरु गरेका हुन् । २०२६ सालमा राष्ट्र बैंकमा सहायकबाट सुरु भएको उनको यात्रा करिब ३६ वर्षसम्म उक्त बैंकमै तन्कियो । जीवनको एउटा लामो र महत्त्वपूर्ण कालखण्ड उनले राष्ट्र बैंकमै बिताए । उनी भन्छन्– ‘राष्ट्र बैंकमा काम गर्दा मैले नैतिक मूल्य, मान्यता जोगाएरै बसेँ । म जुन ठाउँमा रहेर काम गर्थें, त्यसलाई कसरी राम्रो बनाउने भन्ने नै मेरो ध्याउन्न हुन्थ्यो । मलाई लाग्छ, कर्मचारीहरूमा नैतिक आचरण हुनुपर्छ र त्यसबाट नै कम्पनीले फाइदा लिन सक्छ ।’ हुन पनि उनले राष्ट्र बैंकमा विदेशी विनिमय, टक्सार, कृषि कर्जा र नियमन विभाग गरी थुप्रै विभागमा आफ्नो ऊर्जा र सीप पोखे । राष्ट्र बैंकमा रहँदा उनी प्रायजसो अनुगमन र निरीक्षणमा क्रियारत रहन्थे । वैदेशिक मुद्रा नियमित छ कि छैन भनेर बुझ्न उनी खट्दथे । ‘नेपालीहरूले विदेशमा कमाएको पैसा नेपालमै आउनुपर्छ भन्ने मेरो मान्यता थियो’– उनी भन्छन् । त्यो बेला वाणिज्य बैंकहरूले आवश्यक मुद्रा मात्र नेपालमा पठाउँथ्यो, अधिकांश भने बाहिर नै हुन्थ्यो । तत्कालीन समयतिर फर्किंदै उनी भन्छन्– ‘त्यतिबेला विदेशबाट अवैधानिक रूपमा नेपालमा विदेशी रकम भित्रिन्थ्यो । निरीक्षणको क्रममा मैले ती कुराहरू पत्ता लगाएँ । र, नेपालमा निजी क्षेत्रले रेमिट्यान्स सुरु गर्नुपर्छ भन्ने महसुस मलाई त्यतिबेलै भइसकेको थियो ।’ अहिले प्रभु विकास बैंकले प्रभु मनी ट्रान्सफर चलाइरहेको छ । र, नेपालमा विकास बैंकबाट रेमिट्यान्स भित्र्याउने यो पहिलो बैंक पनि हो । राष्ट्र बैंकपछि उनले प्रभुमा पाइला टेकेका हुन् र प्रभुमा कार्यरत रहेको पनि नौ वर्ष पुगिसकेको छ ।
राजभण्डारी नेपाल मुद्रा विप्रेषण संघको महासचिव पनि हुन् । सन् २००२ मा स्थापित यो संस्थाले रेमिट्यान्स व्यवसायमा लाग्नेहरूका निम्ति आवाज उठाउँदै आइरहेको छ । र, अवैधानिक तवरले भइरहेको विदेशी मुद्रा कारोबारलाई घटाउनेतिर निरन्तर रूपमा क्रियाशीलसमेत छ । उनी भन्छन्– ‘देशको अर्थतन्त्र नाजुक हुँदा पनि रेमिट्यान्सले विदेशी मुद्रा भित्र्याएर देशको अर्थतन्त्रलाई सहयोग पुर्याएको थियो । तर, अहिले सरकारले हामीलाई सहयोग गरिरहेको छैन ।’ निजी क्षेत्रमा स्थापित रेमिट्यान्स कम्पनीहरूले अहिले अप्ठेरो बेहोर्नु परिरहेको स्वीकार्दै उनी भन्छन्–‘अवैधानिक रूपमा भइरहेको विदेशी मुद्रा कारोबारलाई हामी हटाउन त सक्दैनांै तर घटाउन भने सक्छौं । त्यसका लागि सरकारी सहयोगको आवश्यकता पर्दछ ।’ अहिले दिनहुँ हजार/पन्ध्र सयको संख्यामा विदेशतिर उडिरहेका नेपालीहरूबारे सरकारले कुनै सोच नबनाएकोमा उनी खुसी छैनन् । उनी भन्छन्– ‘अहिले दिनहुँ हजारौं विदेश गइरहेका छन् । फर्केर आएपछि उनीहरूलाई कुन क्षेत्रमा लगाउने भन्नेबारे सरकारले के सोचिरहेको छ ? यो प्रस्ट हुनुपर्छ । र, अर्कोतिर दिनहुँ विदेशबाट लास आइरहेको छ, यस्तो स्थिति उत्पन्न हुन नदिन के गर्ने भन्नेबारे पनि सरकारले सोचिरहेको छ जस्तो लाग्दैन ।’
पाकिस्तानको सरकारले आफ्नो देशका नागरिकलाई उनीहरूले पठाएको रेमिट्यान्सको आधारमा राज्यद्वारा सुविधा दिने गरेको बताउँदै राजभण्डारी भन्छन्– ‘तर हामीकहाँ भने त्यस्तो स्थिति छैन ।’ र, गैरआवासीय नेपालीहरूले देशभित्र लगानी गर्ने वातावरण नभएको बताउँदै उनीहरूका निम्ति वातावरण र ग्यारेन्टी गर्ने कार्यमा सरकार लागे देशमा लगानी भित्रिने राजभण्डारीले बताए । त्यसो त, रेमिट्यान्समा अहिले सरकारले १५ प्रतिशत टीडीएस कटाइरहेको छ । उक्त कर घटाएमा रेमिट्यान्स व्यवसाय गर्नेहरूका निम्ति निकै ठूलो राहत हुने र कार्यमा पनि थप उत्साह थपिने राजभण्डारीले बताए ।
नेपालका विकास बैंकहरूमध्ये उत्कृष्ट पाँचभित्र पर्ने प्रभुले अहिले कृषि, जलविद्युतलगायतका क्षेत्रमा लगानी गरिरहेको छ । कृषिमा उखु र स्याउजस्ता क्षेत्रमा लगानी रहेको छ । जम्मा ७७ करोड ७९ लाख रुपियाँ चुक्ता पुँजी रहेको यो बैंकले ७ अर्ब ५० करोड रुपियाँ लगानी गरेको छ भने ४९ वटा शाखा एवम् बैंकिङ कार्यालयहरू र २२ वटा एटीएमबाट आफ्ना करिब दुई लाख ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ । तथापि, अहिले प्रभु, किष्ट बैंक, जेनिथ फाइनान्स र गौरीशंकर विकास बैंकबीच मर्जका लागि राष्ट्र बैंकले सहमति प्रदान गरिसकेको छ र चाँडै नै मर्जको प्रक्रियातिर जाँदैछ । राजभण्डारी भन्छन्– ‘आउँदो आर्थिक वर्षदेखि एकीकृत कारोबार गर्ने सोचमा हामी रहेका छौं ।’
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply