सफल सहकारी
गोर्खा थालाजुङ–१ मा जन्मिएका सुरेन्द्र भण्डारीलाई मध्यम परिवार भएकाले खान, लाउन र पढ्न उतिसारो दु:ख थिएन । किनकि उनको परिवार पुरानो मुखिया र जिम्वालको परिवार थियो । त्यसैले गाउँमा रहुन्जेल उनले निर्धक्कसँग पढे । एसएलसी गाउँबाटै उत्तीर्ण गरे । २१ वर्षअघि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं छिरेका उनले पाटन बहुमुखी र नेपाल कमर्स क्याम्पस मीनभवनबाट उच्च अध्ययन सिध्याए । आईकम पढ्दादेखि नै हिमालय फाइनान्स कम्पनीमा जागिरेका रूपमा प्रवेश गरेका उनी अन्तत: यही क्षेत्रमा रमाए । अहिले उनी एक जना सफल सहकारीकर्मीका रूपमा परिचित छन् ।
काठमाडौँ आएको पाँच वर्षपछि ३ लाख रुपियाँमा लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था खोलेर नेतृत्व लिन थालेका उनले अहिले सो संस्थालाई सवा ३ अर्बको आकारमा पुर्याएका छन् । सहकारी जीवनमा धेरै पेचिलो यात्रा, आरोह–अवरोह र घुम्ती पार गरेका उनले धेरै उतार–चढाव बेहोरेका छन् । यो अवधिमा उनका धेरै प्रतिस्पर्धीहरू आए । उनलाई असफल पार्ने र खुट्टा तान्ने प्रयास भए । तर, उनी हड्बडाएनन् । झन् आफूलाई सफलताको सिँढीमा उकाल्दै लगे । ०५६ भदौ १८ बाट विधिवत् दर्ता भई असोज १५ बाट कारोबार सुरु गरेको सो संस्थाले अहिले बहुउद्देश्यीय सहकारीमध्ये सबैभन्दा ठूलो पुँजी रहेको सहकारीको हैसियत बनाएको छ । उसको अहिले जगेडा कोषसहित ३३ करोडको पुँजी छ भने निक्षेप २ अर्ब ७० करोड छ । कर्जा २ अर्ब १० करोड रहेको लालीगुराँसले कुल सम्पत्ति ३ अर्ब २० करोड आर्जन गरेको छ ।
सानैदेखि सकारात्मक सोच राख्ने मान्छे पक्कै असफल हुँदैन । र, एक पटक असफल भइयो भन्दैमा हरेश नखाएपछि ऊ पक्कै सफल हुन्छ । हुन त भण्डारीको रहर नेपाली सेनामा प्रवेश गरेर अधिकृत बन्ने थियो । उनले दुई पटक सेकेन्ड लेफ्टिनेन्टमा आवेदन पनि दिए । तर, सफल हुन सकेनन् । एकातिर सफल नभएकाले नै उनलाई अर्कोतिर सफल हुने प्रेरणा मिल्यो । सेनाको अफिसर बनेको भए सायद उनी जागिरे बनेर त्यतै खुम्चिएर बस्थे । तर, अहिले उनले व्यवसायमार्फत फराकिलो दायरा पाएका छन् ।
उनको संस्थाको कारोबार यति व्यापक छ कि अहिले भइरहेका क्षेत्रलाई पनि व्यापक विस्तार गर्नसक्ने सम्भावना उत्तिकै छ । लगानीका विविध क्षेत्रमा २ सय ५५ जनाले अहिले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । ३७ वर्षको उमेरमै उनी सो संस्थाको सञ्चालक समितिका सचिव तथा प्रमुख कार्यकारी अधिकृत मात्र होइन, केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष बनेका छन् । सो संघमा मुलुकभरका ५ हजार सहकारी आबद्ध छन् । त्यसैले पनि उनको दायित्व आफ्नो सहकारी हेरेर मात्र पुग्दैन अचेल । ती सबै सहकारीको हित र अधिकारका साथै नीतिगत विषयमा हुने छलफल, भेला र लबिङमै बिताउनुपर्ने हुन्छ ।
आईकम पढ्दापढ्दै काम सिक्ने हिसाबले हिमालय फाइनान्स कम्पनीमा लेखापालका रूपमा प्रवेश गरेका उनी त्यहाँ धेरै समय टिकेनन् । पछि सो फाइनान्स छोडेर उनी स्वस्तिक सहकारीमा जागिरेका रूपमा आए । त्यहाँ पनि छोडेर ३ लाख रुपियाँमा आफ्नै सहकारी थालेका उनीहरू अहिले आफ्नै ८ करोडमा किनिएको भवनमा कारोबार गरिरहेका छन् । सोच्दा यो एउटा अकल्पनीय कुरा जस्तो लाग्छ । तर, त्यसलाई उनीहरूले साकार पारेका छन् ।
कुनैबेला कारोबार बढाउन नसकेर मच्छिन्द्रनाथको रथ बनाउने चोकसँगै सात वर्ष खुम्चिन बाध्य भएको सो सहकारीले अहिले विविध क्षेत्रमा हात हालेको छ । लालीगुराँस राष्ट्रिय उच्च मावि, १५ शय्याको लालीगुराँस हस्पिटल एन्ड रिसर्च सेन्टर, लालीगुराँस डेरी फर्म एन्ड रिसर्च सेन्टरसमेत सो सहकारीले सञ्चालन गर्न सफल भएको छ । यी संस्थाहरू अहिले राम्रोसँग चलिरहेका छन् । चितवनको पर्सामा एक वर्षअघि खोलिएको डेरी फर्म अहिलेसम्मकै बृहत् परियोजना हुने भण्डारीको दाबी छ । २० करोड लगानीमा ३ वर्षभित्र पाँच सय दुधालु गाई पुर्याउने लक्ष्य लिइएको छ । यति मात्र होइन उनको सहकारीले जलविद्युत्मा पनि लगानी गरेको छ । सिन्धुपाल्चोक जिल्लाको तातोपानी क्षेत्रमा सुरु गरिएको भैरवकुण्ड हाइड्रो पावरमा लालीगुराँसको ३५ प्रतिशत सेयर छ । तीन मेगावाटको उत्पादन सुरु गरिसकेको सो आयोजनाको कुल लगानी ६६ करोड छ ।
भण्डारीले सहकारीका उपत्यकास्थित हरेक शाखाका गतिविधि पुल्चोकस्थित केन्द्रीय कार्यालयको आफ्नो कोठामा सीसीटीभी क्यामेराको सहायताबाट नियालिरहेका छन् । सोमबार बुधबारसँगको कराकानीमा यही कार्यकक्षबाट उनी भन्दैथिए–‘मेरो अबको चिन्ता र रुचिको क्षेत्र नै समग्र सहकारी क्षेत्र कसरी अगाडि बढाउने भन्ने हो ।’ विदेशमा गएर सहकारीसम्बन्धी धेरै अवलोकन भ्रमणका अनुभव पनि उनले सुनाए । ‘नेपालमा विदेशमा जस्तो यस क्षेत्रको विकास हुन सकेको देखिएन’– उनले भने– ‘लालीगुराँसलाई त्यही हाराहारीमा पुर्याउने र अन्य बहुउद्देश्यीय सहकारी पनि सँगसँगै अघि बढाउनेमा अब म दत्तचित्त भएर लाग्छु ।’
सुरुमा सहकारी क्षेत्रमा यति धेरै सम्भावनाका कुरा उनले सोचेका थिएनन् । धेरैले सहकारी खोल्ने लहरमा लहलहैमा उनले यो संस्था जन्माए । त्यसताका थुप्रै सहकारी डुबे पनि । भागाभागको स्थिति पनि बन्यो । संस्था जन्माउनु ठूलो कुरा थिएन । त्यसलाई कुशल व्यवस्थापनका साथ हुर्काउन सुरेन्द्र सफल भएका छन् । त्यसैले उनी गौरवान्वित छन् । भन्छन्–‘सुरुमा नबुझेरै हामफाले पनि अहिले लगावपूर्ण ढंगले इमानदारीपूर्वक लाग्ने हो भने केही गर्न सकिन्छ भन्ने कुरा स्पष्ट भएको छ ।’
पुँजीका हिसाबले अब लालीगुराँस सहकारीले जुनसुकै बैंकलाई चुनौती दिनेगरी कारोबार गर्न सक्ने ल्याकत राख्छ, तर नीतिगत बाध्यताहरू भने यथेष्ट छन् । कानुनले सहजीकरण गरिदिने हो भने राज्यले भन्दै आएको तीनखम्बे अर्थनीतिमध्येको एक खम्बा सहकारीमार्फत नै मुलुकको कायापलट ल्याउन सकिने उनको दाबी छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply