ग्रामीण क्षेत्रका किसानहरूमा समर्पित
देशको आर्थिक विकासमा हरेक तह र तप्काको योगदान अपरिहार्य रहेजस्तै साना किसानहरूको योगदानलाई पनि कम आँक्न सकिँदैन । निश्चय नै, सामाजिक र आर्थिक विकासमा साना किसानहरूको योगदान अतुल्य रहँदै आएकोमा दुईमत छैन । दिन–प्रतिदिन बढ्दै गइरहेको साना किसानहरूको भूमिकालाई मध्यनजर गर्दै दुई महिनाअघि साना किसान विकास बैंकले कृषि सहकारीको केन्द्रीय सहकारी संघसँगको सहकार्यमा ‘साना किसान सम्मेलन’ गरेको थियो । साना किसानहरू एकै थलोमा उभिएको सम्भवत: यो नै पहिलो पटक थियो । मूलत: साना किसानहरूलाई एक सूत्रमा बाँध्ने र उनीहरूलाई बाटो पहिल्याउन मद्दत पुर्याउने हेतुले आयोजित उक्त सम्मेलनले केही महत्त्वपूर्ण उद्घोषसमेत गरेको थियो ।
साना किसान विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्मा भन्छन्– ‘अहिलेसम्म साना किसानहरूको यति ठूलो उपस्थिति कतै पनि देखिएको थिएन ।’ र, आउँदो दस वर्षभित्रमा १ हजार साना किसान सहकारी निर्माण गर्ने, दस लाख घरधुरीसम्म उक्त बैंक पुग्ने र देशका ७० वटा जिल्लामा विस्तार हुने उद्घोष पनि त्यही सम्मेलनको क्रममा गरिएको थियो । तेह्र वर्षअघि साना किसान तथा विपन्न वर्गका किसानहरूलाई आर्थिक र सामाजिक हिसाबले माथि उठाउने उद्देश्य बोकेर स्थापित उक्त बैंक स्थापनाको उद्देश्य केलाउँदै शर्मा भन्छन्– ‘कृषि विकास बैंकले साना किसान विकास आयोजना सञ्चालन गर्दै आएकोमा ती आयोजना बन्द हुन पुग्यो । आयोजना बन्द भएपछि साना किसानहरू मर्कामा परे । र, साना किसानहरूलाई ऋण लगानी गर्ने र उनीहरूको क्षमता अभिवृद्धि गर्ने सोचसहित यो बैंक स्थापना भएको हो ।’ सुरुमा नौ करोड चुक्ता पुँजीबाट प्रारम्भ भएको उक्त बैंकमा कृषि विकास बैंकको ७० प्रतिशत सेयर थियो भने सरकारले १६ प्रतिशत सेयर लिएको थियो । त्यसरी नै, नेपाल बैंक लिमिटेड र नबिल बैंकको केही सेयरका साथै देशका २१ वटा साना किसान सहकारी संस्थाले लिएको सेयरबाट उक्त बैंक सञ्चालनमा आएको थियो ।
नौ करोडबाट सुरु भएको बैंकसँग अहिले २३ करोड ७ लाख रुपियाँ चुक्ता पुँजी रहेको छ । र, गएको कात्तिक महिनासम्ममा ५ अर्ब ६० करोड रुपियाँ ऋण लगानी गरिसकेको छ । अहिले बैंक देशका ५६ जिल्लामा विस्तार भइसकेको छ भने ३ सय ७० वटा साना किसान सहकारी र ७० वटाजति अरू लघु कर्जा दिने सहकारीसमेत गरी ४ सय ४० सहकारीमार्फत् करिब ४ लाख घरधुरीसम्म बैंकको पहुँच विस्तारित हुन पुगेको छ । प्रमुख कार्यकारी अधिकृत शर्मा भन्छन्– ‘हामीले कृषि क्षेत्रमा नै लगानी गरेका छौं । र, करिब ७० प्रतिशत महिलाहरूको सहभागिता रहेको हुँदा हामीले लगानी गरेको क्षेत्र निकै नै फस्टाएको छ ।’ साना किसानहरूले जुन क्षेत्रमा हात हाल्न चाहन्छन्, त्यही क्षेत्रमा नै ऋण प्रवाह गर्दै आइरहेको बताउँदै शर्मा भन्छन्– ‘अहिले तरकारी खेतीमा किसानहरुको बढी झुकाव रहेको पाइएको छ । तरकारी खेतीका साथै केरा खेती, माछा र पशुपालनमा पनि किसानहरू आकर्षित भएको हुँदा हामीले ती क्षेत्रमा पनि लगानी गरेका छौं ।’ साना किसानहरूले बढीभन्दा बढी सहुलियत पाओस् भन्ने हेतुले पूर्वमा चिया खेतीमा लागेका किसानहरूलाई लक्षित गरेर झापाको पृथ्वीनगरमा उक्त बैंकले चिया प्रशोधन कारखाना स्थापना गरेको छ भने नवलपरासीमा चामल मिल, रूपन्देहीमा चामल र तोरी पेल्ने मिल, बर्दियामा तोरी पेल्ने र गहुँ तथा मकै पिस्ने मिल स्थापना गरेर किसानहरूलाई फाइदा पुर्याउँदै आइरहेको पनि शर्माले बताए ।
बैंकले जुन–जुन क्षेत्रमा लगानी गरेको छ, कस्तो छ त त्यसको प्रतिफल ? शर्मा भन्छन्– ‘हामीले जुन–जुन क्षेत्रमा लगानी गरेका छौं, राम्रो प्रतिफल पाइरहेका छौं । किसानहरूले जुन प्रयोजनका लागि ऋण लिएका हुन्छन्, त्यही प्रयोजनमा नै लगानी गर्न हामीले जोड दिएका छौं । त्यही कारण, किसानहरूले समयमै ऋण तिर्ने गरेका छन् । अहिलेका किसानहरू आफूले लगेको ऋण तिर्ने हैसियतमा पुगिसकेका छन् ।’
करिब तीस वर्षसम्म कृषि विकास बैंकको विभिन्न तहमा कार्यरत रहेर साढे पाँच वर्षअघि मात्र उक्त बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्न थालेका शर्मा वि.सं. २००९ मा सिन्धुलीगढीमा जन्मिएका हुन् । ०२४ सालमा जनकपुरस्थित सरस्वति हाइस्कुलबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि जनकपुरकै रामसागर रामस्वरूप बहुमुखी क्याम्पसबाट आईकम सिध्याएका उनले बीकमको अध्ययन भने त्रिचन्द्र कलेजबाट पूरा गरे । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले बेलायतको म्यानचेस्टरस्थित भिक्टोरिया विश्वविद्यालयबाट ह्युमन रिसोर्स डेभलपमेन्टमा एमएस्सीका साथै नेपाल ल क्याम्पसबाट बीएलसम्मको अध्ययन पूरा गरेका छन् । उनको बैंकिङ करिअर भने ०३३ सालमा कृषि विकास बैंकको शाखा अधिकृतबाट सुरु भएको हो । शाखा अधिकृत भएपछि लहानमा उपशाखा प्रबन्धकको जिम्मेवारी सम्हालेका उनले सोही बैंकको साना किसान विकास विभागमा ३ वर्ष, केन्द्रीय तालिम केन्द्रमा ३ वर्ष, ऋण विभागमा २ वर्ष हुँदै उपमहाप्रबन्धक भए । करिब १ वर्ष कामु महाप्रबन्धक भएका उनले ०६२ सालमा कृषि विकास बैंकबाट स्वेच्छिक अवकाश लिएपछि अरू दुई वर्ष धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानमा रजिस्टार भएर बिताए । र, यो बैंकमा भने उनले ०६६ भदौदेखि जिम्मेवारी सम्हाल्न थालेका हुन् ।
आफूले बैंकको जिम्मेवारी लिएपछि बैंक धेरै हिसाबले माथि पुगेको उनको अनुभव छ । भन्छन्– ‘मैले आफ्नो कामको बढाइचढाइँ गर्न त्यति सुहाउँदैन । तर, पाँच वर्षको अवधिमा बैंकले उल्लेख्य प्रगति गरेको छ । मैले जिम्मेवारी लिँदा बैंकको कारोबार ७५ करोड थियो, अहिले ५ अर्ब ७५ करोड नै पुगेको छ भने त्यतिबेला १ लाख ४० हजार घरधुरीमा पुगेको बैंक अहिले ४ लाख घरधुरीमा पुगेको छ ।’ हुन पनि पाँच वर्षअघि वार्षिक १ करोड नाफा गर्ने उक्त बैंक अहिले १३ करोडको हाराहारी नाफा गर्न सक्षम रहेको छ । सुरुदेखि नै नाफामा रहेको उक्त बैंकले गएको आर्थिक वर्षमा १५ प्रतिशत मुनाफा वितरण गरेको थियो । ग्रामीण क्षेत्रका संस्थाहरू बलियो हुनुपर्छ भन्ने मान्यताबीच आफूहरू उभिएको बताउँदै शर्माले भने– ‘हामीले ग्रामीण क्षेत्रका किसानहरूलाई उत्पादनमा जोड दिँदै आइरहेका छौं । उनीहरूको व्यावसायिकरणमा सहयोग पुर्याउँदै आइरहेका छौं । किसानहरूले बढी लाभ हुने कुरामा आफ्नो सीप, क्षमता र लगानी लगाउनुपर्छ भन्ने हाम्रो मान्यता रहँदै आएको छ ।’
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply