छिमेकीलाई गुहारेर मात्रै हुन्छ ?
नेपाली राजनीतिमा फागुन १६ गते सबैको पर्खाइको दिन थियो । विपक्षीहरूले भनेजसरी नै जनता खुलामञ्चमा आए र सबैका कुरा चुपचाप सुने । त्यतिकैमा जनताको आँधीबेहरी खुलामञ्चमै छोडेर एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई भारततिर हानिए । देशभरबाट विशाल शक्ति प्रदर्शन सफल पार्न कुनै कसुर बाँकी नराखी काठमाडौं आएका जनताले डा.बाबुराम भट्टराई भारत गएर केही राम्रै गर्नुहुन्छ भनी पक्कै पनि सोचाइ बनाएका थिए । तर, जनताको सोचाइ र भट्टराईको क्रियाकलाप सोचेजस्तो भएन ।
जनताले विपक्षी दलले भनेकै भरमा खुलामञ्चमा नअट्ने गरी भोकभोकै उपस्थित भएर अझै हामी तपाईंकै पक्षमा छांै भन्ने एक हिसाबको सन्देश नै दिएका थिए तर त्यसको ठीक विपरीत भट्टराईले भारत भ्रमणमा जाँदा भारतले नेपालको वर्तमान राजनीतिक गत्यावरोध अन्त्यका लागि ‘सकारात्मक भूमिका’ खेलिदिन अनुनयविनय गरे । के फागुन १६ को खुलामञ्चको विशाल जनसमर्थन नेपाली जनताले खेलेको ‘सकारात्मक भूमिका’ होइन ? लोकतन्त्रमा सबैभन्दा ठूलो जनता कि विदेशी राष्ट्र ? भारत भ्रमणपश्चात भट्टराईले भारतीय पत्रिकाहरूमा दिएको अन्तर्वार्ता हेर्दा लाग्छ, नेपाली जनताको उक्त समर्थन पैतालाको धुलो, भारतीय नेताहरूको समर्थन शिरको टोपीसरह हो । केही दिनअगाडि भट्टराईले नै कांग्रेस–एमालेले ०४७ सालको संविधानमा नयाँ गाता राख्न खोजेकाले जनतामा आएको भनेर सुदुर–मध्य पश्चिम र कर्णालीको भ्रमणमा भन्नुभएकै हो । देशी–विदेशी शक्ति मिलेर आफूहरूको पार्टीलाई चुनावमा हराइयो भन्ने घुमाउरो आरोप एकातिर र अर्कातिर सार्वभौमसत्तासम्पन्न देशको आन्तरिक मामिलामा विदेशी भूमिकाको आह्वानले भट्टराईकै दक्षिणपन्थी झुकाव बलशाली देखिन्छ । भट्टराईले हेक्का राख्नुपर्दथ्यो, नेपाली जनताको विश्वास नगर्दा र भारतको चाहिँ त्यति ठूलो भरोसा गर्दा आफ्नो अहिलेसम्मकै राजनीतिक छवि जनताको मानसपटलबाट सजिलै हराउन सक्छ ।भारत भ्रमण गर्नै हुँदैन वा भारतीय नेताहरूसँग कुनै सम्बन्ध नै बनाउनु हुँदैन भन्ने आशय राखिनु ठीक होइन । सम्बन्ध विस्तारले दुई देशबीच उच्चस्तरको कूटनीतिक सम्बन्ध बढ्ने त छँदै छ, हामीजस्ता भारतीय सीमा नजिकका बासिन्दालाई समेत आवागमन सहज र सरल हुन्छ । तर, यसरी देशको अति संवेदनशील र गम्भीर विषयमा भट्टराईजस्तो कहलिएको बौद्धिक नेताले भारतीय मिडियामा देशभित्रको आन्तरिक मामिलालाई यति हल्का ढंगले बोलिदिँदा उहाँ जनताको नजरबाट गिर्नु त भयो नै तर नेपाललाई समेत सार्वभौमसत्तासम्पन्न राष्ट्र होइन कि भन्ने आभाषसमेत गराउनुभयो । हामीमध्ये प्राथमिक शिक्षा भारतमा हासिल गर्ने कतिपयले बुद्ध भारतमा जन्मेका हुन् भन्ने पढेकै हुन्, जुन कुरामा भारतले संसारभरि नै भ्रमको खेती गरेको थियो । सो कुरा भारतीय वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले २०७१ साल साउन १९ गते नेपालको संसद्मा आएर बुद्ध नेपालमा जन्मेका हुन् भन्दै उक्त तथ्यलाई गलत साबित गरिदिएका थिए । कि आज फेरि मोदी नै आएर ‘नेपाल एक सार्वभौमसत्तासम्पन्न राष्ट्र हे’ भनिदिनुपर्छ ?
डा.बाबुराम भट्टराई, तपाईं कांग्रेस र एमालेदेखि किन डराइरहनुभएको छ ? जनताले कांग्रेस र एमालेलाई मन पराएर जिताएका होइनन् । नयाँ र जनताको सर्वोपरि हितमा काम गर्ने असल पार्टीको विकल्प नभएर बाध्य भएका हुन् । क्रान्तिबाट शान्ति प्रक्रियामा आएको जिम्मेवार पार्टीको वरिष्ठ नेता तथा देशकै प्रधानमन्त्री भइसकेका व्यक्तिले किन एमाओवादीको रहेबचेको जनमतलाई धुलिसात गर्न खोज्दै हुनुहुन्छ ? जनताले कांग्रेस र एमालेलाई राम्ररी चिनेका छन् । यी पार्टीहरू कालान्तरमा सुधारिँदै जानेछन् भन्ने विश्वास छ, सुधारिएनन् भने यिनीहरूको पनि भविष्य छैन । तर, भट्टराईजस्तो जनता जनार्दनलाई उच्च स्थान दिने र जनताकै लागि क्रान्ति र बलिदान गरेको देशकै मूर्धन्य व्यक्ति पनि यसरी प्रस्तुत हुँदा जनताको आशाभरोसा नै समाप्त हुन्न र ?
सबैभन्दा ठूलो कुरा त निष्ठाको राजनीति र इमानदारिता हो । र, एमाओवादीलाई विश्वास गरी आफ्नो अमूल्य मत दिने जनता, पार्टीका इमानदार कार्यकर्ता, सहिद, बेपत्ता तथा घाइते परिवार यतिखेर आफ्नो अभिमतलाई पूरै वाइपास गरी विदेशीको भूमिकाको खोजी गरिँदा के सोच्दै हुनुहोला ?तपाईंले त अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्न मैले यसो गरेको हुँ समेत भन्न भ्याउनुभयो । तर, यो अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्ने तरिका हो जस्तो लाग्दैन र अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्दा कुनै विदेशी राष्ट्रमा गएर मेरो देशमा आएर भूमिका खेलिदिनुपर्यो भनेर सायदै भनिन्छ । राज्यकोषबाट पारिश्रमिक पाउने मन्त्रीस्तरीय संसद्को महत्त्वपूर्ण समितिको सभापतिले उपरोक्त कुरा विदेशी भूमिमा बोल्नु कूटनीतिक आचार संहिता २०६८ को अनुकुल पक्कै नहोला ।
हिजो र आजका अनलाइन र छापा पत्रिकाहरू कसरी पढ्नुहुन्छ ? कि पत्रिका हेरिनसक्दै या त डस्टविनमा मिल्काइदिनुहुन्छ ? एमाओवादीलगायत पहिचान पक्षधर भनिएका दलहरूले गत माघ पहिलो साता गरेको नेपाल बन्दका क्रममा पूर्वमन्त्री तथा एमाओवादी नेतृ हिसिला यमीले पत्रकारहरूलाई तल्लो स्तरको व्यवहार गर्दा उहाँको कद र हैसियत छर्लंग भएको थियो, आज तपाईं सार्वभौमसत्ता र अखण्डताको सवालमा कतै त्यस्तै आफ्नो इमान, जमान र इज्जत घटाउने पक्षमा त हुनुहुन्न ? डा. साब, तपाईं ढुक्क हुनूस् । अविचलित भई देश र जनताको हितमा लाग्नूस् । माओवादीछिन्नभिन्न भएकाले जनमत घटेको पक्कै हो कांग्रेसले यो देशमा सबैभन्दा बढी शासन मात्रै गरेन, देश पछाडि पर्नुमा पनि उसकै हात छ । आज तपार्इंको क्रियाकलापले कांग्रेस र एमालेलाई जनताको प्रिय पार्टी बन्ने अवसर दिँदै हुनुहुन्छ र तपार्इंका पछिल्ला गतिविधिले यी दलहरू यथास्थितिवादी र प्रतिगामी नभएर देशभक्त र राष्ट्रियतावादी पार्टी सावित हुँदै छन् । जब माओवादी एक ढिक्का थियो जनताले एक ढिक्का भएर उसैलाई पहिलो पार्टी नबनाएको हो र ? तपार्इं आज किन नेपाली जनताभन्दा अरू कसैलाई भूमिका खेलिदिन अनुरोध गर्दै हुनुहुन्छ ? अरूभन्दा पनि माओवादीसँग जनताको अझै आशा छ किनकि आफ्ना लागि आफैंले आवाज बुलन्द गर्नुपर्छ भन्ने ज्ञान नेपाली कुना–कन्दरा र भीरपाखाका जनतालाई माओवादीले नै सिकाएको हो र तपार्इंहरू आफैं एकढिक्का हुन् सक्नुभएन र पो जनता पुरानै भीर समात्न विवश भए । यो कुराको समीक्षा र बहस गर्नुको सट्टा त्यस्तो जनताको साथ र काँध हुँदाहुँदै छिमेकी गुहार्न जानु तपाईं नै सोच्नूस् कत्तिको जायज हो ? यहाँको शक्ति प्रदर्शनमा जनताले त्यत्रो साथ दिँदादिँदै सभा नै छोडेर जानुले यहाँको शक्तिको स्रोत जनता हुन् वा अरू नै भन्ने कुरा अब भनिरहनु परेन ।
जनतालाई सदा सर्वाेच्च मान्नेहरू इतिहासमा कहिल्यै हारेका छैनन् । खोलो त बाह्र वर्षमा फर्कन्छ भन्छन् तर निष्ठाको राजनीति फर्किन कति वर्ष धैर्य गरे पुग्छ । त्यसपछि जनतामाथि गद्दारी गर्नेहरू आफैं बढारिनेछन्, सच्चरित्रवान्हरू स्थापित हुनेछन् र तर सचेत हुनुहोला, धैर्य र इमानदारिता देखाउन नसक्दा आफंै बढारिएका थुप्रै उदाहरण छन् । तपार्इंलगायत सिंगो एमाओवादीको अहिले धैर्य र इमानदारिताको परीक्षण भइरहेको छ, देश बनाउनेहरूको अभिक्षमता परीक्षण यही हो । पास भई देश बनाउने वा फेल भई आफंै हराउने यहाँकै मर्जी ।
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply