राजनीतिक स्थिरतासँगै सेयर बजारले गति लिन्छ
यतिबेला नेपाली सेयर बजार खरायोको गतिमा दगुर्न थालेको छ । केही दिनयता सेयर बजारमा खरिदको अत्यधिक चाप बढेसँगै लगानीकर्ताले आफूले चाहेअनुरुप सेयर खरिद गर्न पाइरहेका छैनन् । भूकम्पपछि ठप्प रहेको अर्थतन्त्रको कारण सेयर बजारले अपेक्षित गति लिन मात्र सकेन, सेयर बजारमा बाजी मार्न चाहनेहरू पनि अनिश्चित भविष्य र असुरक्षितपना महसुस गरिरहेका थिए । तर, केही दिनअघि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेलगत्तै सेयर बजार एकाएक अकासिएको छ ।
नेपाली सेयर बजारमा आएको नौलो तरंगलाई सेयर कारोबारमा वर्षौंदेखि भिजेकाहरुकाले कसरीले लिएका छन् त ? विगत २२ वर्षदेखि सेयर बजारमा अभ्यस्त रहेका सेयर विश्लेषक तथा कारोबारी शालिकराम अधिकारी भन्छन्– ‘हरेक आर्थिक वर्ष सुरु भएपछि सेयरको भाउ बढ्ने सम्भावना हुन्थ्यो । किनकि, हरेक कम्पनीको नाफा बाँड्ने बेलाको मूल्यांकन गर्ने समय हो अहिले ।’ यस पटक सेयर बजार उकालो लाग्नुमा भने राष्ट्र बैंकको मौद्रिक नीतिले काम गरेको अधिकारी बताउँछन्– ‘मौद्रिक नीतिमा वाणिज्य तथा विकास बैंकहरूले अबको दुई वर्षभित्र चार गुणा पुँजी वृद्धि गर्नुपर्ने कुरा ल्यायो । यसले लगानीकर्ताहरूमा के आशा पलायो भने कुनै कम्पनीमा दस कित्ता सेयर हुनेले अब चालीस कित्ता पुर्याउन पाइने भयो । त्यसो त राजनीतिक दलहरूबीच सोह्रबुँदे सहमति भएपछि संविधान बन्ने आस पलायो र त्यही कारण पनि लगानीकर्ताहरूले लगानी गर्न उत्साह देखाएका हुन् ।’
मौद्रिक नीति आएपछि सेयर बजारमा जुन किसिमको तरंग भित्रिएको छ, के यो दीर्घकालीन होला त ? अधिकारी भन्छन्–‘सेयर बजार सधैँभरि बढिरहँदैन । मौद्रिक नीति आएपछि अहिले सेयर बजार उकालो त लागेको छ यो यो कतिसम्म उकालो लाग्छ भन्ने कुनै टुंगो छैन ।’ तर, राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति लागू हुनेमा अधिकारीले आशंका व्यक्त गर्दै भने– ‘राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँछ तर त्यस्तो नीति सधैँ लागू भएको पाइँदैन । अहिले उक्त नीतिप्रति बैंकर्सहरूले तीव्र दबाब दिइरहेका छन् । बैंकर्सहरूकै दबाबका कारण मौद्रिक नीति संशोधन हुने र पुँजी वृद्धिको सीमा घट्ने सम्भावना देखिन्छ ।’
त्यसो त, मौद्रिक नीतिपछि उकालो लागेको सेयर बजारलाई हेरेर अहिले लगानी गर्नेहरूको चाप सेयर बजारका निम्ति थेगिनसक्नु रहेको छ । अधिकारी भन्छन्– ‘जब बजार पिक प्वाइन्टमा हुन्छ, सेयर बजारका खेलाडीहरूले एक्कासि बढाइदिन्छन् र साना लगानीकर्ताहरूले हौसिएर लगानी गर्छन् । यस्तो बेला मौद्रिक नीतिलाई मात्र हेरेर लगानी गर्दा अहिलेका लगानीकर्ताहरू फस्छन् । आफूले लगानी गर्न लागेको कम्पनीको नाफा र नोक्सान कस्तो छ, त्यसलाई हेरेर मात्र लगानी गर्नु उपयुक्त हुन्छ ।’
मौद्रिक नीतिसँगै हरेक कम्पनीको नाफा र नोक्सानको स्थिति कस्तो छ, त्यो हेरेर मात्र लगानी गर्नु उचित हुने बताउँदै अधिकारीले भने– ‘अहिले साना लगानीकर्ताहरूले हौसिएर सेयर किन्ने अवस्था छैन । नाफामै नभएका कम्पनीहरूमा लगानी गर्दा डुब्ने सम्भावना पनि उत्तिकै हुन्छ । मौद्रिक नीतिले मात्र केही हुँदैन ।’
अहिले देशका प्रमुख राजनीतिक दलहरूले साउन महिनाभित्रै संविधान आउनेमा जनतालाई ढुक्क तुल्याइरहेका छन् । अधिकारी भन्छन्– ‘संविधान आएपछि देशमा राजनीतिक स्थायित्व कायम हुन्छ र कानुनी दिशामा देश अघि बढ्छ । र, संविधान आएपछि सेयर बजार झन् वृद्धि हुने देखेको छु । लगानीकर्ताहरूमा पनि अरू क्षेत्रमा लगानी गर्नुभन्दा सेयर क्षेत्रमा लगानी गर्दा नाफा हुन्छ भन्ने सोचेर अब झन् लगानी बढ्छ भन्ने मलाई लाग्छ ।’
०५६ सालदेखि सिप्ला सेक्युरिटिज प्रा.लि. स्थापना गरेर सेयर खरिद र बिक्रीमा अग्रसरता देखाउँदै आएका अधिकारीले यो क्षेत्रमा ०५० सालबाट नै पाइला राखेका हुन् । ०२७ सालमा पर्वतको पाखापानीमा जन्मिएका उनले काठमाडौंमा अर्थशास्त्रको विद्यार्थी हुँदा सेयर क्षेत्रतिर आफूलाई डोर्याए । उनी भन्छन्– ‘डिल्लीबजारमा सेक्युरिटिज खरिद बिक्री केन्द्र थियो । म त्यहाँ सेयर बेच्न र हेर्न जान्थें । त्यतिबेला ब्रोकरहरू थिएनन् ।’ तर, नेपाल स्टक एक्सचेन्ज स्थापना भएपछि भने सर्वसाधारणहरूका लागि पनि लाइसेन्स दिए पनि ०५६ सालपछि व्यक्तिसँग भएको लाइसेन्सलाई कम्पनीमा परिणत गर्नुपर्ने व्यवस्था गरियो । उनी भन्छन्– ‘हाम्रो काम विशुद्ध रूपमा सेयर खरिद, बिक्री गर्ने हो । हामीले नेपाल स्टकमा सूचिकृत कम्पनीहरूको सेयर खरिद, बिक्री गर्ने गर्छौं ।’ आफूले सेयर क्षेत्रमा पाइला राख्दा र अहिले धेरै ठूलो अन्तर आएको बताउँदै अधिकारी भन्छन्– ‘मैले यो क्षेत्रमा हात हाल्दा सेयरबारे सीमित मानिसहरूलाई मात्र थाहा थियो । सेयरमा लगानी गर्दा फाइदा हुन्छ भन्ने थोरै मानिसलाई मात्र थाहा थियो ।’ उनले ती दिनहरू सम्झिँदै भने– ‘त्यतिबेला स्टान्डर्ड चार्टर्ड, नबिल, हिमालयन बैंकहरूले सेयर खुलाउँदा सेयर हाल्ने मान्छे हुँदैनथे । ती बैंकहरूका कर्मचारीले न्युरोड–न्युरोड चहारेर सेयर हाल्नुस् भन्थे । तर, अहिले भने मानिसहरूमा सचेतनता बढेसँगै सेयर बजारमा लगानी वृद्धि हुन पुगेको छ ।’ तर, अझै पनि ७० प्रतिशत मानिसले सेयर बजारबारे नबुझेको अधिकारी बताउँछन् ।
कहिलेकाही सेयर बजार ह्वात्तै ओरालो लाग्छ । अधिकारी भन्छन्– ‘केही समयअघि नेपाली सेयर बजार पूरै खस्किएको थियो । यो सबै राजनीतिक कारणले गर्दा हुन पुगेको हो । राजनीतिक स्थिरता नहुँदा लगानीकर्ताहरूले लगानी गर्न चाहँदैनन् । मूलत: राजनीतिक कारणले नै सेयर बजारको स्थितिमा उतारचढाव आएको देखिन्छ । राजनीतिक स्थिरता भयो भने सेयर बजारले निश्चित रूपमा
गति लिन्छ ।’
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply