24th June 2018, Sunday

E-budhabar

पीठो बिक्ने समय



पीठो बिक्ने समय

केही दिनअघि प्राज्ञ मातृका पोखरेलले एउटा चिन्ता जारी गर्दै लेखे, ‘बजार र ठूला मिडियाले हल्ला गरेका पुस्तक र रचनाहरूसँग भर परेर बस्ने हो भने हाम्रो ज्ञानको क्षेत्र अत्यन्त कमजोर बन्ने रहेछ भन्ने एउटा उदाहरण यहाँ राख्न उपयुक्त लाग्यो । डा. महेशराज पन्तले लेख्नुभएको ‘जनैपूर्णिमादेखि रानिपोखरीसम्म’ भन्ने पुस्तक एक–डेढ महिनादेखि बजारमा आएको छ । मलाई लाग्छ, इतिहाससम्बन्धी यो वर्ष यति महŒवपूर्ण पुस्तक बजारमा आएकै छैन । तर, किन चुपचाप छन् ठूला मिडियाहरू ?’
प्राज्ञ पोखरेलको चिन्ता ठूला मिडियाहरूले यथोचित स्थान दिँदै आएको पुस्तक–समीक्षा, पुस्ताकांशतिर सोझिएको प्रस्टै बुझिन्छ । ठूला मिडियाहरूले वजनदार पुस्तकलाई चर्चा–परिचर्चाको केन्द्रमा ल्याउनुको साटो मिडियासँग पहुँच भएका र मिडियालाई दोहन गर्ने क्षमता बोकेका लेखक–स्रष्टाहरूका पुस्तकलाई पालिस गरेर चम्काउन खोज्छन् भन्ने आशय पनि प्राज्ञ पोखरेलको उक्त चिन्तामा जोडिएको स्पष्टतः बुझ्न सकिन्छ । मूलतः इतिहासकार डा. पन्तको पुस्तकले यथोचित चर्चा नपाएको प्रसंग उप्काउँदै नेपाली मिडियाको प्रवृत्तिमाथि औंला ठड्याउन चाहेको पनि देखिन्छ ।
यो इतिहासकार डा. पन्तको पुस्तकको सवालमा मात्र लागू हुने विषय होइन । कतिपय गहन, विशिष्ट मूल्यबोध भएका र वर्षौंको लेखन, अनुसन्धान र तपस्याबाट जन्मिएका पुस्तकहरू पनि मिडियाको नजरमा पर्ने गरेका छैनन् । यो कटु यथार्थ हो र नेपालका गहन अध्येता÷स्रष्टाहरूले यो पीडा झेलिरहेका छन् । हुन पनि डा. पन्तको पुस्तक बजारमा आएको महिना दिनभन्दा बढी नै भइसकेको छ । तर, कुनै पनि मिडियाले सो पुस्तकको अंश वा समीक्षा प्रकाशन गर्नेतिर तत्परता देखाएनन् । सम्भवतः डा. पन्त ‘मिडिया–मैत्री’ हुन नसकेका कारण वा मिडियाले पनि त्यति महत्व दिन आवश्यक नठानेका अवस्थाले गर्दा हो, अहिलेसम्म सो पुस्तकमाथि केही समीक्षात्मक टिप्पणी आउन सकेको छैन ।
यदि मिडियासँग गहिरो पहुँच भएका अरू कुनै स्रष्टाका पुस्तक प्रकाशन हुन्थ्यो भने त्यसले अहिलेसम्म तहल्का मच्चाइसक्थ्यो । सुरुमा मिडियामा त्यसको पुस्तक–अंश छापिन्थ्यो, त्यसपछि समीक्षा आउँथ्यो र अन्तमा रचना–गर्भले स्थान पाउँथ्यो । अर्थात्, एउटा पुस्तकको समयान्तरमा एउटै मिडियामा विभिन्न तरिकाले तीन–तीनपटक ‘कभरेज’ हुन्थ्यो । चल्तीका मिडियाले एउटै पुस्तकलाई तीन–तीनपटक स्थान दिनुको अर्थ त्यसको बजारीकरण हुनु पनि हो । त्यसले प्रकाशक र लेखक दुवैलाई फाइदा पु¥याउनेमा दुईमत हुन सकिँदैन ।
अब त एउटा प्रवृत्ति नै बसिसक्यो कि कुनै पनि पुस्तकलाई विभिन्न चरण र पद्धति अपनाएर प्रचारप्रसार नगरे त्यो पुस्तक बजारमा अब्बल ठहरिँदैन । बजारमा अब्बल नठहरिए त्यस्ता पुस्तक पाठकको नजर र रुचिमा पर्दैनन् । त्यही कारण, पुस्तक बजारमा ल्याउनुअघि नै त्यसको पब्लिसिटीमा प्रकाशक–लेखकहरू हात धोएर लाग्न थालेका छन् । पुस्तक प्रकाशित भएपछि त्यसको भरमार विज्ञापन, मिडियाहरूमा छ्याप्छ्याप्ती समीक्षा, पुस्तक–अंश, मौखिक प्रचार, प्रायोजित हिसाबले समीक्षाको बाढी नै उर्लिन थाल्छन् । अझ, पुस्तकमा आधारित गीत र त्यसको भिडियो, प्रमुख सहर–बजारमा अन्तक्र्रियालगायत प्रचारका लागि अपनाइने सबै तरिका अपनाउन छाडिँदैनन् । पछिल्ला समयमा पुस्तकको पब्लिसिटी गर्ने तरिका देख्दा यस्तो महसुस हुन्छ, कुनै पुस्तक होइन, बहुराष्ट्रिय कम्पनीले आफ्नो सामान बजारमा ‘लन्ज’ गर्दै छन् । कुनै बहुर्राष्ट्रिय कम्पनीले साबुनको विज्ञापन गर्नु र नेपाली प्रकाशकहरूले पुस्तकको प्रचार गर्नुमा ताŒिवक अन्तर पाउन छाडेको छ ।
हामीकहाँ प्रायजसो पुस्तकका समीक्षा लेखक र समीक्षकबीचको सुमधुर सम्बन्धका आधार हुने गरेका छन् । प्रायः प्रकाशकहरूले पनि लेखकलाई नै पुस्तक समीक्षा वा समालोचनाका लागि जिम्मा दिने गरेको पाइन्छ । र, लेखकले आफूले मनले खाएका वा आफूनिकटका समीक्षकहरूलाई समीक्षा वा समालोचनाका लागि पुस्तक दिने गरेका छन् । यसरी आफूसँग घनिष्ठ सम्बन्ध भएका लेखकले पुस्तक समीक्षा÷समालोचना गर्न दिएपछि स्वभावतः समीक्षकहरूले पुस्तक हेरेर होइन, लेखकको अनुहार हेरेर समीक्षा गर्ने गर्दछन् । अर्थात्, पुस्तकप्रति स्वतः सहानुभूतिपूर्ण नजर पोखिन्छन् । हामीकहाँ आलोचना संस्कृति त्यति फस्टाएको नहुँदा न त समीक्षकले आलोचना गर्ने आँट देखाउँछन्, न त लेखकमा आलोचना पचाउने रसायन नै पर्याप्त छन् । अझ आलोचनात्मक दृष्टिकोण पस्किँदा लेखक रिसाउँछन् भन्ने मनोविज्ञान हावी भएकाले समीक्षकहरू पनि कटु टिप्पणी गर्नबाट पन्छिन चाहन्छन् ।
अहिले मिडियाहरूमा जेजस्ता पुस्तकहरूका समीक्षा आइरहेका छन्, ज–जसले समीक्षाका नाममा पुस्तकमाथि सहानुभूतिजन्य नजर पोख्ने काम गरिरहेका छन्, यसले आमपाठकको आँखामा धुलो हाल्ने काम मात्र भइरहेको छ । अझ, समीक्षा पढेर पुस्तक खरिद गर्ने पाठकलाई त प्रकाशक, मिडिया, लेखक र समीक्षकहरूले सोह्रै आनामा झुक्याइरहेका छन् । यस्तो परिस्थितिबीच, इतिहासकार डा. पन्तको पुस्तकले मिडियामा स्थान नपाउनु, कुनै समीक्षकले सो पुस्तकमाथि टिप्पणी गर्न नचाहनु खासै अनौठो विषय होइन । किनकि, यो पीठो बिक्ने समय हो ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

दुग्ध उद्योगमाथि कारबाहीको तयारी

काठमाडौं । बालाजु क्षेत्रका दुग्ध उद्योगको गुणस्तरमा समस्या देखिएको पत्ता लागेको छ । सोमबार सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पल्टनघरका नारी स्रष्टाहरू

नेपाल अंग्रेज (इस्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको २ सय २ वर्ष भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

मानिससँग संवाद

राधाकृष्ण भट्टराईको लेखन मान्छेको वरिपरि घुम्छ । मानिसभन्दा पर उनको लेखन–क्षितिज उज्यालिँदैनन् । मान्छेका पीडा, व्यथा, खुसी, उल्लास, दैनन्दिन क्रियाकलापहरूलाई सिर्जनाको आकाशमा- ...
पूरा पढ्नुहोस्

छोटकरीमा