बिक्री नै हो उत्कृष्टताको मापन ?
विवश वस्ती
सर्वोत्कृष्ट एवं गुणवत्ताले भरिपूर्ण रचनाको मापदण्ड के हो ? के कुनै पुस्तक धेरैभन्दा धेरै संख्यामा बिक्री हुन नै त्यसको गुणस्तरीयताको मापन हो ? वा, कुनै पस्तक कम संख्यामा बिक्री हुनुचाहिँ त्यसको स्तरहीनताको चिनारी हो ? हामीकहाँ होस् वा विश्व–सन्दर्भमा यो बारम्बार उठिरहने प्रश्न हो– उत्कृष्ट रचना÷कृतिको मापदण्ड के हो ?
केही दशकयता, निजी प्रकाशन गृहहरूबीच पुस्तक प्रकाशनमा प्रतिस्पर्धाको लहर नै चलेको छ । नयाँ र आकर्षक आवरण एवं साजसज्जाले युक्त पुस्तकहरू प्रकाशन हुन थालेका छन् । कतिपय प्रकाशकहरूले त पुस्तकलाई यति साजसज्जायुक्त तुल्याएर बजारमा ल्याउने गरेका छन् कि मानौं त्यो कुनै अति आवश्यक उपभोग्य सामग्री हो । जसरी कुनै खाद्य–उत्पादकले बजारमा ल्याइने खानेकुराहरूको गुणस्तर वा स्वास्थ्यबद्र्धक पक्षलाई भन्दा पनि कलेवरमा विशेष ध्यान दिन्छन्, कलेवरलाई लोभलाग्दो तरिकाले सजाएका हुन्छन्, अचेल प्रकाशकहरूले पनि त्यही तौरतरिका अपनाएकोमा दुईमत देखिँदैन ।
पुस्तक प्रकाशनको बढ्दो लहरसँगै प्रकाशकद्वारा रुचाइएका कृपाप्राप्त नयाँ–पुराना दुवै पुस्ताका स्रष्टाका पुस्तकहरू निस्किँदैछन् । कोभिड–१९ को महामारीकालमा पुस्तक बजार केही हदसम्म सुस्ताए पनि त्यसअघि र पछिका दिनहरूमा भने प्रकाशन व्यवसाय आशालाग्दो नै देखिन्छ । कोभिड–१९ पछि पाठकको क्रयशक्तिमा ह्रास आएको अनुमान गरे पनि पुस्तकहरू निस्किरहेका छन् र सम्भवतः प्रकाशकहरूले निराशा प्रकट गर्नुपरेको छैन ।
पुराना एवं बजारमा अप्राप्य पुस्तकहरू पनि पुनः प्रकाशन हन थालेका छन्, पछिल्लो समय । यसलाई सुखद पक्ष मान्न सकिन्छ । सामयिकताबोधको कोटीमा नपर्ने भए पनि कहिल्यै पुराना र थोत्रा नहुने शास्त्रीय पुस्तकहरू पनि प्रकाशन गरेर नयाँ पुस्तालाई ज्ञानको बृहत् क्षितिजमा आबद्ध तुल्याउने कार्यसमेत हुनुलाई सकारात्मक मान्नुपर्ने हुन्छ । त्यस्ता पुस्तक प्रकाशन गर्दा बिक्रीमा छलाङ मार्न त नसकिएला तर पनि भाषा–साहित्यप्रतिको दायित्वबोधलाई झल्काउन र आफ्नो प्रकाशनगृहको गरिमामा वृद्धि ल्याउन यथेष्ट भूमिका खेल्ने भएको हँुदा पनि प्रकाशन गृहहरूले शास्त्रीय पुस्तकहरूसमेत प्रकाशन गर्न थालेको प्रतीत हन्छ । कविशिरोमणि लेखनाथ पौड्यालको सबै कृतिहरूलाई एउटै ग्रन्थावलीमा प्रकाशन गर्ने हिम्मत उठाएको नेपालयजस्ता प्रकाशन गृहको कार्यलाई स्तुत्य मान्नुपर्छ । अझ अहिले बजारमा उपलब्ध नहुने तर कुनै समय निकै चर्चा पाएका, कहिल्यै पुराना नहुने कृतिहरू प्रकाशन गर्न कतिपय प्रकाशन गृहहरूले चासो देखाइरहेका देखिन्छन् । तर त्यस्ता कृतिहरूको स्वामित्व लिने कार्यमा सफलता पाउन ती प्रकाशन गृहहरूले नसकिरहेका कारण त्यो कार्य त्यत्तिकै अल्झिरहेको देखिन्छ ।
पछिल्लो समय, साहित्य र गैरसाहित्यका पुस्तकहरू बराबरी संख्यामै बजारमा देखा परेका छन् । पाठकको रुचिलाई केन्द्रमा राखेर प्रकाशन व्यवसायलाई चम्काउन नयाँ पुस्ताका युवा व्यवसायीहरूले अग्रसरता लोभलाग्दो देखिन्छ । नाम चलेका प्रकाशन गृहहरूले आख्यान विधाका पुस्तक प्रकाशनमा रुचि देखाउनु स्वाभाविकै हो । गैरआख्यान विधाका पुस्तकहरू पनि यदाकदा प्रकाशित गरिरहेका छन् । साहित्यबाहेक राजनीति, अर्थनीति, समाजशास्त्र, इतिहासका पुस्तकहरूका प्रकाशनमा अधिक चासो र तत्परता देखाइरहेको प्रस्टै देखिन्छ । पाठकको रुचिको क्षितिज दिनानुदिन फराकिलो बन्दै गइरहेको हँुदा पनि साहित्य÷गैरसाहित्य दुवै विधामा पुस्तक प्रकाशनले बजार ढाक्दै गइरहेको स्पष्टै हुन्छ ।
पुस्तकको बजार विस्तार हुँदै गए पनि एउटा संशय भने निश्चय नै उठ्दछ– के प्रकाशनगृहहरूबाट उनीहरूले दावी गरेजस्तो उच्च गुणवत्ताका कृतिहरू प्रकाशन भइरहेका छन् कि बिक्रीलाई मात्र प्राथमिकता दिएर गुणस्तरहीन पुस्तकहरू प्रकाशनमा अग्रसरता देखाइरहेका छन् ? निश्चय नै, राम्रा र गुणवत्तायुक्त कृतिहरू आम पाठकले मन पराउनु स्वाभाविकै हो । त्यस्ता कृतिहरू तात्तातै बिक्री नभए पनि गम्भीर पाठकहरूले खोजेर नै अध्ययन गर्ने गर्छन् । बिक्रेताहरूले पनि त्यस्ता कृतिहरू कुनामा थन्काएर चर्चा÷परिचर्चा कमाएका पुस्तकहरूलाई अग्रभागमा सजाउँछन् । साथै, प्रकाशकहरूले त फ्लेक्सप्रिन्ट गरेर प्रचार नै गर्नुलाई अनौठो विषय मान्न मिल्दैन ।
हामीकहाँ आम पाठकलाई लक्षित गर्न गम्भीर नभई हल्काफुल्का विषयवस्तुका पुस्तकहरू प्रकाशनमा प्रकाशन गृहहरूले जोड दिँदै आएका छन् । गहन र गम्भीर विषयवस्तुका एकाध कृतिहरू प्रकाशन गरे पनि अधिकांशतः सामान्य विषयवस्तुका कृतिहरू नै प्रकाशन गर्न प्रकाशन गृहहरू अग्रसर देखिँदै आएको प्रस्टै देखिन्छ । हुन पनि व्यवसायमा नाफाघाटाकै लेखाजोखा हुने भएको हुँदा घाटाको व्यापार गर्ने रुचि कसमा होला र ? त्यही कारण बिक्रीमा छलाङ मार्ने उद्देश्यस्वरूप नै पुस्तक प्रकाशनमा ध्यान दिन प्रकाशकहरू बाध्य हुनु स्वाभाविकै हो ।
तर के धेरै चर्चा÷परिचर्चा कमाएका र बिक्रीका हिसाबले पनि अब्बल ठहरिएका पुस्तकहरू गुणवत्ताले भरिपूर्ण हुन्छन् त ? यो प्रश्नसँगै संशय पनि उत्पन्न हुनु स्वाभाविकै हो । धेरै बिक्री हुनु वा चर्चा–परिचर्चा कमाउनु नै कुनै पनि रचना वा कृतिको उत्कृष्टताको मापन होइन र बन्न सक्दैन पनि । तर, हामीकहाँ एउटा भ्रम भने मौजूद छ– धेरै बिक्री भएका कृति नै राम्रा हुन्छन्, उत्कृष्ट हुन्छन् । यस्तो भ्रम सिर्जना गर्नमा तिनै प्रकाशनगृहहरू जिम्मेवार छन्, जसले नाफालाई नै सर्वोपरी ठानेर कदम चालिरहेका हुन्छन् ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- सीमित वृत्तभन्दा बाहिर
- पितृसत्ताको नग्न अनुहार
Leave a Reply