24th September 2017, Sunday

E-budhabar

समाजको यथार्थ पस्किन मन पराउँछु



समाजको यथार्थ पस्किन मन पराउँछु

– कथा लेखनतिर कसरी आकर्षित हुनुभयो ?

० प्रायः सबैले जस्तै मैले पनि कविता लेखनबाट नै साहित्य क्षेत्रमा पाइला चालेको हुँ । त्यसपछि लघुकथा र कथा लेख्न थालें । २०३१÷०३३ को कालखण्डमा विराटनगरमा युवा साहित्यिक परिवार थियो । त्यसमा संलग्न वासु वराल कथा मात्र लेख्थे । अशेष मल्ल, इन्दिरा शर्मा, लक्ष्मण नेवटिया, म र अरू साथीहरू कविता, लघुकथा, कथा सबै लेख्थ्यौं । त्यसैबेला हामीले लेखेका लघुकथाहरू समेटेर ‘प्रयोग’ नामक लघुकथा संकलन प्रकाशित ग¥यौं । मेरो कथा लेखनको प्रस्थान बिन्दू यही लघुकथा सङ्कलन थियो ।

– लेखनको प्रारम्भिक चरणमा कसका कथाबाट प्रभावित हुनुहुन्थ्यो ?

० नेपालीमा गोविन्दबहादुर मल्ल, मदनमणि दीक्षित आदि मलाई आधुनिक कथाकार लाग्दथे । यिनको कथालेखनबाट केही न केही प्रभावित थिएँ हुँला । तर त्यसबेला हिन्दी भाषाका कथाहरू धेरै पढ्ने गरेकाले मेरा अत्यन्त प्रिय कथाकार प्रेमचन्द थिए । ममा प्रेमचन्दका कथाहरूका प्रभाव छ ।

– तपाईंको कथा लेखनलाई सघाउन कस्तो परिवेश, वातावरण र जनजीवनले भूमिका खेलेका छन् ?

० मेरो कथालेखनलाई सघाउन तत्पर रहने भनेको मेरै वरिपरिका कहिले आफ्नै, कहिले अरूका अभाव, विपन्नता, गरिबी, विसंगति, विकृति, बेथिति आदि हुन् । हाम्रो परिवेश, वातावरण एवं जनजीवन कष्टकर एवं पीडादायी नभइदिएको भए सायद म कथाकार हुने थिइनँ होला । यिनले मलाई कथालेखनमा सघाएका वा कच्चापदार्थ उपलब्ध गराएका छन् । तर यिनले मलाई नसघाऊन् र म कथाकारिताबाट निवृत्त हुन सकूँ । यो परिवेश फेरियोस् । सुख, शान्ति, समृद्धिले जनजीवन प्रफुल्ल बनोस् ।

– तपाईंका कथाहरू प्रायः मधेसको समाजभित्र बाँचिरहेका मानिसहरूबीचका द्वन्द्व, पीडा, खुसीकै सेरोफेरोमा घुमेका पाइन्छन्, किन मधेसलाई नै लेखनमा उतार्न चाहनुभएको हो ?

० मेरा कथाहरूमा मधेसको चित्र धेरै आएको छ । म जहाँ जन्मिएँ, हुर्किएँ, खेलें, कुदें, दौडिएँ, लडें, त्यो माटो तराई–मधेस हो, जो मलाई प्यारो छ । लेख्नु भनेको कुनै अयथार्थिक काल्पनिक जगत्को विषय होइन, आफ्नै परिवेश, वातावरण, जनजीवन नै हो । म समाजको यथार्थ पस्किन मन पराउने कथाकार हुँ । तसर्थ मैले म जन्मिएको, हुर्केको, लडेको, बढेको समाजलाई आफ्ना कथाहरूमा उतार्दा मधेसको समाजभित्र बाँचिरहेका मानिसहरूका द्वन्द्व, पीडा, खुसी आदि मेरा कथाहरूमा प्रस्तुत भएका हुन् । त्यसो त मधेसको समाजभित्र बाँचिरहेका मानिसका कथाहरू बाहेकका राजनीति, भ्रष्टाचार, गरिबी, विपन्नता, कर्मचारी जीवनका पीडा आदि धेरै अन्यान्य विषय पनि मेरा कथाका विषय बनेकै छन् ।

– तपार्इंलाई आञ्चलिक कथा–सर्जकभन्दा फरक नपर्ला । पछिल्लो समय आञ्चलिक कथा लेखनको अवधारणा मेटिँदै गएको हो ?

० मलाई आञ्चलिक कथा–सर्जकको परिभाषाभित्र राख्नु मेरा कथाहरूलाई अध्ययन गर्ने समालोचक÷पाठकहरूको विषयको कुरा हो । आञ्चलिक कथा–सर्जक भने पनि नभने पनि केही फरक पर्दैन । मुख्य कुरा मेरा कथाहरूले कस्तो स्तर निर्वाह गर्न सके, मेरो कथाको शक्ति के हो, यसले दिने सन्देश के हो, प्रभाव के हो ? आदि विषय महŒवपूर्ण हुन् । आञ्चलिक लेखनको अवधारणाको आवश्यकतालाई पछिल्लो समय हाम्रो परिवेशका अन्यान्य जल्दाबल्दा विषयले प्रतिस्थापन गरेकै छन् । आञ्चलिकताभन्दा पनि लेखनमा जीवनका पीडा, आँसु, बेथिति, दुःख, अभाव आदि अधिक मुखरित हुने गरेर यस्तो अवधारणा मेटिँदै गएको होला ।

–.नेपाली र विश्व साहित्यका मनपर्ने कथाकारहरूका नाम लिनुपर्दा ककसको नाम लिन चाहनुहुन्छ ? अत्यधिक प्रभाव पार्ने कथासर्जक को हुन्, तपाईंका निम्ति ?

० नेपालका मन पर्ने कथाकार थुप्रै छन् । अग्रज, समकालीन र मपछिको पुस्ताका धेरै कथाकार मन परेका छन् । अग्रज पुस्ताका गोविन्द गोठाले र मदनमणि दीक्षित प्रमुख रूपमा मन परेका नेपाली कथाकार हुन् । विदेशीमा प्रेमचन्द, चेखब, सहादत हसन मन्टो आदि प्रमुख रूपमा मलाई मन परेका कथाकार हुन् ।

–तपार्इंको कथा लेखनमा क्रमशः समृद्धता हासिल गर्दै गइरहेको पाइन्छ । के त्यस्तो अनुभूति गर्नुहुन्छ पछिल्ला लेखनहरूमा ?

० मैले लेखेका कथाहरू पहिले पनि र अहिले पनि कहिले स्तरीय लेख्न सकें, कहिले कमसल । अहिले पनि कहिले स्तरीय भइदिन्छन्, कहिले कमसल । यो मैले अनुभूत गरेको कुरा हुन् । स्तरीय लेखूँ भन्ने को चाहँदैन र ? तर कथाकारको धर्म कथा लेख्नु हो । यसरी लेख्दै जाँदा कहिले अलिक स्तरीय वा शक्तिशाली र कहिले कम स्तरीय वा कमसल कथा लेखिन पुग्दछ ।
मैले कथालेखनमा प्रारम्भिक चरण पार गरेको समय हो, २०३९ साल । लेख्न प्रारम्भ गरेको प्रकाशनका हिसाबले २०३४ साल हो । ४० वर्षभन्दा बढीको कथा लेखनमा अहिले पनि मैले कथा लेख्दा यदाकदा कमसल लेख्न पुगेको छु । यसको तात्पर्य कथाकारको धर्म कथा लेख्नु, लेखिरहनु हो भन्ने मलाई लागेको छ । कमसल लेखिएला कि भनेर डराउने हो भने कथा लेख्न नै सकिँदैन । म मेरो धर्म निर्वाह गरिरहन चाहन्छु ।

० कविता लेखनमा चाहिँ खासै जम्न सक्नुभएन । रहरले मात्र त लेख्नुभएको थिएन कविता ?

– कविता लेखनको मेरो मुख्य उद्देश्य निरंकुश राज्यसत्ताबाट मुलुकलाई मुक्ति दिलाउन जनमनमा चेतनाको प्रकाश छर्नु थियो । म आफूलाई गोपालप्रसाल रिमाल, भूपि शेरचन र वासु शशीजस्ता परिवर्तनका लागि कलम चलाउने कविहरूको अनुयायी ठान्दथें । त्यसैले रहरले मात्र मैले कविता लेखेको थिइनँ । म चेतना सम्हालेदेखि नै निरंकुशताको विरोधी थिएँ । कोही राजनीतिक संगठनका माध्यमबाट यो काम गर्दथे भने म कविताका माध्यमबाट यस्तो काम गर्न चाहन्थें । हो, मलाई पनि लाग्छ म कवितामा उति जम्न सकिनँ जति कथामा जम्न सकें । तर मेरा केही कविताले मलाई औधि सन्तोष दिएका छन् ।

० कथा र कविता लेखनमा आफूलाई कुनमा सफल र धेरैभन्दा धेरै अभिव्यक्त भएको ठान्नुहुन्छ ?

– मेरा कविताहरू कथा जति सफल हुन नसकेको सत्य हो । यो मलाई पनि बोध भएकै छ । तर खेद छैन । किनभने म कविताले लक्षित गरेको मेरो उद्देश्यमा त सफल छु । कथामा पनि मैले परिवर्तनका विषय समेटेको छु । तर मेरा कथा सामाजिक परिवर्तनका विषयतर्फ बढी उन्मुख छन् । राजनीतिक विषय छँदै छैनन् मेरा कथामा भन्ने पनि होइन । उदाहरणका लागि मेरो कथा ‘तस्बिर’ र ‘काठमाडौंमा सूर्यस्नान’ राजनीतिक विषय मुखरित भएका कथाहरू हुन् । अरू पनि छन् । तर कथाको दायरा फराकिलो हुन्छ । निश्चय पनि कथामा धेरै अभिव्यक्त हुन सकिन्छ । तपाईंहरूले ठह¥याएझैं कथामा कवितामा भन्दा बढी सफल छु भन्ने म आफूलाई पनि लागेको छ ।

० नेपाली कथालाई अझै पठनीय, आमपाठकको रुचिको विधा र विशिष्ट बनाउन के गर्नुपर्ला भन्ने लाग्छ तपाईंलाई ?

– नेपाली कथालाई अझै पठनीय बनाउन अझै धेरै स्तरीय, शक्तिशाली कथाहरू लेखिनुपर्दछ भन्ने मलाई लाग्दछ । यो तब मात्रै सम्भव होल,ा जब पुराना कथाकारहरू कथा लेख्न नछाडुन् । नयाँ नयाँ कथाकार कथा लेखनमा लागुन् । धेरै अध्ययन गरियोस् । संसारको कथा लेखनको ट्रेन्डबारे जानकारी राखियोस् । कतिपय राम्रा कथाकारहरू कथा लेखनबाट हराएका देखिएको छ, यस्तो नहोस् । विषय, सन्दर्भ त आफ्नै परिवेशको भइहाल्यो । जनमनलाई कथाले छुन सकेन भने त्यो पनि आमपाठकको रुचिभित्र नपर्ने हुन पुग्छ । यसतर्फ कथाकारहरू सचेत हुनैपर्छ । यसका लागि जनमनकै दुःख, पीडा, आँसु, हाँसो कथामा आउनैप¥यो । यसैलाई जब साहित्यिकताको जलपले पस्किने काम गरिन्छ तब कथा विशिष्ट हुन पुग्दछ भन्ने लाग्छ ।

० पछिल्लो समय कथासम्बन्धी वेबसाइट पनि चलाइरहनुभएको छ । कथाप्रति मानिसहरूको रुचि कत्तिको बढिरहेको पाउनुभएको छ ?

– मैले हालको बदलिँदो समयअनुसार इन्टरनेटलाई नेपाली कथा साहित्यको प्रवद्र्धनमा उपयोग गर्न सकिन्छ कि भन्ने लागेर ‘कथा’ नै नाम दिएर सामाजिक सञ्जाल फेसबुकमा एउटा ग्रुप स्थापना गरेको छु । यसलाई कथा पाना, कथा पेज वा कथा समूह भन्न सकिन्छ । यो ‘कथा’ नाम गरेको पेज वास्तवमा एक खुला पत्रिका भएको छ । जसमा कथाकार आफैं आफ्नो कथा छाप्न (पोस्ट गर्न) सक्छन् । कथा सम्बन्धमा छलफल चलाउन सक्छन् । कथावार्ता प्रकाशन गर्न सक्छन् । कथा सम्बन्धमा जे पनि चर्चा–परिचर्चा गर्न सक्छन् । यसबाट राम्रो के भएको छ भने धेरैको अभिरुचि नेपाली कथामा जागृत भइरहेको छ ।

० पछिल्लोपटक कुन कथा लेख्नुभयो र त्यसको विषयवस्तु के थियो ?

– म आजकाल अस्थायी रूपमा भए पनि काठमाडौं उपत्यकामा बसिरहेको छु । मेरो लेखनको प्रेरणास्रोत मेरै परिवेश हुने गरेकाले अहिले मैले काठमाडौं उपत्यकाकै परिवेशमा केही कथाहरू लेखेको छु । एउटा कथा ‘तयार नायक’ शीर्षकमा लेखेको छु, केही अघि मात्र । यो भक्तपुरमा मनाइने जिब्रो छेड्ने जात्रासित सम्बन्धित छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

प्रशासकको सहयोगविना मन्त्रीले भ्रष्टाचार गर्न सक्दैन

रणोद्वीप सिंह वा वीर शमशेरको पालाको कुरा श्री ३ लाई मन परेकी एउटी सुसारे थिइन । राणा परम्परामा सुसारे, नानी, मैयाँ साहेब, रानी, महारानीसमेत भनेर विभिन्न श्रेणीमा भित्रिनीहरूलाई- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जना चोरी लाजको पराकाष्ठा

सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न- ...
पूरा पढ्नुहोस्

छोटकरीमा