24th June 2018, Sunday

E-budhabar

सम्झिरहनुपर्ने व्यक्तित्व श्यामप्रसाद



सम्झिरहनुपर्ने व्यक्तित्व श्यामप्रसाद

प्रजातन्त्रको बिगुल फुक्न राणा शासनको विरोधमा लाग्नु त्यसबेला कम चुनौतीपूर्ण थिएन । त्यस चुनौतीको सामना गर्दै राजनीति, साहित्य र संस्कृतिका माध्यमबाट नेपाली समाजमा चेतना फैलाउने प्रगतिशील साहित्य क्षेत्रका एक धरोहर श्यामप्रसाद शर्माको भौतिक शरीर अब हामीमाझ रहेन । हुन त के साहित्य प्रगतिशील र अगतिशील हुन्छ ? यो प्रश्न आजको गणतान्त्रिक समयमा असान्दर्भिक होइन । मूलतः साहित्य प्रगतिशील नै हुन्छ, जसरी हरेक समाज गतिशील हुन्छ । समाजबाट साहित्य अलग रहन सक्दैन अनि समाज र साहित्य दूवै अग्रगतिको पक्षपोषक नै हुन्छ, यस्ता धेरै प्रश्नका उत्तर श्यामप्रसादका कृति र उनको सरल जीवनशैलीले दिन्छ ।
वास्तवमा समाजमा हामी हिजोदेखि आज वा भोलि जे गर्छाैं, त्यो प्रगतिकै लागि गर्छाैं । विचारमा लोकतन्त्रवादी वा वामपन्थी जे भए पनि मूलतः ती प्रगतिको द्योतक हो मानव जाति । फरक यति हो, वामपन्थीहरू प्रगतिवादी हुन सक्छन् भने प्रजातन्त्रवादीहरू त्यो वादलाई मान्न बाध्य हुँदैनन्, तर उनीहरू प्रगतिशीलतालाई आत्मसात् गर्न सक्छन् । प्रगतिवाद माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादसँग सम्बन्धित छ । यो साम्यवादी, जनवादी र समाजवादी गन्तव्यको वैचारिक यात्रा हो । प्रगतिशीलतामा त्यो वाद अनिवार्य हुनुपर्छ भन्ने छैन, विचारमा उदारवादी पनि प्रगतिशील मानिन सक्छन् ।

Shyam PrasadShyam Prasad

नेपालको राजनीतिक, साहित्य र सांस्कृतिक क्षेत्रमा प्रगतिशीलता र प्रगतिवादबारे आधुनिककालमा लेखनीबाट जनस्तरमा फिँचाउने श्रेय श्यामप्रसाद शर्मालाई जान्छ । राणा शासनको विरोध र प्रजातन्त्रको बिगुल फुक्नुपर्ने समयमा प्रगतिशील र प्रगतिवादको पक्षमा लाग्नु चुनौतीको विषय थियो, जुन काम श्यामप्रसाद जीवनको पर्वाह नगरी गरेका थिए । श्यामप्रसाद नै संस्थापक अध्यक्ष रहेको २००९ सालमा स्थापित प्रगतिशील लेखक संघ अद्यापि क्रियाशील छ । पछि २०५० सालमा पुनः अध्यक्ष भई उनले संस्थालाई वामपन्थी लेखक कलाकारको साझा संस्थाको मोर्चाका रूपमा उभ्याउन योगदान दिएका थिए । कम्युनिस्ट आन्दोलनमा गुट÷उपगुट र विभाजनको रेखा कोरिँदा जनताले दुःख पाउने भावनासहितले उनले त्यो संस्थाको निरन्तरताको केन्द्रबिन्दुमा आफूलाई टेकाएको देखिन्छ । श्यामप्रसादकै संस्थापक अध्यक्षतामा २००९ सालमा प्रगतिशील लेखक संघ स्थापना भएको थियो ।
मकवानपुर जिल्लाको हालकोे मन्थली गाविसमा पर्ने सोलीथुम गाउँको निम्न वर्गीय परिवारमा १९८६ साल असार ६ मा जन्मेका श्यामप्रसाद जातीयताबाट माथि उठ्दै शर्माको थरलाई त्यति प्रचलनमा ल्याउन चाहँदैनथे, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले श्रेष्ठ हटाएझैं । त्यही भएर होला समालोचक गोविन्द भट्टले श्यामप्रसादलाई ‘नेपाली प्रगतिवादका सिद्धपुरुष’ को संज्ञा दिएका थिए । श्यामप्रसादमाथि विद्यावारिधि गर्ने प्रां धर्मराज अधिकारीले ‘नेपाली प्रगतिशील साहित्यका धरोहर’ मानेका छन् ।
तिनै वरिष्ठ प्रगतिवादी साहित्यकार श्यामप्रसादलाई पहिलोपटक एक वर्षअघि काठमाडौंमा नागरिक अभिनन्दन गरिएको दिन बल्लबल्ल कार्यक्रममा सहभागी गराइएको थियो । ‘श्यामप्रसाद राष्ट्रिय अभिनन्दन मूल समिति’ को विशेष आग्रहमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको ठूलो हलमा त्यो कार्यक्रम भएको थियो । त्यसबेला उनको बोली लगभग बन्द भइसकेको थियो । अल्जाइमर र अन्य समस्याका कारण उनी दोहोरो कुरा गर्न नसक्ने, अरूले भनेको एकोहोरो सुन्ने, सकेसम्म ‘ए, अँ, हो’ भनेर सुरबेसुरमा मुन्टो हल्लाउने गरेर उनका यसबीचका समय गुज्रिए ।
अरूको हित र सेवाभाव सोच्ने तर आत्मप्रचार मन नपराउने श्यामप्रसादलाई जीवनको यो बुढ्यौली अवस्थामा उनका समकालीनको परामर्शमा अनुजहरूले अभिनन्दनको चाँजो नमिलाएको भए उनलाई नागरिक सम्मान गर्नबाट हामी चुक्ने रहेछौं । साहित्यकार राम विनय संयोजक, डा. हेमनाथ पौडेल सहसंयोजक र डा. देवी नेपाल सदस्य सचिव रहेको उक्त समितिले श्यामप्रसादबारे ग्रन्थ प्रकाशन र बाँकी कृति प्रकाशनको पनि लक्ष्य लिएकामा अब स्मृति ग्रन्थ प्रकाशनको कार्यभार आएको छ भने बाँकी पुस्तक प्रकाशन गहन जिम्मेवारी रहेको छ ।
श्यामप्रसादका निबन्ध, दैनिकी, गीत, कविता, बालसाहित्य तथा धर्म, अर्थ, अनुवाद आदि गरी करिब १५० कृति प्रकाशित छन् । ‘लेखक कसरी बन्ने ?’ ‘तँ, तिमी, तपाईं, हजुर’ निबन्ध संग्रह, ‘बहिनीलाई चिट्ठी’, ‘थुनुवाको डायरी’, ‘मेरी आमा’ जस्ता उनका कृति प्रसिद्ध छन् ।
समाजमा पछाडि पारिएका वा तल्लो वर्गलाई हित गर्ने सामाजिक परिपाटी स्थापना हुनुपर्ने वैचारिक भावलाई नै केन्द्रबिन्दुमा राखेर श्यामप्रसादले लेखेको पाइन्छ । आकारका हिसाबले साना हुने भए पनि विचार र सन्देशका दृष्टिले उनका कृति मूल्यावान् छन् । त्यही भएर उनी आज पनि प्रेरणाको पुञ्ज र सबैका पूज्य भएका छन् । उनका रचनामा प्रगतिवाद पाइए पनि ती जडसूत्रवादी या यान्त्रिक नभई व्यावहारिक र सरलीकृत हुन्छन् । उनको ‘शान्ति र केटाकेटी’ शीर्षकको कवितांशले पनि पुष्टि गर्छ कि उनी कति सरल रूपमा आफ्ना बृहत् सन्देश छरिरहेका हुन्छन् ः
‘संसारमा शान्तिजस्तो
ठूलो अरू के छ ?
केटाकेटीहरूजस्ता
शुद्ध अरू को छन् ?’
स्रष्टा श्यामप्रसादमाथि प्रां धर्मराज अधिकारीले विद्यावारिधि तथा डिल्ली पाण्डेलगायतले शोध पुस्तक प्रकाशन गरिसकेका छन् । प्राज्ञ नरनाथ लुइँटेलले विशेष अध्ययन अनुसन्धान जारी राखेका छन् । श्यामप्रसादबारे नागार्जुन, जनमत आदि पत्रिकाले विशेष अंक पनि प्रकाशन गरेका थिए । श्यामप्रसादको पार्थिव शरीरमा श्रद्धाञ्जली दिए पनि उनका एक सहयात्री शान्तदास मानन्धरले भनेझैं अब श्यामप्रसादलाई थप अध्ययन गर्नुपर्छ, किनकि उनको व्यक्तित्व र योगदानको आयाम असीमित छ ।’
नेपाल प्रज्ञा प्रतिष्ठानको पृथ्वी प्रज्ञा पुरस्कार ग्रहण वा केही पारिवारिक सवालमा उनका केही कमजोरी भए पनि विभिन्न क्षेत्रमा योगदान र लेखनीमा हुने प्रगतिशील सन्देशले उनको नामलाई सँधै परिचित बनाइरहनेछ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

दुग्ध उद्योगमाथि कारबाहीको तयारी

काठमाडौं । बालाजु क्षेत्रका दुग्ध उद्योगको गुणस्तरमा समस्या देखिएको पत्ता लागेको छ । सोमबार सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पल्टनघरका नारी स्रष्टाहरू

नेपाल अंग्रेज (इस्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको २ सय २ वर्ष भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

मानिससँग संवाद

राधाकृष्ण भट्टराईको लेखन मान्छेको वरिपरि घुम्छ । मानिसभन्दा पर उनको लेखन–क्षितिज उज्यालिँदैनन् । मान्छेका पीडा, व्यथा, खुसी, उल्लास, दैनन्दिन क्रियाकलापहरूलाई सिर्जनाको आकाशमा- ...
पूरा पढ्नुहोस्

छोटकरीमा