20th February 2018, Tuesday

E-budhabar

सुस्ताउँदै छ नारी लेखन



सुस्ताउँदै छ नारी लेखन

‘गुलाफ फुलिसकेछ । कति राम्रो दुईवटा मात्र फुलेछ । कहिलेदेखि पर्खेको मैले यो पहेँलो गुलाफलाई । अझ अरू त फुलेकै छैनन् । यी नफक्रेका कोपिलालाई कति आनन्द छ अहिले । एउटा प्रगाढ निद्रा, अनन्त शान्ति । यी फक्रेका फूल कठै ।’
–‘पहेँलो गुलाफ’
२०७४ साल पुस महिनाको प्रारम्भिक दिनहरूमा यस शब्दहरूका प्रखर शिल्पी प्रेमा शाहको जीवनको अध्याय समाप्त भयो । पछिल्लो समय अमेरिकामा बस्दै आएकी शाहको उतै दुःखद् निधन भयो । बीसको दशकदेखि नै नेपाली कथा साहित्यमा बेजोड उपस्थिति दर्साउँदै आएकी शाहले आख्यान लेखनमा आफ्नै उचाइ बनाएकी थिइन् । ‘पहेँलो गुलाफ’ जस्ता नेपाली कथा साहित्यका प्रतिनिधिमूलक कथा लेख्ने शाह यौन मनोविज्ञानका साथै नारीमाथि परिवार र समाजले थोपरेका पीडालाई केलाउन चाहन्थिन् । उनी केही त्यस्ता सीमित नारी हस्ताक्षरमध्येकी थिइन्, जसले नेपाली कथा लेखनको सुदीर्घ परम्परालाई तन्काउन उल्लेख भूमिका खेलेकी थिइन् ।
नेपाली कथा लेखन कार्यमा नारी हस्ताक्षरहरूको उपस्थिति अत्यन्तै न्यून छ । सोखले लेख्नेबाहेक प्रतिबद्ध रूपले लेख्नेहरू औंलामै गन्न सकिने स्थिति छ । पहिलो पुस्ताका नारी कथा सर्जकहरूमध्ये एकाध मात्र अहिले पनि फाट्टफुट्ट लेखिरहेका छन् । र, पछिल्लो पुस्ताका नारी कथा सर्जकहरू पनि सीमित संख्यामा छन् र ती नारी हस्ताक्षरहरूले नेपाली कथा लेखनको परम्परालाई टेको दिने काम मात्रै गर्दै आएकी छन् भन्नु अत्युक्ति नहोला । तर, लेखन कार्यमा प्रतिबद्ध र व्यावसायिक रूपले लाग्ने वातावरण भने अझै निर्माण नभइसकेको हुँदा आजका नारी कथा सर्जकहरू पनि ‘स्वान्त सुखाय’ कै निम्ति लेखिरहेका छन् र नेपाली कथा जगत्लाई अग्रगति दिन क्रियाशील देखिन्छन् ।
खासगरी, बीस र तीसको दशकमा धेरै नैनारी कथा सर्जकहरू उदाए । नेपाली कथा लेखन कार्यमा नारी स्रष्टाहरूको सानदार उपस्थितिको प्रारम्भ सम्भवतः तिनै दशकदेखि भयो भन्दा अत्युक्ति हुँदैन । साहित्यका अरू विधामा केन्द्रित रहने नारी स्रष्टाहरू भए पनि अधिकांशले भने आफ्नो लेखनको केन्द्रीय विधाका रूपमा कथालाई नै लिएका थिए । नेपाली कथा लेखन समृद्ध हुनुमा नारी स्रष्टाहरूले यो विधाको महŒव, गरिमा र वजनलाई हृदयदेखि नै आत्मसात् गरेका कारण हो भन्न सकिने प्रशस्तै आधार छन् ।
नेपाली प्रगतिशील उपन्यास लेखनमा बीसको दशकदेखि सशक्त ढंगले उपस्थिति जनाएकी पारिजातलाई मूलतः उपन्यास लेखिकाका रूपमा चिन्ने गरिए पनि उनको कथा लेखनप्रतिको समर्पण भावलाई कम आँक्न मिल्दैन । प्रगतिशील विचार, चिन्तन र भावभूमिले भरिपूर्ण थुप्रै कथा पारिजातले नेपाली साहित्यलाई दिएकी छन् । खासगरी, सामन्ती समाजमा नारीले भोग्नुपरेका अनेक उत्पीडन, शोषण र बलात्कारजन्य घटनाहरू र त्यसले महिलामा पारेको पारिवारिक, सामाजिक र मानसिक असरबारे पारिजातले आफ्नो लेखनद्वारा सशक्त रूपले प्रतिकार गर्न चाहेकी देखिन्छन् । पारिजातकै समकक्षी प्रेमा शाहको लेखन भने केही फरक देखिन्छ । शाहले सहरका मध्यम र उच्च वर्गभित्रका नारीले भोग्नुपरेका कष्ट, यौन उत्पीडन, शोषण र यौन विकृतिबारे अधिकांश कथा सिर्जेकी छन् ।
तीसको दशकमा अरू थुप्रै महिला स्रष्टाले कथा लेखनलाई अपनाएर नेपाली कथा साहित्यलाई गति र उचाइ दिन भूमिका खेलिन् । त्यो समयदेखि लेख्न थालेकी माया ठकुरी, पद्मावती सिंह, भागिरथी श्रेष्ठ, मीरा प्रधान रेम, जलेश्वरी श्रेष्ठलगायत नारी स्रष्टाहरूमा आज केही सक्रिय लेखनमै छन् भने केही स्रष्टाका लेखन सुस्ताउन पुगेको छ । माया ठकुरी र पद्मावति सिंहले केही वर्षपूर्व आफ्ना कथाकृति बाहिर ल्याएकी थिइन् भने जलेश्वरी श्रेष्ठले एउटा उपन्यास । यसबाट बीसको दशकदेखि कथा लेखनमा उदाएकी नारी स्रष्टाहरू अझै सक्रिय लेखनबाट टाढा छैनन् भन्ने दृष्टान्त पेस हुन्छ । तर, भागिरथी श्रेष्ठ र मीरा प्रधानलगायतका लेखन भने पछिल्लो समय सेलाएको प्रतीत हुन्छ ।
युवा पुस्तामा भने कथा लेखनलाई नै मुख्य आधार बनाएर सिर्जनामा तल्लीन रहने नारी स्रष्टाहरूको अभाव खट्किँदै गएको छ । एकाध नारी स्रष्टाहरू मात्र कथा लेखनको समृद्ध परम्परा र इतिहासलाई धान्न उद्यत छन् भन्ने फरक पर्दैन । बदलिँदो समयसँगै कथा लेखनका निम्ति विषयवस्तुहरूको ताँती लाग्दै गए पनि त्यसलाई समातेर कथा लेखनमा समर्पित हुने नारी स्रष्टाहरू नितान्त कम छन् ।
केही दिनपूर्व नारी स्रष्टा अनुपम रोशीले नयाँ कथाकृति ल्याइन्– ‘मध्यान्तर’ । तर, उनको अभिरुचि भने उपन्यास लेखनमै रहेको प्रमाण यसअघि तीन औपन्यासिक कृति ल्याएबाटै मिल्दछ । तथापि, रोशीसँगै आन्विका गिरी, अर्चना थापा, ऋचा भट्टराईजस्ता पछिल्लो पुस्ताकी केही प्रतिनिधिमूलक सीमित नारी स्रष्टाहरू मात्र वर्तमानमा कथा लेखनमा सक्रिय छन् । यो नेपाली कथा साहित्यका निम्ति निश्चय नै सुखद र चित्तबुझ्दो विषय होइन ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

चन्द्रागिरिको ढुंगामा क–कसले गर्दै छन् गोलमाल ?

काठमाडौं । थानकोट–चन्द्रागिरि–चित्लाङ सडक आयोजना निर्माणका क्रममा ठेकेदारले उत्खननपछि आएको ढुंगा बेच्न पाउनुपर्ने लबिइङमा स्थानीय जनप्रतिनिधिहरू नै लागेका छन् । नीतिगत- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पुरस्कार र मेला–केन्द्रित प्रकाशन व्यवसाय

यस वर्षको हिउँदमा नेपाली प्रकाशनगृहहरू फेरि सुस्ताउन पुगे । हरेक वर्षको हिउँदमा निजी प्रकाशन गृहहरूले पुस्तक प्रकाशनमा तदारुकता देखाउन चाहँदैनन् । यो एउटा नियमित प्रक्रियाजस्तै- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

व्यक्तिवृत्त उघिन्ने कार्य

कुन मानिसमा कति प्रतिभा रहेको छ, कस्तो आनिबानी छ र के–कस्ता विषयहरूमा रुचि छन् ? यी सबै कुरा थाहा पाउन त्यस्ता मानिससँग गहिरो मित्रता र संगतको आवश्यकता पर्दछ । बाह्य रूपमा नियालेर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा