ल्हाक्र्याल देख्दा उनका तीन नेत्र
काठमाडौं । पछिल्लो समयमा संविधानसभमामा वितण्डा मच्चाउनेदेखि लिएर संविधानसभा नै छाड्नेसम्मका घुर्की दिने अवस्थासम्म आइपुग्दा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईबीच कसिएको लगनगाँठो फेरि खुस्किन सुरु भएको छ । विवादास्पद पृष्ठभूमिका ल्हाक्र्याल लामालाई सभासद् बनाएपछि एमाओवादीभित्र फेरि रडाको सुरु भएको हो ।
लामालाई सभासद् बनाएपछि एमाओवादीका आम कार्यकर्ता नेतृत्वप्रति रिसले चुर भएका छन् । भट्टराईका दाहिने हात भनेर चिनिने सभासद् प्रभु साहले हिजो सिंहदरबारमा पत्रकार सम्मेलन नै गरेर आपत्ति जनाए । तर, यो विषयमा भट्टराईले ट्वीटरमार्फत समर्थन गरेका छन् । दाहालबाट उधारो अध्यक्षको आश्वासन पाएका भट्टराई लामालाई सभासद् बनाएकोमा सन्तुष्ट नभए पनि त्यही उधारो अध्यक्षको आश्वासनका कारण विरोधमा बोल्न डराएको बताइए पनि उनले पछि समर्थन गर्न थालेका छन् ।
लामालाई सभासद् बनाएपछि पछिल्लो समयमा मोहन वैद्य नेतृत्वको माओवादीसँग एकताका लागि बन्दै गएको वातावरण पनि बिग्रिएको बताइन्छ । पछिल्लो समयमा एमाओवादीभित्र संविधानसभा छाड्नेसम्मको विषयमा छलफल चलिरहेको थियो । वैद्यले एकता गर्ने हो भने संविधानसभा छाडेर आउनुपर्ने सर्त राखेका थिए । वैद्य माओवादीका एक केन्द्रीय सदस्यले भने– ‘हाम्रो अध्यक्षलाई प्रचण्ड संविधानसभा छाडेर आउँछन् र पार्टी एकता पनि हुन्छ भन्ने थियो तर लामालाई सभासद् बनाएपछि उहाँका आँखा पनि खुलेका छन् । अब पार्टी एकता सम्भव छैन भन्ने निचोडमा पुग्नुभएको छ ।’ संविधानसभा पनि छाड्ने कि भन्ने तहसम्म पुगेर छलफल चलिरहेका बेला लामालाई सभासद् बनाउनु भनेको ‘हामी संविधानसभाकै वरिपरि छौं है’ भन्ने दाहालको राजनीतिक सन्देश भएको एकथरिको बुझाइ छ । तर, यस्तो बेला जस्तो पृष्ठभूमिको पात्र छान्ने काम भयो त्यसले एमाओवादी कार्यकर्ताकै शिर निहुराउनुपर्ने अवस्था सिर्जना भएको बताइन्छ ।
त्यति मात्र होइन, संविधानसभामा आफ्नो एजेन्डा स्थापित गर्नका लागि दबाब सिर्जना गर्न सडक आन्दोलनको घोषणा गरिएका बेला गरिएको लामालाई सभासद् बनाउने निर्णयले गर्ने भनिएको आन्दोलनलाई नै कमजोर पारेको माओवादी कार्यकर्ताहरूको बुझाइ छ । एमाओवादीका एक नेताले भने– ‘आन्दोलन गर्ने भनेपछि फाट्टफुट्ट रूपमा भने पनि कार्यकर्ता उठ्न थालेका थिए तर विवादास्पद छविका लामालाई सभासद् बनाएपछि आन्दोलनमा आउँदै गरेकाहरू फर्कन थालिसकेका छन् । यो प्रकरणले पार्टीभित्रकै मत विभाजित भएपछि आन्दोलन स्वत: कमजोर हुने पक्कापक्की नै छ ।
लामालाई सभासद् बनाएपछि नेतृत्वले पार्टीका लागि रगत–पसिना बगाएकाहरूलाई लात हानेर पैसालाई सम्मान गरेको गुनासो एमाओवादीका कार्यकर्ताले खुलेआम गर्न थालेका छन् । पार्टीलाई पैसा बुझाउने त छँदैछ, सभासद् बनाएबापत लामाले अध्यक्ष दाहाललाई एउटा फोर्ड गाडी उपहार दिएको स्रोतको दाबी छ । उनलाई सभासद् बनाउन उनकै जिल्ला सिन्धुपाल्चोकका नेता अग्नि सापकोटाको मुख्य भूमिका रहेको बुझिएको छ ।
दोस्रो संविधानसभाको उम्मेदवारी दर्ताकै दिन दाहालबाट टीका ग्रहण गरेर एमाओवादी प्रवेश गरेका लामा दोहोरो नागरिकता, राहदानी र भारतीय रासन कार्डलगायतका विवादमा मुछिएका थिए । झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री बनाइएका लामाको मन्त्री पद तिनै विवादका कारण १० दिनमै गुमेको थियो । त्यसबेला तत्कालीन प्रधानमन्त्री खनालले अर्थमन्त्री भरतमोहन अधिकारीलाई समेत थाहै नदिई लामालाई उनकै राज्यमन्त्री बनाएका थिए । अमेरिका जान विमानस्थल पुगेका अधिकारीले लामालाई राज्यमन्त्री बनाइँदैछ भन्ने सुनेपछि त्यहाँको शौचालयभित्र बाट खनाललाई फोन गरेर त्यो निर्णय नगर्न आग्रह गरेका थिए । तर, उनी अमेरिका पुग्दायता लामालाई राज्यमन्त्री बनाइसकिएको थियो । एमालेमा आउनुअघि नेपाली कांग्रेसमा रहेका उनलाई कांग्रेसले गुम्बा विकास समितिको सदस्य–सचिव बनाएको थियो ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply