शिक्षामन्त्रीले किन लुकाए डोलिन्द्रको कर्तुत ?
काठमाडौं । साझा प्रकाशनमा भएका अनियमितता छानबिन गर्न शिक्षा मन्त्रालयद्वारा गठित समितिले उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई प्रतिवेदन बुझाइसके पनि अहिलेसम्म सो प्रतिवेदन गुपचुप नै राख्दा सर्वत्र आशंका उब्जिन पुगेको छ । सो मन्त्रालयद्वारा गठित समितिले १० दिनअघि नै मन्त्री श्रेष्ठसामु प्रतिवेदन बुझाएको थियो ।
तर मन्त्री श्रेष्ठले भने सो प्रतिवेदन शिक्षा सचिव शान्तबहादुर श्रेष्ठलाई समेत नदेखाई गोप्य राखिएको बताइन्छ । सचिव श्रेष्ठले प्रतिवेदन नपाएका कारण सहसचिवको तहसम्म पनि आइपुगेको छैन । मन्त्री श्रेष्ठले साझाको अनियमितता छानबिन गर्न गठित समितिको प्रतिवेदन किन गोप्य राख्न रुचाए ? यो विषयले अहिले मन्त्रालयमा हल्लीखल्ली नै मच्चिएको छ ।
साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझालाई आफ्नो कमाइ खाने भाँडोका रूपमा प्रयोग गर्न थालेपछि र व्यापक रूपमा अनियमितता गरेका कुरा सार्वजनिक भएपछि शिक्षा मन्त्रालयले उपसचिव गणेश ढकालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिमा शिक्षाकै कर्मचारीहरू रेशम सिग्देल र सुनीता खनाल सदस्यका रूपमा थिए । सो समितिले १५ दिनको समय पाएको हुँदा समय छँदै साउन २९ गते मन्त्री श्रेष्ठसमक्ष प्रतिवेदन बुझाएको थियो ।
तर, मन्त्री श्रेष्ठले प्रतिवेदन बुझेको १० दिन बितिसक्दा पनि न त सचिवलाई सो प्रतिवेदन देखाउन चाहेका छन्, न त त्यसलाई कार्यान्वयन गर्ने तत्परता नै देखाएका छन् । मन्त्री श्रेष्ठले प्रतिवेदन गोप्य राखेका हुँदा उनी पनि साझामा भएका अनियमितता ढाकछोप गर्ने पक्षमा छन् कि भन्ने आशंका व्याप्त भएको छ । साझाका अध्यक्ष शर्माले सो संस्थालाई दुरुपयोग गरेर आर्थिक लाभ लिएको र सञ्चालक समितिको निर्णय बेगर नै जथाभावी रूपमा कर्मचारी भर्ना गर्ने कार्य गरेका थिए ।
यसैगरी, साझामा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अख्तियारको एक टोलीले साझाका सबै कागजात लगेको धेरै दिन बिते पनि छानबिनमा ढिलाइ गरिरहेको देखिएको छ । अध्यक्ष शर्मालाई पहिलोपटक सफाइ दिएका अख्तियारका उपसचिव रामप्रसाद सुवेदीलाई नै दोस्रोपटक पनि साझामा भएको अनियमितताबारे छानबिन गर्ने जिम्मेवारी दिएपछि अख्तियारको भूमिकालाई लिएर प्रश्नचिह्न उठ्न पुगेको थियो । यसैगरी, व्यवस्थापिका–संसद्को लेखा समितिले साझाका अध्यक्ष शर्मालाई बयानका लागि बोलाएर पाँच दिनभित्र पाँच वर्षको लेखा विवरण पेस गर्न आदेश दिएको थियो । तर, लेखा समितिले पनि त्यसयता छानबिन गर्न कुनै चासो देखाइरहेको छैन ।
मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालसँग बुझ्दा छानबिन समितिले प्रतिवेदन मन्त्रालयमा बुझाए पनि प्रतिवेदन सार्वजनिक नभएको बताए । उनले भने, ‘छानबिन समितिमा रहनेहरूले प्रतिवेदन बुझाएको कुरा सुनेको हुँ तर प्रतिवेदन भने मैले हेर्न पाएको छैन ।’
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply