एमाले नेताहरूलाई लगातार चीनको मन्त्रणा
नौ नेता बेइजिङमा, एक टोली फर्कियो, अर्को प्रस्थान
काठमाडौं । प्रधानमन्त्रीको भारत भ्रमण सन्देशको चर्चा सेलाउन नपाउँदै एमाले नेताहरूको चीन भ्रमणको आवतजावत बाक्लै चल्न थालेको छ । प्रधानमन्त्रीको भारत भ्रमण गरेकै समयमा चिनियाँ उपप्रधानमन्त्री र उद्योग वाणिज्यमन्त्रीले एकै सातामा दुई छुट्टाछुट्टै नेपाल भ्रमण गरेलगत्तै एमालेको दुई टोली फरकफरक समयमा बेइजिङ पुगेको हो । स्थानीय चुनावसँगै प्रदेश र प्रतिनिधि सभाको चुनावको संघारमा चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा एमाले नेताहरूको लगातारको भ्रमणलाई निकै अर्थपूर्ण रूपमा हेर्न थालिएको छ ।
उपमहासचिव घनश्याम भुसाल नेतृत्वको सात सदस्यीय एमाले टोली सोमबार एक साताको भ्रमण सकेर काठमाडौं उत्रिएकै भोलिपल्ट सचिवालय सचिव प्रदिप ज्ञवाली र केन्द्रीय सदस्य सुजिता शाक्यको टोली मंगलबार राति बेइजिङ पुगेको छ । दुवै टोलीको भ्रमण चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा भएको हो ।
भुसाल नेतृत्वको टोलीमा सचिव योगेश भट्टराई, पोलिटब्युरो सदस्यहरू पशुपति चौंलागाईं, डा. विजय पौडेल, प्रकाश ज्वाला, पर्शुमेघी गुरुङ र अरुण नेपाल सहभागी थिए । सो टोलीले ग्वान्जाओ र बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य र विदेश विभागका सदस्य तथा सरकारी अधिकारीहरूसँग छुट्टाछुट्टै वार्ता गरेको छ । सचिव भट्टराई भने बेइजिङमा प्रवासी नेपाली मञ्चद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा समेत सहभागी भएका छन् ।
उता, सचिव ज्ञवालीले भने चिनियाँ कम्युनिस्ट पार्टीको आमन्त्रणमा त्यहाँको नेतृत्वलाई प्रशिक्षित गर्नेछन् । केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार सचिव ज्ञवालीले एमालेको सिद्धान्त जनताको बहुदलीय जनवादका विषयमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूलाई प्रशिक्षित गर्नेछन् । १० देखि १५ दिनसम्मको लामो उक्त भ्रमणमा ज्ञवालीले चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरीय नेताहरूसँगसमेत छुट्टाछुट्टै भेटवार्ता गर्ने बुझिएको छ । ज्ञवाली बेइजिङमै रहँदा केन्द्रीय कार्यालय सचिव श्रेष्ठ आगामी सेप्टेम्बर ७ तारिख अर्थात् २१ गते चीन भ्रमणमा जानेछन् । उनी पनि सोही कार्यक्रममा सहभागी हुने बताइएको छ ।
महासचिव फर्किए, ओली आज आउँदै
यसैबीच, सचिव ज्ञवालीको टोली चीन पुगेकै दिन महासचिव ईश्वर पोखरेल युरोप भ्रमण पूरा गरी मंगलबार बेलुकी स्वदेश फर्किएका छन् । प्रवासी नेपाली मञ्चद्वारा फ्रान्स र बेल्जियलगायतमा आयोजित कार्यक्रममा सहभागी भएर महासचिव पोखरेल स्वदेश फर्किएका हुन् । त्यस्तै, नियमित स्वास्थ्य परीक्षणको सिलसिलामा थाइल्यान्डको बैंकक पुगेका अध्यक्ष केपी शर्मा ओली बुमरुङगार्डस्थित अस्पतालमा स्वास्थ्य परीक्षण गराई आज दिउँसो १२ः३० मा स्वदेश फर्किंदै छन् । अर्का वयोवृद्ध नेता भरतमोहन अधिकारी पनि दुई दिनपछि नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्डको बैंकक जाँदै छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply