तीन दशकको परिश्रम
शन्तराम बिडारी
२०३५ साल चैतको कुरा हो । हेटौंडाको भुटनदेवी हाइस्कुलमा अध्ययनरत एउटा किशोरले जनकलाकार रामेश र मञ्जुलका गीतहरू सुन्ने मौका पायो । त्यो गीतले उक्त किशोरको मन र मस्तिष्कलाई तरंगित तुल्याइदियो । गीत सुनेकै भरमा समाज परिवर्तनको एजेन्डा बोकेर कम्युनिस्ट आन्दोलनसित जोडिन पुगेका ती व्यक्ति अर्थात् सभासद् अनन्त पौडेल संविधानसभाको निर्वाचनमा मकवानपुर–३ बाट चुनिएका छन् ।
हैटौंडा नगरपालिका–९ स्थायी बासिन्दा पौडेल राजनीतिमा आबद्ध भएको तीन दशक नाघिसकेको छ । विद्यार्थी राजनीतिपछिको निरन्तर एमालेको पार्टी काम र जनतासँगको सान्निध्यतामै उनको समय बितिरहेको छ । नारायणी अञ्चल समन्वय कमिटीको सचिवको जिम्मेवारी बहन गरिरहेका उनी सभासद भएपछि झनै व्यस्त भएका छन् । ‘जीवनमा व्यस्तताले नै मानिसलाई कर्मशील बनाउँछ र सफल हुन सघाउँछ’– उनको मान्यता छ ।
मकवानपुरको भीमफेदीमा ०१९ साल साउन १३ गते डिल्लीनाथ तथा माता हरिप्रियादेवीको कोखबाट जन्मिएका उनका छ दाजुभाइ र दुई दिदीबहिनी थिए । दु:ख गरे जेनतेन खानपुग्ने निम्न मध्यम वर्गीय उनको परिवार पछि हेटौंडामा बसाइँ सर्यो । उनको मूल पेसा कृषि नै थियो । प्राथमिक शिक्षा श्रमिक माविबाट पूरा गरेका उनले एसएलसी पास भएपछि मकवानपुर बहुमुखी क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातक सके । त्यसपछि दुई छोरा र एक छोरीको शिक्षादीक्षामा ध्यान दिनुका साथै पूर्णकालीन भएर पार्टी काम गर्न थालेकाले उनको पढाइ भने त्यहीँ नै पूर्णविराम लाग्यो ।
०३७ सालको विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेका बेला उनी अनेरास्ववियु (एकताको पाँचांै)को मकवानपुर जिल्ला सचिव थिए । ०४० सालमा अखिलको जिल्ला अध्यक्ष भएका उनी ०४१ सालमा जेल परे । गौर जेलमा तत्कालीन राजबन्दी मोदनाथ प्रश्रितलगायतको संगतले उनले धेरै कुराको ज्ञान बटुले र आफ्नो राजनीतिक तथा वैचारिक चेतनामा थप निखार आयो । ०४२ सालमा रिहा भएलगत्तै उनी हेटौंडा नगर कमिटीको सचिव भए भने ०४४ सालमा जिल्ला कमिटीको सदस्य भए । ०४६ सालको जनआन्दोलनमा उनलाई पार्टीले विशेष जिम्मेवारी दिएको हुँदा उनी प्रजातान्त्रिक आन्दोलन सञ्चालन समितिको सदस्य भएर आन्दोलन तताउन लागि परे । अन्तत: जनआन्दोलन सफल भयो । मुलुकमा प्रजातान्त्रिक अधिकार पुनर्बहाली भयो । ०४७ सालदेखि जिल्ला सचिवको जिम्मेवारी सम्हालेका उनले ०५१ मा सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्षको जिम्मेवारी पाए ।
०५४ सालको स्थानीय चुनावमा जिल्ला विकास समितिको सदस्य निर्वाचित भएका उनी ०५९ सालदेखि अञ्चल सचिवका रूपमा कार्यरत छन् । ०६४ सालको संविधानसभा निर्वाचनमा मकवानपुर–३ बाट उठेका उनी ४ हजार मतान्तरले माओवादी उम्मेदवारसँग पराजित भए पनि यसपटक भने माओवादी उम्मेदवारलाई तेस्रो पार्दै राप्रपा नेपालका दीपक सिंहसँग ३ हजार मतान्तरले विजयी भए ।
‘पहिलो संविधानसभाले संविधान बनाउन सकेन । यसले सिङ्गो राजानीतिक दल र राजनीतिप्रति नै वितृष्णा जगाएको छ । त्यसैले यो संविधानसभालाई जसरी पनि सफल पार्नुपर्छ’– उनी भन्छन्– ‘तसर्थ पहिलो प्राथमिकता संविधान निर्माण हो भने अन्य विकास निर्माणका काममा हाम्रो जोड रहनेछ ।’ उनको क्षेत्रमा नगरपालिका परे पनि विकास निर्माणका थुपै्र समस्या छन् । आफू सभासद् भएकै बेला तीनलाई पूरा गरिछाड्ने उनको अठोट छ ।
हेटौंडा अस्पतालको स्तरोन्नति गर्नेमै उनको बढी जोड छ । स्वास्थ्य पूर्वाधारका क्षेत्रमा पछाडि परेकाले सर्वसाधारणलाई सहुलियत खर्चमा स्तरीय सेवा दिन सो अस्पताल स्तरोन्नति गर्नु जरुरी रहेको उनी बताउँछन् । नगरपालिकासित जोडिएका पदमपोखरी, चुरियामाई, हटिया र हर्नामाडी गाविसलाई समेत समेटेर ग्रेटर हेटौंडाको अवधारणाअनुरूप उपमहानगरपालिकाको रूपमा विकास गर्ने उनको योजना छ । खानेपानी, विद्युतीकरण, सडक स्तरोन्नतिको केही ठाउँमा समस्या छ भने राप्ती खोलामा पक्की पुल नहुँदा वरिपरिका गाविसबाट वर्षामा हेटौंडा आउजाउ गर्न निकै कठिन भइरहेको छ । नगरपालिकाभित्रैका सडक अस्तव्यस्त छन् भने हालै निर्माण भएको वासुदेव सभागृह पनि साधन, स्रोत र उच्च प्रविधिले युक्त छैन ।
समग्र नारायणी अञ्चलकै जनतालाई प्रत्यक्ष लाभ पुग्ने काठमाडौं–कुलेखानी–हेटांैडा सुरुङ मार्गमा राज्यले लगानी गर्नुपर्ने उनको विचार छ । त्यसका लागि नारायणीका सभासद्हरू क्रियाशील छन् । हेटौंडा आसपासका क्षेत्र चुरेसँग जोडिएको हुँदा राष्ट्रपति चुरे कार्यक्रम कडाइका साथ लागू गरेर चुरे क्षेत्रको संरक्षण गर्ने र हेटौंडामा हाइवे विस्तारको त्रासबाट जनतालाई मुक्त गर्नुपर्ने उनी बताउँछन् ।
‘राजनीतिलाई काल पर्खिरहने हिसाबले प्रयोग गर्यो भने यो सेवा होइन, पेसा बन्छ’– उनी भन्छन्– ‘राजनीति सेवामूलक क्षेत्र हो तर पछिल्लो समय यसलाई पेसा बनाउन थालिएको छ । यसले मान्छेको अपारदर्शितालाई झनै ढाकछोप गरिदिन्छ ।’
हेटौंडा कपडा उद्योगमा उनकी श्रीमती दुर्गा काम गर्थिन् । यसले घरखर्च चल्थ्यो । त्यसपछि उनीहरूले पोल्ट्री फार्म खोले । सुरुमा त्यति बजार लिएन कुखुरा पालनले । पछि अलिअलि चल्न थालेपछि बच्चाहरूको पढाइ–खर्च धान्न गाह्रो पर्दै गएको उनको अनुभव छ । उनकी श्रीमती दुर्गा पनि एमाले जिल्ला कमिटी सदस्य हुन् । कृषिमै संलग्न दुर्गा स्थानीय महिला सहकारीको अध्यक्ष पनि छन् । उनका जेठा छोरा विवेक अमेरिकाबाट एप्लाइड इकोनोमिकमा विद्यावारिधि सकेर उतै बस्छन् भने छोरी अस्मिता पनि हेल्पिङ ह्यान्ड सामुदायिक अस्पतालमा स्टाफ नर्स छिन् । कान्छो छोरा विप्लवले पनि शंकरदेव क्याम्पसबाट बीबीएस पास गरिसकेका छन् ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply