बहुजातीयता पक्षधर
सुनसरीको क्षेत्र नम्बर एक बेग्लै महत्त्व बोकेको क्षेत्र हो, जहाँबाट २०४८ सालमा एमाले अध्यक्ष मनमोहन अधिकारी निर्वाचित भएका थिए । ०६४ सालको निर्वाचनबाहेक यो स्थान लगातार एमालेकै पकडमा छ । सो क्षेत्रमा पर्ने धरान नगरपालिका जनजाति बाहुल्य क्षेत्र हो । त्यहाँ एकल जातीय पहिचान वकालत गर्नेहरू धेरै थिए । एमालेलाई जनजातिविरोधी पार्टीको रूपमा उभ्याएर ‘ब्राह्मण पार्टी’ को हल्ला पनि चलाइयो । तर, त्यही क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवारभन्दा २ हजार ३ सय बढी मत ल्याएर कृष्णकुमार राईले चुनाव जित्न पुगे यसपटक । उनले १४ हजार ३ सय मत ल्याएका थिए ।
केही समय वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर र महेन्द्र मोरङ क्याम्पस, धरानमा अध्यापन गरेका राईको रुचि भने बाल्यकालदेखि नै राजनीतिमा थियो । त्यही भएर उनले अध्यापन त्यागी पूरै समय राजनीतिलाई दिए । ०३० सालसम्म पढाएका उनले नयाँ शिक्षा लागू भएपछि राजनीतिमा पाइला चालेका हुन् । विद्यार्थी जीवनबाट प्राध्यापनमा प्रवेश गरेकाले राई ०३० अघिसम्म अत्यन्तै उग्र स्वभावका थिए । ‘मलाई त्यही स्वभावका कारण धेरैले ‘दोस्रो आनन्ददेव भट्ट’ समेत भन्ने गर्थे’– उनी विगत सम्झिन्छन् । तेह्रथुममा पढ्दै गर्दा उनी अखिल नेपाल विद्यार्थी फेडरेसनमा आबद्ध थिए । अग्रज विष्णुकुमार तुम्वाहाम्फे, मित्रलाल सुवेदीको लहलहैले उनी नजानिँदो तरिकाले कम्युनिष्ट राजनीतितर्फ झुकाव राख्ने भएका थिए ।
धरानमा आईए पढ्दाताका राजनीतिमा नहोमिए पनि राजधानीको सरस्वती क्याम्पसमा आएपछि भने उनी जमेरै आन्दोलनमा लागे । भर्खरै ०१७ साल लादिएको थियो । दलका गतिविधिमाथि कडा नियन्त्रण गरिए पनि विद्यार्थीहरू भने शिक्षाको मुद्दा अघि सारेर आन्दोलनको ज्वारभाटा उठाइरहेका थिए । खासमा विद्यार्थीहरूले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव खुला गराउनुपर्ने माग राखेका थिए । स्ववियुको मागसँगै विद्यार्थीहरूको आन्दोलन राष्ट्रियताको मुद्दासँग पनि जोडिएको थियो । सुस्ता महेशपुरको सीमा, पारवहन सन्धि र स्वतन्त्र आर्थिक नीतिलगायतका माग राखी उछालिएको आन्दोलनमा उनी पनि आबद्ध भए ।
२००१ साल मंसिर १० गते भोजपुरमा जन्मिएका राईको परिवार सम्पन्न नै थियो । बुबा प्रेमसिंह राई बेलायती सेना र पछि नेपाली सेनामा क्याप्टेनसम्म भए । १९९५ सालमा क्याप्टेनबाट अवकाश पाएपछि पनि भोजपुरमा सहायक बडाहाकिम भएर रहे । राईको परिवार धरानमा बस्न थाले पनि मावली तेह्रथुमबाटै उनले एसएलसी सिध्याए । र, उच्च शिक्षा अध्ययनका लागि धरान झरे । उनले त्रिभुवन विश्वविद्यालयबाट एमएको अध्ययन पूरा गरेका छन् ।
अध्ययन सकेपछि क्याम्पसमा अध्यापन थालेका उनी पछि अध्यापन छाडेर जनप्रतिनिधि बन्न हौसिए । भरतमोहन अधिकारीहरूले नेतृत्व गरेको तत्कालीन कम्युनिस्ट पार्टीको पूर्वकोसी प्रान्तीय कमिटीको निर्णयका आधारमा उनी जनप्रतिनिधि भए । पञ्चायतलाई उपयोग गर्ने नीतिअनुरूप त्यतिबेला थुप्रै कम्युनिस्टहरू पञ्चायती मोर्चामा संलग्न थिए ।
०३० सालमा उनी धरान नगरपञ्चायतको वडा अध्यक्षमा निर्वाचित भए । त्यसको दुई महिनापछि नै उनलाई कार्यबाहक प्रधानपञ्चको जिम्मेवारी दिइयो । ०३० देखि ०३५ सम्मको अवधिमा उनी दुई पटक कार्यबाहक प्रधानपञ्च बने भने ०३५ देखि ०३८ सम्म पुन: प्रधानपञ्च भए । फेरि ०३८ देखि ०४३ सम्म प्रधानपञ्च भएका उनी ०४३ बाट भने राष्ट्रिय पञ्चायतका सदस्य भए । त्यही बेला उनले स्वास्थ्य र सञ्चार सहायकमन्त्री भएर काम गर्ने औसर पाए । ०४६ सालपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य भएका उनी २० वर्षपछि अर्थात् ०६६ सालमा मात्र एमालेसँग जोडिन आइपुगेका हुन् । अहिले उनी कोसी अञ्चल समन्वय कमिटीको सल्लाहकार समितिको उपाध्यक्ष छन् ।
त्यसो त राई मात्र होइनन्, राष्ट्रिय पञ्चायतमा त्यसबेला प्युठानका खड्गबहादुर जीसी, धनकुटाका मोहन पोखरेल, नुवाकोटका अर्जुननरसिंह केसीहरू पनि चुनिएका थिए । राष्ट्रिय पञ्चायतमा आफू गएर सुधार गर्न सकिन्छ भन्ने राईको धारणा थियो । ‘पञ्चायत एउटा आकार नभएको निराकार चिज भएकाले जस्तो मान्छे गयो, त्यो व्यवस्थालाई त्यस्तै पार्न सकिन्छ भन्ने मान्यताले म त्यहाँभित्र छिरेको हुँ र केही सुधार पनि गरेको थिएँ’– उनले भने । कुनै बेला उनी शिक्षक छनोट समितिको अध्यक्ष पनि भएका थिए । तर, उनले कम्युनिस्ट र कांग्रेसका आस्थावानहरूलाई अनुत्तीर्ण गर्न दिएनन् । तत्कालीन सीडीओ र जिल्ला पञ्चायतका सभापतिसँग लडेरै उनले त्यस्तो काम गरेका थिए । पञ्चायतका जिम्मेवार पदाधिकारीसँग हाकाहाकी बाझेर उनले आस्थाका आधारमा भेदभाव हुने प्रचलन रोकेका थिए । पञ्चायतकालमा पनि शासकहरू उदारवादी र उग्रवादी गरी दुई धारमा विभाजित थिए । उनी भन्छन्–‘सूर्यबहादुर थापाहरू उग्र र जनअधिकार दिनुहुँदैन भन्थे भने राष्ट्रियताप्रति सजग कीर्तिनिधि विष्टहरू उदार र सुधार ल्याउन खोज्थे’– उनको कथन छ । राईले त्यो बेला कीर्तिनिधिहरूको पक्ष लिएका थिए । पञ्चायतकालमै राजा वीरेन्द्रलाई भेट्दा उनले वीरेन्द्रलाई अत्यन्त सुधारक र जनप्रेमीका रूपमा पाएका थिए । ‘हामी सही काम गरी जनतालाई राहत दिन चाहन्छौं तर हामीलाई यहाँभित्रका कट्टरतावादीहरूले अवरोध गरिरहेका छन्’ उनले यस्तो गुनासो गर्दा ‘नआत्तिनु, केही समस्या भए मेरो सचिवलाई तत्काल जानकारी गराउनु’ भनेर राजाले तत्कालीन दरबारका सचिव कल्याणविक्रम अधिकारीलाई देखाइदिएपछि त उनी वीरेन्द्रबाट औधी प्रभावित भएका थिए ।
पञ्चायतभित्रका सुधारवादीहरूको राष्ट्रिय पञ्तायतबाटै बहुदल घोषणा गर्नुपर्छ भन्ने मत थियो । राई पनि सोही धारणा राख्थे । तर, कट्टरतावादीको बोलवाला भएकाले त्यस्तो सम्भव भएन । तैपनि बहुदलीय व्यवस्था त आयो तर त्यो बेढंगले आएकाले त्यसलाई व्यवस्थित गर्न नसकिएको उनको तर्क छ । ०६२–६३ सालको जनआन्दोलनले गणतन्त्र त ल्यायो तर त्यसले पनि जनताको जीवनस्तरमा परिवर्तनको आभास दिन नसकेकोमा उनी चिन्तित छन् ।
एक छोरा र एक छोरीका पिता राईको छोरी बिहे गरी काठमाडौंमै घरजम गरेर बसेकी छन् भने छोरा अध्ययनका लागि अमेरिका गएको भए पनि हाल उतै घरजम गरेर बसेका छन् । आफूजत्तिकै अध्ययन गरेकी श्रीमती भेटेका छन् उनले । श्रीमती पनि क्याम्पस पढाँउथिन्, हालै मात्र अवकाश भइन् ।
‘यो देशमा कसैले कसैलाई पनि निषेध गर्नुहुँदैन, देश मेरो, संविधान मेरो भन्ने भावना जागृत गराउन जनसंख्याका आधारमा उचित हिस्सा प्राप्त गर्नुपर्छ । तर, एकल पहिचानका आधारमा कुनै पनि हालतमा प्रदेशलाई विभाजित गर्नुहुन्न’– राई भन्छन्– ‘यो नेपाल सबैको साझा हो । त्यसैले हामी अब पछाडि फर्कने होइन अगाडि बढ्नेतिर लाग्नुपर्छ । अर्थात् यो देशलाई बहुभाषा, बहुजातीय र बहुधर्मको साझा फुलबारी बनाउनुपर्छ ।’
सभासद् भएपछि उनका केही विशेष योजना बनेका छन् । सो क्षेत्रको जनप्रतिनिधि भएकाले उनले स्थानीय विकास निर्माणका योजनाहरू पूरा गर्नैपर्ने हुन्छ । लामो समयदेखि स्थानीय चुनाव रोकिएको छ । जनप्रतिनिधि भइदिने हो भने स्थानीय तहमा निकै नै विकासको लहर आउनेछ, त्यसैले सर्वप्रथम तत्काल स्थानीय चुनाव हुनुपर्ने उनको माग छ । ‘नगरपालिका तहमा स्थानीय स्तरमा हुनसक्ने काम त जनप्रतिनिधि बहाली गर्नसके भइहाल्छ, त्यसबाहेक स्तानीय स्तरमा गर्न नसकिने योजनामा चाहिँ मेरो जोड रहन्छ’– उनले भने । धरानमा विमानस्थल बनाउनुपर्ने र त्यसका लागि सरकारी तहबाट पहल हुनुपर्ने साथै खानेपानीको समस्या हल गर्नुपर्नेलगायतका उनका योजना छन् ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply