प्राथमिकता नतोक्दा अलमल
कुनै पनि जीवन्त क्षेत्र आरोह–अवरोह झेल्दै आफ्नो यात्रा–क्रममा निरन्तर रहन्छ । नेपालको वित्तीय क्षेत्रले पनि सन् १९९६ देखि २००७ सम्म त्यस्तै कठिन र दुरुह आरोह–अवरोह झेल्नुपर्यो । त्यो एउटा यस्तो दशक थियो, जुन बेला कर्जाको मात्रामा अप्रत्याशित वृद्धि भयो, बैंकिङ क्षेत्रले अधिक जोखिम उठाउनुपर्यो । अझ, द्वन्द्वका बाछिटाले सिंगो देशलाई हानिरहेको हुँदा व्यापार/व्यवसाय सहर–केन्द्रित हुन पुगे भने सहरी क्षेत्रमा घरजग्गाको कारोबारमा आएको तीव्रतर वृद्धिका कारण देशको अर्थतन्त्रले दिगो विकासको बाटो पक्रिन सकेन । यी सबै पक्षहरूका साक्षी कमर्ज एण्ड ट्रस्ट बैंक, नेपालका प्रमुख कार्यकारी–अधिकृत अनलराज भट्टराई अहिले त्यस अवधिलाई विश्लेणात्मक नजरले हेर्दै भन्छन्– ‘त्यतिबेलाको नकारात्मक असर अहिलेसम्म पनि देखिइरहेको छ ।’
नेपालको बैंकिङ क्षेत्रमा २० वर्ष बिताइसकेका भट्टराई वित्तीय क्षेत्रमा व्याप्त समस्यादेखि उज्याला पक्षहरूसम्म एक–एक गरी केलाउने क्षमता राख्छन् । आफ्नो २० बर्से अनुभवमा, बैंकिङ व्यवसायलाई राष्ट्रको मेरुदण्डका रूपमा बुझेका छन् उनले । तर, बैंकिङ क्षेत्रप्रति धेरैको आकर्षण बढे पनि जुन रूपमा राष्ट्रिय अर्थतन्त्रलाई प्रतिफल दिनुपर्ने हो, त्यसमा भने कमी भएको उनको स्वीकारोक्ति छ । ‘बैंकिङ क्षेत्र विकसित नहुनुमा कतिपय ठाउँमा नीति–निर्देशनको कमी छ भने कतिपय व्यक्तिको सोच नै संकुचित छ’– उनी भन्छन्– ‘र, नाफालाई मात्रै अपरिहार्य ठान्ने प्रवृत्तिले पनि बैंकिङ क्षेत्रको विकास जुन गतिमा हुनुपर्ने हो, त्यसरी हुन सकिरहेको छैन ।’
२०२४ सालमा काठमाडौंको बानेश्वरमा जन्मिएका भट्टराई शंकरदेव क्याम्पसबाट बीकम उत्तीर्ण गरेपछि चार्टर्ड एकाउन्टेन्ट अध्ययन गर्न भारत गए । उनले चार्टर्ड एकाउन्टेट उत्तीर्ण गरेर नेपाल फर्किंदा नेपालमा सय जना पनि चार्टर्ड एकाउन्टेन्ट थिएनन् । बैंकिङ क्षेत्रमा प्रवेश नगर्दै उनले भारतका विभिन्न कम्पनीहरूमा चार्टर्ड एकाउन्टेन्टका रूपमा काम गरिसकेका थिए । त्यही क्रममा भारतको टीआर चढढा एन्ड कम्पनीका तर्फबाट नेपाल आई नेपाल विद्युत् प्राधिकरण, द टिम्बर कर्पोरेसन र लुम्बिनी चिनी कारखानाको लेखापरीक्षण गरेको अनुभव बटुलिसकेका उनले पछि बैंकिङ क्षेत्रमा बढिरहेको आकर्षणलाई पछ्याउँदै बैंकिङ ‘क्यारियर’ सुरु गरे ।
तर, आफूले बैंकिङ क्षेत्रमा प्रवेश गर्दाताकाको समय र अहिले निकै अन्तर आएको भट्टराई बताउँछन् । भारतबाट चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेर सन् १९९६ मा नेपाल बैंक लिमिटेडमा प्रथम श्रेणीमा नियुक्त भएपछि उनले नेपाली बैंकिङ क्षेत्रका छिद्र केलाउने अवसर पाए । विगत र अहिलेलाई उनी यसरी तुलना गर्न चाहन्छन्– ‘मैले जुनबेला बैंकिङ क्षेत्रमा प्रवेश गरें, त्यतिबेला नीति–नियम अहिलेजस्तो थिएन । नेपालको वित्तीय क्षेत्रमा भर्खरै सुधार भइरहेको थियो, त्यतिबेला ।’ हुन पनि अहिले ३१ वटा ‘क’ श्रेणीका ठूला वाणिज्य बैंकले कारोबार गरिरहेका छन् तर उनले बैंकिङ क्षेत्रमा ‘क्यारियर’ सुरु गर्दा ठूला बैंक १० वटा मात्रै थिए । कृषि विकास बैंकका उपमहाप्रबन्धकका रूपमा कार्यरत आफ्ना ससुरा उत्तमकुमार बाँस्कोटाको प्रेरणाले बैंकिङ क्षेत्रमा प्रवेश गरेका भट्टराईले नेपाल बैंक लिमिटेडमा छ वर्ष मात्रै काम गरे पनि त्यस बैंकको ट्रेजरी विभाग, कम्युटराइजेसन विभाग र काठमाडौंको मुख्य बैंकिङ कार्यालयको प्रमुख भई काम गरे । उक्त बैंकबाट मुख्य प्रबन्धकबाट राजीनामा दिएका भट्टराईले त्यसपछि भने सानिमा विकास बैंकको पहिलो मुख्य कार्यकारी–अधिकृतको जिम्मेवारी पाए । गैरआवासीय नेपालीहरूद्वारा प्रवद्र्धित उक्त बैंकका संस्थापकहरू डा.उपेन्द्र महतो, जीवा लामिछाने र अरूण ओझाहरूसितको सम्बन्धका कारण उनले जिम्मेवारी सम्हाल्न पुगेका थिए । तर, सन् २००५ मा उनले सानिमा छाडे र क्लिन इनर्जी विकास बैंकमा सीईओ भई काम गर्न थाले । उनी भन्छन्– ‘मैले उक्त बैंकको जिम्मेवारी सम्हाल्नुको कारण अरू केही नभएर देशमा जलविद्युत् क्षेत्रमा विकास हुनुपर्छ भन्ने मान्यता नै हो ।’
तर, सन् २००७ मा भने उनी कमर्ज एण्ड ट्रस्ट बैंक स्थापनामा लागि परे । त्यतिबेला बैंक स्थापनाका लागि १ अर्ब ४० करोड पुँजी आवश्यक पथ्र्यो । उक्त रकम जुटाउनुपर्ने भएको हुँदा उनले व्यापारी, व्यवसायी, साथीभाइहरूलाई गुहारेर तोकिएको रकम संकलन गर्न सके । र, नेपाल राष्ट्र बैंकको सम्पूर्ण प्रक्रिया पूरा गरी २०१० सेप्टेम्बर २० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालद्वारा उद्घाटन भई उक्त बैंकले कारोबार सुरु गर्न थाल्यो । अहिले उक्त बैंकका १६ वटा शाखा छन् भने ४५ हजार ग्राहकलाई २ सय जना कर्मचारीले सेवा र सुविधा दिइरहेका छन् । ११ अर्ब निक्षेप संकलन र १० अर्ब कर्जा प्रवाह गरेको उक्त बैंकसँग २ अर्ब ३ करोड पुँजी छ । तर, नेपालको २९औं बैंकका रूपमा स्थापित कमर्ज एण्ड ट्रस्ट बैंक अब केही समयपछि नै ग्लोबल आईएमई बैंकसित मर्ज हुने प्रक्रियामा छ । मर्जरका लागि सबै कार्य सिध्याएर नेपाल राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि निवेदन दिइसकेको बताउँदै भट्टराई भन्छन्– ‘अहिले वित्तीय क्षेत्रमा तीव्र प्रतिस्पर्धा रहेको छ र आम्दानी संकुचन भइरहेको छ । यस्तो स्थितिमा खर्च कम गर्दै आकार ठूलो बनाउनुपर्ने अवस्था रहेकोले मर्जरको आधारमा अघि बढ्ने निर्णयमा हामी पुगेका हौं ।’ राष्ट्र बैंकबाट स्वीकृत भइसकेपछि यही चैत महिनाबाटै एकीकृत कारोबार गर्ने लक्ष्य लिएको र मर्जरपछि देशका प्रमुख पाँच बैंकभित्र पर्ने भट्टराईले बताए । उनले भने– ‘मर्जरपछि वित्तीय क्षेत्रमा सकारात्मक प्रभाव पर्नेछ र सम्बन्धित सबै क्षेत्रका सरोकारवालाहरूले उचित प्रतिफल पाउनेछन् ।’ मर्जपछि उक्त बैंकको चुक्ता पुँजी ४ अर्बभन्दा बढी हुनेछ र राष्ट्र बैंकको न्यूनतम आवश्यकताभन्दा दोब्बर हुनेछ । भट्टराईले दाबी गरे– ‘मर्जपछि हाम्रो कर्जा दिने क्षमतामा उच्च वृद्धि हुनेछ ।’
बैंकिङ क्षेत्रमा अहोरात्र भिजिरहँदा पनि उनलाई देशले प्राथमिकताको मुख्य क्षेत्र पहिचान गर्न नसकेकोमा उत्तिकै चिन्ता छ । मुलुकको विकासका लागि कृषि, उद्योग/व्यवसाय र सेवामूलक क्षेत्र गरेर यिनै तीन क्षेत्रको विकास हुनुपर्ने मान्यता राख्ने भट्टराई बताउँछन् । उनी भन्छन्– ‘हामीले कृषि क्षेत्रलाई त्याग्यौं र वैदेशिक रोजगारीलाई मूल कार्यका रूपमा लियौं । विदेश जानेहरूले पैसा त पठाए, तर उनीहरूले पठाएको पैसा सेवामूलक क्षेत्रमा मात्र लगानी भइरहेको छ ।’ विदेशबाट फर्किएकाहरूलाई काम गर्नका लागि कृषि, उद्योग/व्यवसाय क्षेत्रको पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा ढिलाइ भइरहेको पनि उनको ठहर छ । आज १८ घन्टासम्म लोडसेडिङ हुनुमा राष्ट्रले प्राथमिकताको मुख्य क्षेत्र तोक्न नसक्नु नै कारण रहेको औंल्याउँदै उनी भन्छन्– ‘हामी अझै पाँच वर्ष अहिलेकै अवस्थामा गुज्रिन्छौं र अल्पविकसित देशकै रूपमा अल्झिन्छौं ।’
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply