सीमान्तकृतका पक्षधर
सम्पत्ति आर्जन गर्न, नातागोताहरूलाई विभिन्न स्थानमा जागिर खुवाउन र राजनीतिक इज्जत एवम् प्रतिष्ठा हासिल गर्नका लागि नै आम मानिसहरू सभासद् हुन लालायित हुन्छन् भन्ने आम बुझाइ छ । तर, चितवन–३ बाट विजयी नेकपा (एमाले)का सभासद् कृष्णभक्त पोखरेलको सवालमा भने यो कुरा लागू हुँदैन । सभासद् बन्नुभन्दा पनि उनलाई नबन्दा नै धेरै फाइदा थियो । किनकि, अब उनको आम्दानी बढ्ने होइन कि घट्ने निश्चित देखिएको छ ।
विगत २० वर्षदेखि उनले चितवनमा स्थापित कानुन व्यवसायीको हैसियत बनाएका छन् । उनी भरतपुर नगरपालिका, जिल्ला विकास समिति, चितवन मेडिकल कलेज, भृकुटी कागज कारखानालगायत आधा दर्जन संघसंस्थाको कानुनी सल्लाहकारका रूपमा दशक अघिदेखि क्रियाशील थिए । सभासद् भएपछि नैतिक रूपमा पनि ती संस्थाका कानुनी सल्लाहकार छोड्नुपर्छ नै । ती संस्थाका पक्षमा मात्र मुद्दा लड्न जानुभन्दा पनि अब सारा जनताको मुद्दा व्यवस्थापिका–संसदमार्फत उठाउनुपर्ने दायित्वबोध उनीमा
थपिएको छ ।
पोखरेल फेरिएको भूमिकामा छन् अहिले । वकालत गरेको कमाइबाटै उनले अहिलेसम्म तीनवटी छोरीलाई रोजेको विषय पढाएका थिए । उनकै कमाइबाट जेठी छोरी एमबीबीएस भर्खरै सकेर चिकित्सक भएकी छन् भने माइली पनि सोही बाटो पच्छ्याउँदै एमबीबीएस पहिलो वर्षमा अध्ययनरत छिन् । सन्तानका नाममा भएका त्यही तीनवटी छोरीमध्ये कान्छीले पनि विज्ञान संकायमा ११ कक्षा अध्ययन गर्दैछिन् । बच्चाको पढाइमात्र होइन, खान लाउन कुनै दु:ख छैन उनलाई । उनको परिवार हाँसीखुसी र सुख सयलमा नै बाँचेको छ । अहिलेसम्म आधा दर्जनभन्दा बढी देश घुम्ने अवसर पनि पाइसकेका छन् उनले । यी सबै हिसाबले हेर्दा उनलाई सभासद् भएपछि भन्दा सभासद् नबन्दा नै बढी फाइदा थियो भन्न सकिन्छ । तर, मान्छेको रहर न हो, उनलाई जनताबाट अनुमोदन भएर एकफेर जनताको सेवामा नै जुट्ने रहर जाग्यो ।
दोस्रँे संविधानसभा निर्वाचन २०७० मा चितवन–३ का जनताले उनलाई १५ हजार ६ सय २९ मत दिएर सानदार ढंगले विजयी गराए । उनको विजय यसर्थ पनि रोचक र अविष्मरणीय रह्यो कि एक सामान्य पेसाकर्मी र एमालेको जिल्ला उपाध्यक्षसम्म बल्ल–बल्ल भएका उनले एमाओवादी अध्यक्ष प्रचण्डका भाइसमेत रहेका केन्द्रीय सदस्य नारायण दाहाललाई नराम्रोसँग हराइदिए । सम्पूर्ण साधन स्रोत प्रयोग गरेर लागे पनि अघिल्लो चुनावमा उनै दाहालले जितेको सो क्षेत्रमा यसपटक दाहाल तेस्रो स्थानमा सीमित हुनुपर्यो । अघिल्लो चुनावमा १७ हजार मत दाहालले ल्याउँदा एमालेको उम्मेदवारको जम्मा ८ हजार अर्थात आधा कम थियो । तर, यसपटक एमालेको १५ हजार आँउदा उनको ९ हजार मात्र आयो । विगतको निर्वाचनमा पार्टीले हारेको बदला यसपटक दाहालले भन्दा आधा बढी मत ल्याएर पोखरेलले क्षतिपूर्ति समेत दिलाइदिए भने कांग्रेसका भीमबहादुर श्रेष्ठ दोस्रोमा खुम्चिनुपर्यो ।
२०२४ साल असार २० गते जन्मिएका उनी मध्यम वर्गका थिए । त्यही कारण, उनलाई खान लाउन र चाहेको विषय पढ्न कुनै असुविधा थिएन । उनले अन्नपूर्ण मावि पार्वतीपुरबाट माध्यमिक शिक्षा पूरा गरे भने प्रमाणपत्र र स्नातक नेपाल ल क्याम्पस, काठमाडौंबाट पूरा गरे । अनेरास्ववियुको जिल्ला तहबाट नेतृत्व सुरु गरेका उनले एघारौं सम्मेलन (२०४८–०५०) बाट केन्द्रीय सचिवको समेत जिम्मेवारी सम्हाले । अझ रोचक त ०३७ सालमै उनले विद्यालयमा स्ववियु सचिवको जिम्मेवारी सम्हालेर विद्यार्थीहरूका हक हित र अधिकारका सवालमा नेतृत्व गर्न सुरु गरिसकेका थिए, जतिबेला उनको उमेर १३ वर्ष मात्र थियो ।
जेल जीवन नभोगे पनि उनी आन्दोलनका क्रममा तीन पटक हिरासतमा परेका छन् । ०६२–६३ को आन्दोलनताका उनी जिल्लास्तरीय संयुक्त जनआन्दोलन परिचालन समितिको सचिवालय सदस्य थिए । चैत २४ बाट आन्दोलन उठाउने तयारी हुँदै गर्दा २५ गते राति १२ बजे उनलाई घरबाटै प्रशासनले गिरफ्तार गर्यो । त्यस्तै, शाही शासनले गराएको चुनाव बहिष्कार आन्दोलन र तत्कालीन बार एसोसिएसनले गरेको निषेधाज्ञा तोड्ने आन्दोलनमा पनि उनी भूगोलपार्कबाट गिरफ्तारीमा परे । ०५० सालदेखि पार्टीको चितवन जिल्ला कमिटी सदस्य भएका उनी त्यसयता लगातार २० वर्ष जिल्ला कमिटी सदस्य भए । त्यसअघि चितवन जिल्ला अदालत बार एकाइको अध्यक्षको समेत जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका उनले पुन: दोस्रो पटक जिल्ला उपाध्यक्षको हैसियतमा पार्टी जिम्मेवारी पाएका छन् । पार्टीको पाँचौं महाधिवेशनमा पर्यवेक्षक, सातौं र आठौंमा प्रतिनिधि तथा आठौंको निर्वाचन समिति सदस्य समेतको जिम्मेवारी सम्हालिसकेका छन् उनले ।
पोखरेलले अहिलेसम्म भारत, चीन, बंगलादेश, पाकिस्तान, थाइल्यान्ड, केन्या र रुसको भ्रमण गर्ने मौका पाएका छन् । सात समुन्द्रपारिको रुसमा उनी ०४५ सालतिर गएका हुन् । अन्तर्राष्ट्रिय विद्यार्थी संगठनको सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै रुस पुगेका उनी हाल नेपाल चाइना युथ फ्रेन्डसिप एसोसिएसनका सचिव छन् । उनले चीनको मैत्रीपूर्ण भ्रमण दुई पटक गरिसकेका छन् भने बाल अधिकारसम्बन्धी कार्यक्रमको सन्दर्भमा चार वर्षअघि केन्या पुगेका थिए । त्यस्तै, तत्कालीन महिलामन्त्री उर्मिला अर्यालको पालामा उनकै नेतृत्वको टोलीमा सहभागी भएर महिला र बाल अधिकारसम्बन्धी एक गोष्ठीमा सहभागी भए भने एक विपद् व्यवस्थापनसम्बन्धी तालिमका लागि बंगलादेश पुगे ।
कानुनको जानकार मात्र होइन, पेसाकै कारण पनि अलि टाठो र चल्तापुर्जा भूमिका निर्वाह गरेका कारण उनले अहिले सभासद् भएर आइसकेपछि पनि केही महत्त्वपूर्ण जिम्मेवारी पाइसकेका छन् । पार्टी संसदीय दलको विधान निर्माण समितिको सदस्यका रूपमा जिम्मेवारी पूरा गरिसकेपछि फेरि उनलाई पार्टीले संविधानसभा नियमावली मस्यौदा समितिको सदस्य बनाएको छ ।
कानुनको विद्यार्थी भएकाले पार्टीले उपयुक्त जिम्मेवारी दिएको उनको बुझाइ छ । पहिलो लक्ष्य संविधान निर्माणलाई बनाएर उनी लागेकाले यसपटक संविधान बन्नेमा ढुक्क छन् । चितवनमा विकास निर्माणका लागि थुप्रै काम गर्न बाँकी भए पनि उनी संविधान निर्माणको कार्य पछि विकास निर्माणलाई आफूले प्राथमिकता दिने बताउँछन् । ‘अघिल्लो संविधानसभामा धेरै कुराको सहमति भइसकेको छ, हामी त्यसको जगमा यो पटक लेख्दैछौं, त्यसैले पनि संविधान बन्छ’ उनले ढुक्क हुँदै भने– ‘यस पटक पनि बनाउन सकिएन भने हामीलाई इतिहासले कदापि माफी दिँदैन ।
उनी राजनीतिबाहेक दर्जनौं सामाजिक संस्थाका आजीवन सदस्य छन् । परिवार नियोजन, रेडक्रस, क्यान्सर सेवा समाजलगायतका संस्थामा उनको संलग्नता छ । चितवनलाई सम्भव भएसम्म वैकल्पिक राजधानी र त्यो पूरा भएन भने पनि प्रान्तीय राजधानी बनाउने योजना छ उनको । त्यसका लागि केन्द्रलाई घच्घच्याएर प्रयत्न गर्नुका साथसाथै सदियौंदेखि पहाडी क्षेत्रमा बसोबास गरिरहेका सीमान्तकृत चेपाङहरूलाई जग्गा दर्ता गराइदिने सपना छ । मुग्लिनमाथिको ५ पहाडी गाविसका जनताको जीवनस्तरमा सुधार ल्याउन विशेष कार्यक्रम लागू गराउन राज्यलाई दबाब दिने उनले बताए । यति भएपछि आफ्नो केही आंशिक प्रतिबद्धता पूरा हुने उनको ठहर छ । जननेता मदन भण्डारीको असामयिक निधन भएको दिनलाई उनी सबैभन्दा दु:खद् मान्छन् भने गणतन्त्रको घोषणा गरी निरंकुश राजतन्त्रलाई बिदाइ गरिएको दिन आफ्ना लागि अत्यन्त सुखद रहेको उनी सुनाउँछन् ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply