एक यस्ता कम्युनिस्ट !
विष्णुबहादुर मानन्धरले वनारस हिन्दू विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गर्ने बेलासम्म नेपालमा त्यस्ता मानिस औंलामा गन्न सकिने पनि थिनन् । गौरमा ४२ बिघा जमिन थियो । दाजु बीएचयूबाट गणितमा स्नातकोत्तर गर्ने सम्भवत: नेपालकै पहिला विद्यार्थी थिए । उनले जागिर खोज्नुपर्ने थिएन, जागिरले उनलाई खोजिरहेको थियो । तर, भर्खरका युवा विष्णुबहादुर मानन्धरलाई सुखको होइन, दु:खको बाटो रोज्न मन लाग्यो । पहिला पुस्ताका यी पुराना कमरेडलाई कम्युनिस्ट पार्टीमा लागेकोमा गर्व छ । तर, अहिले कम्युनिस्ट पार्टीहरूमा देखा परेको पद, प्रतिष्ठाको लडाइँ र उनीहरू आफैंले भन्ने गरेको बुर्जुवा चरित्रले भने उनलाई निराश बनाएको छ ।
गुट, फुट र विभाजनका गन्न नसकिने चक्र पार गरेको कम्युनिस्ट आन्दोलनमा विष्णुबहादुर मानन्धर लामो समयसम्म डा. केशरजंग रायमाझीका साथमा थिए । पछि रायमाझीलाई निष्काशन गरेपछि मानन्धर महासचिव भए । रायमाझी, मानन्धर, कृष्णराज बर्मा, तुलसीलालहरूका बीचमा एकता र विभाजन भइरह्यो । पहिला बलियो रहेको पार्टी पछि कमजोर भयो । ०४८ सालमा नेकपा (संयुक्त)ले देशभर दुई सिट जितेको थियो भने १ लाख ७५ हजार मत पाएको थियो । तर, ०५१ को निर्वाचन यस पार्टीले १० हजार मत कटाउन सकेन । मानन्धरले नैतिकताका हिसाबमा महासचिवबाट राजीनामा दिए । तर, पार्टीले उनलाई छोडेन । पछि प्रभुनारायण चौधरीले नेतृत्व गरेको नेकपा (माक्र्सवादी)सँग एकता भएर नेकपा (संयुक्त माक्र्सवादी) बन्दा पनि त्यसले खास योगदान गर्न नसकेपछि उनले पहिलाकै पार्टीलाई निरन्तरता दिए ।
०६४ सालको निर्वाचनमा नेकपा (संयुक्त) ले समानुपातिकतर्फ पाँच सिट जित्यो भने ०७० मा तीन सिट जितेको छ । तर, धेरैलाई आश्चर्य लाग्ने कुरा त्यस पार्टीका यी सर्वमान्य नेता दुवै पटक सभासद् बनेनन् । ‘किन त ?’ मैतीदेवीस्थित आफ्नै निवासमा ८४ वर्षका यी भेट्रान कम्युनिस्टले भने– ‘मलाई पद–प्रतिष्ठाप्रति कहिल्यै पनि मोह लागेन । त्यसैले जो गए पनि पार्टीका साथीहरू जाने हुन् भनेर मैले महत्त्व नै दिइनँ ।’
ठूला–ठूला पार्टीमा पनि मन्त्री बन्नका लागि मरिहत्ते गर्नेहरूको संख्या सानो छैन । तर, यस सानो पार्टीले ०६३ पछि मात्रै चार पटक मन्त्री बन्ने मौका पाउँदा पनि मानन्धर लोभिएनन् । अझ सुरुमा संयुक्त माक्र्सवादी एक रहँदाको गन्ने हो भने त पाँच पटक अवसर पायो । त्यसमा पनि उनी गएनन् । यस प्रश्नमा पनि उनको यस्तै जवाफ छ– ‘जो गए पनि एउटै हो ।’
विष्णुबहादुर मानन्धरका छोरा सुनील अहिले पार्टीका महासचिव छन् । बरु, सुनीलले सय दिन मन्त्री बन्ने मौका पाए । त्यसैगरी, पार्टीका अध्यक्ष चन्द्रदेव जोशी र नेताहरू गणेश साह र ठाकुर शर्मा पनि मन्त्री बनेका छन् ।
पञ्चायतकालमा विष्णुबहादुुर मानन्धरहरूको समूहलाई रुस समर्थकका रूपमा बुझिन्थ्यो । स्वाभाविक पनि थियो, रुस र चीनबीचको विवादमा उनीहरू रुसी लाइनलाई समर्थन गर्दथे । त्यतिबेला रायमाझीले नेतृत्व गरेको उनीहरूको पार्टीलाई रुसले पैसा दिन्थ्यो भन्ने चर्चा थियो । यस प्रश्नमा मान्नधरले भने– ‘सिधै पैसा दिँदैनथ्यो ।’ तर, आम्दानी चाहिँ हुँदोरहेछ । सांस्कृतिक संघका तर्फबाट चार र पार्टीका तर्फबाट चार गरी वार्षिक आठ जनालाई डाक्टर–इन्जिनियर पढ्न रुसी कम्युनिस्ट पार्टीले छात्रवृत्ति दिँदोरहेछ । त्यसबाहेक दूतावासले पठाउने कोटामा पनि उनीहरूले भनेको लाग्दोरहेछ । मस्कोमा उनीहरूको पार्टीका मात्रै डेढ सय सदस्य रहेछन् त्यतिबेला । ‘उनीहरूले लेबी उठाउँथे र वर्षको एक पटक हामीले एक–डेढ लाख रुपियाँ पाउँथ्यौं’– मानन्धरले भने । त्यतिबेला रुस पढ्न गएकामध्ये चन्द्रदेव जोशी र गणेश साह त उनका पार्टीका नेता नै छन् भने नीलाम्बर आचार्यले पछि कांग्रेसमा प्रवेश गरे । ‘त्यस्ता कति मानिस छन्’– मानन्धरले विगत सम्झँदै भने– ‘हामीले पढ्न पठाएका मानिसहरूले अहिले हामीलाई सम्झन पनि सम्झँदैनन् ।’
एउटा निश्चित उमेरपछि नेतृत्वबाट बिदा लिनुपर्छ भन्ने मान्यता विष्णुबहादुर मानन्धर राख्छन् । त्यही भएर सबैले अनुरोध गर्दा पनि उनले पार्टीको अध्यक्षबाट राजीनामा दिए । ‘एउटा निश्चित उमेरपछि पदमा बसिरहनु हुँदैन’– उनले भने– ‘उमेरले पनि दिँदैन, सक्रियता पनि कम हुन्छ ।’
अहिले उनी पार्टीको संगठित सदस्य छन् । केन्द्रीय समितिको बैठक काठमाडौंमा भएको बेला उनी त्यसमा जान्छन् तर बाहिर हुँदा जाँदैनन् । नेकपा (संयुक्त)को कुनै पदमा नभए पनि उनलाई सबैले अभिभावक नै मान्छन् ।
तीन महिनाअघि जीवनसंगिनी गुमाएका विष्णुबहादुर मानन्धरले आफ्ना एक्ला दिनहरू विगतलाई लिपिबद्ध गरेर बिताइरहेका छन् । २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा देशभर चार सिट जितेको कम्युनिस्ट पार्टीलाई दुई सिट चाहिँ उनकै नेतृत्वमा रौतहटबाट मिलेको थियो । त्यसको जगका रूपमा किसान आन्दोलनलाई लिइन्छ । त्यही किसान आन्दोलनलगायतका विषयलाई लिएर उनले अहिले आफ्नो संस्मरण तयार पारिहरेका छन् । सुन्नमा अलि–अलि समस्या भए पनि देख्न र लेख्नमा उनलाई समस्या छैन ।
सक्रिय राजनीतिमा नरहे पनि राजनीतिक घटनाक्रमका बारेमा भने मानन्धर अद्यावधिक छन् । कहिलेकाहीँ आफूलाई भेट्न आउने नेता–कार्यकर्तासँग कुरा गर्छन्, पत्रपत्रिका पढ्छन्, टेलिभिजन हेर्छन् । आफ्नो पार्टीलगायत कम्युनिस्ट पार्टीमा बढेको बुर्जुवा प्रवृत्तिबाट उनी दिक्क छन् । ‘एउटा कम्युनिस्ट पार्टीको क्षेत्रीय अधिवेशनमा तीन–तीन वटा हेलिकोप्टर †’– उनले आश्चर्य प्रकट गरे– ‘अनि एउटा कम्युनिस्ट पार्टीको नेता मासिक एक लाखभन्दा बढी तिरेर कसरी बस्न सक्छ ?’ मानन्धरको प्रश्न छ– ‘यसबाट हामीले कस्तो कम्युनिस्ट आन्दोलन बनायौं र यो अब कता जाला भन्ने चिन्ता लागिरहन्छ ।’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply