तीन लालको भूमिमा स्रष्टाको जमघट
मन्थली । जनसाहित्यिक मञ्च तदर्थ समिति रामेछाप र केन्द्रीय समिति काठमाडौंद्वारा आयोजित ‘रामेछाप जनसाहित्य यात्रा’ गएको चैत २८–२९ गते मन्थलीमा सम्पन्न भएको छ । उक्त कार्यक्रम नौबुँदे ‘रामेछाप घोषणापत्र’ जारी गर्दै सम्पन्न भयो ।
जनसाहित्य यात्राले साहित्य सिर्जनामा रूप र अन्तर्वस्तुको सन्तुलित प्रयोग गर्ने, प्रेम र श्रमको सम्मानसहित आदर्श, आनन्द र सन्देशसहितको उच्च सौन्दर्यलाई आत्मसात् गर्ने तथा साहित्यकार र सर्जक अनिर्वाचित जनप्रतिनिधि हुन् भन्ने मान्यता स्थापित गर्ने संकल्प गरेको छ । त्यस्तै, युवा पलायन रोक्ने, साम्राज्यवादी विसंगति–विकृति रोक्न र राष्ट्रिय भावना, एकता र सद्भावना कायम गर्न प्रयत्नशील रहने, पूर्वीय र पाश्चात्य दर्शनका वैज्ञानिक उपलब्धिलाई आत्मसात् गर्ने, राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा नेपाली साहित्यको गुणात्मक अभिवृद्धि गर्ने तथा साहित्यलाई मुलुकको सर्वाङ्गीण समृद्धि तथा सामाजिक परिवर्तन र सांस्कृतिक रूपान्तरणका लागि माध्यम बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
तीन लाल (सहिद गंगालाल श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र साहित्यिक सहिद कृष्णलाल अधिकारी) तथा साहित्यकार जगदीश घिमिरेको जन्मभूमि रामेछापमा भएको सो कार्यक्रमको पहिलो दिन मञ्च रामेछापको प्रथम अधिवेशन भएको थियो । उक्त अधिवेशनले माधव सयपत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । कार्यक्रमको दोस्रो दिन काव्यगोष्ठी र सयपत्रीको उपन्यास ‘सीमान्त विचलन’ लोकार्पण भएको थियो ।
काव्यगोष्ठीका अवसरमा नेकपा(एमाले)का पोलिटब्युरो सदस्य प्रदीप नेपालले साहित्य जीवनबाट बाहिर गएमा अर्थहीन हुने बताउँदै साहित्यकारले माटोलाई सम्झेर जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिनुभयो । मञ्चका केन्द्रीय अध्यक्ष राम विनय र महासचिव विनोद मञ्जनले आगामी दिनमा रामेछाप र मुलुकमा सबै जिल्लामा जनसाहित्यलाई स्थापित गर्न मञ्चले भूमिका निर्वाह गर्ने विश्वास दिलाउँदै कला र विचार सँगसँगै जानुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनसांस्कृतिक महासंघका उपाध्यक्ष प्रा.डा.जीवेन्द्रदेव गिरीले युवा पलायन, प्रशासनिक विकृति र दलहरूको वैचारिक विचलनलाई लोकार्पित कृतिले उजागर गरेको बताउनुभयो ।
कार्यक्रममा काठमाडौंबाट जानुभएका प्राज्ञ रामकृष्ण दुवाल, उदय श्रेष्ठ, अनिल पौडेल, श्याम रिमाल, लक्ष्मण गाम्नागे, देवी नेपाल, विनोद मञ्जन, भागवत आचार्य, प्रेमराज सिलवाल, डा. विन्दु शर्मा, जयन्ता पोखरेल र यशोदा अधिकारी, दोलखाका जीत कार्की र मुकुन्द सिवाकोटी तथा स्थानीय साहित्यकार पेशल आचार्य, प्रकाश न्यौपाने परिष्कार, उद्धव अविचल, सरिष्मा भण्डारी दोलखाली, सजना वाइवा, सरिता खड्का, प्रभु विवश, गीता नेपाल, ईश्वरी बस्नेत, प्रिन्स प्रकाश, सरिता श्रेष्ठ, ब्लु स्काइ लामा र सुरेश पौडेलले प्रगतिशील गीत, कविता र मुक्तक प्रस्तुत गर्नुभयो भने चित्रकार डा. रामकुमार भौकाजीले रामेछापलाई चित्रकारितामा उतार्नुभएको थियो ।
मञ्चका तदर्थ समितिका अध्यक्ष तथा यात्राका संयोजक होमराज श्रेष्ठले रामेछाप ऐतिहासिक, आर्थिक तथा सांस्कृतिक दृष्टिले गौरवपूर्ण भएको बताउनुभयो । प्रजिअ गोपालप्रसाद पराजुली र एमाले जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेलले जिल्लामा हुने साहित्यिक गतिविधिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सहभागीले तीन लाल, देवकोटा र मदन–आश्रितको सालिकस्थल, साहित्यकार जगदीश घिमिरेले स्थापना गरेको तामाकोसी सेवा समितिका गतिविधि, तामाकोसी नदी र मन्थली बजार आदिको अवलोकन भ्रमण गरेका थिए ।
सयपत्रीको अध्यक्षतामा गठन भएको कार्यसमितिमा उपाध्यक्ष माधव प्रधान, सचिव प्रकाश परिष्कार, कोषाध्यक्ष शान्ति श्रेष्ठ तथा सदस्यहरू ध्रुव पौडेल, प्रज्वल पौडेल, सुमित्रा श्रेष्ठ, कैलाश खत्री, रामकृष्ण गिरी, डिलेश्वर बस्नेत, सञ्जीव श्रेष्ठ, झनहरि दाहाल, राजकुमार भुजेललगायत एवं सल्लाहकारमा होमराज श्रेष्ठ, नीरबहादुर कार्की, पवनराज पौडेल, मुकुन्द भण्डारी र केशव अन्योल रहनुभएको छ ।
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply