ओरालो लागेकाहरूको साँझ

युवा–गायक रामकृष्ण ढकालको स्वर–लहर पुन: एकपटक तरंगित हुनपुगेको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा गुञ्जिएको उनको स्वरले संगीतका पारखीहरूलाई स्वाभाविक रूपमा आल्हादित तुल्याएको हुनुपर्छ । दशक अघिसम्म नेपाली संगीतको आकाशमा एउटा चम्किलो ग्रहका रूपमा स्थापित ढकालले आफ्ना समकालीन र पूर्वजहरूभन्दा बेग्लै धरातल निर्माण गरेका थिए । जुनसुकै स्थान र माहोलमा पनि उनको स्वर स्थापित भयो र आफ्ना प्रशंसकहरूलाई निराश तुल्याउने कर्म पनि उनीबाट सायदै हुन पुगे ।
नेपाली संगीत जगत्मा एउटा संघर्षशील छवि निर्माण गरेका ढकालले समयान्तरमा जुन उचाइ ग्रहण गर्न पुगे, त्यो वास्तवमै अद्वितीय थियो । आधुनिक संगीत क्षेत्रमा रामकृष्ण ढकालजस्ता सडकबाट उठेर आएका प्रतिभाहरूका निम्ति दैलो उघारिनु सौभाग्यको विषय हुन्थ्यो । संगीतलाई नै पुख्र्यौली पेसा एवम् जीवन निर्वाहको माध्यम बनाएका जातिविशेषका प्रतिभाहरूले यदाकदा मौका पाए पनि व्यवस्था नियन्त्रित सञ्चार माध्यमहरूमा सामान्य जनताका छोराछोरीले आफ्नो प्रतिभा निखार्न पाउनु अहोभाग्य ठहरिन्थ्यो । सत्ताका निकटस्थ रहेकाहरूले रेडियो नेपालजस्ता सरकार नियन्त्रित माध्यममा राइँदाइँ चलाइरहेका बेला प्रतिभावान् संगीतकर्मीहरूका लागि प्रवेश त्यति सहज थिएन ।
त्यसो त, संगीतमा पहुँच त्यस्ता व्यक्तिहरूका मात्रै हुन्थ्यो, जो दरबारसित सन्निकिट थिए । दरबारियाहरूपछि परम्परागत रूपमै गीत संगीतमा निर्लिप्त रहेका काठमाडौंका नेवार समुदाय र राजनीतिक पहुँच भएका मोफसलका एकाध प्रतिभाहरूले मात्रै आफ्नो प्रतिभा प्रस्फुटन गर्न पाउथे । एउटा वर्ग, तप्का र पहुँचवालाहरूको नियन्त्रणभित्र जकडिएको नेपाली संगीत क्षेत्रमा पञ्चायती व्यवस्थाको आखिरी दिनहरूमा सडकबाटै गायन यात्रा सुरु गरेर संघर्षका रेखाहरू कोरिरहेका ढकालजस्ता प्रतिभालाई तत्काल स्थापित हुने आधार भने मिल्न पुग्यो । मूलत: उनको प्रतिभाको पहिचान गर्ने शुभेच्छुक र शुभचिन्तकहरूमध्ये एक गोपाल कर्माचार्य र सीमित मिडियाहरूले चासो नदिएको भए गीत–संगीतको गोरेटोमा निस्फिक्री ढंगले पाइला चाल्ने सुऔसर ढकाललाई सायदै मिल्थ्यो होला ।
इतिहास जे–जस्तो भए पनि र आफूलाई स्थापित तुल्याउन उनले संघर्षका जे–जस्ता आयामहरू पार गरे पनि नेपाली संगीत जगत्ले कुनै बेला ढकाललाई स्वरसम्राट नारायणगोपालको विकल्पको रूपमा हेरिएको थियो । नारायणगोपालको देहावशानपछि नेपाली संगीत क्षेत्रले झेल्नुपरिरहेको उनको रिक्तता ढकालजस्ता प्रतिभाले पूर्ति गर्ने अपेक्षा राख्नु किन पनि स्वाभाविक थियो भने आफ्नो निखारयुक्त स्वरले तत्कालीन समयमा ढकालले सबैलाई मन्त्रमुग्ध तुल्याइरहेका थिए । आधुनिक गीत–संगीतले छलाङ मारिरहेको त्यो बेला उनका अग्रजहरू विश्रामको मुडमा थिए । विश्रामको मुडमा रहेका अग्रजहरूका कारण र आधुनिक संगीतमा कुनै पनि प्रतिभाले सशक्त हस्तक्षेप गर्न नसकिरहेको बेला उदाएका ढकाल सर्वप्रिय हुनु स्वाभाविक बन्यो ।
हुन पनि, आफ्ना स्वर्णिम दिनहरूमा उनले नेपाली संगीत जगत्लाई थुप्रै सुमधुर गीत दिए । केही उत्कृष्ट राष्ट्रिय गीतहरूदेखि युवा मन र मस्तिष्कलाई तरंगित तुल्याउने भावुक, हृदयस्पर्शी र निराशाजन्य शब्दहरूमा उनले स्वर भरे । तथापि, अत्यन्तै निराश भाव व्यक्त गरिएको ‘ओराली लागेको हरिणको चाल भो’ र राष्ट्रियताप्रति गहिरो समर्पणभाव भएको ‘बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्’जस्ता गीतले उनलाई एकै पटक विशिष्ट उचाइतिर लम्काउन मद्दत पुर्यायो र यस्तै गीत गाउने गायकका रूपमा उनको चिनारी स्थापित भयो ।
समय, एउटै बिन्दुमा अडिएर बस्दैन । कुनै बेलाका चर्चित स्वर ढकालको सांगीतिक यात्रा विगत एक दशकयता क्रमश: ओरालो लागिरहेको यथार्थलाई जोकोहीले स्वीकार्नैपर्छ । पछिल्लो समयमा नेपाली गीत–संगीत क्षेत्र तीव्र प्रतिस्पर्धाबीच गुज्रिरहेको यथार्थप्रति जोकोही साक्षी छन् । ढकालपछि उदाएका प्रतिभाहरू गीत–संगीत क्षेत्रमा पूर्ण तन्मयतापूर्वक लागिपरेका छन् । स्वरुपराज आचार्य, अञ्जु पन्त, शिव परियार, प्रमोद खरेलजस्ता एकसे एक प्रतिभा उदाएका छन् र यी प्रतिभाहरूले पूरै समर्पणभाव गीत–संगीत क्षेत्रमा पोखेका छन् ।
तथापि, केही दिनअघि सम्पन्न ‘रामकृष्ण ढकाल सुमधुर साँझ’मा यी अधबैंसे गायकको विगत उघिनिए पनि उनले संगीतका पारखीहरूलाई अपेक्षाकृत सन्तुष्ट तुल्याउन र उत्साह जगाउन भने सकेनन् । कुनै पनि प्रतिभाले आफूलाई आफ्नो क्षेत्रमा सक्रिय छु भन्ने देखाउन, आफ्नो उपस्थिति मौजुद रहेको बताउन र आफूलाई पुनर्ताजगी तुल्याउन ‘एकल साँझ’ गर्ने लहर विगत केही समययता व्यापक रूपमै चलेको छ । खासगरी, पुराना पुस्ताको एकल साँझ त बाक्लै हुने गरेको छ । र, निश्चित रूपमा पुराना पुस्ताको एकल साँझले इतिहास सम्झाउन मद्दत पुग्दछ । तथापि, ढकालले आफूलाई सक्रिय देखाउने लालसाले मात्रै पक्कै पनि सुमधुर साँझ गरेका होइनन् होला, महँगो टिकटदरमा गरिएको उनको सुमधुर साँझको पछाडि आर्थिक उपार्जन पनि गाँसिएको हुनुपर्छ । उनको सुमधुर साँझलाई गलत दृष्टिले हेर्न नसकिए पनि, उनले यस्ता साँझहरूभन्दा पनि अझ उत्कृष्ट सिर्जना नेपाली संगीत क्षेत्रलाई दिनेतिर ध्यान पुर्याए भने निश्चय नै ओरालो लाग्दै गइरहेको उनको सांगीतिक यात्रा उचाइतिर मोडिन सक्छ । र, नेपाली संगीतका पारखीहरूले ढकाललाई पचासको दशकको सफल र लोकप्रिय गायकको रूपमा पुन: पाउन सक्नेछन् ।
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply